नेपालका चर्चित हिल स्टेसन

- नरेन्द्र रौले

वैशाख १८, २०७४- 

वसन्तपुर

तेर्‍हथुमको वसन्तपुर हिलेबाट टाढा छैन । म्याङलुङदेखि २५ किलोमिटर पूर्वमा पर्ने यो रमणीय स्थलको चारैतिर हरियाली छ । पहाड एवं पोखरीले घेरिएको वसन्तपुर पर्यटकीय हिसाबले महत्वपूर्ण मानिन्छ । यहाँबाट सूर्योदय र सूर्यास्तको दृश्यावलोकन गर्न सकिन्छ । धरान, धनकुटा, सिधुवा, चित्रे हुँदै वसन्तपुर पुगिन्छ । संखुवासभा, भोजपुर तथा ताप्लेजुङतर्फको पदयात्रा वसन्तपुरबाटै प्रारम्भ हुन्छ । पर्यटकहरूका लागि बास बस्न यहाँ सेवा, सुविधा सम्पन्न होटलहरू छन् ।

 

वसन्तपुर प्रसिद्ध पर्यटकीय स्थल तिनजुरे, मिल्के, जलजले (टिएमजे) क्षेत्रको प्रवेशद्वार हो । चैत–वैशाखमा तिनजुरे, मिल्के, जलजले क्षेत्र गुराँसले राताम्मे देखिन्छ । पर्यटकलाई लक्षित गर्दै वसन्तपुरवासीले बजारको मुख्य चोकमै लालिगुराँस स्तम्भ निर्माण गरेका छन् । यो ठाउँ सुन्तला र काँक्राका लागि पनि चर्चित छ । वसन्तपुरनजिकै तीनजुरे पहाडको फेदीमा आकर्षक कलाकृति, जंगलभित्रका ठूला ढुंगा र रूख कँुदेर बनाइएका जंगली जनावरको आकृति हेर्न लायक छन् । कैलाश हिल नामाकरण गरिएको यो ठाउँमा बाघ, गोही, छेपारो, कछुवा, डल्फिन, मयुर, जंगली हर्स, बँदेल तथा मृगका आकृतिहरू राखिएका छन् । आरआर गार्डेनमा जंगलका ठूला–ठूला ढुंगालाई चौंरी, याक, साढे गोरुको आकृतिमा कुँदिएको छ । पर्यटन प्रवद्र्धनकै लागि वसन्तपुरमा भ्यु टावरसमेत निर्माण गरिएको छ ।

 

फिक्कल

फिक्कल बजार इलाम जिल्लाको पूर्वी भेकमा अवस्थित छ । सूर्योदय नगरपालिकामा पर्ने फिक्कल एउटा व्यापारिक केन्द्र हो । इलामको पूर्वी क्षेत्रका किसानले उत्पादन गरेका अलैंची, अदुवा, अम्रिसो, दूध आदि नगदे बाली बिक्री हुने यो बजारमा बाक्लै चहलपहल हुन्छ । सदरमुकाम इलाम बजारबाट करिब ४३ किलोमिटर टाढा रहेको यो बजारमा पर्यटकहरूका लागि स्तरीय होटलहरू उपलब्ध छन् । घुम्नका लागि कन्याम, लभ डाँडाजस्ता सुन्दर ठाउँ पनि छन् । दार्जीलिङ भएर नेपाल भित्रिने भारतीय तथा अन्य मुलुकका पर्यटक फिक्कलमै बास बस्छन् । त्यस्तै नेपालबाट भारतको दार्जीलिङ घुम्न जानेहरू फिक्कलकै बाटो भएर यात्रा गर्छन् । कन्याम तथा श्रीअन्तु घुम्न आउने पर्यटकहरूको बासस्थान पनि फिक्कल नै हो । सदरमुकाम इलामबाट झापा, विराटनगर, धरान, काठमाडौं, पोखरा आदि स्थानका लागि छुट्ने सवारी साधन यही बाटो भएर जान्छन् ।

 

