जबसम्म माया छ, सबै चिज छ

- सुव्रत आचार्य, जनक तिमिल्सिना

वैशाख २५, २०७४-  

नेपाली ‘साकिरा’का रूपमा सुपरिचित इन्दिरा जोशी गायनका कारण जति चर्चा बटुल्न सफल छिन्, त्योभन्दा बढी स्टेजमा उनले मार्ने आकर्षण ठुम्का र नृत्यका कारण हिट छिन् । ‘स्टेज क्विन’ इन्दिरा पप, आधुनिक मात्र होइन, चलचित्रको पाश्र्व गायनमा समेत उत्तिकै जमेकी छिन् । रियालिटी शो ‘नेपाली तारा’ हुँदै गायनको संसारमा भित्रिएकी नवलपरासीकी जोशी अहिले विश्वभर चर्चित गायन रियालिटी सो आइडलको नेपाली भर्सन ‘नेपाल आइडल’को एक निर्णायकका रूपमा प्रस्तुत भैरहेकी छिन् । केही समययता नयाँ व्यवसायमा समेत हात हालेकी यी सुन्दर गायिकासँग प्रेम, विवाह, संगीत, व्यवसाय आदि विषयमा केन्द्रित रही साप्ताहिकले गरेको कुराकानी :

 

तपाईं आफैं नेपाली ताराको प्रतिस्पर्धी, आज नेपाल आइडलको निर्णायक भएपछि कस्तो अनुभव गरिरहनुभएको छ ?
एकदमै नौलो, यसलाई मैले ठूलो अवसरका रूपमा लिएकी छु । मसँगैका अन्य दुई जना निर्णायकबाट पनि धेरै कुरा सिक्ने अवसर पाइरहेकी छु ।

 

तपाईं निर्णायक बन्ने समय भैसकेको थिएन कि भनेर पनि प्रश्न उठाइन्छ नि ?
मलाई मेरो एक्सपिरियन्सका आधारमा छानिएको हो । यस्तै रियालिटी शोको प्रतिस्पर्धी भएका कारण पनि मैले यो अवसर प्राप्त गरेकी हुँ । यसमा उमेर, ढिलो–चाँडोभन्दा पनि अनुभवले प्रमुख भूमिका खेलेको छ । कार्यक्रम हेरिसकेपछि त्यो आफूलाई कस्तो लाग्यो भनेर टिप्पणी गर्नु एउटा कुरा हो तर पहिले नै कसैका बारेमा परसेप्सन बनाउनु राम्रो होइन । परिणाम नहेरी कसैको पनि क्षमतामाथि प्रश्न उठाउनु ठीक हुँदैन । चित्त बुझेको छैन भने यो ठाउँमा चित्त बुझेन भनेर तर्क गर्नु एउटा कुरा हो, तर परिणाम नै नहेरी सुरु मै यसले गर्न सक्दिन भन्नु जो कसैलाई अन्डर स्टिमेट गर्नु हो ।

 

प्रतिस्पर्धी हुँदाको अनुभव र अहिलेको अनुभवमा कत्तिको फरक छ ?
निर्णायकको कुर्सीमा बस्दा पहिलेको आफ्नै कुरा सम्झना आउँदो रहेछ । प्रतिस्पर्धीहरूलाई जसरी अरू निर्णायकहरूले बुझ्नुहुन्छ, मैले त्योभन्दा फरक किसिमले बुझिरहेकी हुन्छु । मैले नै उहाँहरूलाई बुझिरहेको छु जस्तो लाग्छ । उहाँहरूले राम्रो गाए म हाँसिरहेकी हुन्छु, नराम्रो गाए म खिन्न भैसकेकी हुन्छु । त्यसैले इन्दिराले के भन्छे, त्यो अरुलाई पहिले नै थाहा भैसकेको हुन्छ भनेर सबैले मलाई जिस्क्याइरहेका हुन्छन् ।

 

निर्णायकका लागि के कुरा महत्त्वपूर्ण हुन्छ ?
त्यसका लागि कुनै निश्चित स्क्रिप्ट त केही हुँदैन । कस्तो गाउँछ सुन्ने हो र त्यही आधारमा कमेन्ट दिने हो । हामीलाई त्यसकै गीत मन पर्छ, जसलाई टेन्टेटिभली संगीतका बारेमा ज्ञान हुन्छ । एउटा गायक–गायिका किन मन पर्छन्, किन चल्छन् ? साधारण अडियन्सले त जज गर्न सक्छन् जसलाई ‘सारेगम पधनिसा’ सम्मको नलेज हुँदैन । हामी त यही विधामा, यही फिल्डमा लागिरहेका छौं, अफकोर्स वी क्यान जज ।

