स्मार्टफोनमा जीपीएस

- साप्ताहिक संवाददाता

वैशाख २०, २०७४-  

हातहातमा स्मार्टफोन अनि स्मार्टफोनमा जीपीएस । अहिले कुनै नयाँ स्थानमा जानुपर्‍यो भने जीपीएस नै साथी बन्छ । पहिलेजस्तो कसैलाई सोध्नु वा सहरमा लेखिएका लोकेसन बोर्ड खोज्नुपर्ने आवश्यकता हुँदैन । यसको प्रयोग गर्दा कुनै गलत स्थानमा पुगिने सम्भावना पनि हुँदैन । अझ अहिले त लोकेसन सर्भिसको सुविधा उपलब्ध गराउने एप्स पनि उपलब्ध छन् । यो अवस्थामा स्थान पहिचान गर्न अझ सहज हुन्छ । जीपीएस आज धेरैको दैनिकी बन्न सफल छ ।
 

के हो जीपीएस ?
जीपीएसको पूर्ण रूप ग्लोबल पोजिसनिङ सिस्टम हो । यसले कुनै पनि व्यक्तिको उपस्थितिका बारेमा बताउँछ । यसको अर्थ तपाईं कुन स्थानमा हुनुहुन्छ वा कुन स्थानमा जान चाहनुहुन्छ ? सबै कुरामा सहयोगी बन्छ जीपीएस । जीपीएस प्रविधिको विकास सबैभन्दा पहिले अमेरिकी सेनाले गरेको मानिन्छ । सन् १९७३ मा यूएस आर्मीले आफ्ना नाभिकहरूका लागि यसको प्रयोग गरेको थियो । त्यसपछि अन्य क्षेत्रमा पनि यसको प्रयोग हुन थाल्यो । जीपीएस सन् १९९५ देखि सर्वसाधारणले समेत प्रयोग गर्न पाउने गरी खुला गरिएको थियो ।

 

जीपीएसका लागि अन्तरिक्षमा २४ देखि ३२ वटा स्याटेलाइटको एक समूह तयार गरिएको छ, जसले पृथ्वीमा उपलब्ध जीपीएस रिसिभरसँग नेटवर्क स्थापित गर्छन् । ती स्याटेलाइटसँग सम्पर्क गर्न मोबाइल फोन वा जीपीएस डिभाइसमा रिसिभर राखिएको हुन्छ । रिसिभर र स्याटेलाइटको माध्यमबाट डाटा आदानप्रदान हुन्छ । पृथ्वीभन्दा करिब १२ हजार माइल माथि रहेका ती स्याटेलाइट करिब ७ हजार किलोमिटर प्रतिघण्टाको गतिमा घुमिरहेका हुन्छन् । ती स्याटेलाइटले एक दिनमा दुई पटक पृथ्वीको परिक्रमा गर्छन् ।
 
 

स्मार्टफोनमा जीपीएस
स्मार्टफोनमा जीपीएसका लागि एउटा सेन्सर हुन्छ । उक्त सेन्सरले अन्तरिक्षमा स्थापित जीपीएससँग सम्पर्क गरी स्मार्टफोन कुन स्थानमा छ भन्ने कुरा बताउँछ । सेन्सरलाई स्मार्टफोनमा भएका अन्य हार्डवेयर तथा सफ्टवेयरले नियन्त्रण गरिरहेका हुन्छन् । यो अवस्थामा कहिलेकाहीं जीपीएस सिग्नलमा समस्या उत्पन्न हुनसक्छ । त्यस्तो अवस्थामा विभिन्न उपायद्वारा समस्या समाधान गरिन्छ ।
 

जीपीएसको यात्रा
जीपीएस एकै पटक विकास भएको होइन । यसका लागि वर्षौंको मेहनत लागेको छ । यो प्रविधिको विकास गर्ने श्रेय अमेरिकी वैज्ञानिक डा. इभान गेटिङलाई जान्छ । उनले रोजर एल इस्टन तथा ब्राडफोर्ड पार्किसनसँग मिलेर जीपीएसको विकास गरेका थिए । अहिले पनि यो प्रविधिको विकास र नियन्त्रण अमेरिकी सेनाले नै गरिरहेको छ ।

 

तत्कालिन सोभियत संघले सन् १९५७ मा स्पुतनिक अन्तरिक्ष यान पठाएपछि अन्तरिक्षमा कुनै पनि वस्तुलाई स्थापित गर्न सकिन्छ भन्ने प्रमाणित भएको थियो । त्यही कार्यबाट प्रेरित भएर अमेरिकाले सन् १९६० मा ट्रान्जिट स्याटेलाइटलाई अन्तरिक्ष कक्षमा स्थापित गरेको थियो । अमेरिकी नौसेनाले त्यसको परीक्षण गरेको थियो ।

 

त्यसपछि विभिन्न स्याटेलाइट स्थापना गर्ने क्रम बढ्दै गयो । त्यसपछि सन् १९९५ देखि यो सबैका लागि उपलब्ध गराइयो । हाल जीपीएस प्रविधिका लागि अन्तरिक्षमा ३० वटा स्याटेलाइट स्थापित गरिएका छन् । आज जीपीएस प्रविधिबाट विभिन्न स्थान पहिचान गर्नेबाहेक गाडीका लागि उपयुक्त रुट पत्ता लगाउने, म्याप हेर्ने, भूकम्पसम्बन्धी अध्ययन गर्ने एवं मौसमसम्बन्धी अध्ययनसमेत सम्पन्न
गर्न सकिन्छ ।

प्रकाशित :वैशाख २०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्