कस्ता छन् मिस नेपालका प्रतिस्पर्धी

- कृष्ण भट्टराई

जेष्ठ २, २०७४-  

द हिडन ट्रेजरले जेठ १९ गते काठमाडौंमा आयोजना गर्ने २२ औं संस्करणको मिस नेपाल–२०१७ को उपाधिका लागि १९ जना युवती मैदानमा छन् । काठमाडौं, ललितपुरसहित बिर्तामोड, विराटनगर, वीरगन्ज, भरतपुर, बुटवल, पाल्पा, पोखरा आदि प्रमुख सहरको प्रतिनिधित्व गर्ने यी सुन्दरीहरू पछिल्ला तीन सातादेखि प्रशिक्षणमा व्यस्त छन् । पहिलो दिनको कार्यशालामा सहभागी भएर प्रशिक्षण जुटेका उनीहरूले तीन दिने क्लोज क्याम्प धुलिखेलमा सम्पन्न गरे भने गत साता चारदिने जंगल क्याम्पका लागि सौराहा पुगेर गत सोमबार काठमाडौं फर्किएका छन् । प्रतियोगितामा दुई जना इन्जिनियरसहित पत्रकारिता, नर्सिङ, व्यवस्थापन आदि विषयमा स्नातकोत्तर, स्नातक तह उत्तीर्ण तथा अध्ययनरत युवतीहरू सहभागी छन् । प्रतियोगिताकै लागि केही युवती विदेशबाट आएका छन् भने कतिपय जागिरे जीवनबाट बिदा लिएर प्रतिस्पर्धामा होमिएका छन् । मोफसल तथा राजधानीमै सम्पन्न सौन्दर्य प्रतियोगिताका विजेताहरू समेत यसपटकको मिस नेपालमा प्रतिस्पर्धा गरिरहेका छन् ।

 

हात्तीवन, ललितपुरकी १९ वर्षीया स्वस्तिका सिलवाल मिस नेपाल–२०१७ की प्रतिस्पर्धी नम्बर १ हुन् । बीबीए दोस्रो वर्षमा अध्ययनरत ५ फिट ६ इन्च अग्ली स्वस्तिका भ्रमण गर्न, नयाँ साथी बनाउन तथा पुस्तक पढ्न रुचाउँछिन् । सफल व्यक्ति बन्नु उनको जीवनको लक्ष्य हो । मिस नेपालको मुकुटले आफ्नो शिर जनाउने सानैदेखिको सपना पूरा गर्न उनी यो प्रतिस्पर्धामा आएको बताउँछिन् । ‘म हरेक काममा कडा परिश्रम गर्न रुचाउँछु,’ साप्ताहिकको जिज्ञासामा स्वस्तिकाले भनिन्— ‘म उपाधि जित्नका लागि जस्तोसुकै परिश्रम गर्न तयार छु, हरेक परिस्थितिसँग जुध्न सक्ने मेरो क्षमताले नै मलाई विजयी बनाउनेछ ।’

 

ललितपुरकै रिंकु बज्राचार्य प्रतिस्पर्धी नम्बर २ हुन् । २३ वर्षीया रिंकु ५ फिट ६ इन्च अग्ली छिन् । नृत्य, यात्रा (ट्ेरकिङ) तथा चलचित्र हेर्ने सौख भएकी रिंकुले भविष्यमा उद्यमी बन्ने लक्ष्य लिएकी छिन् । जीवनमा पहिलो पटक सौन्दर्य प्रतियोगितामा सहभागी भएकी रिंकुले नेपाल कलेज अफ म्यानेजमेन्टबाट भर्खरै मात्र बीबीएको अध्ययन पूरा गरेकी हुन् । हरेक कार्य जिम्मेवारीपूर्वक गर्ने उनको स्वभाव छ । त्यही स्वभावलाई उनी मिस नेपालमा पनि प्रयोग गर्दैछिन् । ‘म नेपाली कला–संस्कृतिलाई नेपालबाहिरसम्म पुर्‍याउन चाहन्छु, मसँग त्यो खुबी छ,’ रिंकु भन्छिन्— ‘मेरो यही खुबीले मलाई मिस नेपाल बनाउनेछ ।’

