समाजसेवामा विद्यार्थीहरू

- नरेन्द्र रौले

कलेज बिदा भएपछि क्याटिनमा बसेर उनीहरू कहाँ के सहयोग पुर्‍याउने भनेर छलफल गरिरहेका हुन्छन्, काम बाँडफाँडको तयारी गरिरहेका हुन्छन् । गत वर्ष भूकम्पले भौतिक संरचनाहरू तहसनहस बनायो । भूकम्पपीडितहरू जाडोले गर्दा मरेको खबर दैनिकजसो आइरहेको थियो । पीडितहरू निकै कष्टकर जीवन बिताइरहेका थिए । उता थुप्रै गाउँ राहत कुरिरहेका थिए । यस्तो अवस्थामा डोकोनाम्लो समूहमा आबद्ध यी तन्नेरीहरू चुप लागेर बस्न सकेनन् । उनीहरूले आपसमा सल्लाह गरे । सबैलाई लाग्यो, तत्काल घटनास्थल पुगेर केही सहयोग गर्नुपर्छ । मन भएपछि बाँकी कुरा आफैं जुट्ने रहेछ ।

वैशाख २८, २०७४

 

गत वर्षको होलीमा अरू अबिरले रंगिँदा सामाखुसीस्थित लिंकन कलेजमा स्नातक तह तेस्रो वर्षमा अध्ययनरत सोसल वर्कका विद्यार्थीहरू भने गोरखातिर हुइँकिँदै थिएँ । हिलाम्मे बाटोमा डेढ घण्टा गाडी फस्दा पनि छात्र–छात्राहरू आत्तिएनन् । बरु गोरखाका स्कुलहरूमा स्वंयसेवा गर्न हिँडेका उनीहरू उत्साहित थिए । 

 

‘त्यहाँ पुगेपछि बडो रमाइलो भयो ।’ उदयपुर, गाईघाटका रसिक रुचाल तथा हेटौंडाका सुदन घिमिरेले बताए ‘हामीले सहयोग पुयाएका विद्यार्थीहरूको ओठमा मुस्कान देख्दा बाटोमा पाएको सबै दु:ख भुल्यौं ।’ उनीहरूले गोरखाको नाम्जुङस्थित सरकारी स्कुल कालिका निमावि, भीमसेन निमावि तथा जलदेवी निमाविमा स्टेसनरी सामानहरू वितरण गरे भने भीमसेन निमाविलाई ७ सयभन्दा बढी पुस्तक प्रदान गरेर पुस्तकालय स्थापना गर्न सहयोग पुर्‍याए । उनीहरूले गोरखामा सहयोग प्रदान गर्न ‘सोसल वर्क डे’ को अवसर पारेर सामाजिक सञ्जाल, कलेजहरू सहृदयी सहयोगीहरूबाट उक्त सहयोग जुटाएका थिए । त्यस्तै पानीपुरी, चट्पटे बेचेर, फुटसल प्रतियोगिताको आयोजना गरेर बटुलेको रकमका कारण पनि यो काम सम्भव भएको हो । 

 

‘जति सक्छौं त्यति गरौं विपत्तिमा साथ दिन लागिपरौं’ भन्ने नारा दिएर ०७२ सालमा सुरु गरिएको डोकोनाम्लोको अभियान राजधानीमा मात्र सीमित छैन । उनीहरूले उपत्यकाबाहिर पनि समाजसेवा गरेका छन् । यी तन्नेरीहरू कलेज बिदा भएपछि हरेक दिनजसो छलफलमा जुट्छन् । उनीहरू समयको सदुपयोग गर्छन् । उस्तै उमेर, उस्तै रुचि भएका लिंकन कलेजका यी विद्यार्थीहरू अरूभन्दा फरक काम गर्न अग्रसर छन् । भूकम्पपछि उनीहरूले उद्धार, राहत वितरण, घर, टहरा निर्माणका साथै विभिन्न संघ–संस्थासँग मिलेर आइपरेका सबैजसो काम गरे । सामाखुसीस्थित लिंकन कलेजमा अध्ययनरत स्नातक तेस्रो वर्षका विद्यार्थीहरू रसिक रुचाल, सुदन घिमिरे, अस्मिता दवाडी, प्रनिसा कटुवाल, सागरसिंह धामी र सफला कुमाल । उनीहरू नै मिलेर खोलिएको हो– ‘डोकोनाम्लो’, जसको फेसबुक पेजमा अहिलेसम्म १४ हजार ६ सय २२ लाइक्स पुगिसकेको छ । 

 

