बिन्दास नेपाली

- भिषा काफ्ले

वैशाख १७, २०७४-  

विवाह भएको छैन, गर्लफ्रेन्ड पनि छैनन्, घरमा आमा–बुबालाई एक रुपैयाँ खर्च दिनु पर्दैन, काठमाडौंमै घर भएका कारण घरभाडा पनि तिर्नु पर्दैन । मासिक आम्दानी ३५ हजार एउटा नेपालीका लागि सामान्य जागिर होइन, तर एक प्रतिष्ठित बैंकमा मासिक त्यति तलब आउने जागिर खाने राजेश थापालाई तलब बुझेको १५ दिनपछि घरबाट थप पैसा माग्ने वा साथीभाइसँग सापटी लिनुपर्ने बाध्यता हुन्छ । गत शुक्रबार दरबारमार्गको एक डान्स क्लबबाट बाहिरिरहेका थापा भन्दै थिए— ‘विदेश जाउँm परिवारले दिँदैन, नजाऊँ कमाएको तलबले दुई साता पनि रमाइलो गर्न पुग्दैन ।’ उनी प्रतिप्रश्न गर्छन्, ‘यो उमेरमा पनि नगरेको रमाइलो कहिले गर्ने ?’
 

स्याङ्जाका अशोक पौडेल (३१) पाँच वर्ष दुबई बसेर गत असारमा नेपाल आए । दुबईबाट काठमाडौं ओर्लनासाथ सुरु भएको उनको रमझम मंसिरसम्म लगातार चलिरह्यो । काठमाडौंका साथीभाइलाई नयाँ बसपार्कको एक रेस्टुराँमा उनले पहिलो पार्टी दिए । काठमाडौं, पोखरा हँुदै घरसम्म पुग्दा बाटामा भेटिएका सबै साथीभाइको चित्त बुझाए । साथीभाइ मात्र नभएर गाउँका छरछिमेकसम्म पनि चित्त बुझाउनैपर्‍यो । विदेशमा तलब सन्तोषजनक नै थियो, त्यही भएर उक्त अवधिमा उनले ९ लाख रुपैयाँ उतैबाट पठाउन सके भने आउँदा नगद ४ लाख लिएर आएका थिए ।

 

उताबाट पठाएको पैसाले वालिङमा एउटा सामान्य घर बन्यो । आउँदा ल्याएको ४ लाखमध्ये १ लाख रुपैयाँ घर खर्चमा सकियो, तर ३ लाख रुपैयाँ कहाँ गयो, स्वयं उनैलाई पत्तो छैन । घर खर्चमा त्यो भन्दा बढी खर्चिएको उनलाई सम्झना छैन, जोहो गरेको पनि छैन, पैसा सकिएसँगै उनी पुन: विदेश फिर्तीको तयारीमा छन्, तैपनि उनलाई दुखेसो छैन । ‘साथीभाइ, आफन्त, श्रीमती तथा छोराछोरीहरूसँग रमाइलो गर्दागर्दै पो सकिएछ ।’ पौडेल भन्छन्, ‘आफूसँग हँुदाखेरि नै साथीभाइ सबैसँग रमाउन पाइने रहेछ, शरीरले सकुन्जेल फेरि पनि कमाउन सकिहालिन्छ नि ।’ असारमा फर्किएर आएपछि कहिले साथीभाइसँगको जमघट, कहिले आफन्तसँगको जमघट, कहिले परिवारका सदस्यबीचको जमघटबीच तीज, दसंै–तिहार आदि चार्डपर्वको उल्लास नै फरक भएको उनको धारणा छ । अझ अचम्म लाग्ने कुरा त के भने ऋण खोजेर दुई दिनपछि विदेश उड्ने तरखरमा रहेका पौडेल काठमाडौंमा भएका साथीभाइ बटुलेर सुन्धाराको एक दोहोरी साँझमा रमाइरहेका थिए ।
 