झापाको प्रतिनिधित्व गर्दै मिस नेपालमा प्रतियोगी नम्बर ३ का रूपमा प्रतिस्पर्धा गरिरहेकी प्रियंका खड्का १९ वर्षकी भइन् । प्रतियोगिताका दुई कान्छी प्रतिस्पर्धीमध्ये उनी एक हुन् । ५ फिट साढे ५ इन्च अग्ली प्रियंका संगीत तथा समाजसेवामा रुचि राख्छिन् । धादिङ जिल्लाको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धी नम्बर ४ का रूपमा मिस नेपालमा सहभागी सुन्दरी हुन्– अनुषा लम्साल । २२ वर्षीया अनुषा ५ फिट ४ इन्च अग्ली छिन् । अनुषाले यसअघि कक्षा ७ मा अध्ययनरत छँदा राइजिङ भ्याली स्टार शीर्षकको प्रतियोगितामा सेकेन्ड रनर्सअपको उपाधि जितेकी थिइन् । फोरेस्ट्रीमा स्नातक अनुषा टुर, ट्राभल तथा वल्र्ड लाइफ कन्जरभेसनमा रुचि राख्छिन् । उनी भविष्यमा समेत कन्जरभेसिस्टका रूपमा काम गर्न चाहन्छिन् । नृत्य तथा पुस्तक अध्ययनमा समेत रुचि राख्ने अनुषाले मिस नेपालको सहभागितालाई आफ्नो बाल्यकालदेखिकै सपना बताएकी छिन् । उनी भन्छन्—‘मिस नेपाल एउटा सम्मानित पद हो ।’ यस पटकको मिस नेपालमा सहभागिता जनाउन हङकङबाट काठमाडौं आएकी प्रतिस्पर्धि हुन्– नर्मता गुरुङ ।

 

बुटवलकी स्थायी बासिन्दा नर्मता प्रतिस्पर्धी नम्बर ५ का रूपमा मिस नेपालमा सहभागी छिन् । ५ फिट ६ इन्च अग्ली नर्मताले अघिल्लो वर्ष सम्पन्न हन्ट फर सुपर मोडल–२०१६ को उपाधि जितिसकेकी छिन् । २० वर्षीया नर्मता हङकङमै जन्मिएर उतै हुर्किएकी हुन् । कम्प्युटर तथा इन्टेरियर डिजाइनमा स्नातक उत्तीर्ण नर्मताले भविष्यमा एजरहोस्टेज बन्ने लक्ष्य लिएकी छिन् उनी विगत चार वर्षदेखि हङकङमै मोडलिङ गरिरहेकी छिन् । वीरगन्जकी २२ वर्षीया रोजिना श्रेष्ठ प्रतियोगी नम्बर ६ हुन् । ५ फिट ६ इन्च अग्ली रोजिनाले स्नातक तह उत्तीर्ण गरिसकेकी छिन् । नृत्य, नयाँ ठाउँको भ्रमण तथा रेस्टुराँ कल्चरलाई आफ्नो सौख बताउने रोजिनाले भविष्यमा सफल उद्यमी बन्ने लक्ष्य लिएकी छिन् । मिस नेपाल प्रतियोगितामा आफ्नो आत्मविश्वासले सकारात्मक भूमिका निर्वाह गर्ने रोजिनाको तर्क छ । रोजिना भन्छिन्– ‘म यो प्रतियोगितामा आफैंसँग प्रतिस्पर्धा गरिरहेकी छु ।’

 

