चलचित्रका गीतमा आकर्षक लोकेसन

- साप्ताहिक संवाददाता

जेष्ठ २, २०७४- 

कुनै बेला नेपाली चलचित्रमा समावेश गरिने गीतको छायांकनमा लोकेसनलाई खासै महत्व दिइँदैनथ्यो । मुस्ताङसहितका रमणीय लोकेसनमा नेपाली चलचित्रको छायांकन हुने क्रम बढेसँगै यतिबेला ठूला बजेटका अधिकांश चलचित्रले कम्तीमा एउटा गीतको छायांकनका लागि आकर्षक लोकेसन छनौट गर्न थालेका छन् । 

 

चलचित्र प्रदर्शन हुनुभन्दा केही महिनाअघि नै सार्वजनिक हुने चलचित्रका गीत लोकप्रिय भए चलचित्रको व्यवसायमा समेत सकारात्मक प्रभाव पर्ने भएकाले निर्माता–निर्देशकहरू आफ्ना चलचित्रका कम्तीमा एउटा गीतलाई आकर्षक लोकेसनमा छायांकन गर्न लालायित भएका हुन् । नेपालकै पर्यटकीय क्षेत्र, पदमार्ग, हिमाली क्षेत्र, ताल–तलैया आदि स्थानमा पुगेर छायांकन गरिएका गीतले दर्शकको मन जित्न थालेपछि कोरियोग्राफरहरू पनि त्यस्ता लोकेसनमै पुगेर अभिनेता–अभिनेत्रीहरूलाई नचाउन पल्किएका हुन् । 

 

अभिनेत्री झरना थापाको पहिलो निर्देशनको चलचित्र ‘ए मेरो हजुर–२’ को ‘कसम हो कसम’ गीत युट्युबमा अपलोड भएको केही दिनमै ट्ेरन्डिङ भयो । उक्त भिडियो सार्वजनिक भएको दुई दिनमै युट्युबको नेपाल ट्ेरन्डिङमा पहिलो स्थानमा आयो । अपलोड गरेको केही घण्टामै १ लाख दर्शक कमाएको उक्त भिडियोले यो सामग्री तयार पार्दा सम्म (६ हप्ता) झन्डै ३१ लाख दर्शक पाएको छ । सुगम पोखरेलको स्वरको उक्त गीतमा नयाँ अभिनेता सलिन मान बानियाँसँग अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले अनस्क्रिन रोमान्स गरेकी छिन् ।

 

यो गीतको पृष्ठभूमिमा देखिने आकर्षक लोकेसनले दर्शकको मन जितेको कुरामा दुई मत छैन । यद्यपि अभिनेत्री शाहको कामुक अभिनयले पनि दर्शकहरूलाई आकर्षित गरेको हुनुपर्छ । अभिनेत्री शाह यही गीतका लागि पहिलो पटक पहिरनमा उदार देखिएकी छिन् । यो गीतको छायांकन विश्वकै अग्लो स्थानमा अवस्थित तिलिचो तालमा गरिएको हो । खुलेको मौसम, तालको नीलो पानी तथा केमेस्ट्रि मिलेका कलाकारको साथ पाएकै कारण यो गीतले कम समयमै दर्शकको मन जितेको छ । सुगम पोखरेलको स्वर तथा कल्याण सिंहको संगीतको यो गीत डा. कृष्णहरि बरालले रचना गरेका हुन्, जसलाई रेनशा वान्तवा राईले कोरियोग्राफी गरेकी छिन् । 

 

केही साताअघि युट्युबबाटै सार्वजनिक भएको चलचित्र ‘प्रेमगीत–२’ को शीर्षक गीत लोकप्रिय हुनुमा पनि यसमा समावेश आकर्षक लोकेसनलाई कारक मानिएको छ । ‘कहानी यो प्रेम गीतको’ शीर्षकको उक्त गीतमा भने विदेशको लोकेसन प्रयोग गरिएको छ । श्रेया सोताङ तथा रोहित जोन क्षेत्रीको स्वरको उक्त गीतमा थाइल्यान्डका मनोरम दृश्य देख्न सकिन्छ । समुद्री तट, गुफा, ताल, तलैया तथा नदीमा चलचित्रका मुख्य कलाकार प्रदीप खड्का तथा अश्लेषा ठकुरी आकर्षक देखिएका छन् । यो गीतमा कल्याण सिंहले नै संगीत दिएका छन् । छायांकार पुरुषोत्तम प्रधानले थाइल्यान्डका मनोरम दृश्यलाई आकर्षक शैलीमा चित्रण गरेका छन् । यो गीत हालसम्म १७ लाख पटक हेरिएको छ । 

 

अघिल्लो साता सार्वजनिक भएको चलचित्र ‘म यस्तो गति गाउँछु’ को शीर्षक गीतले चलचित्र ‘प्रेम गीत’ को ‘म यस्तो गीत गाउँछु...’ को स्मरण गराउँछ । उक्त गीतमा अभिनेता पल शाह तथा अभिनेत्री पूजा शर्माले नृत्य गरेका छन् । संगीतकार अर्जुन पोखरेलको संगीतमा सुगम पोखरेल तथा अञ्जु पन्तको स्वरका कारण यो गीत कर्णप्रिय बनेको छ । मुस्ताङको आकर्षक लोकेसनमा छायांकन गरिएको यो गीतमा कविराज गहतराजको कोरियोग्राफी छ । सार्वजनिक भएको पहिलो सातामै ९ लाख दर्शक पाएको यो गीत चलचित्रका निर्देशक सुदर्शन थापाले नै रचना गरेका हुन् । 

 

यसअघि भुवन केसीको चलचित्र ‘ड्रिम्स’, मनोज शेरचनको ‘जेरी’ तथा सन्तोष सेनको ‘प्रेम गीत’ ले पनि आफ्ना शीर्षक गीतमा नेपालकै विभिन्न सुन्दर तथा रमणीय दृश्य समेटेका थिए ।

प्रकाशित :जेष्ठ २, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्