काव्यमय साता

- नरेन्द्र रौले

वैशाख २७, २०७४- 

कवितालाई साहित्यमा सबैभन्दा कम पढिने विधाका रूपमा लिइन्छ । प्रकाशकहरूका अनुसार कविता अन्य विधाभन्दा कमै बिक्री हुन्छ । यद्यपि सञ्चारकर्मी तथा साहित्यकार डा. नवराज लम्साललाई कविता आमाजत्तिकै प्रिय लाग्छ । उनको नजरमा कविता संसारको सबैभन्दा मीठो भाषा हो । ‘एक पंक्ति कवितामा म जति कुरा भन्न सकिन्छ, गद्य लेख्दा एक पेजमा पनि सकिँदैन,’ लम्साल भन्छन्, ‘विषयले जुन शैली, भाव खोज्छ म त्यही लेख्छु ।’

 

गद्य, पद्य र गीति छन्द मिसाइएको डा. लम्सालको महाकाव्य धरा यही वैशाख १६ गते सार्वजनिक भयो । यसको विषयवस्तु नेपालको भूगोल, इतिहास एवं संस्कृतिमा केन्द्रित छ । यो महाकाव्य लेख्न लम्सालले गरेको मेहनत पनि कम छैन । उनले यसमा १० वर्ष खर्चिएका छन् । डा. लम्साल यो महाकाव्यलाई आफ्नो सपनाको दस्तावेज भन्न रुचाउँछन् । ‘यो मेरो जीवनको क्लाइमेक्स हो । कर्ण छापिनुभन्दा अघिदेखि नै यसमा काम गरिरहेको थिएँ,’ उनले सुनाए, ‘मेरो जीवनको सर्वोच्चता पनि यही हो ।’ 

 

महाकाव्य लेख्नकै लागि मुलुकका ७२ जिल्ला घुमेका नवराजले थारु, गुरुङ, राजवंशीलगायत अन्य जाति–जनजातिहरूसँग संगत गरे । ती समाजसँग घुलमिल भए । काव्य कम बिक्री हुन्छ भन्ने सुनिन्छ, तर लम्सालको महाकाव्य धरा सार्वजनिक भएकै दिन नवलपरासीकी शिक्षिका सरस्वती तिमिल्सिनाले १ सय ६० प्रति किनिन् । त्यस्तै धादिङका सुरेश सिम्खडा र इटहरीका चेतन धमलाले ६०–६० प्रति खरिद गरे ।

 

उपहार दिन उनीहरूले एकै दिन त्यत्रो परिमाणमा उक्त पुस्तक खरिद गरेका थिए । त्यो देखेपछि साहित्यकार लम्साल अझ हौसिए । एक दिनमै ७ सय प्रति बिक्री भएको र अबको एक महिनामै दोस्रो संस्करण सार्वजनिक गर्ने उनले बताए । ४ सय ४८ पेजको धरा २६ खण्डमा विभाजित छ । ऐश्वर्य प्रकाशनको यो महाकाव्यको मूल्य ५ सय रुपैयाँ राखिएको छ ।

 

डा. लम्सालको पुस्तक सार्वजनिक हुने अघिल्लो दिन अर्थात् वैशाख १५ गते कवि तथा गीतकार दिनेश अधिकारीको नयाँ काव्यकृति भरियाको भूगोल सार्वजनिक भयो । ०३९ सालतिर पाण्डुलिपि तयार पारिए पनि परिमार्जन गरेर अहिले यो संग्रह बजारमा ल्याइएको अधिकारीले बताए । अधिकारीले २०३७ सालमा ‘अन्तरका छिटाहरू’ कविता–संग्रहबाट साहित्य यात्रा सुरु गरेका थिए । त्यसयता उनका एक दर्जनभन्दा बढी कविता–संग्रह तथा त्यति नै संख्यामा गीति–संग्रह प्रकाशित छन् । 

 

२०५१ सालमा प्रकाशित ‘इन्द्रजात्रा’ ले उनलाई साझा पुरस्कार दिलाएको थियो । २०६७ पछि प्रकाशित उनको पहिलो पुस्तक भरियाको भूगोल दोस्रो काव्य–संग्रह हो । अधिकारी किन कवितामै रमाइरहेका छन् ? ‘मेरो रुचि कविता हो,’ अधिकारीले भने, ‘एउटा मानिसले धेरै विधामा हात हाल्न बहुप्रतिभाशाली हुनुपर्छ ।’ आफ्नो नयाँ कृति पाठकहरूले राम्रोसँग रुचाएको अधिकारीको प्रतिक्रिया छ । यसै सिलसिलामा हेटौंडा, चितवन तथा नवलपरासीको कावासोतीमा अन्तक्र्रियात्मक कार्यक्रम भैसकेका छन्। 

यतिबेला अन्तक्र्रिया र संवादकै लागि अधिकारी पाल्पा, स्याङ्जा, बाग्लुङ, कुश्मा, बेनी तथा दमौलीतिर छन् । अधिकारीले भरियाको भूगोलमा भरियामार्फत हाम्रो भोगाइको विचरण गरेका छन् । गद्यमा लेखिएको यो कृतिलाई खण्डकाव्य भन्न मिल्छ । १ सय ९ पृष्ठको यो पुस्तकमा भरियाहरूको जीवन जिउने शैली, असजिला एवं रमाइला पक्षहरू समेटिएका छन् । नेपालयद्वारा प्रकाशित यो पुस्तकको मूल्य रुपैयाँ २ सय ४५ रुपैयाँ छ ।

 