 

न्ह्यु बजाचार्य र कालीप्रसाद बास्कोटाको बीचमा आफूलाई कस्तो अनुभव गर्नुहुन्छ ?
एकदमै रमाइलो । उहाँहरू त मेरा गुरु हुनुहुन्छ । न्ह्यु सरबाट मैले संगीतको डेप्थ बुझ्न पाइरहेकी छु भने कालीप्रसाद सरले दिने कमेन्ट तथा एक्सप्लेन गर्ने शैली मलाई एकदमै मन पर्छ ।

 

यस्ता प्रतियोगितामा एक्स फ्याक्टरको कति भूमिका हुन्छ ?
एक्स फ्याक्टर छ भने त्यो प्लस प्वाइन्ट हो, तर एटिट्युड एकदमै म्याटर गर्छ ।

 

गायनमा एक्स फ्याक्टर त जरुरी छ नि होइन र ?
 चिटिक्क र सफासुग्घर हुन त जरुरी छ । यो त जुनसुकै फिल्डमा पनि जरुरी हुन्छ । म्युजिक भिडियोमा एकदमै फ्ल्यासी हुन्छ, अर्कै हुन्छ । स्टेजमा त दिउँसो लगाउन नमिल्ने खालका पहिरन पनि लगाउनुपर्छ । बिहान, साँझ र बेलुका के लगाउने भन्ने कुरा सबैलाई थाहा छ अहिले ।

 

मीरा राणा, ज्ञानु राणा, तारादेवीहरूको पालामा त त्यस्तो थिएन नि ?
होइन, त्यतिबेला पनि थियो नि । केशमा जुरो बनाउने, गाजलको कोश बाहिरसम्म तानेर लगाउने चलन थियो । त्यतिबेलाको आफ्नै चलन थियो र त्यही नै अत्याधुनिक मानिन्थ्यो । हाम्रो बेलाको आफ्नै छ, फेसन इज अलवेज देयर । गायक–गायिकालाई प्रशंसकहरूले स्टाइल आइकनका रूपमा लिन्छन् । भोलि अर्काे जेनरेसनमा अर्कै फेसन आउला । त्यतिबेला हामी पुराना हुन्छौं, उनीहरू नयाँ देखिन्छन् ।

 

तपाईं नायिका बन्ने कुरा आइरहेको थियो तर आइटम डान्सरका रूपमा देखियो ?
चलचित्र ‘फन्को’का लागि निर्देशक सुवर्ण थापासँग कुरा हुँदा उहाँले कन्सर्टको सिक्वेन्स हुन्छ भन्नुभएको थियो, तर भिडियो हेर्दा मलाई चित्त बुझेको छैन । उहाँसँग भेट्दा वी डन्ट टक एबाउट इट । उहाँलाई पनि अड भैरहेको छ, किनभने भिडियोमा भनेजस्तो आउटपुट आएको छैन, तैपनि नेपालमा यत्तिको चल्छ । स्पेसल अपिरियन्सचाहिँ गरेकी छु मैले । निर्देशक संगीता श्रेष्ठको मुभिमा मैले कथाकारको भूमिका निर्वाह गरेकी छु । मुभीचाहिँ नगर्ने तर सानो–तिनो भूमिका टार्न नसक्ने अवस्थामा मात्र गर्ने विचार छ ।

 

मन छुने कथामा अभिनय गर्ने प्रस्ताव आयो भने ?
त्यतिबेला मलाई नायिका बनाउन चाहने निर्देशकलाई पहिले वर्कसप गराउनुहोस्, म सक्छु–सक्दिन हेर्नुहोस्, अनि म सक्छु भन्नेमा ढुक्क हुनुभयो भने मात्र काममा लिनुहोस् भन्छु । किनभने ममा अहिले नायिका हुने कन्फिडेन्ट छैन ।

 

यति धेरै क्यामेरा फेस गर्दा पनि अझै कन्फिडेन्ट छैन ?
हुुन त हो तर चलचित्र हाक्ने नायिका नै बन्न मैले विशेष तयारी चाहिँ गर्नैपर्छ । वर्कसप गराएर अभिनय गर्ने प्रस्ताव गर्नुभयो भने त्यस्तो स्पेसल रोलचाहिँ गर्न सक्छु ।

 

