डीपीएल हंगामा

- विनोद पाण्डे

वैशाख १७, २०७४- 

धनगढी सहर पछिल्ला तीन साता निकै तातिएको थियो । एउटा गर्मीको रापले र अर्को सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटका कारणले । क्रिकेटको यो ज्वरोले पूरै देशलाई तताएको थियो । नेपाली क्रिकेटको यही महाकुम्भले नववर्षमा एउटा शुभसन्देश पनि दिएको थियो ।

फ्रेन्चाइज तथा अक्सन डीपीएलका विशेषता थिए । टिम मालिकहरूले ६ वटा सहरको फ्रेन्चाइज लिएका थिए । अक्सन राष्ट्रिय स्तरको क्रिकेटमा पहिलो पटक प्रयोग गरिएको थियो । यी सबै पाटोलाई अंगाल्दै डीपीएल भव्यताका साथ सम्पन्न भयो अर्थात निजी क्षेत्रको एउटा सार्थक प्रयासमा डीपीएलको आयोजना भएको थियो र त्यसले चाह्यो भने असम्भव केही छैन भन्ने देखायो ।

 

नेपाल क्रिकेट संघ (क्यान) अहिले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट निलम्बनको अवस्थामा छ । त्यसअघि पनि नेपाली क्रिकेटको सर्वोच्च निकाय गुट–उपगुटको भुमरीमा पर्दा ३ वर्षदेखि राष्ट्रिय प्रतियोगिता आयोजना हुन सकेको थिएन् । एक हिसाबले नेपालको घरेलु क्रिकेट लगभग शून्यको अवस्थामा रहेको समयमा डीपीएलको आयोजना भएको थियो र यसले खेलाडीहरूको प्रदर्शनलाई एक्सपोज मात्र गरेन्, उनीहरूमा खेलेरै जीवन बिताउन सकिन्छ भन्ने आशा पनि जगाइदियो ।

 

दुई साताको प्रतियोगिताका लागि खेलाडीले २० हजार देखि १ लाख ५० हजारसम्म पारिश्रमिक प्राप्त गरे । अक्सनमा खेलाडीहरूको बोली लगाइएको थियो । नेपालबाट कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता नखेलेका खेलाडीको मूल्य २० हजार थियो, जुन डीपीएलमा खेल्ने खेलाडीको न्यूनतम पारिश्रमिक हो । सहभागी ६ टिमका कप्तानले अधिकतम समान १ लाख ५० हजार प्राप्त गरे । खेलाडीको बर्गिकरण ५ श्रेणीमा गरिएको थियो । उनीहरूले त्यहीअनुसार पारिश्रमिक पाए ।

 

नेपालमा पहिलो प्रिमियर लिग क्रिकेट धनगढीमै आयोजना भएको थियो । जोहरा स्पोर्टसले आयोजना गरेको नेपाल प्रिमियर लिग (एनपीएल) तीन वर्ष अघि धनगढीमै भएको थियो । गत वर्ष धनगढी क्रिकेट एकेडेमी (डीसीए) ले धनगढी क्रिकेट लिग (डीसीएल) को आयोजना गरेको थियो । राष्ट्रिय खेलाडी पनि समावेश गरिएको डीसीएल स्थानीय स्तरमा सीमित थियो । त्यही नै नेपालमा अक्सनका साथ आयोजित पहिलो प्रतियोगिता थियो । डीसीएललाई राष्ट्रिय स्तरमा पुर्‍याउने जमर्कोमा डीसीएलले डीपीएलको आयोजना गरेको हो ।

 

नेपाली क्रिकेट राजधानी केन्द्रित छ । त्यसलाई विकेन्द्रीकरण गर्नुपर्छ भनेर ६ वटा सहरका नाममा टिम बनाइएको थियो । विराटनगर किंग्स, काठमाडौं गोल्डेन्स, रुपन्देही च्यालेन्जर्स, टिम चौराह धनगढी, सीवाईसी अत्तरिया, कञ्चनपुर आइकोनिकले डीपीएलमा प्रतिस्पर्धा गरेका थिए । अत्तरिया सामुदायिक क्लबले फ्रेन्चाइज गरेको टिम थियो । नेपाली क्रिकेट इतिहासमै सबैभन्दा ठूलो धनराशिको प्रतियोगितामा विजेताले १५ लाख तथा उपविजेताले ७ लाख नगद पुरस्कार प्राप्त गरे । म्यान अफ द सिरिज भए वापत विराटनगर किंग्सका सुशील कँडेलले अपाच्चे मोटरसाइकल पाए ।

टिम चौराह धनगढीले उपाधि अन्त जान दिएन्, धनगढीमै राख्यो । क्रिकेटमा सबै सम्भव छ भन्ने कुरा टिम चौराहले प्रमाणित गरेको थियो । राउन्ड रोबिनका ५ मध्ये ३ खेल हारेपछि टिम चौराह बाहिरिए सरह थियो । टिमले लय समात्न सकिरहेको थिएन् । टिम चौराहका कप्तान पारस खड्का लगातारको हारपछि आफ्नो टिमले ‘मुभमेन्टम’ समात्न नसकेको भनेर निराशा व्यक्त गरिरहेका थिए । एकाएक अरू टिमले चौराहका लागि खेलेको जस्तो भयो । सबै नतिजा चौराहको पक्षमा आउन थाल्यो । यस्तैमा टिमको लय पनि फर्कियो ।

 

