मेरो देशले नहारोस्

- डा.तोसीमा कार्की

वैशाख ३०, २०७४- 

झट्ट हेर्दा म जस्तै देखिने, म भन्दा अलि बढि उमेरको युवक मेरो नजिकै आई । मलाई 'साथी' सम्बोधन गर्छ, 

'ए साथी ! भोट के मा हाल्छौ ? '

म हिच्किचाउँदै भन्छु 'सूर्यमा' 

'लौ तिम्रो सूर्य त डुबिसक्यो अब, रुख हेर हराभरा छ  !'

 

म आफ्नो तर्क दिन्छु  'ए ! अनि तिम्रो रुख चाहिँ बिना सूर्य हरियो भयो होला र ?'

उ फेरी भन्छ 'तर यो रुखको पनि अब हाँगा बिगा रहेन, हँसीयाले हतौडाले काटेर गाईलाई ख्वाईसके, नत्र बिचरा गाईले दूध कसरि देओस् ?' 

म अलमल्ल पर्छु 'हैन तिमी कुन चाहिँ पार्टी हौ ? बुझ्नै गारो भो त !

 

उ हाँस्छ.... 'ऊ त्यहाँ पर हेर त !'

उसको चोर औँलाले निर्देशित दिशातिर म आखाँ लगाउछु, मेरा नयन एक टकसँग टक्क त्यहि अड्किन्छन् अनि मेरा पाईला त्यतै लम्किन थाल्छन् ।

 

 देख्छु ... करिब ५ कोस पर एउटा डाँडा जसमा सुनौलो घामका किरणले भुमि चुमिरहेका, डाँडाको टुप्पामा एउटा विलक्षण अनि विशाल झुम्म परेको हरियो रुख, अनेक जातका फलफुलहरु लटरम्म फलि त्यस रुखका हाँगाहरु सद्भभावले झै नुहेका , घमाईलो त्यो डाँडामा एउटा सुन्दर गाई चरिरहेको अघि पछि बाछ्छा बाछ्छी गाइको दूध चुस्दै उफ्रिदै गरिरहेका । 

 

हामी त्यो डाँडा नजिक जान्छौ ।

आहा ! त्यहाँ त गोठाले दाई पनि रहेछन् । टिलिक्क टल्किएको नयाँ ईस्टकोट लाएर डाँडाको पाखामा बसी धारीलो हँसीयाले घाँस काट्दै रहेछन् । सायद गाइलाई ख्वाउन होला.....।

 

त्यो डाँडामा मैले जुन शालिनता जुन रोमाञ्चक सौन्दर्यता देखे , मैले मन थाम्नै सकिन ।

हत्तपत्त मैले खाँदै गरेको सेलरोटि साथीलाई थम्याईदिए 'लौ तिमी यो सेलरोटि खाँदै गर, म चाहिँ  फोटो लिन्छु ।

'फोटोमा मलाई चाहिँ नछुटाउ है सोल्टी !'

'हुन्छ, हुन्छ'

 

ऊ अनुहारमा अद्भुत मुस्कान बोकेर पूर्ण हर्षले तस्विरको हिस्सा हुन डाँडाको बिचमा निर्धक्क उभियो ।मानौ उबिना त्यो दृश्य नै अपुरो हुन्थ्यो झैँ !

 

त्यो सुन्दर दृश्य, त्यो सुन्दर पल लाई जिवन्त राख्न, मैले गलामा भिरेको डि.एस.एल.आर क्यामेरा झिकी फोटो खिच्न 'क्याप्चर' बटन दबाए.... ।

क्यामेराबाट अस्वभाविक आगोको झिल्का सहित कानै फुट्ने गरि डरलाग्दो आवाज निस्कयो !

'डुम !!!!'

म झसङ्ग भए ! 

चारैतिर अन्धकार !! 

यता उति छामेपछि थाहा पाए म त ओछ्यानमा रहेछु...

घडिका' सुई भने टल्किरहेका थिए... 'मध्यरातको १२:३०' 

समय मात्र फड्को मार्दै थियो बाँकि सब सुनसान !...

मौन अवधी चलिरहेको रहेछ....। 

अनि मेरो देश ?

अन्धकार  ! अस्तव्यस्त  ! 

न सूर्यको किरणले उज्यालो दिन सक्यो,

न रुखका पातहरु मौलाएर मिठा फल दिन सके,

न गाई राम्ररि घाँस चरि सुद्ध मिठो दूध दिन सक्यो,

हँसिया हतौडा पनि घाँस हैन डाँडा नै काट्न थाले,

खै अब गोठाले दाई पनि कुनदिन इस्टकोट किल्लामा झुण्याई सुत्न जाने होला !

 

यस्तो बिरक्त लाग्दो मेरो ठाउँको दृश्यलाई अब खै कुन क्यामेराले खिचेर राम्रो पारुँ म ??

'ओहो १ बजिसकेछ...'

बिहान ७ बजे देखि स्थानीय चुनावको मतदान सुरु हुदैछ..।

अब युग परिवर्तन हुने सपना बोकि निदाउन, म सँग बाकी छ मात्र ६:३० घण्टा 

तर म निदाउन सक्दिन... फेरी म त्यहि सपना केलाउन थाल्छु...

सायद त्यो मैले देखेको पाँच कोस पारिको डाँडा , ५ वर्ष पछिको मैले कल्पेको मेरो देश नेपाल रहेछ !

 

अनि म सँगै त्यो डाँडा हेरि दङ्ग परेको साथी, ५ वर्ष पछिको 'म' रहेछु !

हो 'म' । हरेक सच्चा नेपालीको प्रतिनिधी त्यो 'म' जो अहिले त्यो सपना देख्दैछ ।

जो त्यो सुन्दर घमाईलो डाँडामा, गाई गोठाला घाँसपात हेर्दै , ईस्टकोट ढाका टोपी लगाएर, हरिया रुखका छहारिमा बसी, संस्कृतिसँग रुझ्दै सेलरोटि खादै, शान्तिको श्वास फेर्दै देशोन्नतिको झण्डा डाँडाको चुचुरोमा फर्फराएको हेर्न चाहन्छ । अनि त्यो अद्भुत अलौकिक तस्विर खिच्न लोभान्वित हरेक देशि-विदेशि क्यामेराहरुतर्फ शान्त शालिन सार्वभौमिक र गौरवशाली मुस्कान मुस्कुराउन चाहन्छ ।

 

हो, नेपाललाई माया गर्ने, नेपाललाई मुटुमा साँच्ने,

नयाँ नेपालको नयाँ सपना देख्ने,

'म'हरु मध्यको एक 'म' !

अब 'म' यो सपनालाई विपना बनाउने अभियानमा जाँदैछु,

हो 'म' भोट हाल्न जाँदैछु,

म यो प्रजातन्त्र बाँच्न चाहन्छु,

म यो लोकतन्त्र  बाँच्न चाहन्छु 

त्यसैले मेरो मन, मेरो विवेकले, 

मेरो ठाउँ, मेरो देश हाक्नेलाई रोज्न जादैछु,

हो 'म' भोट हाल्न जाँदैछु,

 

पार्टि विषेशलाई हैन, मेरो राजधानीलाई जिताउछु 

व्यक्ति विशेषलाई हैन , उसको कार्य योजनालाई जिताउछु 

हो म भोट हल्न जादैछु 

किनकी म चाहन्छु

जसले जिते पनि 'म' हरुको सपनाले नहारोस्

जसले हारे पनि पनि मरो राजधानीले नहारोस्

मेरो देशले नहारोस् । 

प्रकाशित :वैशाख ३०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्