चुनावी नाराको बिग्रिएको पारा

- मनोज गजुरेल

वैशाख २८, २०७४- 

नाराबाट पारा बुझिन्छ अर्थात् कसले कस्तो नारा लगाउँछ त्यसैबाट उसको नैतिक एवं राजनैतिक धरातल थाहा हुन्छ । आक्रामक नारा लागाउने पार्टीको नाम शान्ति पार्टी भए पनि उसले देशलाई कहिल्यै शान्त बनाउन सक्दैन । चुनावी नारा र जीवन्त नाराबीच आकाश–जमिनको फरक हुन्छ । चुनावी नारा खहरे खोला हुन् भने जीवन्त नारा नदी हुन् । गजुरियल विश्लेषक नदी नाराको पक्षमा छ ।

 

२० वर्षपछि स्थानीय निर्वाचन हुँदैछ, तर प्रचारशैली भने उही ०५४ सालको छ । उही खहरे शैलीका नाराको बोलावाला छ । नदीवाला नारा त केवल घोषणापत्रमा मात्र सीमित देखिन्छ । उतिबेला आफ्नो प्रचार गर्दा अरूलाई होच्याउने काम गरिन्थ्यो । होच्याउने मात्र होइन, सात पुस्तालाई सिध्याउने गरी मुख छाडिन्थ्यो, तथानाम गाली बसाइन्थ्यो । ‘महाकाली बेच्ने एमाले’, ‘कोसी बेच्ने कांग्रेस’, ‘राजा बोक्ने राप्रपा’, ‘हावा बोक्ने जनमोर्चा’जस्ता नारा लाग्थे । आज पनि स्थिति त्योभन्दा भिन्न छैन ।

 

पुराना पार्टीको कुरै नगरौं, नारामा नयाँपन छैन । पुराना पुरानै भैगए, नयाँ भनिएका पार्टीका नारामा पनि पुरानै पारा देखिन्छ । विपक्षीप्रतिको आक्रोश उस्तै पुरातन देखिन्छ । यसको ज्वलन्त उदाहरण शेरबहादुरलाई स्यालबहादुर र पुष्पकमललाई फुस्स कमल भनिनु नै हो ।

 

हरेक पार्टीका शिक्षक संगठन छन् तर तिनको पार्टीका नारा एउटा लन्ठुले बोल्ने भाषाभन्दा माथिल्लो हुँदैन । बुद्धीजीवी परिषद् खोलिएको हुन्छ तर चुनावी नारा सुन्दा मुर्खजीवी भन्न पनि सुहाउँदैन । लेखक संघ, सर्जक संघ, विद्यार्थी संघ जस्ता धेरै संघ–संगठन छन् तर चुनाव लागेपछि ती सबैको बौद्धिकता हिंसात्मक हुन्छ । त्यसपछि चुनावी नारा पनि अराजक बन्न पुग्छ । 

 

आज पनि पार्टीहरूको बौद्धिकता त्योभन्दा फरक छैन । ‘लम्पसारवादी प्रचण्ड’, ‘खोक्रोवादी ओली’, ‘धोक्रोबादी देउवा’, ‘मुसाप्रेमी कमल’, ‘अवसरवादी उपेन्द्र’जस्ता नारालाई त राम्रो भन्नुपर्छ । सामाजिक सञ्जालमा त्योभन्दा पनि तल्लो स्तरका नारा देखिन्छन् जसले पार्टीहरू कतिसम्म असिर्जनशील छन् भन्ने देखाउँछ ।

 

गजुरियल विश्लेषक भन्छ, को–कति स्वच्छ चुनाव चाहन्छ भन्ने कुरा उसको नाराबाट थाहा हुन्छ । शान्तिपूर्ण चुनाव चाहनेहरूको प्रचार सामग्री पनि शान्त खालको हुन्छ । सुन्दै भोट हाल्न जाउँm–जाऊँ लाग्छ । स्वच्छ निर्वाचन चाहनेको नारा पनि सुन्दर हुन्छ, हेर्दै मतदान गरौं–गरौंजस्तो लाग्छ । गजुरियल विश्लेषकलाई लाग्छ– आफ्नो माल बेच्न अरूको बदख्वाइँ गर्नु अनैतिक हो, अवैज्ञानिक हो, अराजनैतिक हो । अरूको सहारा लिएर आफ्नो आहारा जुटाउने काम कमजोरले मात्र गर्छ । आफ्नै बलबुताको जितमात्र जित हो, अरूको कमजोरीमा टेकेर जित्न खोज्नु नालायकी हो ।

 

यदि यसैलाई राजनीति मान्ने हो भने सचेत पुस्ताले राजनीतिलाई डर्टी गेम भनिरहनेछ । पार्टीलाई डर्टी ग्रुप र नेतालाई डर्टी फेलो मानिरहनेछ । अर्कालाई होच्याएर माथि पुग्ने प्रक्रिया नै चुनाव हो भने त्यस्तो चुनावमा सचेत मानिसहरूको मन अडिँदैन । कि त ऊ विरोधमा ओर्लन्छ या बहिष्कार गर्छ ।

 

चुनाव भनेको प्रतिस्पर्धा हो, वारपार होइन । प्रतिस्पर्धामा जित्ने सम्यक प्रयास गरिन्छ, वारपारमा हिंस्रक वारदात हुन्छ । प्रतिस्पर्धा गर्नेले आफ्नो जितपछि पनि प्रतिस्पर्धीप्रति सम्मानित व्यवहार गर्छ । वारपारको मनस्थिति भएकाले जितलाई उन्मादका रूपमा लिन्छ । विपक्षिलाई ‘विरोधी’ मान्छ ।

 

राजनीतिमा विरोधी होइन, विपक्षी हुन्छ । विरोधी त युद्धमा हुन्छ । चुनाव युद्ध होइन, शुद्ध अभियान हो । अभियानमा आक्रोश हुँदैन, शान्तपूर्ण प्रयास हुन्छ । नरम भाषा बोलिन्छ । सुन्दर शब्द प्रयोग गरिन्छ । मनलाई खुसी बनाएर आकर्षित गरिन्छ । विपक्षीप्रति घृणा फैलाउने उद्देश्यले गरिने प्रचारलाई शान्तिपूर्ण प्रचार भन्न सकिँदैन । 

 

अशान्ति भौतिक संरचनाको तोडफोड मात्र होइन, मानव मस्तिष्कलाई नकारात्मक प्रभाव पार्ने सन्देश (नारा) दिनु पनि अशान्ति हो, हिंसा हो, जुन नाराले मनलाई शान्त बनाउँछ, मस्तिष्कलाई आनन्दित तुल्याउँछ, विपक्षीलाई गालीभन्दा आफ्ना बारेमा बताउँछ उसैले जनताको मन जित्छ भन्ने गजुरियल ठम्याइ छ ।

 

प्रकाशित :वैशाख २८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्