हिले

हिले धनकुटाको एउटा प्रमुख व्यापारिक तथा पर्यटकीय गन्तव्य हो । समुद्री सतहबाट १ हजार ९ सय ५० मिटरको उचाइमा अवस्थित हिलेमा वर्षैभरि चिसो हुन्छ । यहाँ गर्मी छल्न आउनेहरूको कमी हँुदैन । विशेष गरी हिलेको तोङ्वा र सुकुटी निकै चर्चित छ । हिले पुगेपछि बौद्ध गुम्बालगायत अन्य दृश्यहरू हेर्न सकिन्छ । यहाँबाट नजिकै पर्ने उत्तरपानी र पाख्रिबास पनि पुग्न सकिन्छ । हिलेमा पर्यटकहरूका लागि स्तरीय होटल एवं लज उपलब्ध छन् ।

 

पुनहिल

अन्नपूर्ण पदमार्गमा पर्ने पुनहिल नेपालको एउटा उत्कृष्ट हिल स्टेसन हो । समुद्री सतहबाट ३ हजार २ सय १० मिटरको उचाइमा अवस्थित पुनहिलबाट धौलागिरि, अन्नपूर्ण आदि हिमश्रृंखला अवलोकन गर्न सकिन्छ । अन्नपूर्ण पदमार्गमा पर्ने घोडेपानीस्थित लालीगुराँसको जंगलमा १८ थरीका रंगीबिरंगी लालीगुराँस पाइन्छन् । मुलुककै दोस्रो ठुलो लालीगुराँसको राजधानी मानिने यो जंगल वसन्त ऋतुमा मनमोहक देखिन्छ । म्याग्दीको घार गाविसमा पर्ने घोडेपानी गाउँ तथा पुनहिल चर्चित पर्यटकीय स्थल मानिन्छ । पुनहिल नजिकैको घोडेपानीको जीवनशैली पनि रमाइलो छ ।

 

यहाँ मगर जातिको बाक्लो बसोबास छ । नीलो रंगले पोतिएका यहाँका घरहरू आकर्षक छन् । घोडेपानीमा पर्यटकहरूका लागि सुविधासम्पन्न होटल तथा रेस्टुराँहरू उपलब्ध हुन्छन् । घोडेपानीबाट दुई घण्टा उकालो चढेपछि पुनहिल पुगिन्छ, जहाँबाट माछापुच्छ्रे, धौलागिरि, नीलगिरि, मनास्लु, अन्नपूर्णजस्ता १६ भन्दा बढी हिमश्रृंखला तथा सूर्याेदयको दृश्यावलोकन गर्न सकिन्छ । पुनहिलको यात्रा म्याग्दीको बेनी, कास्कीको घान्द्रुक तथा नयाँ पुलबाट आरम्भ गर्न सकिन्छ ।

 

पोखरा–बाग्लुङ राजमार्गको नयाँपुलबाट करिब आधा घण्टा अघि बढेपछि वीरेठाँटी पुगिन्छ । त्यहींबाट सुरु हुन्छ, अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) । त्यहाँबाट दायाँ लागे स्याउली बजार, किम्चे हुँदै घान्द्रुक पुगिन्छ तर पुनहिल जानेले देब्रेतर्फ लाग्नुपर्छ । त्यसपछि तिखेढुंगा, उल्लेरी हुँदै घोडेपानी र पुनहिल पुगिन्छ । त्यसैगरी बेनीबजारबाट बेनी–मुस्ताङ मोटरबाटोबाट झन्डै दुई घण्टा कच्ची सडकको यात्रा गरेपछि घारखोला पुगिन्छ । त्यहाँबाट घोडेपानीका लागि करिब पाँच घण्टा उकालो

चढ्नुपर्छ । घोडेपानीबाट २ घण्टाको यात्रापछि पुनहिल पुग्न सकिन्छ ।

 

राउन्ड अन्नपूर्ण पदमार्गका लागि विश्वकै सर्वाधिक चर्चित रुटमध्ये एक हो । विश्वकै उत्कृष्ट १० पदमार्गभित्र पर्ने राउन्ड अन्नपूर्णभित्र पर्ने यो पदमार्गमा मनोरम हिमश्रृंखला, लालीगुराँसको जंगल, सूर्योदयका साथै विविध प्रजातिका पशुपन्छी एवं वनस्पतिहरू अवलोकन गर्न सकिन्छ ।

