भर्सटाइल संगीतकर्मी हुन् कालीप्रसाद बासकोटा

- साप्ताहिक संवाददाता

वैशाख १७, २०७४- 

गायक, संगीतकार तथा गीतकार कालीप्रसाद बासकोटा कम समयमै लाखौं दर्शकको मनमा बस्न सफल संगीतकर्मी हुन् । आधुनिक, पप तथा चलचित्र संगीतमार्फत सांगीतिक जादु छर्न सफल कालीप्रसाद पछिल्लो समय संगीत सिर्जनामा मात्र सक्रिय छैनन्, स्वदेश तथा विदेशका कन्सर्टमा समेत उत्तिकै व्यस्त छन् । लोकप्रियताको शिखर चुमिरहेका कालीप्रसादका बारेमा गरिएका केही टिप्पणी :

 

सबैभन्दा पहिले उत्कृष्ट शब्द छनौट अनि त्यसलाई सरल धुनमा बगाएर आफ्नै प्राकृतिक स्वरमा बिन्दास मुडमा गाउन सक्ने क्षमता उहाँमा देखिन्छ । अझ आफ्नो गीतमा कस्तो प्रकारको एरेञ्ज चाहिन्छ भन्ने कुराको पनि उहाँलाई मेसो छ, जसले उहाँको गीतलाई अझ मीठो बनाउन मद्दत पुर्‍याएको हो । समग्रमा काली मिलनसार र अहं नभएका, केही गरौं अनि यो क्षेत्रमा लागेका सबैको सम्मान गर्नुपर्छ भन्ने भावना भएका असल मान्छे हुनुहुन्छ ।

राजनराज शिवाकोटी, संगीतकर्मी

 

काली आफ्नो काममा इमान्दार छन् । कालीको संगीतमा आफ्नोपन झल्कने भाकामा सरल शब्दको जादु हुन्छ । मेरा लागि पछिल्लो समयका निकै मेहनती संगीतकार हुन् कालीप्रसाद बासकोटा ।

निश्चल बस्नेत, निर्देशक

 

कालीप्रसाद बासकोटा संगीतकै लागि जन्मिएका कलाकार हुनुहुन्छ । संयोग नै मान्नु पर्छ, मैले उहाँसँग लोकप्रिय गीतमा सहकार्य गर्ने अवसर पाएकी छु । उहाँ हरेक प्रकारका संगीत सिर्जनामा निपुर्ण हुनुहुन्छ । एउटा कुशल संगीतकार जोसँग राम्रो गला छ, ऊ संगीतमा कहिल्यै पछि पर्दैन भन्ने कुरा उहाँबाटै प्रमाणित हुन्छ ।

मीना निरौला पोखरेल, गायिका

 

कालीप्रसाद र म बाल्यकालदेखिका साथी हौं । कीर्तिपुरमा हामी एउटै टोलवासी पनि हौं । काली स्कुले जीवनदेखि नै गीत–संगीत भनेपछि हुरुक्क हुन्थ्यो । गाउने, बजाउने अनि हामी साथीभाइलाई सुनाउने उनको पुरानै बानी हो । पछि उसले संगीतबद्ध गरेका गीतहरू रेकर्ड भएपछि पनि हामीलाई सुनाउँथ्यो । एउटा साथीले गरेको प्रगति देख्दा खुसी लाग्थ्यो । ‘पारी त्यो डाँडा’ गीत हिट हुँदा हामी टोलवासी नै हिट भए जस्तो लाग्यो । आफ्नो बालसखा आफ्नै आँखाअघि सेलिब्रेटी बनेको देख्दा हाम्रो खुसीको सीमा थिएन । आज ऊ स्वदेशदेखि विदेशसम्म लोकप्रिय छ । उसको सानैदेखिको संगीतप्रतिको लगाव आज सार्थक भएको छ । आज ऊ व्यस्त भएर चार–पाँच महिनामा एकपटक भेट्दा पनि हाम्रो सम्बन्ध उत्तिकै आत्मीय छ ।

केदार बासकोटा, कालीप्रसादका नजिकका साथी

 

कालीप्रसाद बासकोटालाई नेपाली चलचित्रमा ब्रेक दिने पहिलो निर्माताका रूपमा मेरो नाम आउँदा मलाई खुसी लाग्छ । कालीलाई मैले पहिलो पटक चलचित्र ‘मालतीको भट्टी’ मा एकल संगीतकारका रूपमा प्रस्तुत गरेको थिएँ । उनले संगीतबद्ध गरेको दोस्रो चलचित्र ‘मञ्जरी’ पनि हाम्रै ब्यानरमा बनेको चलचित्र हो । आज कालीप्रसादले जुन लोकप्रियता हासिल गरेका छन्, उनमा जुन प्रकारको प्रतिभा छ, त्यसको पहिचान मैले धेरै अघि नै गरिसकेको थिएँ । मैले उनलाई भर्सटाइल संगीतकर्मीका रूपमा चिनेको छु ।

प्रदीपकुमार उदय, निर्माता

प्रकाशित :वैशाख १७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्