यस्तो पो संयोग

- साप्ताहिक संवाददाता

जेष्ठ १, २०७४

चलचित्र ‘लम्फू’ को एउटा मार्मिक दृश्यका लागि निर्देशक गोपालचन्द्र लामिछानेलाई झरी चाहिएको थियो । पर्वतस्थित कालीगण्डकीको किनारमा छायाँकार दीपक बज्राचार्यले एउटा सुन्दर लोकेसन हेरिसकेका थिए । गहिरो नदीको डरलाग्दो भीरमा छायांकन गरिने चाँजोपाँजो मिल्यो, तर अघिल्लो शनिबार बिहानैदेखि लागेको चर्को घामका कारण निर्देशक लामिछाने केही चिन्तित भए । साँझसम्म पानी नपरे उनी कृत्रिम तरिकाले पानी पार्ने योजना बनाइरहेका थिए ।

 

तीन बजे प्राविधिकसहित झन्डै १५ जनाको युनिट अग्लो डाँडामा उक्लियो । अभिनेता कबिर खड्का तथा बालकलाकार कुशाग्र भट्टराई सटका लागि तयार भए । स्पटब्वाइहरूले कृत्रिम पानी पार्ने तयारी पनि थाले । छायाँकार बज्राचार्यले क्यामेराको स्विच अन गरेलगत्तै आकाश मराडिएर आयो । गड्याङ्गुडुङ गर्दै बिजुली पनि चम्किन थाल्यो । त्यसको केही मिनेटमै असिनासहितको पानी पर्‍यो । छायाँकारलाई क्यामेरा जोगाउनै धौ–धौ परिरहेका बेला निर्देशक भने दंग देखिए । दाजुभाइको भूमिकामा प्रस्तुत भएका कबिर र कुशाग्रले झरीमा रुज्दै सट दिए । प्लास्टिक तथा छातामार्फत आफू र क्यामेरा जोगाउँदै छायाँकरले दाजु–भाइको आत्मीयतालाई कैद गरे भने एक सटमै दृश्य ‘ओके’ भएपछि सबै जना दंग परे ।

प्रकाशित :जेष्ठ १, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्