छुटेका कुरा

- सुविन भट्टराई

वैशाख २१, २०७४- 

 

जसै बाटोमा हामी अगाडि बढ्छौँ, पछाडि छुट्दै जान्छन्— घर, खेत, जङ्गल, गाउँ अनि सहरहरू । हामी हिँडिरहेको बाटो स्वयं नै पनि छुट्दै जान्छ अनि छुट्दै जान्छ हामी बाँचेको समय पनि । केही सहयात्री  हामीसितको यात्राबाट छुट्टिएर जान्छन्, केही यात्री हामीसितको यात्रामा सहयात्री बन्न आइपुग्छन् ।

छुटे जीवनमा धेरै कुरा । उकालो चढ्दा चढ्दै, थाकेर चौतारोमा आराम गर्दा एकैछिनलाई बिसाएको टोपी, त्यहीँ छुट्यो ।

 

बाबाको हात समाएर हिँड्दा–हिँड्दै, कुन उमेरमा छुटेछ आफ्नै बाल्यकाल । छुटिगयो जीवनकै यात्रामा बढ्दै गएको उमेरका कारण आफ्नै आमाको काख । छुट्यो स्कुलको एसेम्बलीमा गाउने राष्ट्रगान, जब टेकेँ पहिलो पटक कलेजको प्राङ्गणमा । उमेरहरू छुट्दै गए । स्वभावहरू छुट्दै गए । जसै सबैका रहरमा पखेटा पलाउन थाले, भाइ–बहिनी, दिदी–दाजुहरूको सामीप्य छुट्यो । काँचो उमेरमा प्रेम लुकाउन नसकेर छुट्यो— प्रेयसीको साथ ।

 

र, म आफैँ ठाउँ–ठाउँमा छुट्दै गएँ । अहिले, यतिबेला म, जो बाँकी छु, त्यो मबाट म छुट्दै–छुट्दै गएर बाँकी रहेको सानो म हुँ । कति क्लासहरू छुटे, कति एक्जाम छुटे, कति बस छुटे, सिनेमा घरमा लागेका कति सिनेमा हेर्न जाउँला भन्दाभन्दै छुटे, कति भेटहरू छुटे, कति साथी छुटे, कति पिकनिक छुटे, कति जागिरका इन्टरभ्यु छुटे, कतिसितको प्रेमसम्बन्ध छुटे, कतिसितको अरू पनि सम्बन्ध छुटे । कतिलाई के–के कुरा भन्नु थियो, उतिबेलै छुटे । कतिका केही सुन्नु थियो ती पनि छुटे । कति अवसरहरू छुटे । कति रहरहरू छुटे । केही कुरा नछुटेर, जोगिएर धेरै समयसम्म साथै थिए । पछि गएर ती पनि छुटे ।

 

ठीक त्यसैगरी छुटे सबै कुरा, जसरी छुट्छन् एक स्टेसनमा बदाम बेच्न बसमा चढेका दाइ अर्को स्टेसनमा । जसरी छुट्छन् मीठो सारङ्गी बजाउने भाइ दुई–चार स्टेसनपश्चात्, त्यसैगरी छुटे जसरी छुट्छ बसमा यात्रा गर्दा हाइवेमा खाना खाएको ठाउँ । ठीक त्यसैगरी छुट्यो जसरी छुट्यो धाराबाट पानीको फोहोरा । कहीँ छुटे दु:खहरू, जो उही रूपमा कहिल्यै फर्केर आएनन् । कहीँ छुटे खुसीहरू, जो त्यही रूपमा फर्केर आउन सकेनन् ।

प्रकाशित :वैशाख २१, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्