महेश चौलागाइ (नाम परिर्वतन) आफ्नै कारमा हुइँकिन्छन्, प्रत्येक शुक्रबार डान्स क्लब पुग्छन्, साथमा दुई–चार जना साथी पनि हुन्छन्, रेस्टुराँको खाना र बारमा गएर बियर नपिई उनको दिन बित्दैन, तर गज्जब कुरा उनको आफ्नै आय–स्रोत भने केही पनि छैन । ती युवा आमा–बुबाले दिएको खर्चले नै सबै किसिमका मस्ती गर्न भ्याउँछन् । उनकी आमाको जागिर प्रतिष्ठित एनजीओमा छ भने बुबा प्रथम श्रेणीका सरकारी कर्मचारी हुन् । छोराछोरीको बिन्दासपनमा आमा बुबा कति खुसी हुन्छन् भन्ने उदाहरणका लागि यो परिवार पर्याप्त छ ।
 

नेपालीका लागि बिन्दास समय बिताउन न त कुनै अवसर आउनुपर्छ ? न त कुनै समय पर्खनुपर्छ, गोजीमा थोरै दामको जोहो भयो वा दुई–चार साथी जमघट भए त्यहीं रमाइलो सुरु हुन्छ । बिन्दास जिन्दगी एक प्रकारले नेपालीहरूको संस्कृति नै हो । जन्म, विवाहजस्ता संस्कार, संस्कृतिदेखि लिएर चाडपर्वमा त नेपालीलाई बिन्दास हुन कसैले सिकाउनै पर्दैन । नेपालका कतिपय समाजमा त मृत्यु संस्कारमा समेत रक्सी–मासुजस्ता मस्तीका चिज अपरिहार्य हुन्छन् ।

 

सुखद क्षणमा त नझुम्ने कुरै भएन । ‘मानिस स्वभावैले सुख चाहन्छ, शान्ति चाहन्छ, त्यो सुख र शान्ति कसरी प्राप्त गर्ने भन्नेमा चाहिँ सबैको शैली अलग–अलग हुनसक्छ ।’ मानवशास्त्री सुरेश ढकाल भन्छन्, ‘पश्चिमाहरू एक्लाएक्लै रमाउन खोज्छन् तर नेपालीहरू सामूहिक रमाइलोमा खुसी मान्छन्, त्यसैमा सुखी हुन खोज्छन्, अनि त्यही सामूहिकतामा शान्ति प्राप्त गर्छन् ।’ नेपालीहरूको यो सामाजिक जीवनमा रमाउने क्रम आजभन्दा ५/७ हजार वर्षअघिदेखिकै रहेको ढकालको भनाइ छ । ‘जबदेखि कृषिमा आधारित जीवनयापन गर्ने समाजको विकास भयो तब मानिसले सामूहिकतामा विश्वास गर्न थाल्यो ।’ ढकाल भन्छन्, ‘अन्नबाली लगाउन थाल्दा होस् वा बाली भित्र्याउँदा हर्षबढाइँ गर्ने, एक–आपसमा रमाइलो गर्ने अनि सुख–दु:ख साटासाट परम्परा बस्न थाल्यो ।’ त्यही सामाजिकीकरणसँगै बढ्दै आएको रमाइलोपन अनि बिन्दासपन अहिले आएर सहर–बजारमा डान्स क्लब, दोहोरी साँझ, रेस्टुराँ आदिमा रूपान्तरण भएको छ ।

गाउँघरमा अझै पनि पाइने सामूहिक संस्कृतिको संस्कार भने विश्वमै उदाहरणीय भएको मानवशास्त्री ढकाल बताउँछन् । ‘गाउँमा सबैसँग सबैको भेटघाट हुन्छ, आत्मीयता हुन्छ । दुई–चार जना भेट भयो कि मादल निकालेर रोधी घन्कन थाल्छ ।’ ढकाल भन्छन्, ‘सहरमा सबैलाई फुर्सद हुँदैन, चिनजान हुँदैन तर रमाइलो गर्न मन लाग्छ, त्यसैले डान्स क्लब र दोहोरी साँझ आदि त्यसको विकल्प भएका हुन् ।’

