कसलाई हाल्ने भोट ?

- अविरल थापा

वैशाख २६, २०७४-  

करिब २० वर्षपछि हुन लागेको स्थानीय निर्वाचनको रन्कोले यतिबेला गाउँ–सहर तात्तिएको छ । आफ्नो गाउँ–ठाउँको विकासका लागि स्थानीय नेताको चयन हुने भएकाले निर्वाचनका सम्बन्धमा धेरैलाई व्यक्तिगत रूपमै चासो हुनु पनि स्वभाविक हो । अझ यसपटक संघीयताको अभ्यास र धेरै खालका सरकारी कामको अधिकार पनि वडास्तरमै आउने भएकाले योग्य उम्मेदवारलाई जिताउनुपर्ने दायित्व जनताको काँधमा छ । एकफेर चुनेपछि पाँच वर्षका लागि हुने भएकाले मतदाताले निकै ध्यान र विवेक नपुर्‍याई मत दिए कालान्तरमा पछुताउनुपर्ने परिस्थिति निर्माण हुने पक्का छ । 

 

यसपालि झन्डै एकतिहाइ नयाँ युवा मतदाताले प्रथमपटक मतदान गर्दैछन् । उनीहरूमा भोट हाल्ने उत्सुकता र कौतूहलता एकातिर छ भने कसलाई मतदान गर्ने भन्ने दुविधा अर्कातिर छ । लहड, डर–धम्की तथा प्रलोभनमा नपरी स्वविवेक प्रयोग गरेर आफ्नो क्षेत्रको हितका लागि योग्य उम्मेदवार छनौट गर्न सके समाजको विकासमै तात्विक भिन्नता देखिन सक्छ । मतदान गर्दा कसैको घरमा पुख्र्यौलीदेखि कुनै पार्टीविशेषलाई मात्र भोट हाल्ने चलन हुन्छ, कसै–कसैमा घरका अरू सदस्यले जसलाई दिन्छन् उसैलाई दिऊँ भन्ने पनि हुन्छ ।

 

कसैको नातेदार वा साथीभाइ उम्मेदवार छ भने उसैलाई दिऊँ भन्ने पनि हुन्छ । यद्यपि यतिबेला ध्यान दिनुपर्ने कुरा भनेको जुनसुकै पार्टीको भए पनि उम्मेदवार कत्तिको योग्य छ भनेर आफैंले मूल्यांकन गर्नु हो । योग्य उम्मेदवार हेरेर स्वतन्त्र वा फरक–फरक पार्टीका बेग्ला–बेग्लै पदमा पनि मतदान गर्न सकिन्छ । बा–आमाले एउटालाई मत दिए भन्दैमा छोराछोरीले पनि उसैलाई र एउटै पार्टीलाई दिनुपर्छ भन्ने चेतनाभन्दा माथि उठेर हरेक पदका योग्य उम्मेदवारलाई मात्र जिम्मेवार ठाउँमा पुर्‍याउनुुपर्छ भन्ने चेत हरेक मतदाताले राख्न सक्नुपर्छ । 

 

उम्मेदवारको चयन कसरी गर्ने भन्ने प्रश्नमा व्यक्तिगत रूपमै एक खालको मापदण्ड तयार गर्न सकिन्छ जस्तै उम्मेदवारको सामाजिक चरित्र, शैक्षिक योग्यता, आपराधिक पृष्ठभूमि, पूर्वकार्यको समीक्षा आदि । त्यसैगरी महिला तथा दलित उम्मेदवार मध्येबाट पनि योग्यभन्दा योग्य छान्न सजग रहनुपर्छ ।

 

