नेपाली चलचित्रका भेजिटेरियन

- कृष्ण भट्टराई

वैशाख २८, २०७४

 

जन्मिएदेखि करिब १० वर्षको उमेरसम्म अभिनेता निखिल उप्रेतीले मासुको स्वाद थाहा पाएनन् । मासु पाकेको दिन भान्सामै प्रवेश नगर्ने उनको बानी थियो । दस वर्ष लागेपछि भने उनको मुड अचानक परिवर्तन भयो । उनी यसरी मांसहारी भए कि परिवारका सबै सदस्य आश्चर्यमा परे । हुँदा–हुँदा उनी मासुबिना खाना नै नरुच्ने अवस्थासम्म पुगे । करिब २० वर्षसम्म निखिलको हरेक छाकको खानामा मासु अनिवार्यझैं हुन्थ्यो । ३० वर्ष पुग्नै लाग्दा चलचित्रमा स्थापित भैसकेका उप्रेती आध्यात्मतर्फ आकर्षित भए ।

 

झन्डै आठ वर्षअघि ध्यानमा लीन भएको अवस्थामा उनले मासु नखाने प्रण गरे । पाल्पामा छायांकन भैरहेको चलचित्र ‘पिँजडा ब्याक अगेन’ को सेटमा भेटिएका अभिनेता उप्रेतीले साप्ताहिक संवाददातासँग भने— ‘अहिले म पूर्ण रूपमा शाकाहारी भएको छु, बिहान र दिउँसो त फलफूल मात्र खाएर काम चलाइरहेको छु । साँझ पनि हल्काफुल्का खानाले पेट भर्छु ।’ 

 

अभिनेत्री निशा अधिकारी शतप्रतिशत शाकाहारी हुन् । माछा–मासुको स्वादै थाहा नपाएकी निशाले सागपात खाएरै आफूलाई फिट राखेकी छिन् । ‘म सागपात भनेपछि हुरुक्क हुन्छु,’ निशा भन्छिन्— ‘मलाई रायोको साग भएपछि माछा–मासु केही चाहिंदैन ।’ निशाले रायोको सागकै कारण आफू तन्दुरुस्त भएको दाबीसमेत गरिन् । रायोको सागबाहेक उनी ब्रेकफास्ट तथा स्न्याक्सका रूपमा फलफूल खान रुचाउँछिन् । 

अभिनेता तथा निर्देशक दीपकराज गिरी कुनै बेला माछा–मासु खान्थे । सहकर्मी दीपाश्री निरौला लामो समयदेखिकी शाकाहारी भएकाले दीपकलाई पनि बिस्तारै माछा–मासु त्याग्न सहज भयो । दुई वर्षअघिसम्म अण्डालाई खानामा समावेश गरिरहेका दीपक त्यसयता पूर्ण रूपले शाकाहारी छन् । लामो समयदेखि मासु खान छोड्ने आफ्नो चाहनालाई कब्जियत तथा फिस्टुलाले सहयोग पुर्‍याएको दीपकको कथन छ । त्यसअघि उनी हरेक वर्षको साउन, भदौ तथा असोज महिना पूर्ण शाकाहारी हुन्थे । दुई वर्षयता भने उनी शतप्रतिशत शाकाहारी भएका छन् । 

 

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला शाकाहारी भएको दुई दशकभन्दा बढी भयो । दुई दशकअघि एउटा ध्यान केन्द्रमा पुगेपछि दीपालाई मासु खानै मन लागेन । त्यसअघि उनी सामान्य रूपमा मासु खान्थिन् । मांसहारीका रूपमा ध्यान गर्दा मन एकाग्र हुन नसकेपछि उनी चटक्कै मासु छोडेर शाकाहारी बनेकी हुन् । शाकाहारी भएको केही महिनापछि विराटनगरमा परिवारका सदस्यहरूको करले मासु खाँदा उनलाई बान्ता भयो । त्यसपछि उनले आजसम्म मासु खाएकी छैनन् । 

 

अभिनेता दिलीप रायमाझी भात भनेपछि हुरुक्क हुने कलाकार हुन्, यद्यपि उनी जन्मजात शाकाहारी हुन् । आफ्नी आमा शाकाहारी भएकाले रायमाझीले कहिल्यै मासुको स्वाद चाखेनन् । परिवारमा छोरी तथा श्रीमतीले कहिलेकाहीं मासु खाने रहर गरे भने उनी त्यो रहर भने पूरा गरिदिन्छन् । चलचित्र ‘प्रेमगीत’ बाट स्थापित भएका अभिनेता प्रदीप खड्का लामो समयसम्म शाकाहारी रहे ।

 

चलचित्र ‘प्रेमगीत–२’ का लागि सिक्स प्याक बनाउन उनको शरीरमा प्रोटिनको मात्रा बढाउनुपर्ने भयो । त्यही भएर केही महिनाअघि मात्र उनी शाकाहारीबाट मांसहारी भए । यद्यपि आफू चाँडै शाकाहारी नै हुने प्रदीपको तर्क छ । स्वस्थ तथा आकर्षक देखिन आफूले मासु त्यागेको खड्का बताउँछन् । ‘प्रेमगीत–२’ कै अभिनेत्री अश्लेषा ठकुरी पनि शाकाहारी हुन् । चलचित्रमा आउनुभन्दा केही समयअघि उनले माछा–मासु छाडेकी हुन् । स्वास्थ्यका दृष्टिले आफू शाकाहारी भएको अश्लेषाको भनाइ छ ।

 

प्रकाशित :वैशाख २८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्