काम गर्ने मानिस फेला पार्न गार्‍हो छ

- जनक तिमिल्सिना, भिषा काफ्ले

जेष्ठ ३, २०७४-  

दिनेश तामाङ धादिङको विकट गाउँ लापामा जन्मिएका हुन् । ०७२ वैशाख १२ को भूकम्प र त्यसपछिका पराकम्पनले उनको सिंगो गाउँकै अस्तित्व संकटमा पारिदियो । एक विदेशी संस्थाको सहयोगमा काठमाडौंमा एचए अन्तिम वर्षमा अध्ययनरत तामाङ भूकम्प जाँदा सिन्धुपाल्चोकमा थिए । भूकम्प गएको एक सातापछि तामाङ आफ्नो गाउँ पुग्दा त्यहाँ बूढापाका एवं बालबालिकाहरूको बिचल्ली थियो । त्यतिबेला तामाङलाई देखेपछि ९९ वर्षीया बूढी आमाले हात जोर्दै आफूहरूलाई अन्यत्रै लान विलाप गरिन् । त्यही विलापले तामाङलाई नराम्रोसँग छोयो, उनले ५५ परिवारका १ सय ३० जनालाई त्यो नरकबाट अन्तै सार्ने अठोट गरे । त्यसका लागि उनी आफूलाई पढाइदिने क्यानेडियन संस्थाकी निर्देशक बोनी क्यापाचिनालाई गुहार्न पुगे । बोनीले उनलाई मन खोलेर सहयोग गरिन् । त्यही सहयोग लिएर उनले आफ्नो गाउँबाट तीन दिन हिँडेर पुगिने ढोलामा जग्गा किने । उक्त जग्गामा तामाङले विभिन्न क्षेत्रको सहयोग जुटाउँदै नमुना बस्ती निर्माण गर्न नायकको भूमिका निर्वाह गरे । बस्ती निर्माणको काम गत चैत १६ गते सकिएपछि उपराष्ट्रपति नन्दबहादुर पुनले त्यसलाई समुदायमा हस्तान्तरण गरे । त्यही दिन ५५ घरपरिवारले २२ महिनापछि त्रिपालबाट स्थायी छानो पाए । भूकम्पले निलेको कपुरकोटदेखि ढोलाको सपनाको बस्तीसम्मको यात्राका सम्बन्धमा साप्ताहिकले तामाङसँग गरेको कुराकानी :

 

भूकम्प जाँदा कहाँ हुनुहुन्थ्यो ?
म गाउँमा थिइनँ, हेल्थ असिस्टेन्टको अन्तिम वर्षको कम्युनिटी डाइगोनोसिससम्बन्धी अध्ययनका लागि सिन्धुपाल्चोकको नवलपुरमा थिए । म त्यहाँ गएको २७ दिन भैसकेको थियो । म हामी बसेको घरको बरन्डामा थिए, त्यसैले संयोगले बाँचे । हामी बसेको तीनतले घर गल्र्यागुर्लुम ढल्यो । १९ जना साथी भित्रै पुरिए, जसमध्ये २ जनाको त्यही मृत्यु भयो । अरू सबै घाइते भए ।

 

आफ्नो गाउँ कहिले फर्कनुभयो ?
त्यहाँ घाइतेहरूको उद्धार गरेर काठमाडौं आए । भूकम्प गएको एक सातापछि हेलिकप्टरबाट राहत लिएर आफ्नो गाउँ लापा गाविस—१ कपुरगाउँ पुगे । त्यहाँ पुग्न धादिङबेसीबाट पैदल हिँड्दा तीन दिन लाग्छ ।

 

तपार्इंको गाउँमा भूकम्पपछिको अवस्था कस्तो थियो ?
एकदमै ह्दयविदारक थियो, मानिसहरू रोइकराइ गरिरहेका थिए । म पुगेपछि ९९ वर्षकी वृद्धाले हामी यहाँ बाँच्न सक्दैनौं भनेर हात जोर्न थालिन् । सुख्खा पहिरो जाने क्रम रोकिएको थिएन । गाउँ भीरमुनि थियो भने भीरमा धाजा फाटेको थियो । नजिकै आइरहेको वर्षाले सिंगो गाउँलाई नै पहिरोले बगाउने/पुर्ने त्रास थियो । त्यसपछि मलाई यो गाउँ सार्नैपर्छ भन्ने लाग्यो ।

 

जग्गा जमिन केही पनि बाँकी थिएन ?
घर, जग्गा, जमिन केही बाँकी थिएन्, सबैतिर त्राहिमामको अवस्थामा थियो । बाटाहरू पनि पूर्ण रुपमा अवरुद्ध थिए । भीरहरू खसिरहेका थिए, पहिरो लडिरहेको थियो । केही दिन हामी अलि सुरक्षित लाग्ने पाखोमा बस्यौं । एक महिनापछि मैले धादिङकै ढोला गाविसमा जमिन किनेर बस्ती सारे ।

