मासिक ७०/८० हजार रुपैयाँ कमाउन गाह्रो छैन

- नरेन्द्र रौले

वैशाख १९, २०७४- 

रंगकर्म र साहित्य लेखन दुवैमा उत्तिकै सक्रिय छन्— टंक चौलागार्इं । हालसालै उनको उपन्यास टालाटुली सार्वजनिक भएको छ । भीष्म सहानीले हिन्दीमा लेखेको नाटक माधवीलाई नेपालीकरण गरेर निर्देशन गरेपछि चौलागाईं चर्चामा आएका थिए । यसअघि काठमाडौं गीत, जीरो कटेजजस्ता पुस्तक प्रकाशित गरिसकेका चौलागार्इंसँग नरेन्द्र रौलेको कुराकानी :

 

तपाईं रंगकर्म र लेखनमा उत्तिकै सक्रिय हुनुहुन्छ । आफूलाई के भनेर चिनाउन चाहनुहुन्छ ?

म पहिले रंगकर्मी, त्यसपछि मात्र लेखक हुँ ।

 

कसरी रंगकर्ममा लाग्नुभयो ?

कामको खोजी तीव्र थियो । एक्लो छोरो भएकाले बुबाआमाले विदेश जान दिनुभएन । देशमा संकटकाल थियो । बुबाआमाले आर्मी–पुलिसमा जान पनि नदिने । त्यही क्रममा क्याम्पसमा ‘नि:शुल्क अभिनय’ भनेर टाँसिएको एउटा सूचनामा मेरो आँखा गयो । म त्यहाँ अभिनय सिक्न गएँ । यसरी मेरो जीवनमा रंगकर्म सुरु भयो ।

 

रंगकर्मको सुरुवात कसरी गरियो ?

सरुभक्तले लेख्नुभएको जिउँदा अवशेषहरू नाटकमा अभिनय गरियो । आफंैले चाहिं ०६२/६३ को जनआन्दोलनताका मधुरिमा शीर्षकको नाटक लेखें । मधु र रिमालाई पात्र बनाएर लेखिएको उक्त नाटकको निर्देशन पनि म आफैंले गरें । त्यो नाटक राष्ट्रिय नाचघरले आयोजना गरेको पश्चिमाञ्चल क्षेत्रीय नाटक महोत्सवमा मञ्चन पनि भयो ।

 

बालसाहित्यबाट आफ्नो लेखन सुरु गर्नुभयो । कस्तो अनुभव बटुल्नुभयो ?

बालसाहित्यमा जति लेखियो सबै वास्तविक कथा लेखियो । त्यतिबेला साहित्यको रस थाहै नपाई लेखियो । पत्रपत्रिकाहरूमा बालवालिकाहरूका सत्य कथा छापिएपछि कतिले छात्रवृत्ति पनि पाए । आफूले गरेका यस्ता प्रयासको सकारात्मक प्रभाब सम्झँदा खुसी लाग्छ ।

 

पुस्तक लेखनतिर कसरी आकर्षित भइयो ?

पहिलो पुस्तक साइन्स फिक्सन जिरो कटेज थाहै नपाई लेखें । दोस्रो उपन्यास काठमाडौं गीतचाहिं सेलिब्रिटी बन्छु भन्ने रहरले लेखिएको हो । ती दुइटै पुस्तकपछि मेरो लेखन परिपक्व भैसकेको छैन भन्ने थाहा भयो । पाठकहरूले सामान्य कथा रुचाउने रहेछन् ।

 

हालै बजारमा आएको पुस्तक टालाटुली कुन विषयमा केन्द्रित छ ?

आश्रममा बस्ने असहाय वृद्धवृद्धाहरूको कथा टालाटुलीको मूल कथा हो । यसमासन्तानले छाडेर गएपछि वृद्धवृद्धाहरूको अवस्था कस्तो हुन्छ भन्ने कुरा चित्रण गरिएको छ । यो सत्यकथा हो । यसमा थोरै मेरो कल्पना पनि मिसाइएको छ ।

 

टालाटुली बजारमा ल्याउन कति समय लाग्यो ?

जम्मा तीन वर्ष । ६ महिनामै लेखिसके पनि मैले १४ पटक पुनर्लेखन गरें । त्यसपछि बल्ल चित्त बुझ्यो । यो मेरा अघिल्ला पुस्तकहरूको तुलनामा भाषा एवं प्रस्तुतिका हिसाबले पनि राम्रो छ । सकारात्मक प्रतिक्रिया पाइरहेको छु ।

 

यतिबेला के गर्दै हुनुहुन्छ ?

म स्कुल, कलेजमा रंगमञ्च पढाइरहेको छु ।

 

अबको तयारी के छ ?

छिटै नै नाटकहरूको संग्रह किताबभित्र–किताबबाहिर आउँदैछ ।

 

रंगकर्म पढाउनु र लेख्नुमा के फरक पाउनुभयो ?