अहिले गायनमा रिटर्न छैन भनिन्छ किन यस्तो समस्या देखिएको ?
हामी फिजिकलबाट डिजिटलमा पूर्ण रूपमा प्रवेश गरिनसकेका कारण यस्तो समस्या देखिएको हो । अर्को परिवर्तन सँगसँगै चल्न नसकेका कारण पनि समस्या आएको हो । पहिले क्यासेटबाट सिडीमा आउँदा पनि समस्या भएको थियो । अहिले नेपालमा बसेर क्रेडिट कार्डबाट गीत किन्छु भन्दा सबै जनाले त्यसो गर्न सक्दैनन् । सम्भवत: त्यही कारणले पैसा कलेक्सन नभएको हो । हामी पूर्ण रूपमा डिजिटल भयौ भने त्यो पारदर्शी पनि हुन्छ र जेनयुन रूपमा पैसा पनि आउँछ । जुन दिन हामी पूर्ण रूपमा डिजिटल हुन्छौं, त्यो दिन सबै संगीतकर्मी इकोनोमिकल्ली साउन्ड हुनेछन् ।

 

गीत सुन्नेभन्दा पनि म्युजिक भिडियो हेर्ने दिन आएको हो ?
सुन्ने पनि छन् । एभ्री थिङ निड फर सर्भाइभ । नयाँ आइडियाहरूले हाम्रै बजार राम्रो भैरहेको छ । १ देखि

 

४ लाखसम्म खर्च गरेर भिडियो बनाए पनि त्यसको रिटन्र्स छैन भन्ने गुनासो सुनिन्छ ?
आफूलाई टिकाउन र फेमस बनाउन कसैले मेहनत र इन्भेष्ट गर्छ भने त ठीकै छ नि । अलिकति रिस्क पनि त लिनुपर्‍यो नि ।

 

म्युजिक भिडियो बनाउनु रिस्क हो ?
मेरो हिसाबमा त होइन । म आफ्नो भिडियोबाट खर्चभन्दा धेरै गुणा राम्रो रिटन्र्स पाउँछु, कन्सर्ट गरेर । त्यसलाई एउटा इन्भेस्टमेन्टका हिसाबले लिनुपर्छ । अहिले त यो एउटा बिजनेस भैसकेको छ । एफएमहरूले रोयल्टी दिँदैनन्, डिजिटलमा पैसा हालेर कसैले किन्दैनन् भने पनि युट्युबले त पैसा दिइरहेको छ, कन्सर्टबाट पनि पैसा आइरहेको छ ।

 

रोयल्टी कत्तिको पाइरहनुभएको छ ?
पाइरहेकी छु तर त्यति धेरै होइन । विदेशतिर मासमा मेरो गीत कसैले बजाउँछ भने त्यसको रोयल्टी दिनुपर्छ । परिवर्तन हो, विस्तारै नेपालमा पनि त्यस्तो व्यवस्था लागू हुनेछ । इन्टरटेनमेन्ट नेपालमा गाँस, बाँस र कपासपछि मात्र आउने भएकाले अहिले अलि गाह्रो भएको हो । यद्यपि संगीत सबैका लागि आवश्यक छ ।

 

अफिस पनि खोल्नुभएछ त ?
हो एनम्याग । यो डिजिटल म्यागजिन हो । यसको लेआउट सोसल नेटवर्किङ साइटजस्तो छ । यसमा प्रोफाइल खोल्न र आफ्नो बिजनेस प्रमोट गर्न सकिन्छ ।

 

गायनसँगै बिजनेसबाट पनि पैसा कमाउन यसको स्थापना गर्नुभएको हो ?
आई थिंक फ्युचर इज अनलाइन । त्यसैले हामीले मिडियासम्बन्धी सबै चिज समावेश भएको यो डिजिटल म्यागजिन सुरु गरेका हौं ।

 

अर्को, भविष्यको कुरा पनि त छ । विवाह कहिले गर्ने ?
त्यो त भविष्यमै होला, अहिले कुनै योजना छैन ।

 

अहिलेसम्म विवाहको कुनै योजना बनेको छैन ?
छैन, म पनि भविष्यतर्फै हेरिरहेकी छु । कुनै बेला अचानक पनि हुनसक्छ तर तपार्इंहरूलाई कार्ड त पठाइहाल्छु नि ।

 

दुलही बन्ने रहर छैन ? सबैजसो साथी त दुलही बनिसके होलान् ?
ममा राम्रो प्यासन छ, त्यसैले म राइट चिजलाई पर्खन सक्छु । मलाई हतार छैन् ।

 

विवाह राइट चिज हो ?
अफकोर्स, विवाह राइट चिज हो । विवाह गर्नुपर्छ र यो निकै राम्रो अनुभव पनि हो । अझ हामी महिला, हामीमा आमा बन्न सक्ने स्पेसल क्षमता छ । यस्ता चिजको अनुभव त गर्नैपर्छ ।

 

आमा बन्ने उमेर ढल्किएला भन्ने चिन्ता लाग्दैन ?
हा हा हा ...(लामो हाँसो) त्यति धेरै टाढा त हुँदैन । आमा बन्ने उमेर ढल्कन त अझ धेरै बाँकी नै छ ।

 

अहिलेसम्म तपाईंलाई आकर्षित गर्ने त्यस्तो कुनै पुरुष आएन जीवनमा ?
अहँ, छैन नि । तपाईंले देखिरहनुभएको छ, म जहिल्यै काममै बिजी हुन्छु । मेरा साथीहरू त मसँग भेट्न नपाएर फ्रस्टेटेड हुन्छन् । प्रेमी भयो भने ऊ विचरा कस्तो होला ?

