नागरिक कि कार्यकर्ता ?

- अविरल थापा

वैशाख ३१, २०७४-  

यो देशमा प्रजातन्त्र र सुशासनको नाममा २००७ सालदेखि पटक–पटक क्रान्ति भए । कहिले राणाका विरुद्ध, कहिले राजाका विरुद्ध, कहिले निर्दलीय शासनका विरुद्ध । पटक–पटक जनताले प्रजातन्त्र र लोकतन्त्रको बहालीका लागि रगत पसिना बगाएर राजनीतिक नेताहरूलाई साथ दिए । जनताले पटक–पटक यसलाई साथ दिए केही होला कि उसलाई दिए केही होला कि भनेर विभिन्न दललाई सत्तामा पनि पुर्‍याए । यद्यपि जुनसुकै वाद वा जतिसुकै सुशासनको पैरवी गर्ने दल सत्तामा पुगे पनि उनीहरू जनमुखी हुन सकेनन् र देशले विकास र समृद्धिको बाटो समात्न सकेन । 

 

पटक–पटकको राजनीतिक खिचातानी एवं सत्तामा पुग्ने र सरकार गिराउने घिनलाग्दो खेलले देश अधोगतितर्फ लागिरहेकै छ । देश गरिब भन्दा गरिब हुँदै गैरहेको छ, तर यो देशका अधिकांश नेताले राजधानीमा घरघडेरीका साथै राम्रै बैंक ब्यालेन्स जोडेका छन् । नेताका श्रीमतीहरूले कहिल्यै ग्याँसको लाम बस्नु परेन, उनीहरूका छोराछोरीले कहिल्यै सार्वजनिक सवारीमा झुन्डिएर यात्रा गरेको देखिएन । जनताको बाटो रोकेर नेताहरू साइरन बजाउँदै हुइँकिइरहे ।

 

कतिपय नेता भ्रष्टाचारको अभियोगमा जेल पनि परे, तर छुट्दा अलिकति पनि लाज–शरम नमानी झुटो आरोप लगाएर थुनेको भनी अबिरमाला गर्दै बाहिर निस्किए । हामीले वर्षौंसम्म नेताले देश बिगारे, नेताले देश बिगारे भनेर धारे हात लगाइरह्यौं तर कुन–कुन पार्टीको क–कसले सत्तामा पुगेर के गरे, के बिगारे, राम्रो लेखाजोखा राखेनौं । हामीले तिनै नेतालाई गाली गर्यौं र तिनैलाई पटक–पटक सत्ताको भर्‍याङ चढाइरह्यौं । हामी जनता प्रत्येकपल्ट चुनाव आउँदा किन कार्यकर्ता हुन्छौं, किन नागरिक हुन सक्दैनौं ?

 

हामीलाई नागरिक भएर सोच्न के कुराले रोक्छ ? सही नेता र पार्टी रोज्ने बेलामा हाम्रो विवेकको बिर्को किन बन्द हुन्छ ? यो देशमा पार्टीको नाम र कागजमा लेखिएको सिद्धान्त मात्र फरक छ । हरेक पार्टीका नेता, तिनको कार्यशैली एवं जीवनशैली हेर्ने हो भने को– कुन विचारधाराको भनेर सजिलै छुट्याउन सकिंदैन । मतदाताहरू गाखउँ–ठाउँमा मेरो पार्टीको नेता यस्तो र उस्तो भनेर पौंठेजोरी खेलिरहँदा यता तिनकै नेताहरू अठ्ठाहस गर्दै रक्सीको चुस्कीमा रमाइरहेका हुन्छन् । 

 

