हाम्रो लक्ष्य ओलम्पिक

- साप्ताहिक संवाददाता

वैशाख २७, २०७४-

 

कुशल श्रेष्ठ नेपाली राष्ट्रिय कराँते टिमका प्रशिक्षक हुन् । श्रेष्ठले सन् २००६ मा श्रीलंकाको कोलम्बोमा सम्पन्न दसौं दक्षिण एसियाली खेलकुदमा कराँतेको ६५ केजी तौल समूहमा स्वर्ण पदक जितेका थिए । उनले दक्षिण एसियाली खेलकुदमा १ स्वर्णसहित १ रजत तथा २ कांस्य पदक जिते । श्रेष्ठले प्रशिक्षकको भूमिका निर्वाह गर्न थालेको भने दुई वर्ष भयो । अहिले भर्खर उनले फेरि राष्ट्रिय टिमको जिम्मेवारी प्राप्त गरेका छन् र अहिले त्यसमै केन्द्रित छन् । 

 

अहिले राष्ट्रिय टिम कस्तो अवस्थाबाट गुज्रिरहेको छ ?

अहिले राष्ट्रिय टिममा २० जना खेलाडी छन्, काता र कुमुते दुवै गरेर । हामीले भर्खरै थाइल्यान्ड ओपन कराँते च्याम्पिनसिपमा खेल्यौं र त्यसमा ४ रजत तथा ५ कांस्य पदक जित्यौं । त्यसैले टिम राम्रै छ, यसलाई अझै निखार्नुपर्नेछ । 

 

त्यसका लागि के गर्नुपर्छ ?

यसका लागि मुख्यत: राम्रो प्रशिक्षण नै आवश्यक छ । धेरैभन्दा धेरै प्रतियोगितामा सहभागिता जनाउन पाउनुपर्छ । 

 

नेपाली कराँतेमा स्टार खेलाडीको अभाव भएको हो ?

हो, केही हदसम्म । कराँतेमा विद्यमान विवादले पनि यस्तो भएको हुन सक्छ । यसै कारणले आधिकारिक प्रतियोगिता खेल्न पाएको छैन । विवादले गर्दा यो खेलको लोकप्रियता पनि केही घटेको छ । हाम्रा लागि सबैभन्दा ठूलो समस्या दक्षिण एसियाली खेलकुदमा कराँते समावेश नहुनु पनि हो । 

 

अब नेपाली कराँतेले खेल्ने मुख्य प्रतियोगिता कुन–कुन हुन् ?

अब अगाडि दुई ठूला प्रतियोगिता छन्, दक्षिण एसियाली खेलकुद तथा एसियाली खेलकुद । दक्षिण एसियाली खेलकुद नेपालमै हुँदैछ, त्यसैले चुनौतीसँगै दबाब पनि हुनेछ । एसिसाली खेलकुद भने इन्डोनेसियामा हुनेछ र यो सन् २०१८ मा हुँदैछ । हामीले यिनै दुई प्रतियोगिताको तयारीमा केन्द्रित हुनुपर्छ। 

 

नेपाली कराँतेका लागि आउने ओलम्पिक कति महत्त्वपूर्ण छ ?

इतिहासमै पहिलो पल्ट ओलम्पिकमा कराँते खेल समावेश हुँदैछ । यो कराँते खेल स्वंयका लागि पनि ऐतिहासिक कुरा हो । यसमा भाग लिन हामीले सबैभन्दा पहिले छनोट प्रक्रिया पार गर्नु पर्ने हुन्छ । यो आफंैमा गाह्रो हुनेछ, अर्कातर्फ ओलम्पिकमा धेरै तौल समूह समावेश छैन । हामीले छनोट एसियामा खेल्नुपर्छ र संयोगले विश्व कराँतेका महाशक्ति एसियामै छन् । विश्व कराँतेमा जापान, इरान, काजाकिस्तान तथा उज्वेकिस्तान सबैभन्दा बलिया मानिन्छन् । 

प्रकाशित :वैशाख २७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्