 

जमिन किन्ने पैसा कहाँबाट आयो ?
जमिन किन्न क्यानेडियन संस्था चाइल्ड हेबिट इन्टरनेसनलले सहयोग गर्‍यो । मैले उक्त संस्थाकी अन्तर्राष्ट्रिय निर्देशक बोनी क्यापाचिनोसमक्ष गाउँको दु:ख बिसाएँ । उनलाई मोबाइलमा खिचिएको गाउँको दर्दनाक अवस्था दर्सिने ९ मिनेटको भिडियो देखाए । उक्त भिडियो हेरेपछि उनले १५ लाख रुपैयाँ दिइन् । त्यसपछि १४ लाख रुपैयाँ फेरि थपिदिइन् । उक्त पैसाले ५५ घरका लागि ४१ रोपनी जग्गा खरिद गरियो ।

 

कहिलेदेखि घर बनाउन थाल्नुभयो ?
तत्कालै घर बनाउने काम सुरु गर्न सकिएन । घर बनाउनुपर्छ भन्ने लागेर मात्र के हुन्थ्यो र ? समस्या धेरै थिए । भूकम्पप्रतिरोधी भवन, त्यसको डिजाइन तथा पैसाजस्ता धेरै समस्या थिए । सहयोग जुटेपछि असारको पहिलो सातादेखि काम सुरु भयो ।

 

घर बनाउने पैसा कसरी जुट्यो ?
घरको इन्जिनियरिङ डिजाइन तयार भएपछि पैसा खोज्न लागियो । इट्टा, बालुवा, गिटी, सिमेन्ट, रड आदि किन्ने पैसा थिएन । बौद्धनाथस्थित सेतो गुम्बाअन्तर्गतको रामजुङ एसे सेमफेन भन्ने सञ्जाल छ, जुन सेतो गुम्बाका रूपमा सुपरिचित छ । त्यही सेतो गुम्बाले हामीलाई रड, सिमेन्ट, बालुवा, गिट्टी आदि गरेर ५ करोड रुपैयाँ बराबरको निर्माण सामग्री दियो । छ्योगी निमो रिम्पोचेको करुणाभावबाट उक्त रकम जुट्यो । उहाँका भक्तजनले जुटाएको पैसाबाट हामीले घर निर्माणका लागि आवश्यक पर्ने भौतिक सामग्री जुटायौं । ढुवानी खर्चसमेत उहाँहरूले नै बेहोरिदिनुभयो । गाउँलेहरूले त्यसमा ७२ हजार घण्टा बराबरको श्रमदान गरे, जुन ७ करोड बराबरको हुन आउँछ । हामीले दैनिक १८ घण्टा काम गर्‍यौं । बूढाबूढी र केटाकेटीबाहेक सबैले सक्रियतापूर्वक खटेर काम गरे ।
 

सहयोगी खोज्ने काम कत्तिको सहज थियो ?
द स्याल्भेन आर्मी भन्ने संस्थाले सुरुमा राहत सामग्री दियो । गुम्बासँग सम्पर्क हुनुभन्दा अघि स्याल्भेन आर्मीसँग सम्पर्क भएको हो । हामीले २९ परिवारका लागि घर बनाउने प्रस्ताव राख्यौं । उक्त संस्था बाँसको घर निर्माणका लागि एक घरलाई १ लाख २० हजारका दरले ३९ लाख रुपैयाँ लगानी गर्न तयार भएको थियो, तर कमिटमेन्ट गरेपछि उहाँहरू सम्पर्कविहीन हुनुभयो । फेरि अर्को संस्था स्पेनिस माउन्टेन फर हिमालयज अर्गनाइजेसनले २९ परिवारका लागि १ लाख १० हजार युरोको प्रतिबद्धता गर्‍यो, तर पछि त्यो संस्थासँग पनि सम्पर्क हुन सकेन । त्यसपछि मलाई चिन्ता भयो, गाउँलेहरूलाई मैले सहयोग पाएको छु भनिसकेको थिएँ । उहाँहरू सम्पर्कबाहिर भएपछि हामी सबै दु:खमा डुब्यौं ।

 

सेतो गुम्बासँग कसरी सम्पर्क भयो ?
तनाव थियो, सहयोग गर्छु भन्नेहरू हराएपछि म रिम्पोचेको दर्शन गर्न सेतो गुम्बा गए । रिम्पोचेको दर्शन गरे, उहाँलाई सबै कुरा सुनाए । मेरो कुराले उहाँलाई छोएछ, रिम्पोचेले आफ्ना शिष्य अचुङ लामालाई आदेश दिदैं भन्नुभयो— ‘हाम्रो गुम्बाका तर्फबाट उहाँहरूलाई जति सक्दो सहयोग गर्नु ।’ उहाँको त्यही आदेशका भरमा हाम्रो ठाउँमा भकाभक निर्माण सामग्री आइपुग्न थाले ।
 