अब जुनसुकै पार्टीका भए पनि को असल र को खराब छन्, तिनको पहिचान गर्न सक्नुपर्छ । अब यो देशमा कुनै पनि पार्टीको पछि लागेर सती जान अबेला भैसकेको छ । सबै पार्टीले आफना विचार एवं सिद्धान्तलाई तिलाञ्जली दिइसकेका छन् र अब कोही पनि दूधले नुहाएका छैनन् । अब पनि मतदाताले कार्यकर्ता बन्न छोडेर नागरिक भएर नसोच्ने हो भने यो देशले कहिल्यै काँचुली फेर्न सक्नेछैन । चाहे नयाँ पार्टीका नेता हुन् वा पुराना, चाहे आफूले विश्वास गरिंदै आएको पार्टीको वा विपक्षी पार्टीको अब खराबलाई पाखा लगाउँदै असललाई चुन्न हिचकिचाउनु हुँदैन । निर्वाचन सकिएपछि गाली गर्ने र निर्वाचनका बेला एउटै गल्ती जीवनभर गरिरहने आत्मघाती कदम अब रोक्नैपर्छ । जोसुकै चुनियोस् तर समाज र देश हाँक्न सक्ने सज्जन र दूरदर्शी व्यक्ति चुनियोस् । 

 

अब नागरिक भएर सोच्ने बेला आएको छ । हरेक मतदाताले आत्मविद्रोह गर्नुपर्ने बेला आएको छ । क्षणिक स्वार्थ र लाभको पछि नलागी कुनै वाद र झन्डाको कैदमा नपरी कुनै आफन्तको अनुहार नहेरी असल उम्मेदवारलाई चुन्नैपर्ने भएको छ । फरक–फरक पार्टीका भए पनि असल–असल मानिस मात्र सत्तामा पुगे भने पक्कै पनि तिनले देशका लागि केही सोच्नेछन् । सक्षम र योग्य व्यक्तिले झगडा वा वादविवाद नै गरे पनि असल कामका लागि गर्नेछन् ।

 

कसरी बाँडेर खाने भन्दा कसरी बाँडेर काम गर्ने भन्ने विचारविमर्श हुनेछ । एकफेर छातीमा हात राखेर सोचौं, आजसम्म तन्त्र फेरेर हामीले के पायौं हामीले एउटै दलका नेतालाई प्रत्येक निर्वाचनमा भोट दिएर के पायौं ? साथीभाइ र परिवारको लहैलहैमा लागेर के पायौं ? सत्तामा पुगेर पटक–पटक धोका दिएका नेता र पार्टी कुन–कुन हुन् ? निर्वाचनका बेला धनुष्टङ्कार गर्दै आइपुग्ने र वर्षौंसम्म ढाड पनि नदेखाउने धोकेवाजहरू को–को हुन् ? अब पनि हामी नागरिक हुन सकेनौं र हाम्रो विवेकको घैंटोमा घाम लाग्न सकेन भने इतिहासले कदापि माफ दिनेछैन । जनता कति सचेत भए कति विवेकी भए भन्ने सूचक निर्वाचनको परिणामले दिनेछ । नेतै गतिला भएनन् भनेर टाउको ठोकिरहने, नेताले देश खत्तम पारे भनेर धिक्कारिरहने कि गतिलो नेता जन्माउने दुस्साहस गर्ने ? पुरानाको विकल्पमा स्वच्छ छवि भएका नेतालाई एकफेर किन मौका नदिने ? पुरानाका पनि कलंकितलाई पाखा लगाएर नयाँ र आशालाग्दालाई किन मौका नदिने ?

 

हामीले अब पनि कार्यकर्ता हुन छोडेर नागरिक भएर निर्णय गरेनौं भने यो देशलाई भीर बाट खस्न कसैले रोक्न सक्नेछैन । जुुन दिनदेखि आफूलाई सचेत र विवेकशील भन्नेहरूले कार्यकर्ता हुन छोडी नागरिक भएर मतदान गर्नेछन् त्यही दिनदेखि यो देशले कोल्टे फेर्ला अन्यथा यो देश अझै वर्षौंसम्म घोप्टो परेर रोइरहनेछ वा उत्तानो परेर छटपटाइरहनेछ । बेलैमा सोचौं, यो देशलाई दलालहरूको हातबाट जोगाऊँ । 

 

प्रकाशित :वैशाख ३१, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्