तपाईंलाई कत्तिको निर्वाचन लागेको छ ?

- साप्ताहिक संवाददाता

वैशाख २५, २०७४- 

स्थानीय निर्वाचन मेरो जन्म हुनुभन्दा अघिदेखि नै भएको रहेनछ, योभन्दा ठूलो दुर्भाग्य अरू के नै हुन सक्छ र ? ढिलै भए पनि निर्वाचन हुन लागेकोमा खुसी छु । स्थानीय निकायमा पार्टी नहेरौं, असल उम्मेदवारलाई भोट गरौं भन्ने मेरो अनुरोध छ ।

जान्हवी बस्नेत, अभिनेत्री

मधेसमा निर्वाचन हुन्छ कि हुँदैन भन्ने संशय छ । निर्वाचनमा मेरो ठाउँमा को–को उठ्दैछन् ? भन्ने थाहा छैन । उठ्नेहरू कस्ता–कस्ता छन् ? तिनको योग्यता–क्षमता के कति छ ? भनेर बुझ्न पाएको छैन । त्यसैले दिक्क लागेको छ, अर्थात अहिलेसम्म निर्वाचन लागेकै छैन ।

नयनराज पाण्डे, लेखक

निर्वाचन हुने पक्का भएपछि बिस्तारै निर्वाचन लाग्दैछ । अहिले म त नेताहरूको राजक्रीडामा रमाउँदैछु र नेपालीहरूको भविष्यप्रति चिन्तित छु ।

डा. राजेश अहिराज, सञ्चारकर्मी

एक लेखक, एक सचेत नागरिकको हैसियतले निर्वाचन हुनुपर्छ जस्तो लाग्छ, तर मलाई लाग्नु र नलाग्नुको कुनै अर्थ छैन । यो देश र जनताका लागि आवश्यकचाहिँ हो ।

झमक घिमीरे, साहित्यकार

२० वर्षपछि हुन लागेको स्थानीय निकायको निर्वाचन नलाग्ने त कुरै भएन, तर अस्वस्थ प्रतिस्पर्धा एवं निर्वाचन नै नहुने हो कि भन्ने चिन्ताले चाहिँ दिक्क वनाएको छ ।

माधव नेपाल, सञ्चारकर्मी

लागेर उत्रिसकेको छ र फेरी लाग्दैछ ।

अभिमन्यु निरवी, लेखक

समाचारमा काम गर्नुपर्छ सञ्चारकर्मीलाई त निर्वाचन लाग्नैपर्‍यो नि ।

निमा काफ्ले, सञ्चारकर्मी

१९ वर्षपछि बल्लतल्ल आएको स्थानीय निर्वाचन लाग्ने नै भयो । अझ यो त अधिकारसम्पन्न स्थानीय तहको निर्वाचन, संविधान र नयाँ संरचना संस्थागत एवं कार्यान्वयन गर्ने हाम्रो दायित्व पनि हो ।

हेमराज भण्डारी, नेता

निर्वाचन हुने नै भयो, हुने भएपछि लाग्ने नै भयो, तर निर्वाचन लाग्ने भएपछि पनि बजारमा रक्सी किन बिक्री भैरहेको होला ?

शारदा थापा, समाचारवाचिका

त्यति लागेको छैन । मनले खाएको कुनै पार्टी फेला पारेको छैन, तर भोटचाहिँ हाल्छु ।

दीपक शर्मा, संगीतकार

त्यो दिन छुट्टी पाइन्छ, बस त्यति हो ।

डा. प्रयुश न्यौपाने, फिजियोथेरापिस्ट

निर्वाचन हुन्छ भनेर मोरङमा साथीभाइहरूबीच जमघट एवं भेला तीव्र पारिएको छ । म स्वतन्त्र उम्मेदवार हुँ, त्यसैले झन लागेको छ ।

निराजन लुइँटेल, व्यवसायी

मलाई चाहिँ जहिले नि निर्वाचन लागिरहन्छ । चलचित्र नै निर्वाचनजस्तो, निर्वाचनचाहिँ चलचित्रजस्तो लागिरहेको छ ।

जगदिश्वर थापा, निर्देशक

यसपालि अलि धेरै लाग्ने भएको छ ।

मिलन मोक्तान, संगीतकार

पार्टीहरूको अवस्था र तयारी हेर्दा निर्वाचन होलाजस्तो लागेको थिएन, तर हुने–नहुने अन्यौलबीच हुने नै भयो । जे भैरहेको छ, राम्रै भइरहेको छ ।

राम पाण्डे, सचेतक

निर्वाचन त होइन, वैशाखमा पानी परेर मौसमले च्यालेन्ज गर्‍यो । त्यसैले दारु लाग्या छ ।

शिव सत्याल, छायाँकार

काठमाडौंको घामपानी र चुनाव उस्तै—उस्तै लाग्छन् । भर गर्न नसकिने । त्यसैले चुनाव खासै लागेको छैन् ।

नेहा घिमिरे, कार्यक्रम प्रस्तोता

रञ्जु दर्शना उठिन्, अब मलाई निर्वाचन लाग्छ ।

अभिनित मल्ल, अभिनेता

मलाई त हरेक रात पार्टी लागेको छ, डिजे जो परेँ । चुनाव आइसकेको हो र ? आएको हो भने

डिजे सस्प्वाइजन

१९ वर्ष पहिले हुनुपथ्र्यो, ढिलो भयो । अब पनि निर्वाचन नलाग्ला त ?

कृष्णभक्त महर्जन, अभिनेता

लागेपछि टन्नै लाग्छ, अहिले नै  लागेको छैन । चुनावको दिन नजिकिएपछि धेरै लाग्छ कि ?

सिर्जना पोखरेल, मोडल

नपढेको भए टिकट पाइने रहेछ । आफु पढेको परियो, खल्लो लागिरहेको छ ।

शान बस्नेत, चलचित्र लेखक

२० वर्षपछि आउन लागेको स्थानीय निर्वाचन हामीलाई त खुबै लागेको छ । बरु निर्वाचन गराउन तम्सिएको सरकार एवं राजनैतिक दललाई कत्तिको लागेको छ ? जनता बुझ्दैछन् ।

सन्दीप सापकोटा, सञ्चारकर्मी

चुनावमा सक्रिय भएर लागेको त छैन, तर चासोचाहिँ छ । नितान्त नयाँ अनुभव लिएर आएको यो निर्वाचनले कौतूहलता थपेको छ ।

रन्जना निरौला, साहित्यकार

प्रकाशित :वैशाख २५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्