 

नेपाली समाजको विकास नै संयुक्त परिवारबाट भएको हुँदा जुनसुकै कुरा गर्दा पनि समूहमा गर्ने बानी विकास भएको हो । त्यही सामूहिकताका कारण खुसी हुँदा होस् वा दु:खी हुँदा सबै सँगै सामेल हुने संस्कृतिविद् प्रा.डा. वीणा पौडेल बताउँछिन् । नेपालीको यही संस्कारका कारण जस्तोसुकै परिस्थितिलाई पनि सामान्यीकरण गर्न सहयोग पुग्ने पौडेलको धारणा छ । ‘मान्छे जन्मेर न्वारान गर्ने कामदेखि लिएर विवाह आदिका अन्य संस्कारहरूमा सबै मिलेर खुसी मनाउने चलन छ ।’ पौडेल भन्छिन्, ‘खुसीमा मात्र नभएर मानिसको मृत्यु हँुदा पनि छरछिमेक आफन्त आएर सान्त्वना दिने, सम्झाउने आदि काम गर्छन्, यी सबै मानिसलाई सामान्यीकरण गर्ने विकल्प हुन् । तिनै संस्कार–संस्कृतिसँग मस्त हुँदै नेपालीहरू अहिलेको यो अवस्थामा आइपुगेको पौडेल बताउँछिन् । यद्यपि पछिल्लो पुस्ता संस्कार संस्कृतिबाट अलिकति बाटो छोडेर मस्तीको तरिका फेर्दै जान थालेको समाजशास्त्री डा. मृगेन्द्रबहादुर कार्कीको ठम्याइ छ ।

 

पहिले–पहिले नेपालीहरू आफ्नै संस्कारमा रहेर मस्ती गर्थे भने अहिले देखासिकी संस्कारमा रमाउनेहरूको संख्या बढ्दो छ । यद्यपि ग्लोबलाइजेसनको यो जमानामा त्यो सामान्य भएको कार्कीको भनाइ छ । ‘रमाउने तरिका फरक भएका छन् । यसले हाम्रो आफ्नोपन गुम्ला कि भन्ने डर त छँदैछ, तर ग्लोबलाइजेसनको प्रभाव पर्नु पनि स्वभाविक हो ।’ कार्की भन्छन्, ‘भरिसक्य आफ्नो संस्कृति जोगाउन सके हुन्थ्यो ।’
 

सधैं खुसी
नेपालीले एक दशक लामो सशस्त्र द्वन्द्व झेले, राजदरबारमा यति ठूलो हत्याकाण्ड भयो, दुई वर्षअघि विनाशकारी भूकम्प गयो, त्यसलगत्तै भारतको नाकाबन्दीका कारण पनि ठूलै सास्ती बेहोर्नुपर्‍यो भने सधंै राजनैतिक अस्थिरता बेहोर्दैै आउनुपरेको छ, तैपनि नेपालीहरूको मुहारमा सधैं खुसी देखिन्छ । भर्खरै सार्वजनिक भएको ह्याप्पिनेस वल्र्डको रेकर्डले पनि नेपालीहरूको खुसी अझ बढ्दै गएको देखाएको छ । निराशाजनक सूचकांकको बीच पनि नेपालीहरू खुसी रहन सक्ने उक्त तथ्यांकले उल्लेख गरेको छ । सर्वेक्षणमा दक्षिण एसियामै खुसी सँगाल्न सक्ने तेस्रो नम्बरको देशका रूपमा नेपालको नाम उल्लेख गरिएको छ ।

 

