नङ काट्न नेल कटर चाहिँदैन

- कृष्ण भट्टराई

जेष्ठ २, २०७४-  

पाँच वर्षअघि प्रदर्शन भएको चलचित्र ‘मञ्जरी’ मार्फत चलचित्र क्षेत्रमा आएका गौरव पहारीले यो अवधिमा झन्डै एक दर्जन चलचित्रमा अभिनय गरिसकेका छन् । मञ्जरीपछि होस्टल, उत्सव, अधकट्टी, गाजलुजस्ता चलचित्रमा अभिनय गरेर प्रशंसा कमाइसकेका गौरव प्रदर्शनको तयारीमा रहेका चलचित्र रातोघर, कुम्भ करण, पसिना, क्याफे आदिमा पनि मुख्य अभिनेताका रूपमा देखिनेछन् । केही विज्ञापन, म्युजिक भिडियो तथा नाटकमा समेत अभिनय गरिसकेका गौरव यो वर्ष झन्डै आधादर्जन चलचित्रमा सक्रिय हुनेछन् । गायक हेमन्त रानाको लोकप्रिय गीत ‘साइँली...’ का अभिनेता गौरव उक्त भिडियो निर्माण गर्ने आफ्नै कम्पनी जीएच इन्टरटेन्मेन्टबाट चलचित्र निर्माणमा समेत सक्रिय हुँदैछन् । ५ फिट १० इन्च अग्ला यी अभिनेताले साप्ताहिकमार्फत आफ्ना केही सेक्रेट सार्वजनिक गरेका छन् : 

 

फुटबलर 
अभिनयपछि फुटबल खेल मेरो रोजाइको क्षेत्र हो । विद्यालयमा अध्ययनरत छँदै मैले विभिन्न प्रतियोगितामा सहभागिता जनाइसकेको छु । अहिले पनि सातामा दुई–तीन पटक म घर (मण्डिखाटार) नजिककै फुटसलमा पुगेर फुटबल खेलिरहेको हुन्छु । म प्राय: फरवार्डमा रहेर फुटबल खेल्छु । अभिनेता नबनेको भए सम्भवत: म फुटबल खेलाडी नै बन्थें कि ? 

 

नङ टोक्छु  
बेला–बेला नङ टोक्ने मेरो असाध्यै नराम्रो बानी छ । सानैदेखि लागेको बानी आजसम्म छुट्न सकेको छैन । मानिसहरू प्राय: टेन्सन भएका बेला, चिन्ता लागेका बेला नङ टोक्छन्, मलाई भने फुर्सद भयो कि नङ टोक्न मन लाग्छ । बुवा–आमाले मेरो यो बानी हटाउने सक्दो प्रयास गर्नुभयो, तर अहिलेसम्म सफल हुनु भएको छैन । म कहिल्यै नेलकटर प्रयोग गर्दिनँ भन्दा पनि हुन्छ । 

 

खुट्टामा कालो धागो 
झन्डै १२ वर्षदेखि मैले आफ्नो देब्रे खुट्टामा कालो धागो बाँधेको छु । पहिलो पटक आमाले मन्दिरबाट ल्याउनुभएको उक्त धागो बाँधेको करिब आठ वर्षपछि चुँडियो । धागो चुँडिएकाले नै हुनसक्छ, त्यो अवधिमा मैले कुनै पनि नयाँ कामबाट प्रस्ताव पाइन् । झन्डै एक महिनापछि आमासँग यो कुरा सेयर गरें । उहाँले सोमबारको दिन पारेर मन्दिरमा पूजा गरेर अर्को कालो धागो खुट्टामा बाँध्न दिनुभयो । संयोग कस्तो रह्यो भने, त्यही साँझ मलाई चलचित्र ‘रातो घर’ बाट अभिनयको प्रस्ताव आयो । आज पनि मेरो खुट्टामा त्यो धागो यथावत् छ । 

 

लक्ष्मीको तस्बिर
झन्डै दश वर्षअघि एउटा पूजामा प्रसादका रूपमा आमाले लक्ष्मी माताको सानो तस्बिर दिनुभएको थियो । पाएकै दिन मैले उक्त तस्बिर आफ्नो वालेटमा राखें । आजसम्म मैले दर्जनौं वालेट परिवर्तन गरें, तर त्यो तस्बिर सधैं मेरो वालेटमा हुन्छ । वालेटमा उक्त तस्बिर भएपछि म एक प्रकारको आनन्द महसुस गर्छु । 

 

मुम्बईको यात्रा
व्यवस्थापनमा स्नातक उत्तीर्ण गरेपछि म अभिनयको प्रशिक्षण लिन मुम्बई गएँ । सन् २००७ मा मुम्बईकै किशोर नमित एक्टिङ ल्याबमा एउटा कोर्स गरें । कोर्स सम्पन्न भएपछि मुम्बईमै बसेर संघर्ष गर्न मन लाग्यो । त्यसक्रममा मैले भोजपुरी चलचित्र कानुन हमार मुठ्ठी मेंमा खलनायकको भूमिका निर्वाह गरें । त्यस क्रममा दुई–चारवटा विज्ञापनमा समेत अभिनय गरें । मिथुन चक्रवर्तीका माइला छोरा रिमोसँग राम्रो दोस्ती पनि भयो । चारवर्षे संघर्षबाट धेरै कुरा सिकेपछि म स्वदेश फर्किएर नेपाली चलचित्रमा सक्रिय भएको हुँ । 

 

परिवार नै फिल्मी  
बुवा टीका पहारी चलचित्रका पुराना कलाकार हुनु भएकाले होला हाम्रो परिवार नै फिल्मी छ भन्दा फरक पर्दैन । म आफैं लामो समयदेखि अभिनयमा छु । कान्छो भाइ सुलभ पनि चलचित्र निर्देशनको अध्ययन पूरा गरेर निर्देशनमा सक्रिय हुने तरखर गर्दैछ । यति हुँदा–हुँदै पनि हाम्रो घरमा चलचित्रसम्बन्धी कुराकानी हुँदैन । 

 

माछा, करेला र बन्दा 
मलाई संसारमा उपलब्ध सबैजसो खानेकुरा असाध्यै मन पर्छन्, तर तीनवटा चिज मलाई कहिल्यै मन परेनन् । मलाई माछाका कुनै पनि परिकार मन पर्दैनन् । करेला र बन्दा मलाई संसारमै मन नपर्ने तरकारी हुन् । 

 

सरसफाइ
भनिन्छ, केटाहरूको बेडरुम लथालिंग हुन्छ, तर यदि तपाईं कुनै दिन मेरो कोठामा पुग्नु भयो भने अचम्ममा पर्नु हुनेछ । म आफ्नो कोठालाई निट एन्ड क्लिन राख्न मन पराउँछु । बिहान उठ्ने बित्तिकै ओछ्यान मिलाएर, कुचो लगाएर, सामानहरूलाई यथास्थानमा राखेर चिटिक्क बनाउँछु । भान्साको काम गर्न मनै नलाग्ने मसँग सरसफाइमा भने कमैले प्रतिस्पर्धा गर्न सक्छन् । 

 

प्रकाशित :जेष्ठ २, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्