केही सातायता बजारमा नयाँ काव्यकृतिहरू देखा परे । केही राम्रा कविका कृति बजारमा आए । उपन्यासले एकछत्र राज गरेको अवस्थामा ती काव्यकृतिले कस्तो बजार लिन्छन्, हेर्न बाँकी नै छ, तर प्रकाशकहरू भने हौसिएका छन् । गत वैशाख १८ गते नेपाल प्रज्ञा–भवनको डबलीमा युवा पुस्ताका चर्चित कवि नवराज पराजुलीको कविता कन्सर्ट नै सम्पन्न भयो । फाइन प्रिन्टबाट प्रकाशित उनको पहिलो काव्यकृति सगरमाथाको गहिराइ सार्वजनिक समारोहको मौका छोपेर कार्यक्रम कन्सर्ट सञ्चालन गरिएको थियो । कवि पराजुलीका कविता सुन्न डबलीमा तन्नेरी तथा पाका पाठकहरू खचाखच भरिएका थिए । 

 

प्रकाशक अजित बरालले कवि पराजुलीको पहिलो काव्यकृति सगरमाथाको गहिराइ सुरुमै ५ हजार १ सय प्रति छापे । काव्यकृतिमा यो सबैभन्दा बढी महत्वकांक्षी प्रोजेक्ट भएको उनले बताए । बरालका अनुसार प्रकाशकहरूले सबैभन्दा कम छाप्ने विधा कविता नै हो । यद्यपि कहलिएका कवि रावत, स्वप्निल स्मृति, उपेन्द्र सुब्बा, मनु मञ्जिल, रमेश क्षितिज आदिको पुस्तकको माग कम छैन, —बराल भन्छन् ।

 

‘कविता विधामै किन आकर्षित हुनुभएको ?’ नवराज पराजुली भन्छन्, ‘कसैले पढ्ला–नपढ्ला भन्ने लाग्दैन । यो मभित्रको अभिव्यक्ति हो,’ पराजुलीले बताए, ‘मभित्र छट्पटी हुन्छ । मलाई सजिलो पनि यही लाग्छ ।’ उनका अनुसार आख्यान लामो समय लिएर लेखिन्छ । पराजुलीलाई आफूभित्र आख्यान लेखनका लागि पर्याप्त ऊर्जा छैन कि, कतै म त्यसका लागि परिपक्व छैन कि भन्ने पनि लाग्छ । कवि पराजुली आफैं पनि कविता विधा नै बढी पढ्छन् । रुमी उनका प्रिय कवि हुन् । ९/१० वटा फुटकर कविता छापिएका पराजुलीको सगरमाथाको गहिराइ पहिलो कृति हो । सामाजिक विषयवस्तुमा आधारित २६ वटा कविताको यो संग्रहको मूल्य ३ सय ४८ रुपैयाँ छ । 

 

गत वैशाख ९ गते दृश्यबाहिर काव्यकृति सार्वजनिक गरेका युवा पुस्ताका कवि सौरभ कार्कीको बुझाइमा जिन्दगी आफंैमा एउटा कविता हो । कार्की कथा तथा नाटकमा समेत कलम चलाउँछन्, तैपनि उनले कविताबाटै आफ्नो साहित्य यात्रा प्रारम्भ गरे । यो कृतिमा उनले पाँचदेखि सात वर्षभित्र लेखिएका कविताहरू समेटेका छन् । 

 

रमेश क्षितिजको घर फर्किरहेको मानिसको तेस्रो संस्करण पनि यही साता बजारमा आयो । फाइन प्रिन्ट बुक्सको यो काव्यकृति झन्डै ३ हजार प्रति बिक्री भैसकेको छ । पछि उक्त संग्रहलाई घर लौटरहा आद्मी शीर्षकमा अयन प्रकाशन, दिल्लीले हिन्दीमा छाप्यो । आर्थिक हिसाबमा क्षितिजलाई यसले कत्तिको फाइदा दियो ? ‘पैसाको हिसाबबाट मूल्यांकन गरेको छैन । बाँच्नका लागि म जागिर खान्छु ।’ रमेश भन्छन्, ‘आनन्दका लागि म कविता लेख्छु । ठूलो धनराशि प्राप्त हुने अपेक्षा छैन ।’ 

 

२०५७ साल वैशाखमा क्षितिजको अर्को साँझ पर्खेर साँझमा प्रकाशनमा आएको थियो । उक्त संग्रह प्रकाशन भएको ११ वर्षपछि उनले घर फर्किरहेको मानिस बजारमा ल्याए । यतिबेला फेरि तेस्रो कविता संग्रहको तयारीमा छन्— क्षितिज । करिब ६ महिनाभित्रमा नयाँ संग्रह आउने तयारीमा छ । कविताको स्वादले उनको ह्दयलाई बढी छुन्छ । ‘वेदको ऋचा अर्थात् मन्त्रजस्तो रै’छ कविता ।’ उनी आफ्नो अनुभव साट्छन्, ‘कविताको मिठास, सौन्दर्य अमृतपान गरेजस्तो हुन्छ । लेख्नेलाई पनि, पढ्नेलाई पनि ।’ उनलाई आफूलाई कविता नै लेख्नुपर्ने मानिस हुँ जस्तो लाग्छ । क्षितिजमा आफूले कवितामै राम्रो गर्न सक्छु भन्ने आत्मविश्वास छ । 

 

कविता विधालाई अन्य विधाभन्दा कम पढिने भनिए पनि यदि प्रस्तुति र भाषा सशक्त छ भने स्थापित हुन खासै गार्‍हो नहुने उदाहरण चल्तीका यी कविहरूबाट थाहा हुन्छ । 

 

प्रकाशित :वैशाख २७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्