 

दामन–सिमभन्ज्याङ

मकवानपुरको सिमभन्ज्याङ काठमाडौंबाट झन्डै ८० किलोमिटर दक्षिण–पश्चिममा अवस्थित छ । सार्वजनिक सवारी साधनमा पाँच घण्टा र आफ्नै निजी सवारी साधन छ भने चार घण्टामै सिमभन्ज्याङ पुग्न सकिन्छ । २ हजार ४ सय ८८ मिटरको उचाइमा रहेको सिमभन्ज्याङ सूर्योदयको दृश्यावलोकन गर्ने तथा हिउँसँग खेल्ने सुन्दर गन्तव्य हो । यहाँबाट कञ्चनजंगा हिमालदेखि अन्नपूर्ण, सगरमाथासम्मको लामो हिमशृंखला नियाल्न सकिन्छ । जाडो बढेसँगै हरेक वर्ष त्यहाँ हिउँ पर्छ । हिउँ खेल्नकै लागि काठमाडौं उपत्यका हेटौंडा, नारायणघाट, वीरगञ्ज आदि ठाउँबाट मानिसहरू सिमभन्ज्याङ पुग्छन् । यहाँ राम्रा होटल, रिसोर्ट तथा लजहरू उपलब्ध छन् ।

 

मकवानपुरको थाहा नगरपालिकास्थित पर्यटकीय स्थल दामन–सिमभन्ज्याङ आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि उपयुक्त गन्तव्य हो । पर्यटकीय स्थल दामन पनि काठमाडौंबाट टाढा छैन । त्रिभुवन राजमार्ग हुँदै सार्वजनिक सवारी साधनबाट करिब चार घण्टाको यात्रापछि दामन पुगिन्छ । दामन ऐतिहासिक–सांस्कृतिक अध्ययनका लागिसमेत महत्वपूर्ण मानिन्छ । बिदा मनाउन, घुम्न, डेटिङ जान तथा शैक्षिक भ्रमणका लागि दामन लोकप्रिय छ । त्यहाँ पुग्न विभिन्न मार्ग प्रयोग गर्न सकिन्छ । दक्षिणकालीबाट कुलेखानी हँुदै वा थानकोटको चन्द्रागिरि हँुदै दामनमा पुग्न सकिन्छ । त्यस्तै टिस्टुङको बाटो भएर पनि दामन पुगिन्छ । दामन घुम्ने क्रममा पालुङ, बज्रवाराही तथा चित्लाङको फेरो लगाउन सकिन्छ ।

 

नगरकोट

नगरकोट काठमाडौंबाट ३२ किलोमिटर उत्तर पूर्वमा र भक्तपुरबाट २० किलोमिटर पूर्वमा अवस्थित छ । मौसम सफा हुँदा यहाँबाट विश्वको सर्वोच्च शिखर सगरमाथालगायत धौलागिरि हिमश्रृंखलादेखि कञ्चनजंघा हिमश्रृंखलासम्म अवलोकन गर्न सकिन्छ । यहाँ खोजेजस्ता होटल तथा रिसोर्टको कमी छैन । नगरकोटबाट सूर्योदयको लोभलाग्दो दृश्यावलोकन गर्न सकिन्छ ।

 

घान्द्रुक

बिदा मनाउने, शैक्षिक भ्रमण गर्ने तथा ट्रेकिङ जाने उपयुक्त गन्तव्य हो— घान्द्रुक । घान्द्रुक पुग्न कास्कीको बिरेठाँटीबाट पैदलयात्रा प्रारम्भ गर्नुपर्छ । यहाँबाट मनास्लु, अन्नपूर्ण तथा धौलागिरि हिमालको शृंखलामा पर्ने हिमचुचुराहरू अवलोकन गर्न सकिन्छ । पुस–माघमा हिउँले ढाकिने यो ठाउँमा चैत–वैशाखमा १५ प्रजातिका लालीगुराँस फुल्छन् । यहाँ धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलहरू कोडाँडा, गुम्बा, ङयोवराह ताल आदि पनि छन् । 

प्रकाशित :वैशाख १८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्