मित्रपार्क काठमाडौंकी रोजिना श्रेष्ठ नामकै अर्कि प्रतिनिधि भने प्रतियोगी नम्बर ७ का रूपमा मिस नेपालमा सहभागी छिन् । आईटी तथा म्यानेज्मेन्टमा स्नातक गरेकी २३ वर्षीया रोजिना ५ फिट ८ इन्च अग्ली छिन् । सामाजिक सेवा, यात्रा, केस एनालाइसिस, क्रिटिकल थिङ्किङ आदि विषयमा रुचि राख्ने रोजिनाले भविष्यमा सिस्टम एनालिस्टका रूपमा काम गर्ने योजना बनाएकी छिन् । रोजिना भन्छिन्—‘म आत्मविश्वासका साथ बोल्न सक्छु, मसँग नेतृत्व गर्न सक्ने क्षमता छ ।’

चावहिल, काठमाडौंकी १९ वर्षीया आसिना बराल प्रतिस्पर्धी नम्बर ८ हुन् । सेन्ट जेभियर्स कलेजमा सोसल वर्क (बीएसडब्ल्यू) को दोस्रो सेमेस्टरमा अध्ययनरत आसिनाको रुचि पनि समाजसेवा नै हो । ‘मसँग धेरै सपना छन्,’ आसिना भन्छिन्— ‘मिस नेपाल मेरा लागि तिनै सपना पूरा गर्ने पहिलो खुड्किलो हो । यो प्रतियोगिताबाट मैले बोल्ने, हाँस्ने, उभिने मात्र होइन, जीवन के हो भन्ने कुरासमेत बुझ्ने अवसरमा प्राप्त गरेकी छु, आसिना भन्छिन्— ‘म यो प्रतियोगिता जित्नैपर्छ भन्ने मान्यतामा विश्वास गर्दिनँ, जित्ने–हार्ने भन्दा पनि त्यसका लागि धेरैभन्दा धेरै परिश्रम गर्ने कुरामा विश्वास गर्छु ।’ आसिनाले वर्ष २०१४ मा सम्पन्न मिस एसएलसीमा शीर्ष उपाधि जितिसकेकी छिन् ।

 

स्याङ्जाकी २४ वर्षीया अनिता भण्डारी मिस नेपालको प्रतियोगी नम्बर ९ हुन् । माइक्रो बाइलोजीमा मास्टर्स गरिरहेकी अनिता सामाजिक कार्यमा रुचि राख्छिन् । पुस्तक पढ्नु तथा परिवारका सदस्यहरूसँगै रमाउनु उनका सौख हुन् । बुवा–आमा जापानमा भएकाले उनी एक भाइ तथा एक बहिनीकी अभिभावकसमेत हुन् । राम्रो तथा असल व्यक्ति बन्ने लक्ष्य लिएकी अनिता भन्छिन्, ‘मौका पाए म जे पनि गर्न सक्छु ।’ अनिता २०१३ मा सम्पन्न मिस ग्लोबल ब्युटी क्विनमा प्रतिस्पर्धा गर्दै उत्कृष्ट १० सम्म पुग्न सफल भएकी थिइन् ।

 

लाजिम्पाट, काठमाडौंकी २३ वर्षीया रक्षा कार्की प्रतिस्पर्धी नम्बर १० हुन् । ५ फिट ५ इन्च अग्ली रक्षा इन्भाइरोमेन्ट इन्जिनियर हुन् । स्केच (चित्रकला) बनाउन तथा पुस्तक पढ्न रुचाउने रक्षा सामाजिक कार्यमा समेत रुचि राख्छिन् । भविष्यमा सफल उद्यमी बन्ने लक्ष्य लिएकी रक्षा यतिबेला आफ्नो ढाकाको होम फर्निसिङ व्यवसायमा आबद्ध छिन् भने एन्टिपोलुसन मास्कमा पनि सहभागी छिन् ।
दाङको प्रतिनिधित्व गर्दै मिस नेपालमा सहभागी भएकी नीति शाह स्थापित मोडलसमेत हुन् । मिस नेपालमा प्रतिस्पर्धी नम्बर ११ का रूपमा सहभागी नीति सेन्ट जेभियर्स कलेजमा पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातक गरिरहेकी छिन् । ५ फिट ५ इन्च अग्ली २१ वर्षीया नीति नृत्य एवं यात्रा गर्न तथा नयाँ–नयाँ मानिसहरूसँग भेटघाट गर्न रुचाउँछिन् । खानेकुराकी सौखिन नीति एमएनएससहित थुप्रै प्रिन्ट मिडियामा कभर गर्लका रूपमा

