स्थानीय निर्वाचन : केही रोचक तथ्य

- साप्ताहिक संवाददाता

वैशाख २५, २०७४- 

  • २० वर्षपछि हुन लागेको स्थानीय निकायको निर्वाचनबाट ७ सय ४४ स्थानीय तहबाट ३६ हजार ६ सय ५४ जनप्रतिनिधि निर्वाचित हुनेछन् । 
  • नयाँ संरचनाअनुसार ७ सय ४४ स्थानीय तहमध्ये ४ महानगर, १३ उपमहानगर, २ सय ४६ नगरपालिका तथा ४ सय ८१ गाउँपालिका छन् । 
  • मोरङ जिल्लामा सबैभन्दा बढी ५ लाख ६३ हजार ८ सय ६७ मतदाता छन् भने सबैभन्दा कम ५ हजार ९५ मतदाता मनाङमा छन् । काठमाडौंमा भने ५ लाख ५९ हजार ४ सय मतदाता छन् । 
  • बैतडीको डिलासैनी गाउँपालिकाको अध्यक्ष पदमा सहोदर दाजुभाइ नै प्रतिस्पर्धी छन् । दाइ कर्णबहादुर राना नेपाली कांग्रेसबाट र भाइ लोकेन्द्रबहादुर राना माओवादी केन्द्रबाट गाउँपालिकामा उम्मेदवार बनेका हुन् ।
  • हेटौडाको मेयरमा दाजु हरिबोल महत एमालेबाट मेयरको उम्मेदवार तथा भाइ भीमसेन महत मालेबाट सोही पदका लागि उम्मेदवार बनेका छन् । उनीहरू ८ वर्ष जेठा–कान्छा छन् ।
  • १८ वर्षअघि प्रेमविवाह गरेकी विराटनगर उपमहानगरपालिका—११ की ३६ वर्षीया रिकुदेवी परियारले वडा सदस्य बन्न डिभोर्स नै गरिन् । नेकपा एमालेले दलित कोटाबाट उम्मेदवार बनाउने भएपछि उनले पति सवदनारायण सरदार थारुसँग सम्बन्धविच्छेद गरेकी हुन् । 
  • सोलुखुम्बुको एकमात्र नगरपालिका सोलु दूधकुण्डको मेयरमा उम्मेदवारी दिन नेकपा एमालेका नेता आङदामी शेर्पाले अमेरिकी स्थायी बसोबास अनुमतिपत्र ग्रिनकार्ड परित्याग गरेका छन् ।
  • विराटनगर महानगरपालिका वडा नं. ३ मा माओवादी केन्द्रबाट सबै महिला उम्मेदवार भएका तोकिएका छन् । 
  • एकै परिवारका तीन जना उम्मेदवार । पाँचथरको फालेलुङ गाउँपालिका–६ सिदिनकी ३५ वर्षीया सुजाता वान्तावा राईलाई नेकपा एमालेको तर्फबाट वडा अध्यक्षको उम्मेदवार प्रस्ताव गरेको छ भने साइनोले बहिनी ज्वाइँ पर्ने उनकै देवर ३२ वर्षीय दीपक राई नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार छनोट भएका छन् । यस्तै, नेकपा माओवादी केन्द्रबाट ४५ वर्षीय महेन्द्रवीर राई छानिएका छन् । उनी सुजाताको जेठाजु र दीपकका दाजु हुन् ।
  • दुई–दुईवटा उपमहानगरपालिका भएका जिल्ला सुनसरी, दाङ र बारा हुन् । 
  • संविधानसभा निर्वाचन बहिष्कार गरेको मोहन वैद्य नेतृत्वको नेकपा माओवादीले स्थानीय तहको निर्वाचनमा भाग लिएको छ । 
  • नेकपा माओवादी केन्द्रले ललितपुरको गोदावरी नगरपालिकाबाट सीताराम कट्टेल (धुमुर्स)की सासु तथा कुञ्जना घिमिरे (सुन्तली)की आमा सीता घिमिरेलाई उपप्रमुखमा उम्मेदवार बनाएको छ । सीता घिमिरेका श्रीमान् भने एमालेका कार्यकर्ता हुन् । 
  • गुल्मीमा चुनावी सभामा भाषण गर्दा सामुदायिक विद्यालयका ५ जना शिक्षकको जागिर चट भयो । 
  • दलित आरक्षण कोटाबाट धादिङको धुनीबेंसी–३ को महिला सदस्यमा उम्मेदवारी दिएकी बिना मिजारले पासो लगाई आत्महत्या गरेकी छिन् । धुनीबेंसी—३,  थुम्की निवासी ३५ वर्षीया मिजारले नेकपा एमालेका तर्फबाट उम्मेदवारी दर्ता गरेकी थिइन् । 
  • झापाको कन्काई नगरपालिकामा बाबु–छोरी उम्मेदवार भएका छन् । माओवादी केन्द्रले वडा नम्बर ३ मा छोरी अम्बिका चापागाईं (सुवेदी) तथा ४ मा बुवा गोविन्दप्रसाद चापागाईंलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ । 
  • पोखरा महानगरपालिकाको उम्मेदवार बन्न त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक देवराज चालिसेले पदबाट राजीनामा दिए पनि उनले टिकट पाएनन् । उनी पृथ्वीनारायण क्याम्पसमा राजनीतिशास्त्र पढाउँथे। 
  • रामेछाप मन्थली नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका तर्फबाट प्रस्तावित उम्मेदवार युवराज भट्टराई अमेरिकी ग्रिनकार्डधारी भएको पाइएपछि अन्तिम समयमा उनको उम्मेदवारी खोसिएको छ । 

 

प्रकाशित :वैशाख २५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्