काम गरेपछि पैसाले रोकिनुपर्दो रहेनछ

- मुकुन्द बोगटी, जनक तिमिल्सिना

वैशाख १८, २०७४-  

मिलन भुजेल जिग्मी पूर्वमाओवादी लडाकु कमान्डर हुन् । १५ वर्षको उमेरमा माओवादी युद्धमा होमिएका जिग्मीले युद्धकालमा झन्डै दुई दर्जन लडाइँमा सहभागिता जनाए । सिन्धुपाल्चोकको चौतारा आक्रमणमा उनी घाइतेसमेत भए । अहिले पनि उनको शरीरमा बमका छर्राहरू छन् । माओवादी शान्ति प्रक्रियामा आएपछि उनले केही समय संयुक्त राष्ट्रसंघअन्तर्गत नेपाली सेना र माओवादी लडाकु सम्मिलित टोलीमा रहेर काम गरे । सेना समायोजनमा असन्तुष्ट भएपछि उनी पार्टीको काममा फर्किए । बौद्धस्थित पार्टीको स्थानीय राजनीतिमा सक्रिय जिग्मी माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् । गत मंसिरमा भूकम्पले भत्किएको विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध स्तूपको पुनर्निर्माण उदाहरणीय रूपमा सम्पन्न भयो । बौद्ध मात्र त्यस्तो विश्व सम्पदा सूचीमा रहेको धरोहर हो, जसको पुनर्निर्माण स्थानीय र दाताहरूलाई परिचालन गरेर जनस्तरबाट सबैभन्दा पहिले सम्पन्न भएको छ । पुरातत्व र युनेस्कोको प्राविधिक सहयोगमा भएको बौद्ध स्तूप पुनर्निर्माणमा ३२ वर्षीय जिग्मीले युवाले चाहे र खटे भने जे पनि सम्भव छ भन्ने उदाहरण प्रस्तुत गरे । बौद्ध स्तूपको पुनर्निर्माण अहिले सरकार, समुदायका युवाहरूका साथै अरू धेरैका लागि अनुकरणीय सावित भएको छ । भुकम्प गएको दुई वर्ष पुगेको सन्दर्भमा बौद्ध स्तूप निर्माणका सक्रिय पात्र जिग्मीसँग पुनर्निर्माण, स्थानीय बासिन्दाहरूको सहभागिता, अर्थ संकलन आदि विषयमा मुकुन्द बोगटी तथा जनक तिमिल्सिनाले गरेको कुराकानी :

 

बौद्ध स्तूप पुनर्निर्माणमा कसरी जोडिनुभयो ?
म बौद्ध क्षेत्र विकास समितिको सल्लाहकारमा दुई वर्षअघि नियुक्त भएको हुँ । यो सरकारी नियुक्ति हो । सल्लाहकार भएकै कारण मेरो दायित्व त्यसको पुनर्निर्माण पूरा गर्नु थियो, दोस्रो म नेपाली भएकाले पनि त्यो मेरो दायित्व हुँदै हो । बौद्ध स्तूप विश्व सम्पदा सूचीमा रहेको नेपाली सम्पत्ति हो । यस्तो महत्वपूर्ण सम्पत्ति ढलेको देखेपछि हामी त्यसलाई उठाउन कस्सिएका हौ ।
 

अरू ढलेका संरचनाभन्दा चाँडै पुनर्निर्माण सम्पन्न भयो होइन ?
त्यो पूर्वलडाकु कमान्डरको स्पिरिटका कारण सम्भव भएको हो । यो मेरो मास्टर प्लान हो, जसमा उक्त क्षेत्रका १ सय ६५ जना पूर्वलडाकु साथीहरूको विशेष सहयोग थियो । त्यहाँको पुरातात्विक वस्तुको विशेष सुरक्षा जिम्मा मैले नै लिएको थिए । पुनर्निर्माणका लागि त्यहाँका मानिसहरूलाई मोटिभेट गर्ने काम पनि हामीले नै गर्‍यौं ।

 