प्रकाशित भैसकेकी छिन् । ‘म हरेक काम लगनशीलतापूर्वक गर्न रुचाउँछु, नीति भन्छिन्— ‘ममा प्रसस्त इच्छा शक्ति छ ।’ नीतिले आफू सकारात्मक सोच राख्ने युवती भएकीले यही स्वभाव नै आफ्नो सफलताको कारक हुने बताएकी छिन् । भरतपुर, चितवनकी उरुषा अधिकारी प्रतिस्पर्धी नम्बर १२ हुन् । २२ वर्षीया उरुषाले काठमाडौं युनिभर्सिटीबाट बिएस्सी नर्सिङ गरेकी छिन् । भर्खरै सम्पन्न मिस चितवनमा फोर्थ रनर्स अपको उपाधि जितेकी उरुषा यात्रा गर्न, संगीत सुन्न तथा पौडी खेल्न मन पराउँछिन् । मिस नेपालको उपाधि जित्नुलाई नै जीवनको लक्ष्य बनाएकी उरुषा भविष्यमा नर्सिङ विषयमै मास्टर्स तथा पीएचडी गर्ने योजनामा छिन् ।

 

पाल्पाकी मञ्जरी सिंह इन्जिनियर हुन् । प्रतियोगी नम्बर १३ मञ्जरीले बैंककबाट सिभिल इन्जिनियरिङ गरेकी छिन् । २२ वर्षीया मञ्जरी ५ फिट ५ इन्च अग्ली छिन् । चित्रकला तथा खेलकुदमा रुचि राख्ने मञ्जरी इन्जिनियरिङको अध्ययन प्रारम्भ गर्नुअघि नै मोडलिङमा रुचि राख्थिन् । ‘अध्ययन सिध्याएपछि मिस नेपालमा आउने योजना थियो, मञ्जरी भन्छिन्— ‘नेतृत्व गर्न सक्ने क्षमता तथा देशको प्रतिनिधित्व गर्न सक्ने आत्मविश्वासले नै मलाई मिस नेपालसम्म ल्याइपुर्‍याएको हो ।’

 

उर्लाबारी, मोरङकी निकिता चाण्डक प्रतिस्पर्धी नम्बर १४ हुन् । ५ फिट ६ इन्च अग्ली निकिताले भारतको नोएडाबाट ब्याचलर्स इन कमर्स गरेकी छिन् । नृत्य, गीत तथा मोडलिङमा रुचि राख्ने निकिता समाजसेवामा उत्तिकै अग्रसर हुन्छिन् । भविष्यमा अभिनेत्री बन्ने लक्ष्य लिएकी निकिता सकारात्मक सोचका कारण जीवनमा सफलता प्राप्त हुने कुरामा विश्वस्त देखिन्छिन् । निकिताले केही फेसन शोमा समेत क्याटवाक गरिसकेकी छिन् ।

पोखराकी ज्ञानी बराल प्रतियोगी नम्बर १५ हुन् । ५ फिट ६ इन्च अग्ली ज्ञानी यतिबेला पोखराबाटै व्यवस्थापन संकायमा एमबीएस गर्दैछिन् । पहिलो पटक कुनै पनि सौन्दर्य प्रतियोगितामा सहभागिता जनाइरहेकी ज्ञानी पुस्तक पढ्न, पौडी खेल्न तथा साइकिलिङ गर्न रुचाउँछिन् । जीवनमा केही नयाँ तथा नौलो काम गर्ने उनको लक्ष्य छ । ‘म अहिले मिस नेपालमा धेरै कुरा सिकिरहेकी छु, म को हुँ भन्ने कुरा बुझ्ने मौका पाइरहेकी छु, ज्ञानी भन्छिन्— ‘यही सिकाइले मलाई सफलता दिलाउनेछ ।’

