बलिङमा नयाँ आशा सुशील कँडेल

- साप्ताहिक संवाददाता

वैशाख २७, २०७४- 

क्रिकेट खेल्न थाल्दा सुशील कँडेल ब्याट्सम्यानको भूमिकामा थिए । पछि उक्त भूमिका फेरियो र अहिले उनी लेफ्ट आर्म बलरका रूपमा सक्रिय छन् । नेपाली घरेलु क्रिकेटमा कँडेलले तय गरेको यात्राले धेरै लामो समय खर्चिएको छ्रैन । हालै सम्पन्न धनगढी प्रिमियर लिगमा सुशीलले व्यक्तिगत रूपमा सबैभन्दा ठूलो पुरस्कार जिते, ‘म्यान अफ द सिरिज’ को । त्यससँगै उनले मोटरसाइकल पनि प्राप्त गरे । 

 

विराटनगर किङ्ग्सबाट खेल्ने कँडेलले पूरा प्रतियोगितामा १७ विकेट लिए र आफ्नो टिमलाई फाइनलसम्म पुर्‍याउन ठूलै योगदान दिए, तर उनको टिमले फाइनलमा जित्न भने सकेन, त्यसमा यी २० वर्षीय खेलाडीलाई कुनै न कुनै प्रकारको गुनासो अवश्य होला । यद्यपि व्यक्तिगत रूपमा डीपीएलमा उनको प्रदर्शन उत्कृष्ट रह्यो । प्रतियोगितामा आफ्नो प्रदर्शनलाई लिएर उनको भनाइ थियो, ‘टिमका लागि मैले इकोनोमिक बलरको भूमिका निर्वाह गरें । टिमको आवश्यकता अनुसार खेल्न सकेकोमा खुसी छु ।’

कँडेलको अबको लक्ष्य राष्ट्रिय टिममा प्रवेश हो । उनी त्यसका लागि कडा मेहनत गर्न तयार छन् । अरू धैरैले जस्तो टेनिस बलबाट क्रिकेट खेल्न सुरु गरेका सुशीलले सिरियस क्रिकेट खेल्न थालेको भने सात वर्ष जति भयो । उनलाई पनि सुरुमा क्रिकेट खेल्दा परिवारबाट पूरा समर्थन थिएन ।

 

‘हामी मध्ये धेरैको परिवार क्रिकेटलाई बुझ्ने खालको हुँदैन,’ सुशील भन्छन्, ‘तर अहिलेसम्मको यात्रा तय गर्दा भने परिवारबाट समर्थन मात्र होइन, सहयोग पनि प्राप्त हुन थालेको छ ।’नवलपरासी गैंडाकोटका सुशील अध्ययन एवं क्रिकेटका लागि चितवन पुग्छन् । उनको परिवारमा सात जना छन्, हजुरबुबा र हजुरआमासँगै आमा–बुबा अनि तीन दाजुभाइ । यसमध्ये उनी सबैभन्दा नजिक छन्, आमा बालकुमारीसँग । ‘म आमासँग धेरै नजिक छु, भनिन्छ, आमा नै पहिलो साथी हुन्, आमा भनेकी आमा नै हुन्,’ उनी भन्छन् । 

 

क्रिकेटमा उनका गुरु हुन, पुराना खेलाडी तथा कप्तान राजु खड्का । ‘उहाँले नै मलाई कसरी ब्याट समाउने र बलिङ कसरी गर्ने कुरा सिकाउनुभएको हो । त्यसैले मेरो खेल जीवनमा सबैभन्दा बढी योगदान राजु सरकै छ । मैले अहिलेसम्म तय गरेको यात्राको श्रेय पनि म उहाँलाई नै दिन चाहन्छु ।’ सुशील नेपाली राष्ट्रिय टिमका महत्त्वपूर्ण सदस्य शरद भेषवाकरका प्रशंसक हुन् । उनको अहिलेसम्मको छोटो खेल जीवनमा शरद कुनै न कुनै रूपमा जोडिरहेका पनि छन् । 

 

सुशीलले घरेलु क्रिकेटमा दुई ठूला प्रतियोगिता खेलेका छन्, डीपीएलसँगै एभरेस्ट प्रिमियर लिग (ईपीएल) । संयोगले ट्वान्टी–२० क्रिकेटका यी दुवै प्रतियोगितामा उनका कप्तान शरद नै थिए । ईपीएलमा शरदको टिम पञ्चकन्या तेज थियो । पञ्चकन्याले उपाधि नै जितेको थियो, ईपीएलको । शरदको नेतृत्वमा सुशीलले लगातार दुई फाइनल खेल्नु उनका लागि राम्रै उपलब्धि हो । 

 

सुशीलको भनाइ छ, ‘उहाँको कप्तानीमा खेल्दा फरक अनुभव हुन्छ, किन भन्ने उहाँ खेलका क्रममा विशेष वातावरण तयार गर्नुहुन्छ । यसले नयाँ खेलाडीलाई हौसला मिल्छ ।’ कप्तानका रूपमा शरदलाई खेलाडीहरूलाई उनीहरूको योग्यता अनुसार प्रयोग गर्ने महारथ प्राप्त छ । शरदले सुशीललाई पनि त्यही अनुसार प्रयोग गरे । विराटनगरले डीपीएलमा मात्र होइन, ईपीएलमा गरेको राम्रो प्रदर्शनको मुख्य श्रेय पनि उनी शरदलाई नै दिन्छन् । 

 

डीपीएलमा सुशीलले आफू जस्ता अर्का युवा बलर सन्दीप लामिछानेसँग पनि खेल्न पाए र यो उनका लागि शिक्षाका रूपमा रह्यो । सुशीलको अनुभव छ, सन्दीप र उनले एकै पल्ट दुई एन्डबाट बलिङ गर्दा विपक्षी टिम दबाबमा आउँछ । उनीहरूले डीपीएलमा सकेसम्म डट बल फ्याल्ने प्रयास गरेका थिए र त्यसले टिमलाई धेरै फाइदा पनि पुर्‍यायो । सुशीलको भनाइ थियो, ‘हामीले प्रतियोतिगतामा निकै अनुशासित बलिङ गर्‍यौं ।’

प्रकाशित :वैशाख २७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्