काम सुरु गरेको कति समयमा सम्पन्न भयो ?
हामीलाई झन्डै १६ महिना लाग्यो । त्यसमा मैले एउटा थिम बनाएको थिए— ‘२०१५ एन्ड २०१६ द रिकन्स्ट्रक्सन मिसन’ भन्ने । पुनर्निमाणका क्रममा हामीले तीन–चार चरणमा स्थानीय बासिन्दाहरू, मन्त्रालय तथा पुरातत्व विभागसँग छलफल गर्‍यौं । यस्तो कामलाई गति दिने एउटा मानिस चाहिँदो रहेछ, धेरैले के भन्थे भने यो पुनर्निर्माण हुन असम्भव छ, बनाउन सकिँदैन । राज्यले नै बनाउन सक्दैन, गाह्रो छ, पैसा छैन आदि । युनेस्कोमा पुग्दा उसले विश्व सम्पदा सूचीमा परेका संरचनाहरू ६ महिनामा उठाइसक्नुपर्ने गाइडलाइन छ भनेपछि हामी ६ महिनामा जसरी पनि उठाउनैपर्छ भनेर कस्सियौं ।

 

पुनर्निर्माणको काम कसरी अघि बढ्यो ?
बौद्ध विकास समितिका पदाधिकारी माझ आफैंले काम गर्ने प्रस्ताव लगे । त्यसमा सबैलाई बाँस बोक्न र काम गर्न तयार पारे । हामीले एक महिनासम्म बाँस बोक्यौं । त्यसपछि मानिसहरूलाई काम हुँदैछ भन्ने फिलिङ भयो । त्यही फिलिङमा हामीले मानिसहरूलाई फेरि बोलाएर मोटिभेट गर्‍यौं । बौद्ध क्षेत्र विकास समितिअन्तर्गत हामीले विभिन्न उपसमिति बनायौं जसमा प्राविधिक, धार्मिक उपसमितिहरू बने । हामीले बौद्धमै रहेर काम गर्न २५ जनाको उपसमिति बनाएका थियौं । म आफैंले बौद्धको बहुमूल्य वस्तुहरूको सुरक्षाको जिम्मा लिए । भ्रष्टाचारजस्तो घिनलाग्दो रोगले ग्रसित हाम्रो देशमा विना ठेकेदार आफैंले काम गर्न थालेपछि मानिसहरूले हामीलाई विश्वास गरे । त्यो निकै ठूलो कुरा थियो । हामीले आफै श्रम गर्न थालेपछि मानिसहरू श्रममा जुटे । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माणका लागि चार महिनापछि भए पनि हामीलाई विश्वास गरेर पत्र दिनुभयो, त्यसले पनि काम गर्‍यो । उक्त पत्र चार महिना ढिला नभएको भए पनि एक वर्ष जतिमा काम सकिन्थ्यो । धेरै समस्याकाबीच यो निर्माण सम्पन्न भएको हो ।

 

विश्वास गर्नुको कारण के हो ?
मैले प्रस्ट रूपमा भनेको थिए, म पूर्वलडाकु कमान्डर हुँ । तपाईंहरूको सहयोग एकदमै पारदर्शी हुन्छ, यदि भएन भने म एक्सन लिन्छु, त्यसको जिम्मा म लिन्छु । राज्यले कस्तो कानुन बनाउँछ थाहा छैन तर मैले बनाएको कानुन कडा छ । त्यसपछि धेरै मानिसलाई विश्वास भएको र सहयोग गर्ने चाहना जागेको हुनुपर्छ । यसमा व्यक्तिगत स्तरमा मेरो चीनसँग जुन सम्बन्ध थियो, त्यसले पनि काम गर्‍यो ।

 

बौद्ध स्तूप पुनर्निर्माणमा स्थानीय बासिन्दाको सक्रियता कस्तो रह्यो ?
धेरैजसो स्थानीय बासिन्दाले झ्यालबाट हेर्नेबाहेक कुनै काम गरेनन् । बौद्ध उनीहरूले हेर्दाहेर्दै बनेर तयार भएको हो । डोल्पाली, शेर्पा, क्षेत्री, बाहुन आदि आएर काम गरे, तर स्थानीयहरू रमिता हेरेर बसे । बौद्ध स्तूपको सबै बेनिफिट उनीहरूले लिइरहेका थिए तर उनीहरूको चेतना पुनर्निर्माणपछि मात्र आयो । अहिले पर्यटक राम्रो आए भन्छन् । सबैतिर हामी मात्र हुनुपर्छ भन्छन् । धर्म कहिल्यै प्राइभेट हुन्छ ? धर्म कुनै जातिविशेषको हुन्छ ? के भगवान् निष्पक्ष हुँदैनन् ?