नातावाद र कृपावादभन्दा पर रहेर विवेकशील भै सर्वोत्तम उम्मेदवार चयन गर्न सके त्यसले दीर्घकालीन रूपमा आफ्नो ठाउँ र देशकै विकासमा टेवा पुग्नेछ भने अहिले लहैलहै र होडमा लागे खराब मानिसको हातमा शक्ति र सत्ता पुग्नेछ । विगतमा मतदान गर्नेहरूले पनि पाठ सिकी अबचाहिँ काम गर्न सक्ने सक्षम र योग्य (जुनसुकै पार्टीको) मानिसलाई मत दिन कन्जुस्याइँ गर्नु हुँदैन । कोही पनि काम लागेनन्, खराब–बदमास मात्र भए भनेर सत्तोसराप गरिरहने तर तिनै मानिस र त्यही पार्टीलाई बारम्बार मत दिइरहनुभन्दा अब नयाँ तरिकाले भविष्य निर्माणमा भूमिका खेल्न सक्ने व्यक्तित्वलाई चुन्न हिचकिचाउनु हुँदैन । 

 

यसपालि परम्परागत रूपमा लामो समयदेखि हालीमुहाली गरिरहेका दलहरूको विकल्पमा नयाँ एवं सकारात्मक विचार र कार्यदिशा बोकेर युवा तथा सत्कर्मीहरूले खोलेका पार्टी पनि मैदानमा छन् । त्यसैगरी केही सज्जन मानिसले कुनै दल विशेषमा नलागि स्वतन्त्र रूपमा पनि उम्मेदवारी दाखिला गरेका छन् । पुरानाले केही गरेनन् भन्ने छ भने यसपालि नयाँलाई मौका दिएर हेर्ने सुनौलो अवसर मतदाताले प्राप्त गरेका छन् । बदलिँदो समाज र युगको चाहनाअनुरूप समाजको विकास गर्न नयाँ सोच लिएर आएकाहरूलाई साथ दिएर हेर्दा पनि राम्रै हुनसक्छ । शंकाको लाभ नै नदिने हो भने नयाँहरू माथि आउन सक्दैनन् र पुरानाहरूको दबदबा कायमै रहन सक्छ । 

 

घोषणापत्र र पार्टीको नीति पढेर पनि दल विशेषको सामान्य मूल्यांकन गर्न सकिन्छ । कसको घोषणापत्र कति धरातलमा छ र कसको वायुपंखी छ हेर्न सकिन्छ । कतिपय स्वतन्त्र व्यक्ति कुनै अरू क्षेत्रमा राम्रो काम गरेर राजनीतिमा पनि केही गर्न सकिन्छ कि भनेर आएका हुन सक्छन् । एक्लो भए पनि सक्षम लाग्छन् भने त्यस्ता व्यक्तिलाई दिल खोलेर मतदान गर्न सकिन्छ । आफ्नो व्यक्तिगत वा पारिवारिक स्वार्थका लागि यसपाला पनि विचार नपुर्‍याई मत खसाल्ने हो भने यो देशलाई थप अधोगतितर्फ लानबाट कसैले जोगाउन सक्नेछैनन् । कसैको दबाब र प्रभावमा नपरी आफ्नो आत्माले खिचेको र दिमागले सोचेको असलभन्दा असल र खराबमध्ये पनि असल उम्मेदवार पहिचान गर्न कसैले भूल गर्नुहुँदैन । 

 

हरेकले यति प्रतिबद्ध भएर सोचौं कि यसपालि म कुनै भ्रष्टलाई मत दिनेछैन, कुनै पार्टी मात्र हेरेर उसको सती जानेछैन, शैक्षिक रूपमा अयोग्यलाई पनि मत दिनेछैन, आपराधिक पृष्ठभूमि र दादागिरी गर्नेहरूलाई मत दिनेछैन । म जाति, धर्म वा क्षेत्रका आधारमा पनि मतदान गर्ने छैन । मतदान एकदमै गोप्य तरिकाले हुने भएकाले कसले कसलाई मत दियो कसै गरी पनि थाहा हुँदैन, त्यसैले देशैभरि असल उम्मेदवार चयन गरौं र तिनको काम हेरौं ताकि अर्को पटक कसलाई मत दिने भन्ने दुविधानै बाँकी नरहोस्। 

 

प्रकाशित :वैशाख २६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्