 

टिमलाई कसरी परिचालन गर्नुभयो ?
सामान ल्याउनेदेखि त्यो गाउँको परिकल्पना गर्ने काम म आफंैले गरे । त्यति मात्र होइन, गाउँलेहरूको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार सबैका विषयमा मैले खाका तयार पारें । काममा त्यहींका मानिस खटिए, उनीहरूले श्रमदान गरेर आफ्नो पसिना बगाए ।

 

स्थानीय स्तरको कामको ब्यवस्था कसरी मिलाइएको थियो ?
स्थानीय स्तरमा काम गर्न निर्माण समिति तथा राहत वितरण समिति बनाइएको थियो, जसलाई मैले पूर्ण रुपमा निर्देशन गरे । दाता खोज्नेदेखि स्यानेरेटी प्याड खोज्नेसम्मका काम अनि ब्रस, मञ्जन, खानेकुरा, भाँडाकँुडा आदिको व्यवस्थापन गर्ने काम म आफैंले गरे ।

 

सहयोग, श्रमदान, नगद गरेर कति खर्चमा बस्ती तयार भयो ?
१६ करोड रुपैयाँ बराबरको लगानीमा हामीले नुमना बस्ती निर्माण गर्न सक्यौं । २२ महिना ३ सय १० जनाको खाना, खाजा, जमिन, लत्ता कपडा, शिक्षा, स्वास्थ्यलगायतका सबै काम त्यही रकमबाट पूरा भयो । गाउँलेहरूको उपचारका लागि हामीले एउटा हेल्थ पोस्ट पनि स्थापना गरेका छौं, जसमा एक जना हेल्थ वर्कर पनि राखेका छौं, उसले काठमाडौबाट आवश्यक औषधी खोजेर त्यहाँ पुर्‍याउँछ । प्राथमिक स्वास्थ्य उपचार त्यही हुन्छ । बालबलिकालाई पढाउन बाल कक्षा पनि खोलेका छौं । एक महिनापछि नै हामीले स्वास्थ्य र शिक्षाको सेवा सुरु गरेका हौं । आध्यात्मिक हिसाबले त्यहाँ बौद्ध स्तूप पनि निर्माण गरिएको छ, हामी त्यहाँ गुम्बासमेत बनाउने योजनामा छौं ।

 

हेल्थ पोस्ट र स्कुलको खर्च कसरी जुटाइरहनुभएको छ ?
संघसंस्था तथा मनकारीहरूसँग मागेरै चलाइरहेका छौं । स्वास्थ्य र शिक्षामा टु के नेपाल सोसाइटीले तलब दिने काम गरिरहेको छ, औषधी मैले नै धेरै ठाउँबाट जुटाइरहेको छु । अनौपचारिक नै भए पनि हामीले सुरु गरेको स्कुलमा ३५ जना बालबालिका पढ्छन् ।

 

गाउँ सार्ने जोखिमपूर्ण निर्णय लिन गाह्रो भएन ?
गाउँलेहरूको न आफ्नो जग्गा जमिन थियो, न त अरु कुनै सम्पत्ति नै । ३ सय १० जनाको सबै अभिभारा लिएर गाउँ सार्नु चानचुने कुरा थिएन । उहाँहरूको गाँस, बास, कपास सबै मैले नै व्यवस्था गर्नुपर्ने थियो । ५ जनाको परिवारलाई पाल्न धौ–धौ पर्छ, तर मैले त्यहाँ ५५ परिवारलाई पालिरहेको छु । ५५ परिवारको ३ सय १० जनालाई बिहान, बेलुका तथा दिउँसोको खाना कसरी म्यानेज गरे हुँला अहिले सम्झँदा आफैंलाई अचम्म लाग्छ ।

 

स्थानीय बासिन्दाले कुनै काम गरेनन् ?
उहाँहरू बिनापैसा दिनरात घर बनाउन लाग्नुभयो । चैत १६ गतेको दिन राम्रो भएकाले बस्ती हस्तान्तरण गरिएको हो, तर अझै पनि भर्‍याङ लगाउने, झ्यालका सिसा हाल्ने, ट्वाइलेट, बाथरुम तयार पार्ने, बायोग्याँस प्लान्ट लगाउने आदि काम बाँकी नै छ ।

 

