एक दिन एक झिल्को

- सुविन भट्टराई

वैशाख २५, २०७४-  

धेरै पर्वहरू छन्, चाडहरू छन्, दिवसहरू छन् जो वर्षमा एक दिन पाहुनाझैँ टुप्लुक्क आइपुग्छन् र एक रातबास बसेर अर्को वर्षसम्मका लागि बिदा हुन्छन् । जस्तो कि, आमाको मुख हेर्ने दिन, बाको मुख हेर्ने दिन, मजदुर दिवस, भ्यालेन्टाइन डे, विश्व धूम्रपानरहित दिवस, विश्व पुस्तक दिवस, बुद्धजयन्ती आदि–इत्यादि ।

 

सामाजिक सञ्जालहरूमा धेरैजसोका शब्द छरिन्छन्—‘आमाको मुख हेर्ने दिन सम्पूर्ण आमाहरूलाई नमन !’ ‘ह्याप्पी फादर्स डे !’
‘मजदुर दिवसमा सबै मजदुरहरूलाई शुभकामना!'’
‘ह्याप्पी भ्यालेन्टाइन डे !'’
‘धूम्रपानरहित राष्ट्रको परिकल्पना गरौं । स्वस्थ समाज स्थापना गरौं । धूम्रपानरहित दिवसको शुभकामना !'’
‘पढ्ने संस्कार विकास गरौं । विश्व पुस्तक दिवसको शुभकामना ।’

 

सामाजिक सञ्जालमा लेखिएका यस्ता शुभकामना सन्देशहरू देखेर अर्काथरी मानिस त्यसको विरोध गर्छन् । एक दिन फेसबुकमा लेखेर के हुन्छ ? एक दिन पुस्तक पढौं भनेर हुन्छ ? पढ्ने भन्ने काम त सधैं पो हुनुपर्छ । एक दिन धुम्रपान नगरौं भनेर हल्ला गर्दैमा कहाँ स्वस्थ समाज स्थापित हुनसक्छ ? प्रेम एक दिन मनाउने कुरा हो र ? बालाई वृद्धाश्रममा राख्नेहरूले नै ‘ह्याप्पी फादर्स डे’ आदि–इत्यादि टिप्पयाी पनि उत्तिकै देखिन्छन् ।

 

निश्चय पनि एक दिनले वर्षभरिको कामको कोटा त पूरा नगर्ला तर एक दिन कुनै पनि राम्रो कामको सुरुवात गर्न पर्याप्त छ । कुनै पनि काम हुँदै नहुनुभन्दा एक दिन नै भए पनि हुनु धेरै राम्रो हो । एक दिन भनेको एउटा झिल्को हो, जो ठूलो आगो लगाउन पर्याप्त छ । एक दिन एउटा एकाइ हो । एक दिनहरू मिलेर धेरै दिन बन्छन् । एक दिन एउटा पाइला हो । यात्रा पूरा गर्न एक पाइला त चाल्नैपर्छ । एक दिन पुस्तक पढेर वा पुस्तक किनेर कसैले पुस्तक दिवस मनाउँदा त्यसले पार्ने प्रभाव र त्यो दिनसँग जोडिएका सुखद् स्मृति त्यो एक दिनमा मात्र सीमित रहन सक्दैन ।

 

वर्षभरिमा यस्ता पर्व, दिवस, चाड, जयन्ती हरेकजसो दिन नै पर्छन् । एकै दिन भए पनि कसैले पुस्तक पढ्छ भने त्यसलाई सकारात्मक रूपमा लिनुपर्छ । एक दिन आफ्ना साथीभाइलाई सामाजिक सञ्जालमार्फत कसैले पृथ्वी दिवसको मौका पारेर पृथ्वीको संरक्षणतर्फ सचेत हुने सन्देश फैलाउँछ भने त्यो नौटंकी हुँदैन । एक दिन कसैले आफ्नी आमाको तस्बिर फेसबुकमा राखेर ‘ह्याप्पी मदर्स डे,’ लेख्दैमा त्यो नराम्रै हुँदैन ।

 

जरुरी छैन कि सामाजिक सञ्जालमा आफ्ना विचार व्यक्त गर्नेहरू सबैको मन दूषित नै हुन्छ । बालाई वृद्धाश्रममा राख्नेले नै ह्याप्पी फादर्स डे लेख्छन् भन्ने छैन । बाध्यतावश बिदेसिने नेपालीहरूलाई देशका चाड, पर्व, दिवसहरूको सबैभन्दा बढी कदर हुन्छ । उनीहरू पनि सामाजिक सञ्जालमा आफ्ना केही तिर्सना मेटाउँछन् । कसैका बा हुँदैनन्, कसैका आमा हुँदैनन् । कोही गाउँमा हुँदा अक्षय तृतीयाको दिन सातु र सर्वत खाएको सम्झना खाडीमा ड्युटी गर्न जाने बेला सामाजिक सञ्जालमा लेखेर भए पनि व्यक्त गर्छन् । त्यसले गाउँ–घरको तिर्सना मेटाउँछ । त्यो नौटंकी नहुन सक्छ । कम्तीमा फेसबुकमा लेखेर, अरूलाई शुभकामना बाँडेर भए पनि धित मार्छन् उनीहरू । फेरि जोसुकैले देओस्, शुभकामना त शुभकामना नै हो । त्यो नराम्रो कसरी हुन्छ ?

 

वर्षमा एक दिन कुनै चाड मनाइनु नराम्रो होइन । कसैले वर्षमा एक दिन सामाजिक सञ्जालहरूमा हल्लाखल्ला गर्‍यो भन्दैमा उसका क्रियाकलापमाथि नकारात्मक टिप्पणी गर्नुपर्छ भन्ने छैन । एक दिन एउटा झिल्को बनोस् जसले आफ्नो मनमा सकारात्मक चिन्तनको आगो लगाउन सकोस् । संसारका ठूला र महान कामहरू एक दिनबाटै अझ एक क्षणबाटै सुरु भएका छन् । एक दिनको देखावटी र नौटंकीमात्र गर्नु चाहिँ पक्कै नराम्रो हो तर बुझ्दै नबुझी कुनै पनि कुरालाई सामान्यीकरण गरेर सबैले नौटंकी गरे भनिदिँदा त्यसले स्वच्छ मन र भावना भएकाहरूलाई पुग्ने ठेसको आँकलन गरौं ।

प्रकाशित :वैशाख २५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्