 

यो बायोलोजिकल निड पनि त हो नि ?
त्यस्तो छैन । म त्यस्ता कुरालाई एकदमै इजिली लिन सक्छु ।

 

प्रेमप्रस्ताव त आए होलान् नि ?
प्रस्ताव त सबैलाई आउँछन्, घरबाट पनि थुप्रै प्रस्ताव आइरहेका हुन्छन् । मैले गरेका कामबाट मेरो बुबा–आमा खुसी भएकाले प्रेसरचाहिँ गर्नुहुन्न । विवाहको डिसिजन पनि मेरै हातमा छाडिदिनुभएको छ । सेटल भए हुन्थ्यो भन्ने चिन्ता त उहाँहरूलाई हुन्छ नै । मैले विवाह नै गर्दिनँ भने पनि बुवा–आमाले हुन्छ भन्नुहुन्छ जस्तो लाग्छ ।

 

इन्दिराको ड्रिम ब्वाइ कस्तो होला ?
टिपिकल यस्तै हुनुपर्छ भन्ने छैन ।

 

केही क्राइटेरिया त होलान नि ?
हामीलाई कस्तो मान्छे मन पर्छ ? पोजेटिभ, अलिकति सपोर्टिभ, अन्डरस्ट्यान्डिङ, माइन्ड सेट मिल्ने, सम्भवत: यस्तै–यस्तै ।

 

मनलाई रोज्नुहुन्छ कि धनलाई ?
म त मनकै कुरामा जान्छु । यो स्टेजमा आएर पनि म धनको कुरामा लागे भने कसरी हुन्छ ?

 

भनेपछि उसका लागि धन पनि तपार्इं आफैं कमाई दिनुहुन्छ ?
धन त मेरो आफ्नै हुन्छ होला (हा हा हा...लामो हाँसो) । म आफ्नो सबै खर्च आफैं व्यहोर्न सक्छु । मे बी यो कोइसन तपाईंले १० वर्षअघि सोध्नुभएको भए, ओहो खतरा गाडी चढेर हिँड्ने, हेर्दा ऋतिक रोशनजस्तो भन्ने उत्तर आउन सक्थ्यो । अहिले आएर त ती कुराले केही म्याटर गर्दैनन् । हामीले देखेका छौं सबै चिज छ तर माया नै छैन भने के हुन्छ ? जबसम्म माया छ, सबै चिज छ ।

 

अहिले संसारमा मायामा स्वार्थ हावी हुँदै गएको हो ?
हो, संसार अहिले अलि मटेरियलिस्टिक भयो । मटेरियल भन्ने कुरा हाम्रो सुविधाका लागि हो । मैले महँगो गाडी किने, त्यसमा स्क्र्याच आयो भने खाना खान मन नलाग्ने, गाडीले नै मलाई रुल गरिदियो । दिमागमै हाबी भयो त्यो ? त्यो त मेरो साधन हो, मैले युज गरेको चिज हो, मैले पैसा तिरेर किनेको चिज हो । त्यो मेरो जीवन सजिलो पार्नलाई हो, टेन्सन लिनलाई होइन । म त्यसरी सोच्दिनँ । मेरो गाडीभरि स्क्र्याच छ (लामो हाँसो...) । तर, मलाई मतलबै लाग्दैन ।

 

प्रेममा शारीरिक आकर्षणको महत्व कति हुन्छ ?
सर्टेन एजमा त्यस्तो हुन्छ । संसारमै हेर्ने हो भने महिलाहरूका लागि केटाको लुक्स टपटेनको सातौं/आठौं नम्बरमा पर्छ । बरु, ह्युमर इम्पोर्टेन्ट छ, कतिको हँसाउने वा रमाइलो खालको मान्छे छ ? महिलाहरूलाई सेन्स अफ ह्युमरले तान्छ । उनीहरूलाई हँसाउने–रमाइलो गर्ने खालका पुरुष मन पर्छन् । महिलाहरू अन्डरस्ट्यान्डिङ फ्याक्टर हेर्छन् । सफासुग्घरचाहिँ त हुनैपर्‍यो ।

प्रकाशित :वैशाख २५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्