 

पुरातत्वको सहयोग कस्तो रह्यो ?
पुरातत्वका इन्जिनियरहरूले १८ करोड रुपैयाँको फस्र्ट इस्टिमेट दिए, तर पछि इस्टिमेटभन्दा धेरै पैसा लाग्यो । स्तूप र साना चैत्यहरूको कुनै पनि मेजरमेन्ट र इस्टिमेट पहिले गरिएको रहेनछ । ड्रइङ र डिजाइन नै रहेनछ । अहिले हामीले ती सबैको ड्रइङ र डिजाइन तयार पारिदिएका छौं, अब अर्को पुस्तालाई सहज हुन्छ । त्यो नहुँदा साना भत्किएका स्तूपहरू तस्बिर हेरेर बनाउनुपर्ने भयो, जसका कारण तीन चारचोटी बनाउँदै भत्काउँदै गर्नुपर्‍यो, जसका कारण ज्यालासमेत गर्दा २६ करोड रुपैयाँ लाग्यो ।

 

तपार्इंहरू दिनमा कति खट्नुहुन्थ्यो ?
हामी दैनिक बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म खट्थ्यौं । सुरक्षाको सबै जिम्मेवारी लिएकाले म जतिबेला पनि खटिरहेको हुन्थेँ । त्यहाँका पुरातात्विक वस्तुहरूको संवेदनशीलतालाई हेरेर हामीले सुरक्षामा आइटीको भरपूर प्रयोग गर्‍यौ । पहिले त्यहाँ सुरक्षाको निकै ठूलो चुनौती थियो । अहिले हामीले १७ वटा सिसी क्यामेरा जडान गरेर बौद्धलाई निकै सुरक्षित बनाएका छौं । पहिले त नाम मात्रका क्यामेरा थिए ।

 

२६ किलो सुन कसरी जुट्यो ?
पाताहरूमा लगाउने सुनको जलपका लागि त्यति ठूलो परिमाणमा सुन जुटाउनु असम्भवजस्तै थियो । हामीले सहयोग माग्यौं । त्यसै क्रममा शेरावलिङ गुम्बामा बस्ने ताइ सितुपा गुम्बाका रिम्पोचेको फाउन्डेसनले रुचि देखायो । हामीले उठाउने एक–दुई तोलाले केही हुनेवाला थिएन् । बौद्ध क्षेत्र विकास समितिसँगको सहमतिमा उहाँहरूले पातामा पूरै सुन लगाउने जिम्मेवारी लिनुभयो, हामीले त्यसको प्राविधिक जाँच मात्र गर्‍यौं ।

 

अन्य सहयोग कसरी जुट्यो ?
काठ हामीले केही दाताहरूसँग माग्यौ । इँटा आवश्यकताअनुसार नै लिएपछि बढी पैसा परेन् । कुटनीतिक क्षेत्र हेर्ने भएकाले विभिन्न देशहरूसँग मेरो सम्बन्ध थियो । मैले उक्त सम्बन्धलाई बौद्ध पुनर्निर्माणमा मोबिलाइज गर्न थालें । कम्युनिटीलाई जे जति सहयोग गर्न सकिन्छ, त्यति सहयोग गर्नुहोस् भनेर आग्रह गर्‍यौ । बुद्धिस्ट एशोसियसन अफ चाइनाबाट ६ करोड रुपैयाँ सहयोग जुट्यो । चिनियाँ दूतावासले ६५ लाख रुपैयाँ हालिदियो । अन्य सहयोग श्रमदान तथा धार्मिक दाताहरूबाट जुटाइयो । झन्डै ३१ करोड रुपैयाँ सहयोग जुट्यो । काम गरेपछि पैसाले त रोकिनु पर्दोरहेनछ । हामीले धेरै ठाउँबाट सहयोग पायौँ । त्यसलाई हामीले स्पष्ट रूपमा पारदर्शी तरिकाले राखिदिएका छौं । त्यसबाट ७ करोड रुपैयाँ बच्यो ।