नेपालीहरू अवसर आउनेबित्तिकै बिन्दास भै रमाइलो गर्न थाल्छन् । यो परिपाटी नेपालमा भर्खरै भित्रिएको होइन । आदिम कालदेखि नै नेपालीहरूले बिन्दास जीवन जिउँदै आएका छन् । मल्लकालमा हुने ठूला भोजभतेरदेखि लिएर अहिलेका डान्स क्लबका रमाइलो क्रमिक विकासको क्रम हो । मानवशास्त्री ढकाल कुनै पनि दु:खद घटनापछि निराशा जाग्नु स्वभाविक भए पनि निश्चित समयमा पुन सामान्यीकरणमा आउने बताउँछन् । यद्यपि नेपालीहरूमा भने दु:ख सहने क्षमता अरूको भन्दा विशेष रहेको ढकालको बुझाइ छ । यसरी सामान्य अवस्थामा फर्कन हामीले मनाउँदै आएका चाड–पर्व अनि हाम्रो संस्कृति, परम्पराको ठूलो भूमिका छ । ‘कुनै पनि घटना/दुर्घटनापछि दु:ख स्वभाविक हो, तर नेपालीमा त्यसलाई सहन गर्ने क्षमता अद्भूत छ,’ ढकाल भन्छन् । एक प्रकारका मानिसहरू बिन्दासपनलाई विकासको अवरोधक पनि बताउँछन्, तर मावनशास्त्री ढकाल यो कुरामा सहमत छैनन्।

 

विकास भनेको दुई किसिमले हुन्छ । एउटा भौतिक विकास र अर्को आध्यात्मिक विकास, यदि बिन्दासपनले मानिसमा आध्यात्मिक विकास गराउँछ भने त्योभन्दा ठूलो उपलब्धि केही नहुने उनको धारणा छ । ‘मानिस सुखी र खुसी हुनु जति ठूलो विकास अरू केही हुन सक्दैन ।’ ढकालको तर्क छ— मानिस जेमा खुसी हुन्छ त्यो पाउनु नै ठूलो कुरा हो ।
 

कति बिन्दास नेपाली ?


राष्ट्रिय तथ्यांक विभागले सन् २०१५/०१६ मा निकालेको घरपरिवार सर्वेक्षणले पनि नेपालीहरू कति बिन्दास छन् भन्ने कुरा देखाउँछ । अत्यावश्यक कुरामा गर्ने खर्चभन्दा पनि रमाइलोका लागि खर्च गर्ने परिपाटी बढ्दै गएको उक्त सर्वेक्षणले देखाउँछ । रमाइलोका लागि उपभोग गरिने रक्सी–चुरोटजस्ता चिजमा एउटा नेपालीले एक वर्षमा सरदर ६ हजार रुपैयाँभन्दा बढी खर्च गर्ने गरेको देखिन्छ । त्यसो त संस्कार–संस्कृति धान्न तथा चाडपर्व मनाउन पनि नेपालीहरू कमाइको ठूलो हिस्सा खर्च गर्छन् भन्ने उक्त अध्ययनले देखाएको छ । नेपालीहरूले दैनिक उपभोग्य सामग्रीमा भन्दा सजावटका सामग्रीमा बढी खर्च गरेको पाइन्छ भने फलफूल, सागसब्जीभन्दा माछा–मासु, रक्सी–चुरोटमा दोब्बर खर्च गर्ने परिपाटी भएको केन्द्रीय तथ्यांक विभाग घरपरिवार सर्वेक्षण शाखाका निर्देशक डिल्लीराज जोशी बताउँछन् । सामाजिक सुरक्षा, बिमा एवं बचतको मामिलामा भने नेपालीहरू कमजोर रहेको उनको भनाइ छ ।

 

