उनको नाम लिन सक्दिनँ

- कृष्ण भट्टराई

वैशाख १८, २०७४- 

बाल्यकालदेखि नै कला क्षेत्रसँग नजिक कोसिस क्षेत्रीले नेपाली कलाकारितामा आफ्नो छुट्टै पहिचान बनाइसकेका छन् । गायक तथा संगीतकारका रूपमा स्थापित कोसिस अहिले मोडल तथा चलचित्र अभिनेताका रूपमा समेत सक्रिय छन् । दर्जनौं गीतका यी गायकले चलचित्र ‘मोक्ष’ बाट अभिनेताका रूपमा पदार्पण मात्र गरेनन्, उक्त चलचित्रको भूमिकाबाट विभिन्न तीन एवार्ड मा सर्वोत्कृष्ट अभिनेता, लोकप्रिय अभिनेता तथा नवोदित अभिनेताको एवार्डसमेत जिते । अन्य गायक–गायिकाका एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा समेत अभिनय गरेका कोसिस यतिबेला चलचित्र ‘पर्व’ का कारण चर्चामा छन् । यसै साता सार्वजनिक भएको यो चलचित्रको ट्रेलर युट्युबमा ट्ेरन्डिङ भैरहेको छ, जसमा कोसिस नै हाबी छन् । नम्रता श्रेष्ठको जोडीका रूपमा प्रस्तुत भएका कोसिस यो चलचित्र आफ्नो अभिनय करियरमा कोसेढुंगा सावित हुने बताउँछन् । अभिनयका साथै संगीतलाई पनि करियर बनाएका कोसिसले आफ्ना सेक्रेट कुराहरू यसरी व्यक्त गरे :

 

ज्ञानवीर क्षेत्री

म गायक, संगीतकार तथा भिडियो चलचित्रका अभिनेता स्व. ज्ञानविर क्षेत्रीको छोरा हुँ । पुराना कलाकारहरूलाई यस विषयमा जानकारी भए पनि मलाई माया गर्ने कतिपय दर्शकका लागि यो नौलो कुरा हुन सक्छ । बुवाकै प्रेरणाले म कला क्षेत्रमा आकर्षित भएको हुँ ।

 

कोसिस क्षेत्री श्रेष्ठ

केही समयदेखि मैले आफ्नो नाममा ‘श्रेष्ठ’ पनि थपेको छु । खासगरी फेसबुकको प्रोफाइलमा मैले यो थर जोडेपछि धेरै जनाले जिज्ञासा राख्दै आउनुभएको छ । श्रेष्ठ मेरी आमाको थर हो अर्थात् मेरो मावली श्रेष्ठ हो । त्यसैले मैले आमालाई सम्मान गर्दै उहाँको थर प्रयोग गरेको हुँ ।

 

दाजुभाइ नै संगीतकर्मी

बुवा ज्ञानवीर क्षेत्रीकै कारणले हुनसक्छ, हाम्रो परिवारमा उहाँका तीनै जना छोरा अर्थात् म, मेरो दाइ कमल क्षेत्री तथा भाइ केतन क्षेत्रीे संगीतमा सक्रिय छौं ।

 

 पहिलो स्टेज कार्यक्रम

मैले पहिलो पटक स्टेज कार्यक्रम प्रस्तुत गर्दा मेरो उमेर सात वर्ष थियो । मैले त्यो बेला तत्कालीन राजा वीरेन्द्रका सामु बालकलाकारका रूपमा आफ्नो प्रस्तुति दिने अवसर प्राप्त गरेको थिएँ ।

 

१२ वर्षमै गायक

जीवनको पहिलो गीत रेकर्ड गर्दा मेरो उमेर १२ वर्ष थियो । अझ रमाइलो कुरा के छ भने ‘रुँदै छिन् आमा...’ शीर्षकको उक्त गीतमा मेरो आफ्नै शब्द तथा संगीत छ ।

 

क्लास वर्कमा कविता र गीत

विद्यालयको कक्षाकोठामा प्राय: शिक्षकले क्लास वर्क दिनुहुन्थ्यो । मेरा साथीहरू क्लास वर्क गरिरहेका बेला म भने कसैले थाहै नपाई कविता तथा गीत कोर्थें ।

 

चारवर्षे संघर्ष

१२ वटा गीत रेकर्ड गरेपछि उक्त अडियो बोकेर झन्डै चार वर्ष काठमाडौंका विभिन्न म्युजिक कम्पनी धाएँ । लामो समय यताउति भौंतारिएपछि अन्तत: म्युजिक डटकमको लगानीमा पहिलो एल्बम ‘दैव’ सार्वजनिक गर्न सफल भएँ ।

 

दु:खद घटना

मेरो जीवनको सबैभन्दा दु:खद घटना तीन वर्षअघि घट्यो । त्यसमा मैले आफ्नो बुवालाई गुमाएँ । हेटौंडामा भएका बुवासँग राति ११ बजेसम्म फोनमा कुराकानी गरेको थिएँ । कुराकानीपछि सामान्य अवस्थामै सुत्नुभएको मान्छे हर्ट एट्याकको पहिलो स्टेजमै बिहान करिब सवा तीन बजे बित्नुभएको खबरले मर्माहत बनायो ।

 

एउटी साथी

मलाई बुझाउन अनि सम्झाउन सक्ने एउटै मात्र मान्छे छिन्, जसलाई म असाध्यै विश्वास गर्छु । उनी मेरी प्रेमिका होइनन्, तर हाम्रो मित्रता त्योभन्दा गहिरो छ । माफ गर्नुहोला, म उनको नाम लिन सक्दिनँ।

प्रकाशित :वैशाख १८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्