 

बाँकी पैसा के गर्नुभयो ?
त्यसबाट हामीले ६ करोड रुपैयाँ जतिमा धर्मशाला किनेका छौं । अब हामी उक्त धर्मशालामा एउटा म्युजियम पनि बनाउँछौं । बाहिरबाट वा टाढाबाट आउने पर्यटक एवं धर्मावलम्बीहरूले अब गेस्ट हाउसमै बस्नुपर्ने बाध्यता छैन ।

 

सबैभन्दा बढी केमा बढी खर्च भयो ?
कालीगढ र विशेषज्ञ कालीगढ सबैभन्दा महँगो पर्‍यो । अहिले त दक्ष कालिगढ नै नपाइदो रहेछ । पुरातत्वका इन्जिनियर पूर्णबहादुर श्रेष्ठको सहयोगमा पाटन र कीर्तिपुरका कालिगढहरू ल्याएर काम गरायौं ।

पुनर्निर्माणमा बौद्ध स्तूप एउटा नमुना नै बन्न पुगेको छ ? अरू क्षेत्रको पुनर्निर्माण गर्न के गर्नुपर्छ ?
युवाहरू खट्नुपर्छ । ट्विटर र फेसबुकको वालमा नेपालको झन्डा राखेर अनि बहस मात्र गरेर देशका ढलेका सम्पदा बन्दैनन् । त्यो झन्डा ह्दयमा राखी फिल्डमा खटिएर देश बनाउने कर्म गर्ने हो भने मात्र देश बन्छ, हाम्रा भत्किएका सम्पदाहरू समयमा निर्माण हुन सक्छन् । युवाहरू इट्टा बोक्न, बालुवा चाल्न र आफ्नो सीप प्रयोग गर्न मैदानमा खट्ने हो भने वौद्धभन्दा छिटो हाम्रा अन्य संरचनाहरू बन्छन् । प्राविधिक–भौतिक सहयोग एवं इच्छाशक्ति भए सबै कुरा बनाउन सकिन्छ । पैसाले यो देशका संरचनाहरू बन्न रोकिएका होइनन्, इच्छाशक्ति नभएर हो ।

 

बौद्ध पुनर्निर्माणको सक्रिय पात्र हिसाबले सरकारको भूमिकालाई कसरी हेर्नुहुन्छ ?
सरकारको भूमिका सहयोगीको हुनुपर्छ, जनताले काम गर्दैछन् भने नैतिक समर्थन दिनुपर्छ । जनतालाई आवश्यक प्राविधिक, नैतिक सहयोग दिनुपर्छ । नेपालमा सबैभन्दा ठूलो समस्या मैले कागजमा देख्या छु, एक स्क्वायर फिट काठका लागि हप्तांै दौडिनुपर्छ । त्यस्ता किसिमका झन्झटिला व्यवस्थालाई सरलीकृत गर्नुपर्छ । अर्को, भत्किएका संरचनाहरूको निर्माणलाई कहिल्यै टेन्डरबाट नबनाउन म सरकारसँग अनुरोध गर्न चाहन्छु । यो टेण्डर र ठेक्का प्रक्रियाबाट कुनै पनि काम ठीक ढंगले र समयमा हुँदैन, व्यक्ति मोटाउने र अनियमितता हुने मात्र हो । बरु, स्थानीय स्तरमा पुनर्निर्माण समिति, पहल समिति आदि निर्माण गरेर सक्रियतापूर्वक काममा लाग्नुपर्छ । जोस, जाँगर, सीप र क्षमता भएका युवाहरूको सक्रियताबाट पुनर्निर्माण छिटो र राम्रोसँग अघि बढ्न सक्छ ।

 