पछिल्लो समय विवाह–व्रतबन्धजस्ता धार्मिक कार्यक्रममा समेत रक्सी, चुरोट तथा माछा–मासुको उपस्थिति बढ्दै जाँदा त्यसले जीवनशैलीलाई नै नकारात्मक परिर्वतनतर्फ धकेल्दै गएको पनि पाइन्छ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्री भन्छन्— ‘संस्कार–संस्कृतिभन्दा बाहिर गएर रमाइलोका लागि गरिने यस्ता फजुल खर्च नयाँ पुस्ताका लागि जीवनशैली नै बन्न सक्छ । यस्तो देखासिकीको जीवनशैलीले मानिसमा उद्यामशीलता ह्रास गराउँदै जान्छ र भविष्यका लागि अस्वस्थ जनशक्तिको उत्पादन बढ्छ ।’ हाम्रो संस्कारलाई सही रूपमा अघि बढाएर सामूहिक रमाइलोमा रमाउन सके बढ्दै गएको नेपालीहरूको मानसिक समस्यासमेत समाधान हुन सक्ने क्षेत्रीको तर्क छ ।

 

सामूहिक संस्कृति नै खुसीको कारक

सुरेश ढकाल, मानवशास्त्री

कुनै पनि घटना–दुर्घटनापछि मानिस दु:खी हुनु वा संवेदना जाग्नु स्वभाविक हो । समयक्रमसँगै त्यो घाउ पुरिएर मानिस पहिलेकै ठाउँमा पुग्छ । कोही चाँडै पहिलेकै अवस्थामा पुग्छन् त कसैलाई समय लाग्छ, केही भने पुरानो अवस्थामा फर्कन सक्दैनन् । मानिसले कस्तो प्रयास गर्छ त्यसैमा भर पर्छ । नेपालीहरू ठूला–ठूला दु:खका घटनाबाट पनि चाँडै सामान्य अवस्थामा आएका धेरै उदाहरण छन् । जस्तै दुई वर्षअघि आएको विनाशकारी भूकम्पको मानसिक असर अहिले त्यति देखिँदैन, भलै परिवार गुमाएका र घरबार नभएकाहरूमा त्यसको भित्री पीडा छ, तर उनीहरूले पनि त्यसलाई बाहिर देखाउन छोडिसकेको पाइन्छ ।

 

भारतले नाकाबन्दी गर्‍यो, राजनीतिक अवस्था सन्तोषजनक छैन, तैपनि नेपालीहरूमा त्यसको चिन्ता देखिँदैन । यी यावत् कुराका पछि नेपालको संस्कार र संस्कृतिको ठूलो भूमिका छ । वर्षमा धेरै पटक आउने चाडपर्व, रमिता, रमाइलोमा भुल्ने बानी हामीमा छ । यस्ता चाडपर्व एवं अवसरहरूले मानिसलाई सामान्य जीवनमा फर्काउन सहज बनाउँछन् भने पीडा भुलाउन ठूलो मद्दत गर्छन् । कारण यी सबै कुरामा सामूहिक रमाइलो हुन्छ ।

 

एक–अर्काको भावना बुझ्ने र बुझाउने अवसर हुन्छ । यो सामूहिक भावनाको विकास नेपालीमा एकाएक भएको होइन । नेपाली समाज एक हिसाबले बिस्तारै कृषिप्रधान देशबाट बिस्तारै अगाडि बढेको समाज हो । यस्तो समाजको संस्कार के हो भने वर्षमा     एक पटक बाली भित्र्यायो अनि रमाइलो गर्‍यो, बाली लगाउने बेलामा प्रकृति पूजा गर्‍यो अनि त्यो मौकामा पनि रमाइलो गर्‍यो । बाली लगाइसक्यो, सामूहिक भेटघाट गर्‍यो अनि रमाइलो गर्‍यो । यसरी हामीमा सामूहिकतामा रमाउने संस्कारको विकास हुँदै गयो । त्यो परम्परा बस्दै गयो । नेपाली परम्पराले मानिसलाई रमाइलो गर्न प्रेरित गर्छ । हुन त पश्चिमाहरू पनि रमाइलो गर्छन्, तर उनीहरू व्यक्तिगत तहको समाजमा पुगिसके भने नेपालीहरू भर्खर कृषिप्रधानबाट अघि बढ्दै गएको अवस्था छ, त्यसैले त्यति स्वार्थी भैसकेको छैन । कुनै पनि कुरा सुरु गर्दा होस् वा त्यसको प्रतिफल पाउँदा हामी एक्लै रमाउँदैनौं, सामूहिकतामै रमाउँछौं ।