लेख्दा अलि सहजता महसुस हुन्छ । कुनै कथा टिप्यो, लेख्यो तर पढाउने कर्म भने अलि गार्‍है रहेछ । नाटकमा काम गर्न सजिलो छ । यो कलाकारका माध्यमबाट प्रदर्शन गरिने भएकाले सहज लाग्छ । कलाकारहरूले पनि राम्रो सल्लाह दिन्छन् । तत्काल आफ्नो भूमिका स्टेजमै देख्न पाइन्छ । सोचेभन्दा पनि राम्रो भइदिन्छ । फेरि त्यसमा लाइट, कलाकार, कथा, प्रस्तुति सबैको उत्तिकै भूमिका हुन्छ । फरक–फरक मानिसको साथ पनि हुन्छ । त्यसैले नाटक मञ्चन गर्न सजिलो छ, तर लेखन भने चुनौतीपुर्ण हुन्छ ।

 

नेपालमा बालसाहित्यको अवस्था कस्तो छ ?

अझै राम्रा पुस्तकको अभाव छ, तर प्रौढ साहित्यभन्दा बालसाहित्यको अवस्था राम्रो छ । रुचिअनुसारका पुस्तक छापिएका छन् । लेख्नुपर्ने जति भने अझै लेखिएको पाइँदैन । बालसाहित्य लेखकलाई कसैले गन्दैनन् ।नाटक लेख्नेहरूको पनि खासै मान्यता पाइँदैन ।

 

तपाईंले अनुवाद गरेको माधवी नाटक लामो समय चल्यो । कमाइ कस्तो भयो ?

माधवी नाटक २२ दिन चल्यो । त्यसले रेकर्ड नै राख्यो भने ८ लाख ५० हजार रुपैयाँ कमाइ भयो । उक्त नाटकमा मैले तीन वर्ष कडा मेहनत गरेको छु ।

 

रंगकर्मको भविष्य कस्तो छ ? यसमै लागेर जीवन धान्न सकिन्छ ?

म रंगकर्ममा रमाइरहेको छु । स्कुल–कलेजमा नाटक पढाउँछु । म मासिक ७०/८० हजार रुपैयाँ कमाउँछु । अझै पनि पढाउनका लागि धेरैतिरबाट प्रस्ताव आइरहेको छ । मेरो अनुभवमा राम्रै सम्भावना छ ।

 

कुन समयमा लेख्नुहुन्छ ?

मलाई भीडभाड मन पर्छ । कोलाहल मनपर्छ । आफू शान्त हुन्छु, तर वरिपरि भने चहलपहलपूर्ण वातावरण मनपर्छ । म प्राय: बिहानको समयमा लेख्न रुचाउँछु । गीत सुन्दै लेख्ने बानी छ । दिमागमा कुनै प्लट आयो भने राति १२ बजे पनि लेख्न बस्छु ।

 

अरू लेखकका पुस्तक कत्तिको पढ्नुहुन्छ ?

पाएसम्म पढ्छु । नेपाली लेखकहरूमा नयनराज पाण्डे, नारायण ढकाल तथा बुद्धिसागरको पढ्न छुटाउँदिनँ । उहाँहरूको लेखनमा हाम्रै समाजमा पात्र एवं सुहाउँदो विषयवस्तु फेला पर्छन् ।

 

तपाईंका प्रिय पुस्तक ?

डोरबहादुर विष्टको सोताला असाध्यै मनपर्छ । यसमा पुरानो काठमाडौंको कथा समेटिएको छ । मैले यो पुस्तक पाँच पटक दोहोर्‍याएँ हुँला । त्यस्तै प्रेतकल्प र उलार पनि मेरा प्रिय पुस्तक हुन् ।

 

अध्यापन एवं लेखन कर्ममा संलग्न हुनुहुन्छ । समय कसरी व्यवस्थापन गर्नुहुन्छ ?

यी सबै कलाका काम हुन् । मासु पसल वा तरकारी पसल गरेको भए मलाई गार्‍हो हुन्थ्यो होला, यी दुवै एउटै क्षेत्र भएर पनि काम गर्न सजिलो भएको हो ।

 

झ्याप्प केश पाल्नुभएको छ । यसमा केही रहस्य छ कि ?

मैले रहरले पालेको होइन । थिएटरमा काम गर्न अरूभन्दा फरक हुुनुपर्छ भन्ने लाग्थ्यो । कसरी फरक हुने भनेर सोच्थें । त्यही सोचले केश पालेको हो । म वर्षमा एकपटक मात्र केश काट्छु ।

 

रंगकर्ममा आउन चाहनेहरूलाई के सुझाव छ ?

यो क्षेत्रमा हतार गर्नेहरू टिक्दैनन् । सफलताका लागि धैर्यता चाहिन्छ । थिएटरमा काम गर्न त्यति सजिलो छैन । धैर्यता, अध्ययन एवं काम गर्ने समर्पण बोकेर आए केही गरेर देखाउन सकिन्छ ।

प्रकाशित :वैशाख १९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्