अहिले केमा व्यस्त हुनुहुन्छ ?
हामीले बौद्धको मात्र होइन, त्यहीं नजिकैको ऐतिहासिक घोइलीसन शान्ति वाटिका तथा पोखरी पनि पुनर्निर्माण गरेका छौं । १ सय ५५ ट्रिपर फोहोर हालेर त्यहाँको ऐतिहासिक पोखरीलाई डम्पिङ साइट बनाइएको रहेछ । अहिले उक्त पोखरीलाई हामीले हिन्दू र बौद्धको कम्बिनेसनसहितको सुन्दर पोखरीमा रूपान्तरण गर्‍यौ । त्यहाँ हामीले विभिन्न संरचना पनि बनाएका छौं । त्यसबाहेक हामी महांकाल पार्क पनि बनाउँदैछौं, जुन स्थानीय बासिन्दाहरूको ४० वर्ष पुरानो सपना हो । त्यसलाई पूरा गर्ने तयारीस्वरूप काम पनि थालिसकेका छौं ।

 

महांकाल पार्कका लागि बजेट कहाँबाट जुटाउनुभयो ?
वौद्धको पैसा कहाँ–कहाँ जान्छ, मैले त्यो हेरें । क्बललाई रमिता गर्न, होहल्ला गर्न, जाँड खान पैसा बाँडिदो रहेछ । मैले त्यस्तो ठाउँमा गएको बजेट कन्ट्रोल गर्न लगाए । पैसा अब रमितातिर होइन्, ठीक ठाउँमा जान्छ भने । पहिलेको समितिले धेरै पैसा रमितामै फालेको रहेछ, रमितामा पैसा हालेर देश बन्दैन् । पैसा ठीक ठाउँमा हाले मात्र देश बन्छ । संस्कृति जगेर्ना गर्ने त छदैछ, त्यससँगै संस्कृति प्रमोट गर्न पनि बजेट लगाउनुपर्छ । एक ठाउँ हाँस्दा अर्को ठाउँ रुनु हुँदैन । बौद्ध हाँस्दा तीनचुली, महांकाल आदिले रुनुपर्छ भन्ने छैन नि । जहाँ स्रोत छ, त्यहाँको स्रोतले सबैतिर विकास गर्नुपर्छ । त्यसैले त्यहाँको ३० लाख रुपैयाँ बजेट महाकाल पार्क निर्माणमा हालियो । यो पाटनबाट सुरु हुने दिपंकर यात्रासँग जोडिएको ऐतिहासिक ठाउँ रहेछ । अब महांकाल टुरिज्म एन्ड रिलिजियस हब बन्छ ।

 

कस्तो बन्दैछ महांकाल पार्क ?
त्यहाँ दिपंकर बुद्धको मूर्ति बन्दैछ । बीचमा बूढानीलकण्ठको मूर्ति राख्ने स्थानीय बासिन्दाहरूको इच्छा छ । त्यहाँ एउटा टनेल बन्छ, जसको बीचमा बसाहको व्यवस्थापन हुन्छ । मैले इतिहास सुनेर यसको स्केच बनाइकेको छु । काठमाडौंमा सातवटा पिपलको रुख भएको ठाउँ यो मात्रै हो । ती सातवटै रुखमा बत्ती बालेर यसलाई ‘लिभिङ जोन’का रूपमा विकास गर्दैछु । हाम्रो सहरका बासिन्दालाई मेडिटेसन चाहिएको छ त्यसैले यसलाई मेडिटेसन पार्क बनाउनेछु । एउटा शौचालय बन्छ, वृद्ध–वृद्धाहरूलाई नुहाउनका लागि तातोपानीको पनि व्यवस्था गर्छु ।

 

छोराछोरी युरोप, अमेरिकामा छन्, यहाँ बुवाआमालाई औषधी ख्वाउने, घाम तपाउने मानिससम्म छैनन् । कम्तीमा वृद्ध–वृद्धाहरूलाई यो पार्कमा नुहाउने र घाम ताप्ने सुविधा होस् भन्ने चाहना छ । बिहान सानो ट्युनिङमा भजन लगाइदिने र चारैतिर वाटरप्रुफ स्पिकर राखिदिने तयारी छ । यसले फ्रस्टेड लाइफमा मेडिटेसनको भूमिका खेल्नेछ । फ्री वाइफाइसहितको रमाइलो गार्डेन बनाइदिने योजनाअनुसार काम हुँदैछ । म सिंगो बौद्ध क्षेत्रलाई नै टुरिज्म सर्किटका रूपमा विकास गर्न खोज्दैछु ।

 