 

बचत गर्ने बानी छैन

रमाइलो गर्नुपर्ने चलन बढ्दै जाँदा नेपालीहरूको बचत गर्ने बानीमा भने असर परेको छ । नेपाल राष्ट्र बैंकले अघिल्लो वर्ष गरेको एक अध्ययनले पनि पुष्टि गर्छ, नेपालीहरूमा जोहो गर्ने बानी छैन । गत आर्थिक वर्षमा वैदेशिक रोजगारीमा गएकाहरूबाट ५ खर्ब ६५ अर्ब रुपैयाँ नेपाल भित्रिएको थियो । यो नेपालको कुल गार्हस्थ्य उत्पादनको झन्डै ३० प्रतिशत बराबर हो । यो नेपाल सरकारको दुई वर्षअघि जारी भएको बजेट भाषणभन्दा पनि बढी रकम हो । रेमिट्यान्सले नेपालीहरूको स्वास्थ्य तथा शिक्षाजस्ता कुरामा सुधार एवं परिवर्तन ल्याए पनि उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने परिपाटी भने अझै नभएको राष्ट्र बैंकको ठहर छ ।

 

देशका १६ जिल्लामा गरिएको उक्त सर्वेक्षण अनुसार विदेशमा कमाएको मध्ये २५ प्रतिशत आम्दानी ऋण तिर्न खर्च हुने गरेको छ । अर्को ठूलो पैसा अर्थात् २४ प्रतिशत घर खर्चमा (जसमा मनोरञ्जनमा धेरै) सकिएको पाइन्छ । शिक्षा एवं स्वास्थ्यमा ९ प्रतिशत तथा नयाँ घर बनाउन वा मर्मत–सम्भार गर्न २८ प्रतिशत रकम खर्च गरिने अध्ययन प्रतिवेदनमा उल्लेख छ । उत्पादनमूलक कामका लागि भने १ प्रतिशत मात्र खर्च हुन्छ ।

 

राष्ट्र बैंकले नै तीन वर्षअघि गरेको घरपरिवार सर्वेक्षणले के देखाउँछ भने नेपालीहरू आयको तुलनामा निकै कम रकम बचत गर्छन् । सहरमा एउटा परिवारले एक महिनामा सरदर ३२ हजार ३ सय ३३ रुपैयाँ कमाउँछ भने ग्रामीण क्षेत्रमा २७ हजार ५ सय ११ कमाइ हुन्छ, जसमा सहरको खर्च २८ हजार ४ सय ७४ रुपैयाँ तथा गाउँको एक परिवारको खर्च २२ हजार ९ सय २८ रुपैयाँ देखिन्छ । यसले पनि के देखाउँछ भने एउटा परिवारले सामान्यत: मासिक ३ हजारभन्दा बढी जोगाउन सक्दैन । खर्च जोगाउन नसक्नुका पछाडि नेपालीहरूको खानपान एवं बढी रमाइलो गर्नुपर्ने संस्कार नै प्रमुख कारक रहेको संस्कृतविद् कार्कीको दाबी छ ।

 

भविष्यका लागि आफ्नो जिम्मेवारी र प्राथमिकता के हो भन्ने कुरा छुट्याउन नसक्दा कमाएको पैसा अनुत्पादक क्षेत्रमा खर्च हुने गरेको हो । विशेष गरी आफूले कमाएको पैसा भविष्यका लागि बचत गर्नेभन्दा पनि रमाइलो प्राथमिकतामा पर्ने गरेको समाजशास्त्री डा. कार्की बताउँछन् । अझ नेपालमा सन्तानलाई अंश दिनैपर्ने बाध्यात्मक अवस्था भएका कारण नयाँ पुस्ता जोगाउनभन्दा पनि बिन्दास खर्च गर्नतर्फ प्रेरित हुने गरेको उनको ठम्याइ छ । ‘यदि अंशको प्रावधान नभएको भए विदेशबाट आउने हरेक युवाले कुनै न कुनै व्यवसायमा पैसा लगाउँछन् ।’ कार्की भन्छन् ।