त्यसपछि जितको शृंखला सुरु भयो र चौराहले फाइनलसम्मै त्यसलाई निरन्तरता दिँदै नेपाली क्रिकेटको सबैभन्दा ठूलो धनराशिको पुरस्कार आफ्नो पक्षमा पार्न सफलता प्राप्त गर्‍यो । चौराहको यो सफलता दुर्लभ नै थियो । यो टिमले असम्भवलाई सम्भव बनाएको थियो । हुन त चौराहले उपाधि मात्र जितेको थियो । यो जितको वास्तविक हकदार नेपाली क्रिकेट थियो । जो स्तरीय प्रतियोगिताको अभावमा छटपटिरहेको थियो । अझ डीपीएल जस्तो इभेन्ट कल्पना बाहिरको विषय थियो ।

 

धनगढीले व्यवसायिक हिसाबमा प्रतियोगिता कसरी गर्नुपर्छ भनेर सन्देश दिएको छ । ठूला–ठूला कर्पोरेट हाउसहरू प्रतियोगितासँग जोडिएका थिए । आयोजकले उनीहरूको उत्पादनलाई ब्रान्डिङ गर्न कुनै कसर बाँकी राखेनन् । धनगढी र यस क्षेत्रको अधिकांश भाग डीपीएलका ब्यानरले भरिएका थिए । विगतमा संघ सक्रिय हँुदा पनि यो स्तरमा प्रायोजकले मायलेज पाउन सकेका थिएनन् । डीपीएलको बजेट २ करोड ५० लाखभन्दा माथि थियो । प्रायोजक बिना प्रतियोगिता आयोजना गर्न असम्भव छ । प्रायोजकको यही साथका कारण पनि आगामी दिन डीपीएल अझ बृहत् हिसाबमा सम्पन्न हुने अनुमान गर्न सकिन्छ ।

 

डीसीएलका अध्यक्ष सुवास शाही तथा उनको टिमले तातो घाममा प्रतियोगिता सफल पार्न कुनै कसुर बाँकी राखेन । डीसीएलले सुदूरपश्चिामञ्चल एकेडेमी (एसपीए) सँग मिलेर यो प्रतियोगिताको आयोजना गरेको थियो । मैदानमा उपस्थित भएका अधिकांश भोलिन्टियर्स एसपीएमा अध्ययनरत छन् । शाही डीपीएल एउटा अभियान भएकाले स्थानीय बासिन्दाहरू आफैं यसमा आबद्ध हुन आएको बताउँछन् । भोलिन्टियर्सहरूलाई विभिन्न क्षेत्रमा खटाइएको थियो । उनीहरू हरेक जसो समस्या सम्बोधन गर्न हाजिर हुन्थे । प्रतियोगिताको सफलताको रहस्य यस्तै–यस्तै थिए ।

 

पर्यटन व्यवसायसँग प्रत्यक्ष जोडिएको क्षेत्र हो खेल । अझ खेल पर्यटन अहिलेको माग पनि हो । डीपीएल आयोजनाका क्रममा धनगढीका होटलहरू बिरलै खाली भए । धनगढी बाहिरका मानिसहरू डीपीएल हेर्न आएकाले पनि होटलहरू सधैं भरिभराउ भए । होटलमा कोठाको अभावका कारण प्रतियोगिता सञ्चालन गर्न आएका निर्णायकहरू एउटै कोठामा ४ जनासम्म बस्नु पर्ने अवस्था थियो । त्यसबाहेक धनगढी क्षेत्रसँग जोडिएका पर्यटकीय स्थलहरूमा समेत डीपीएलको प्रभाव देखियो ।

डीपीएल पश्चिमाञ्चल ट्राफिक प्रहरी कार्यालय मैदानमा सञ्चालन भएको थियो । अन्य समयमा उक्त स्थानमा प्रहरीको अभ्यासदेखि व्यापारिक मेलासम्म लाग्छ ।

 

मैदान अभावकै कारण शाहीको युवा जमातले केही वर्षअघि ‘ड्रिम फाप्ला’ को घोषणा गरेको थियो । उक्त महत्वाकांक्षी योजनाअनुसार फाप्लामा क्रिकेटको अन्तर्राष्ट्रिय रंगशाला निर्माण हुनेछ । डीपीएलको सुरुआत नेपाल ११ तथा धनगढी ११ बीचको सहयोगार्थ खेलबाट गरिएको थियो । त्यसबाट नाफा भएको रकम खर्च कटाएर ड्रिम फाप्लामा हाल्ने घोषणा भएको थियो । निश्चित छ यस्तो अभियानले मात्र रंगशाला बन्दैन् । शाही भन्छन्, ‘यो त एउटा झकझकाउने कार्यमात्र हो । सरकारसहित निजी क्षेत्रले हाम्रो अभियानका सम्बन्धमा जानकारी प्राप्त गरुन र उनीहरूलाई जिम्मेबारी बोध होस् भन्ने हाम्रो उद्देश्य हो ।’ ड्रिम फाप्लासँगैं धनगढीलाई क्रिकेटको सहरका रूपमा स्थापित गर्न यही टिम लागिपरेको छ । अहिले नै धनगढीलाई यही परिभाषामा चिन्न थालिइसकेको छ । डीपीएलको एउटा उद्देश्य पनि यही नै थियो, ‘सिटी अफ क्रिकेट, अर्थात् क्रिकेटको सहर धनगढी ।’

प्रकाशित :वैशाख १७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्