उनीहरूले काम गर्दै जाँदा तीता एवं नमीठा अनुभव पनि बटुलेका छन् । एक पटक भूकम्प प्रभावितहरूका लागि राहत संकलन गर्न टुँडिखेल पुग्दा उनीहरू त्यहाँबाट लखेटिए । ‘भूकम्प पीडितका नाम पैसा उठाएर खाने भन्दै हामीलाई अपमानित गरियो ।’ झापा, बिर्तामोडकी प्रनिशा कटुवाल सम्झन्छिन् । यद्यपि यस्ता हन्डर, ठक्करले उनीहरूलाई विचलित बनाएको छैन । बरु सक्रियता अझ बढेको छ । कर्णाली क्षेत्रका स्कुलमा पुस्तकालय स्थापनाका लागि उनीहरू उक्त क्षेत्रतिर जाँदैछन् । कालिकोटको एक स्थानीय संस्थासँग मिलेर उनीहरू त्यहाँका सरकारी विद्यालयमा पुस्तक बाँड्ने योजनामा छन् । ‘कोर्सका पुस्तकसँगै कोर्स बाहिरका पुस्तकले पक्कै त्यहाँका विद्यार्थीको ज्ञानको दायरा फराकिलो बनाउनेछ,’ रसिक बताउँछन् । 

 

प्राकृतिक विपत्ति, आपतविपत् र समस्यामा परेका थुपै्र व्यक्तिलाई उनीहरूले सामाजिक सञ्जालका माध्यमबाट सहयोग जुटाउने गरेका छन् । पाल्पाका यादब पाठकलाई ह्विचियर उपलब्ध गराउनेदेखि रसुवाका भूकम्पपीडित सोनाम लामालाई अस्पताल पुर्‍याएर उपचार गराउने सम्मको सहयोग गरी उदाहरण उनीहरूसँग छन् । ‘समाजका लागी धेरथोर योगदान दिन हामी जुट्यौं ।’ डोकोनाम्लो नाम जुराउने ‘साइको सरकार’ नामले परिचित सूदन घिमिरेले भने । ‘हामीले सक्दो प्रयास पनि गरिरहेका छौं ।’ गत वर्ष तराईमा बाढी आएपछि उक्त क्षेत्रका प्रभावितहरूका लागि औषधि एवं खाद्यान्न सहयोग जुटाएका थियौं ।

 

कलेज बिदा भएपछि क्यान्टिनमा बसेर उनीहरू कहाँ के सहयोग पुर्‍याउने भनेर छलफल गरिरहेका हुन्छन्, काम बाँडफाँडको तयारी गरिरहेका हुन्छन् । गत वर्ष भूकम्पले भौतिक संरचनाहरू तहसनहस बनायो । भूकम्पपीडितहरू जाडोले गर्दा मरेको खबर दैनिकजसो आइरहेको थियो । पीडितहरू निकै कष्टकर जीवन बिताइरहेका थिए । उता थुप्रै गाउँ राहत कुरिरहेका थिए । यस्तो अवस्थामा डोकोनाम्लो समूहमा आबद्ध यी तन्नेरीहरू चुप लागेर बस्न सकेनन् । उनीहरूले आपसमा सल्लाह गरे । सबैलाई लाग्यो, तत्काल घटनास्थल पुगेर केही सहयोग गर्नुपर्छ । मन भएपछि बाँकी कुरा आफैं जुट्ने रहेछ । भूकम्पपीडितहरूका लागि उनीहरूले ‘न्यानो लुगा संकलन’ अभियान नै चलाए । महाभूकम्पपछि समस्यामा परेका दोलखा, लापिलाङका १ सय ५३ घरधुरीलाई ब्लांकेट र लत्ता–कपडा बाँडे । ‘मन भएपछि जे पनि गर्न सकिँदो रै’छ ।’ भानु–२, तनहुँकी अस्मिता दवाडी भन्छिन्– ‘हामीले करिब ८ लाख रुपैयाँबराबरको राहत संकलन गर्‍यौं ।’ त्यतिबेला ३० जना विद्यार्थीले दुई सातामै उक्त राहत संकलन गरेका थिए । 

 

राहत संकलन गर्न जाँदा यी तन्नेरीले नमीठो अनुभव पनि बटुलेका छन् । ‘कोही यस्ता व्यक्ति पनि भेटिए, सहयोग गर्छु भनेर घरमा बोलाउने अनि घरबाट बाहिर ननिस्कने ।’ रसिकले भने– केही राम्रा व्यक्तिहरू पनि छन् । देश–विदेशबाट सहयोग गरेर हाम्रो अभियानलाई सफल बनाइदिनेहरू पनि छन् । समाजका विकृति–विसङ्गति हटाउन, प्राकृतिक प्रकोपबाट पीडित तथा असहायहरूको सेवा गर्न उनीहरू अघि सरिहाल्छन् र तिनै मानिस हाम्रो संस्थाका आधार हुन् ।

 