बौद्ध टुरिज्म सर्किटको योजना के हो ?
मेरो योजना ७ वटा बुथलाई बौद्धनाथ पर्यटकीय सर्किटका रूपमा विकास गर्नेछ । बौद्धनाथले मात्र हामीले सोचेको आर्थिक प्रगतिमा टेवा पुर्‍याउन सक्दैन । बौद्धनाथलाई पर्यटकीय सर्किट रूपमा विकास गर्नुपर्छ । बौद्धनाथ, शान्ति बाटिका बनिसक्यो अब महांकाल बन्दैछ । धर्मशालाको काम पनि हुँदैछ त्यसपछि हाम्रो लक्ष्य लाखे पोखरी हो । धाराटोल, कुमारी माता तथा सिद्धिनगर टोलमा रहेको सिद्धेश्वर महादेवलाई खुला गराइदिन्छौं । त्यसपछि लाखे पोखरीलाई पनि पर्यटकीय हबका रुपमा विकास गर्छौ । अन्य विभिन्न रुटको पनि विकास गर्दैछौं । त्यो क्षेत्रको आर्थिक गतिविधि अहिले बौद्धमा मात्र केन्द्रित छ । टुरिज्म हब बनाउन स्थानीय संस्कृतिहरूलाई जोड्ने योजना बनिरहेको छ । पुराना वस्तुहरू नै पर्यटक आकर्षित गर्ने मुख्य कुरा हुन् । त्यसैले वौद्धमा एकदिन अल्झिने पर्यटकलाई हामीले ७ वटा स्टेसन घुमाउन सक्यौं भने अन्य क्षेत्रको पनि आर्थिक गतिविधि बढ्छ ।

 

तपाईं धर्मलाई अफिमको संज्ञा दिने पार्टीको मान्छे, धार्मिक पर्यटनमा त विशेष रुचि देखियो नि ?
रिलिजन र कल्चर नै हाम्रो देशको राष्ट्रिय एकताको माध्यम हुन् । धर्मलाई सोसल वेलफेयरमा लगाउनुपर्छ । अनियमितता हुनु हुँदैन । हामी धर्मका विरोधी होइनौं । धर्मलाई जनकल्याणसँग जोड्नुपर्छ ।

 

यी सबै निर्माण जनसहभागितामा हुँदैछन् कि ?
हामीले बौद्ध विकास क्षेत्रबाट विकास मोडल बनाएर ब्याकअप दिइसकेका छौं । आर्थिक स्रोतमा बौद्धको टिकटबाट आउने पैसा प्रमुख हो । २०५३ सालमा बनेको बौद्ध विकास समितिले दृष्टिकोण पुर्‍याएको हुन्थ्यो भने आज हामी बौद्ध सर्किटलाई स्मार्ट सिटीका रूपमा विकास गर्ने लेभलमा पुगिसकेका हुन्थ्यौं । अहिले हामीले त संरचना बनाउने मात्र हुन्थ्यो, तर कुनै पनि समितिले धाराटोल र बौद्धबाट बाहिर आउनै चाहेनन् । विकास समितिको विधानमै त्यहाँ जम्मा भएको भेटी बौद्धको संरक्षण, सम्वद्र्धन, प्रवद्र्धन हेरिटेज जोनलाई, त्यहाँको धार्मिक एवं सांस्कृतिक जगेर्ना गर्न र बौद्धको सामाजिक काम गर्ने भनिएको छ, त्यसैले त्यहाँ बौद्धभन्दा बाहिर आउनै नचाहने । भिजनरी लिडरसिपकै सम्भावना विकास भएन त्यहाँ।

 

तपाईंजस्तै पूर्व पिएलहरू अन्य क्षेत्रमा पनि पुनर्निर्माणका खटिएका छन् कि ?
अन्यत्र पनि खटिएका छन् । विशेषगरी सिन्धुपाल्चोक, गोरखा आदि ठाउँमा साथीहरू खटिरहनुभएको छ । सोलखुम्बु तथा ताप्लेजुङका साथीहरू पर्यटन विकासमा लाग्नुभएको छ । हामी रोल्पालाई लिभिङ हेरिटेज जोनका रूपमा विकास गर्नुपर्छ भनेर लागिपरेका छौं ।

प्रकाशित :वैशाख १८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्