कमजोर प्रदर्शन गर्ने महँगा खेलाडी

- साप्ताहिक संवाददाता

वैशाख २१, २०७४- 

धनगढी प्रिमियर लिग (डीपीएल) को उल्लेखनीय पक्षमध्ये खेलाडीहरूको लिलामी पनि एक थियो । सहभागी टिमले राम्रै रकम तिरेर आफूले चाहेको खेलाडी किनेका थिए । राम्रो रकम तिरिएका ती खेलाडीबाट राम्रो प्रदर्शनको अपेक्षा पनि गरिएको थियो । यसपटकको प्रतियोगितामा सहभागी सबै ६ टिमले खास–खास खेलाडीलाई आफ्नो टिममा ल्याउन ठूलै खर्च गरेका थिए । त्यस्तो रकम अधिकतम १ लाख रुपैयाँसम्म थियो, जुन नेपाली खेलाडीको हकमा ठूलै रकम मानिन्छ ।

 

यसरी महँगो मूल्य पाएका केही खेलाडीको प्रदर्शन भने अपेक्षाअनुरूप रहेन । लिलामीमा ठूलो जोखिम मोलिन्छ, ती खेलाडीका लागि पनि सम्बन्धित टिमले ठूलै जोखिम उठाएका थिए, तर उनीहरू आफूलाई प्रमाणित गर्नबाट चुके । यसमा सबैभन्दा अगाडि रहे— कञ्चनपुर आइकोनिकका कप्तान विनोद भण्डारी । उनको टिम लिग चरणमा पुछारबाट दोस्रो अन्तिम स्थानमा रह्यो र यस्तो खराब प्रदर्शनका लागि मुख्य जिम्मेवार विनोद भण्डारीलाई नै मानियो । भण्डारीले लिग चरणमा खेलेका पाँच इनिङ्समध्ये एउटैमा मात्र दोहोरो अंकमा त्यो पनि १६ रन मात्र बनाउन सके ।

डीपीएलमा सबैभन्दा आशा गरिएका खेलाडीबाट सबैभन्दा खराब प्रदर्शन विनोदकै नाममा रह्यो । कञ्चनपुरकै सागर पुनको प्रदर्शन पनि गतिलो रहेन । यी अलराउन्डरको ब्याट केही हदसम्म त चल्यो, तर बल चल्न सकेन । त्यसैले उनको टिम लिग चरणभन्दा माथि उक्लन सकेन । यस्तोमा पुनको प्रदर्शन उनी आफैंका लागि समेत निराशाजनक रह्यो । मेहबुब आलमका अगाडि अचेल भेट्रान विशेषण थपिन्छ । नेपाली क्रिकेटमा पुनरागमन गरेका मेहबुबका लागि पनि डीपीएल सुखद रहेन । यी अलराउन्डर बल र ब्याट दुवैमा जम्न सकेनन्, नतिजा उनको टिम सीवाईसी अत्तरिया निराशाजनक रूपमा अन्तिम स्थानमा रह्यो, मेहबुबको ब्याटबाट ३६ रन मात्र निस्कियो भने उनले जम्मा ४ विकेट मात्र लिन सके ।

 

अत्तरियाका अर्का महँगा खेलाडी करण केसीको प्रदर्शन पनि खासै उल्लेखनीय रहेन । केसीको कमजोर प्रदर्शनका विषयमा सबै दोष उनलाई मात्र दिन मिल्दैन, किनभने उनी प्रतियोगिताअघि मात्र एपेन्डिक्सको शल्यक्रियाबाट गुज्रिएका थिए । करणका लागि प्रतियोगितामा खेल्नु पनि ठूलो कुरा थियो, तर उनले त्यसमा न्याय भने गर्न सकेनन् । केन्याविरुद्ध आईसीसी वल्र्ड क्रिकेट लिगमा खेल हुनु ठीक अघि उनी बिरामी भएका थिए । करण मुख्यत: बलर हुन्, तर उनले यसपटक बलिङमा जोड दिन सकेनन् । उनको ब्याटिङ पनि कमजोर देखियो, ४ खेलमा ५१ रन मात्र ।

 

यी सबैबीच काठमाडौं गोल्डेन्सका सोमपाल कामी अभागी ठहरिए । उनलाई १ लाख रुपैयाँ दिन लिलामीमा सहभागी सबै टिमबीच होड चलेको थियो । उनको प्रदर्शन धेरै हदसम्म त्यसलाई न्याय गर्न सफल पनि भयो, तर उनको टिम आपैंm भने प्लेअफमा स्थान बनाउन असफल रह्यो, इलिमिनेटरबाटै बाहिरियो । कामीले ६ इनिङ्समा १ सय २१ रन बनाए भने बलिङतर्फ ११ विकेट लिए, तर उनको यो प्रदर्शन टिमलाई उकास्न पर्याप्त भएन ।

प्रकाशित :वैशाख २१, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्