कलाकार बन्नुअघि नै लेखक भएको हुँ

- नरेन्द्र रौले

जेष्ठ ४, २०७४-  

कलाकार हरिवंश आचार्यको पहिलो पुस्तक चिना हराएको मान्छे ८४ हजार प्रति छापियो  भने त्यसमा ८० हजार प्रति बिक्री भैसकेको छ । पहिलो पुस्तक प्रकाशनमा आएको चार वर्षपछि उनी फेरि उपन्यास हरिबहादुर लिएर झुल्किएका छन् ।

 

तपाईंको दोस्रो पुस्तक ‘हरिबहादुर’ भर्खरै सार्वजनिक भएको छ । यतिबेला मनमा डर बढी छ कि उत्साह ?
मैले रंगमञ्चमा पाइला टेकेको ४० वर्ष भयो । अहिले पनि नयाँ कार्यक्रम लिएर रंगमञ्चमा पाइला राख्दा मुटु ढुकढुक हुन्छ । कस्तो हुन्छ, के हुन्छ, दर्शकहरूले मन पराउनुहुन्छ कि हुन्न भनेर डर लागिरहन्छ । जुनसुकै काम गर्दा डराएन भने मानिस मातिन्छ अनि त्यो काम सफल पनि हुँदैन । कस्तो प्रतिक्रिया आउँछ भनेर अहिले पनि डर त लागिरहेको छ । डरै डरका बीच राम्रो हुन्छ भन्ने पनि लागिरहेको छ, उत्साहित छु ।

 

तपाईंको दोस्रो पुस्तक ‘हरिबहादुर’ कुन विषयमा केन्द्रित छ ?
मदन दाइ र मैले मदनबहादुर–हरिबहादुर शीर्षकको टेलिश्रृंखला बनायौं । जातीय सद्भाव, छुवाछुत कुप्रथाको विरोध तथा नेपालको एकताको सन्देश दिने उक्त शृंखलाको स्क्रिप्ट मैले नै लेखेको थिएँ । जुन नेपाल टेलिभिजनबाट प्रसारण हुन्थ्यो । त्यसको हरिबहादुर भन्ने पात्र अलि उट्पट्याङ्ग, रमाइलो, अलिकति हाँस उठ्दो अनि केही रिस उठ्दो खालको थियो । त्यही हरिबहादुर चरित्रलाई आधार बनाएर यो पुस्तक लेखिएको हो । टेलिश्रृंखलाको १५ प्रतिशत विषय पुस्तक हरिबहादुरमा समेटिएको छ । पाठकहरूले अपेक्षा गरेका कुराहरू यही चरित्रमार्फत दिन सक्छु जस्तो लागेर मैले उक्त पात्र छानेको हुँ । बाँकी नयाँ कुराहरू समावेश छन् ।

 

हरिबहादुर लेख्दाको कुनै रोचक प्रसंग ?
चिना हराएको मान्छे लेख्दा–लेख्दै म बेलाबेला रुन्थें । आँसु खसेर कापीमा लेखिएका अक्षरहरू फुल्थे । लेख्दा–लेख्दै रोकिन्थें । म त्यतिबेला बियोगमा थिएँ । हरिबहादुरमा  वियोगका कुरा थोरै छन् । कति ठाउँमा हाँसो उठ्यो । रमाइलो लाग्यो । यसमा दुई वर्षको समय खर्चिएको छु तर यसबीच थुपै्र कार्यक्रम गरियो, स्क्रिप्ट लेखियो अनि बचेको समयमा लेखियो ।

 

यो उपन्यासका लक्षित वर्ग को हुन् ?
चिना हराएको मान्छेले दोस्रो पुस्तक लेख्ने प्रेरणा दियो । स्वदेश भित्र अनि संसारका अन्य कुनामा पुग्दा ‘तपाईंको पुस्तक पढें’ भन्ने धेरै नेपाली भेटिए । चिना हराएको मान्छेका पाठकहरू नै हरिबहादुरका लक्षित वर्ग हुन् । ग्रामीण महिला, गृहिणी महिला, कलेजका विद्यार्थीहरू, घरेलु कामदार, विदेशमा बस्ने नेपालीहरू मेरा ठूला पाठक हुन् । फाइन प्रिन्टका भाइहरूबाट सुन्छु, ‘दाइको पुस्तकले धेरै पाठक बढायो ।’ योभन्दा गर्वको कुरा अरू के हुन सक्छ ?

 

आफूलाई के भनेर चिनाउनुहुन्छ ? लेखक कि कलाकार ?
मैले रंगमञ्चमा खुट्टा टेक्नुअघि नै कलम समात्ने, स्क्रिप्ट लेख्ने काम गरेको हुँ । अहिलेसम्म जति पनि कार्यक्रम बनाइयो, त्यसलाई सबैभन्दा पहिले लेख्ने काम नै गरिन्छ । सुरुमा कलम र कापी समाइयो । म कलाकार बन्नुभन्दा अघि नै लेखक भएको हुँ । अरूले मान्यता दिनु–नदिनु फरक कुरा हो । गाउने पनि हो, लेख्ने पनि हो, अभिनय पनि गर्ने हो, निर्देशन पनि गरेको हो । कतिपय ठाउँमा जानी–नजानी संगीतसमेत भरियो । सबै कुरामा खुट्टा टेकियो । बहुरंगी भने पनि हुन्छ । मलाई जे दर्जा दिए पनि हुन्छ । म त्यसलाई शिरोधार्य गर्छु ।

 

अरूका पुस्तक कत्तिको पढ्नुहुन्छ ?
पढ्न थालेको छु । बजारमा आएका नयाँ पुस्तक प्राय: छुटाउँदिन । पछिल्लो समयमा मैले ऐना तथा सरसर्ती संसार पढें । त्यस्तै उल्था गरिएका पुस्तक मोहनदास, नेलकटर अनि खबुजले पनि मेरो मन छोए । मागेरभन्दा किनेर पढ्ने बानी छ । महिनाको १/२ हजार रुपैयाँ पुस्तकमै खर्चन्छु ।

 

अब कस्तो पुस्तक लेख्ने सोचमा हुनुहुन्छ ?
सबैभन्दा पहिले मदन दाइ र मैले सहयात्रा गर्दा लेखेका, मञ्चन गरिसकेका हास्य व्यंग्य स्क्रिप्टलाई पुस्तकको रूप दिनुपर्छ भन्ने लागेको छ । त्यो पछिल्लो पुस्ताका लागि बहुमूल्य उपहार हुनसक्छ । यसलाई  अरू कसैले मञ्चन पनि गर्न सक्नुहुन्छ । घटीमा पनि ५/६ वटा पुस्तक बन्छ होला ।

 

लेखन तथा अभिनय बाहेक तपाईंको सोख केमा छ ?
घुम्ने सोख छ । यो त्यसै पूरा हुन्छ । आधि पृथ्वी घुमिसकें । मैले त्यसका लागि छुट्टै पैसा खर्च गर्नुपर्दैन, उल्टै पैसा आउँछ । खाने सोख हो, अरूले खान बोलाउँदा–बोलाउँदै अब त नबोलाइदिए हुन्थ्यो जस्तो लाग्छ । जिउमा धेरै बोसो पनि लागिसक्यो । विदेशतिर कार्यक्रममा जाँदा जता पनि आफन्त हुन्छन्, लुगा पनि उपहार आउँछ, प्राय: किन्नै पर्दैन ।

प्रकाशित :जेष्ठ ४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्