 

पश्चिमाबाट राम्रा कुरा पनि सिकौं

डा. मृगेन्द्रबहादुर कार्की, समाजशास्त्री

पश्चिमाहरू आफैं कमाउँछन्, भविष्यका लागि जोहो गर्छन् अनि बचेको आम्दानीले मस्ती गर्छन्, तर हामीकहाँ भने आफूले कमाउने त कुरै छैन, पुख्र्यौली सम्पत्ति पनि सकेर मस्ती गर्ने चलन बढेको छ, जसले गर्दा आफ्नोपन हराउँदै गएको छ । सबैभन्दा प्रमुख कुरा हामीले स्वावलम्बनको पनि विकास गर्नुपर्छ । हामी अहिले आफ्नोपन बिर्सिएर जसको देखासिकीमा बिन्दास भैरहेका छौं, उनीहरू (पश्चिमाहरू) आफ्नै खर्चमा बिन्दास हुन्छन् । न त हामी विकसित परम्परागत संरचना भएको नयाँ नेपाली नै भएका छौं ।

 

हामी अहिले बीचको अवस्थामा छौं । कतिसम्म भने न्यू इयर मनाउन पनि बाबा–ममीले पैसा दिनुपर्ने । पश्चिममा कर्तव्यको बोध छ र अधिकारको चेतना पनि छ, तर हामीकहाँ आफ्नै मूल्य–मान्यतामा ह्रास आएको छ । हामीले आधुनिक हुनका लागि पश्चिमाहरू कसरी त्यहाँसम्म पुगे, बुझ्ने प्रयास गरेनौं । सीधै उनीहरूको अहिलेको अवस्था टपक्कै टिप्यौं । त्यहाँ विकास भएको स्वच्छन्दता उपभोग गर्ने तर उनीहरूले बहन गरिरहेको कर्तव्यचाहिँ सिक्दै नसिक्ने प्रवृत्ति भयो ।

 

प्रतिव्यक्ति अनिवार्य खर्च
विवरण    सहरिया    गाउँले
दैनिक उपभोग्य     ९११०    ९५५३
घिउ–तेल    ४०४७    २४३०
फलफूल    २२९५    ८९१
सागसब्जी    ४७१३    ३६१९
चिया, कफी    १२६४    ८२०
स्वास्थ्यमा लगानी    ४४३०    २५९२
शिक्षामा लगानी    ६६८६    १९३४
सामाजिक सुरक्षा    २४०    १४१
इन्स्योरेन्स    ७०३    १९४
प्रशासनिक काममा १७८    १९१
बचत    १५०    ५१
जम्मा    ३३८१६    २२४१६

स्रोत : केन्द्रीय तथ्यांक विभाग

 

प्रतिव्यक्ति विलासी खर्च
विवरण    सहरिया     गाउँले
माछा मासु    ८८८०    ४५८७
अन्डा–दूध    ४०४७    २४३०
मिठा–खट्टा    १२६४    ८२०
मरमसला    १४१६    १२३८
चिसो पेय पदार्थ    ६१२    १६६
रक्सीजन्य पदार्थ    ५१८४    १७९०
चुरोट    १२०८    ११७९
रेस्टुराँ खर्च    ६२५    ५६३
संस्कार संस्कृतिमा    ३५२१    २९५९
गरगहना    १६३२    ७७८
सजावट सामग्री    २०७६४    ९४५२
जम्मा    ४९१५३    २५९६२

स्रोत : केन्द्रीय तथ्यांक विभाग

प्रकाशित :वैशाख १७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्