 

तीनटोलिया, विराटनगरकी दृष्टि कटवाल प्रतिस्पर्धी नम्बर १६ हुन् । ५ फिट ५ इन्च अग्ली २३ वर्षीया दृष्टि नर्सिङमा स्नातक गरिरहेकी छिन् । यात्रा गर्नु तथा कला एवं संस्कृतिका बारेमा जानकारी लिनु उनका सौख हुन् । भ्वाइलिन वादनमा रुचि राख्ने दृष्टिले भविष्यमा जुन विधामा गए पनि त्यसमा सफल हुने लक्ष्य लिएकी छिन् । कडा मेहनतका कारण मिस नेपालमा सफल हुने उनको अनुमान छ ।
धोविघाट, ललितपुरकी सहारा बस्नेत प्रतिस्पर्धी नम्बर १७ हुन् । २३ वर्षीया सहारा ५ फिट ५ इन्च अग्ली छिन् । सन् २०११ मा सम्पन्न मिस ग्लोबल प्रतियोगिताको उत्कृष्ट ५ सम्म पुग्न सफल सहारा बास्केटबल खेलाडीसमेत हुन् । पियानोवादनमा समेत रुचि राख्ने सहाराले खुसी हुने प्रयास गर्नुलाई नै आफ्नो जीवनको लक्ष्य बनाएकी छिन् । आफ्नो लगनशीलताका कारण मिस नेपालमा सफल हुने उनको भनाइ छ ।

 

शान्तिचोक, विराटनगरकी २२ वर्षीया वर्षा पोखरेल प्रतिस्पर्धी नम्बर १८ हुन् । भारतको नयाँ दिल्लीबाट प्लस टु तथा बीकम अनर्स गरेकी वर्षा अब भने नेपालमै रहेर काम गर्न चाहन्छिन् । ५ फिट ४ इन्च अग्ली वर्षा भ्रमणमा रुचि राख्छिन् । भारतका प्रमुख सहरदेखि नेपालका स्वर्गद्वारी, मुक्तिनाथ, गोसाइँकुण्ड तथा कालिञ्चोकसम्मको भ्रमण गरिसकेकी वर्षाले दिल्लीमा रहँदा मोडलिङसमेत गरेकी थिइन् । ‘नेपालमा यति राम्रा ठाउँहरू छन्,’ वर्षा भन्छिन्— ‘म नेपालीहरूलाई नेपालमै कति राम्रा ठाउँ छन् भन्ने कुरा बुझाउने प्रयास गर्नेछु ।’ ‘हामी १९ जना नै विजेता हौं,’ एउटा जिज्ञासामा वर्षाले भनिन्— ‘देशभरिबाट छनौट भएर प्रतिस्पर्धामा सहभागी हुनुलाई नै मैले विजयका रूपमा लिएकी छु ।’ यद्यपि आफ्नो स्पिरिट तथा स्टेज परफरेन्सका आधारमा आफूले विजेता बन्ने सक्दो प्रयास गर्ने उनको तर्क छ।

शनि अर्जुन, झापाकी स्थायी वासिन्दा हुन् प्रतिस्पर्धी नम्बर १९ कृतिका गिरी । १९ वर्षीया कृतिका मिस पूर्वाञ्चल २०१६ की विजेता पनि हुन् । पत्रकारितामा स्नातक गरिरहेकी कृतिका ५ फिट ४ इन्च अग्ली छिन् । ‘मिस पूर्वाञ्चलको प्रतिस्पर्धाका क्रममा म यो क्षेत्रका सम्बन्धमा अनभिज्ञ थिएँ,’ कृतिका भन्छिन्— ‘पहिलो प्रयासमै मैले उक्त प्रतियोगितामा सफलता प्राप्त गरें । मिस नेपालसम्म आइपुग्दा ममा आत्मविश्वास बढेको छ । त्यही आत्मविश्वासका कारण म यो प्रतियोगितामा सफल हुनेछु भन्ने लाग्छ ।’

प्रकाशित :जेष्ठ २, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्