लिंकन कलेजका यी विद्यार्थीहरू अन्य युवाहरूभन्दा फरक सोच राख्छन् । उनीहरूले उदयपुरको गाईघाट पुगेर त्यहाँका करिब ७ सय युवाका लागि योग, ध्यान र क्षमता अभिविद्धिसम्बन्धी तीनदिने तालिमको व्यवस्था गरे । कसरी मानसिक तनाव हटाउने, कसरी माइन्ड पावर बढाउने र कसरी व्यक्तिगत क्षमता अभिवृद्धि गर्ने भन्ने विषयमा युवाहरू उक्त तालिमबाट लाभान्वित भए । 

 

उतिसारो मिडियामा नछाएको ‘डोकोनाम्लो समूह’ ले सोसल मिडियामा भने धेरैको ध्यान खिचिरहेको छ । मानसिक सन्तुलन गुमाएर लामो समयदेखि काठमाडौंमा अलपत्र परेका एक रसियन पर्यटक मागेरै दिन गुजार्थे । राति सडकमा कुकुरहरूसँग निदाउँथे । उनलाई स्वदेश फर्काउन महत्वपूर्ण भूमिका खेलेपछि डोकोनाम्लोको प्रयासको धेरैले प्रशंसा गरे । 

 

पर्यटन प्रहरी एकाइ, भृकुटीमण्डपको रेकर्डअनुसार राजधानीमा अलपत्र परेका, साथै मानसिक सन्तुलन गुमाएका विदेशी नागरिकहरूको संख्या एक दर्जनभन्दा बढी छ । तीमध्ये अधिकांश अमानवीय क्रियाकलापमा संलग्न भएको र उनीहरूले सर्वसाधारणलाई दु:ख दिइरहेको प्रहरी तथ्यांक छ । ‘यो समस्याको समाधानमा सरकार, राजदूतावास तथा सम्बन्धित अन्य पक्षले त्यति चाँसो नदेखाएको पाइयो ।’ अभियानका सदस्य रसिकले भने ।’ 

 

यो समूहका सदस्यहरू विभिन्न कारणले स्वदेश फर्काउन नसकिएका ती पर्यटकलाई आफ्नो देश फर्काउने अभियानमा तीव्रताका साथ लागिपरेका छन् । स्नातक तहको अध्ययन पूरा गरेपछि जागिरभन्दा सामाजिक सेवामै संलग्न हुने सोच राखेका छन्, यी तन्नेरीले । ‘त्यस्तो काम गरौं जसका माध्यमबाट सामाजिक सेवामै समर्पित हुन पाइयोस् ।’ अस्मिता भन्छिन्– ‘सामाजिक सेवासँगै हाम्रो खर्च पनि चलोस् ।’ उनीहरू डोकोनाम्लो अभियानलाई अझ सशक्त रूपमा अघि बढाउन चाहन्छन् । 

 

सामाजिक कार्यमा सरिक रहँदा आर्थिक अभाबले सधैँ सताइरहन्छ । घरबाट जागिर गर्न उत्तिकै दबाब आउँछ । ‘खुब गाली खाइयो ।’ सुदन भन्छन्, ‘हामीले फजुल खर्च पनि गरेको छैनौं ।’ बिभिन्न ठाउबाट जागिरका लागी प्रस्तावहरू नआएका पनि होइनन् तर जागिरले आकर्षित गर्न सकेन । बरु आफूले मनैदेखि चाहेको काममा समर्पित भएर अघि बढ्ने उत्प्रेरणा मिल्यो । समाज परिवर्तन हुने, अरूको भलाई हुने काम गर्न उत्साहित छन्– यी तन्नेरीहरू । 

 

लिंकन कलेजका यी विद्यार्थीहरू चलचित्र हेर्न सिनेमा हल धाउँदैनन् । न त नाटक हेर्न कुनै थिएटर नै पुगेका छन् । ‘जान त मन लाग्छ नि ।’ अस्मिता भन्छिन्, ‘तर त्यसमा खर्च गर्ने पैसाले कुनै राम्रो काम गर्न पाए हुन्थ्यो जस्तो लाग्छ ।’ पैसाकै अभावमा उनीहरू कहिलेकाहीँ हिंडेरै टाढा–टाढासम्म पुग्छन् । राहत संकलन गर्ने क्रममा उपत्यकाका तीनवटै जिल्ला हिंडेरै छिचोलेको अनुभव छ उनीहरूसँग । ‘खाजा खान र गाडी चढ्न पैसा भएन ।’ रसिकले सुनाए ‘बिहान घरबाट निस्किएपछि एकैचोटी राति ९ बजे कोठा पुगिन्थ्यो ।’ जस्तै अभाव र समस्या आइलागे पनि मनैदेखि समाजसेवामा समर्पित हुन पाउँदा भने उनीहरू ती सारा दु:ख, पीडा बिर्सन्छन् ।

 

प्रकाशित :वैशाख २८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्