तपाईंको सपनाको नमुना बस्ती कस्तो छ ?
नमुना बस्ती मात्र होइन, साँच्चै हेर्न लायकको सुन्दर बस्ती बनाउने प्रयास गरेको छु । त्यहाँ एउटा घर बनाएको होइन, सिंगो बस्ती नै सारेर नव निर्माण गरिएको हो । त्यसैले त्यहाँ सबै किसिमका संरचना तयार पार्नु जरुरी छ । विस्थापितहरूको पहिचान हराउने डर हुन्छ । त्यहाँको ५५ परिवार नै तामाङ हो, तामाङहरूको आफ्नै भाषा, संस्कृति, धर्म एवं रीतिरिवाज छ जसलाई जोगाउनु पनि छ र विकास पनि गर्नु छ । त्यसैले सपनाको बस्ती निर्माणको काम सकिएको होइन, सुरु भएको मान्छु म । यो बस्ती काठमाडौंबाट साढे दुई घण्टामै पुगिन्छ, त्यसैले गाउँलाई होमस्टेका रूपमा विकास गर्ने सपना पनि छ ।
 

सधैं त मागेर चल्दैन । आयआर्जन गराउनेतिर के सोचिरहनुभएको छ ?
मान्छेलाई मागिखाने बनाउनुपर्छ भन्ने कुरा मेरो शब्दकोशमै छैन, उनीहरूलाई गरिखाने बनाउनुपर्छ । त्यहाँका ५५ परिवारलाई आत्मनिर्भर बनाउने हो । त्यसका लागि १४ वटा कार्यक्रमको अवधारणा तयार पारिसकेको छु । साना तथा घरेलु उद्योग स्थापना गर्ने सोच छ । विस्थापितका लागि तत्कालीन र दीर्घकालीन दुवै प्रकृतिका आयआर्जन हुने काम गर्नुपर्छ । बिहान–बेलुका के खाने ? सधैं त राहतकै भरमा चल्दैन । त्यसैले साबुन, नुडल्स, सस, अगरबत्तीजस्ता घरेलु उद्योगहरू सञ्चालन गर्ने योजना बनाएको छु । दीर्घकालीन रूपमा पशुपालन गर्ने, मौसमी तथा बेमौसमी तरकारी खेती गर्ने योजना छ । कार्ययोजना बनाएर सहयोगी संस्थाहरू खोजिरहेको छु, तर त्यस्तो सहयोग हामी बिना शर्त मात्र स्वीकार गर्छौं । राजनैतिक, धार्मिकजस्ता कुनै पनि प्रकारको सर्त हामीलाई मान्य छैन ।  

 

कस्तो पृष्ठभूमिका परिवार छन् त्यहाँ ?
एकदमै विपन्न पृष्ठभूमिका परिवारहरू छन् । उनीहरूको घरमा भूकम्प पहिले पनि तीन महिनाभन्दा बढी खान पुग्दैन्थ्यो ।  ५५ वटै घरका छुट्टाछुट्टै कथा छन् । उनीहरूले कसरी जीविका चलाउँछन् ? भन्ने प्रश्न पनि छ । कतिपयलाई नेपाली बोल्न आउँदैन, कतिले चप्पल नै लगाउँदैनन् । उनीहरूलाई कसरी आफ्नै खुट्टामा उभिन सक्षम बनाउने, एकदमै ठूलो चुनौती छ ।

 

तपाईं यो चुनौती सामना गर्न तयार हुनुहुन्छ ?
हो, म यो चुनौती सामान गर्न तयार छु । उनीहरूलाई सक्षम बनाउने योजना बनाउनैपर्छ । मेरो योजना उनीहरूलाई पाँच वर्षभित्र १० लाखको मालिक बनाउने हो । सहयोगी र मनकारीहरू खोजिरहेको छु । गफ गर्ने र काम नगर्ने त पाइलैपिच्छे भेटिन्छन्, तर काम गर्ने मान्छे फेला पार्न गाह्रो छ । भेटिन्छ भन्ने आशाचाहिँ छ ।

 

यसबाहेक अरू के गर्ने सोचिरहनुभएको छ ?
धादिङको दुर्गम क्षेत्रका केही गाविसका धेरै बस्तीलाई सरकारको भौगर्भिक अध्ययनले बस्न अयोग्य भनेर सिफारिस गरेको छ । ती बस्ती सार्नुपर्छ भनेर सरकारलाई सिफारिससमेत गरिसकिएको छ, तर सरकारले काम गरेको छैन जसका कारण हरेक वर्ष उत्तरी धादिङको गाउँ पहिरोले बगायो, मानिसहरू हातहत भए भन्ने समाचार आउँछ । राज्यले अहिलेसम्म केही गरेको छैन । मेरो योजना १ सयजति घरलाई सुरक्षित ठाउँमा सार्ने छ । वर्षायामभन्दा अघि जोखिममा रहेका १ सयजति घरलाई सुरक्षित ठाउँमा सार्न सके कल्याण नै हुनेछ ।

प्रकाशित :जेष्ठ ३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्