डीपीएलमा जो चम्किए

- हिमेश

वैशाख २०, २०७४-  

पारस खड्का
खराब लयबाट गुज्रिरहेको एउटा टिमलाई सफलतातर्फ कसरी डोर्‍याउनुपर्छ, त्यसको उदाहरण पारस खड्काले प्रस्तुत गरे । स्वास्थ्य समस्याका कारण पारसले आईसीसी वल्र्ड क्रिकेट लिगमा केन्याविरुद्धको खेल खेलेका थिएनन् । त्यसबेला उनले डीपीएलसँगैे फेरि खेलमा फर्कने बताएका थिए । उनको यो पुनरागमन धमाकेदार रह्यो । टिम चौराह धनगढीलाई खराब सुरुवातका बाबजुद उपाधिसम्म पुर्‍याउने श्रेय धेरै हदसम्म पारसलाई नै जान्छ । आफ्नो शानदार नेतृत्व क्षमतासहित पारस ब्याटबाट पनि उत्तिकै चम्किए । उनी प्रतियोगितामै सर्वाधिक रन बनाउने ब्याट्सम्यान समेत भए । पारसले आठ इनिङ्समा १ सय ७५ रन बनाए । त्यसमा उनको सर्वाधिक स्कोर ६७ नटआउट थियो ।

 

आरिफ सेख
आरिफ सेखलाई नेपाली क्रिकेटमा भविष्यको खेलाडीको रूपमा हेरिन्छ । भर्खर २० औं वर्षमा उक्लने क्रममा रहेका आरिफ आक्रामक ब्याटिङका लागि चिनिन्छन् । फाइनलमा उनको प्रदर्शन लगभग निर्णायक रह्यो । आरिफले ४७ बलमा ५४ रन बनाए र खराब स्थितिमा रहेको टिमलाई उकासे । त्यसैले उनी फाइनलको म्यान अफ द म्याच पनि भए । प्रतियोगितामा आरिफको व्यक्तिगत उच्च स्कोर ५८ रह्यो । उनी प्रतियोगितामा पारसपछि सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन् । उनले कुल १ सय ६८ रन बनाए । आरिफ प्रतियोगितामै दुई अर्धशतक बनाउने एकमात्र ब्याट्सम्यान पनि हुन् ।

 

सुशील कँडेल
क्रिकेटको ट्वान्टी–२० प्रतियोगिताको म्यान अफ द सिरिज बलर हुनु केही हदसम्म अस्वभाविक मानिन्छ, तर आफ्नो उत्कृष्ट प्रदर्शनका कारण विराटनगर किङ्सका सुशील कँडेलले उक्त श्रेय प्राप्त गरे । उनकै प्रदर्शनको मद्दतले विराटनगरले लगातार राम्रो खेल्दै फाइनलसम्मको यात्रा तय गरेको थियो, तर कँडेलको प्रदर्शन फाइनलमा विराटनगर किङ्सलाई जित दिलाउन पर्याप्त भएन । उनले प्रतियोगितामा सर्वाधिक १७ विकेट लिए । ट्वान्टी–२० क्रिकेटको एउटै खेलमा चार विकेट लिनु ठूलो उपलब्धि हो । कञ्चनपुर आइकोनिक र रूपन्देशी च्यालेञ्जर्सविरुद्ध सुशीलले दुई पटक त्यस्तै दुर्लभ प्रदर्शन गरे ।

 

शरद भेषवाकर
विराटनगर किङ्सले प्रतियोगिता जित्न सकेन र उपविजेतामै सीमित हुनुपर्‍यो । यद्यपि विराटनगरका कप्तान शरद भेषवाकरका लागि प्रतियोगिता उल्लेख्य रह्यो । टिमलाई फाइनलसम्म पुर्‍याउन उनले कुशल एवं नेतृत्वदायी भूमिका निर्वाह गरे । शरद ब्याटमा पनि उत्तिकै सफल भए । उनले प्रतियोगिताका सात इनिङ्समा १ सय ४७ रन बनाए । यसमा उनको सर्वाधिक ठूलो स्कोर ४६ रन रह्यो । शरद सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा चौथो स्थानमा रहे । फाइनलमा भने उनले राम्रो गर्न सकेनन् र सस्तैमा आउट भए । शरद सामु विराटनगरका लागि निर्णायक इनिङ्स खेल्ने अवसर थियो, तर उनी चुके । यसमा उनलाई पछिसम्म पछुतो भैरहनेछ ।

 

साहेब आलम
नेपाली क्रिकेटका लागि लगभग नयाँ अनुहार हुन्, साहेब आलम, तर उनले यस पटक जसरी खेले, उनीबाट नेपाली क्रिकेटले भविष्यमा धेरै आशा गर्न सक्छ । उनको टिम रूपन्देही च्यालेन्जर्स प्रतियोगिताको लिग चरणमा सर्वाधिक राम्रो खेल्ने टिम थियो । टिमको राम्रो प्रदर्शनमा बलिङमार्फत् सबैभन्दा ठूलो योगदान साहेबकै थियो । उनले सात खेलमा १६ विकेट लिए र सुशील कँडेलपछि दोस्रो स्थानमा रहे । प्रतियोगितामा उनको उत्कृष्ट प्रदर्शन ८ रन दिएर चार विकेट रह्यो । सुशीलसँगै उनी प्रतियोगितामा दुई अवसरमा ४–४ विकेट लिने दोस्रो बलर भए ।

प्रकाशित :वैशाख २०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्