पिसीमा स्क्रिनकास्ट रिसिभरको प्रयोग

- नितेश उपाध्याय

वैशाख १६, २०७४-  


गुगलले ‘क्रोमकास्ट’, माइक्रोसफ्टले ‘मिराकास्ट’ ल्याएपछि पछिल्ला स्मार्ट टिभीहरूले स्क्रिनकास्ट फिचरहरू ल्याएका छन् । क्रोमकास्ट र मिराकास्ट प्रयोग गर्न प्रयोगकर्ताले महँगो मूल्य पर्ने डिभाइस प्रयोग गर्नुपर्ने बाध्यता छ भने टिभीमा स्क्रिनकास्ट गर्न स्मार्ट टिभी भए पुग्छ । यदि घरमा विन्डोज टेन अपरेटिङ सिस्टम भएको कम्प्युटर भए स्क्रिनकास्ट गर्न थप महँगा उपकरणको आवश्यकता पर्दैन ।
सन् २०१६ को अगस्ट महिनामा माइक्रोसफ्टले विन्डोज १० का लागि एनिभर्सरी अपडेटमा यो सुविधा थप गरेको हो । उक्त अपडेट इन्स्टल गरेका प्रयोगकर्ताले आफ्नो कम्प्युटरलाई नै स्क्रिनकास्ट रिसिभरका रूपमा प्रयोगमा ल्याउन सक्छन्, अर्थात् आफ्नो स्मार्टफोन वा पिसीको स्क्रिन अर्को पिसीमा डिस्प्ले गर्न सकिनेछ, तर त्यसका लागि स्क्रिनकास्ट रिसिभ गर्ने पिसीको प्रोसेसर भने आई सिरिजका, जेनरेसन–३ वा त्यसभन्दा पछिल्लो भर्जनको हुनुपर्नेछ भने कम्प्युटरमा वाइफाइको सुविधा उपलब्ध हुनुपर्नेछ ।

 

कसलाई फाइदा छ ?
घरमा दुई वा त्यसभन्दा बढी स्क्रिन प्रयोग गर्ने व्यक्तिले यसबाट निकै लाभ लिन सक्नेछन् । स्क्रिन डुप्लिकेट गरेर वा मल्टी डेस्कटप गरेर एउटै किबोर्ड तथा माउस प्रयोग गरी थुप्रै कम्प्युटरमा काम गर्दाको फाइदा लिँदै समय समेत बचत गर्न सकिन्छ । कार्यालय वा कुनै सभामा प्रस्तुति दिँदा आफ्नो फाइल मोबाइलमा भए एउटा कम्प्युटरमा प्रोजेक्टर जडान गरी सीधै मोबाइलमार्फत प्रोजेक्टरमा डिस्प्ले गर्न सकिन्छ । मोबाइल गेम खेल्दा, चलचित्र हेर्दा कम्प्युटरको ठुलो स्क्रिन प्रयोग गर्नुको मज्जा अर्कै हुन्छ । त्यसबाहेक अहिले लोकप्रिय हुँदै गएको ‘नेटटिभी’ लाई मोबाइलमार्फत डेस्कटपको ठूलो स्क्रिनमा समेत हेर्न सकिन्छ ।

 

कसरी प्रयोग गर्ने ?
विन्डोज १० एनिभर्सरी अपडेट इन्स्टल गरिएको कम्प्युटरको एक्सन सेन्टरमा गै कनेक्ट बटनमा क्लिक गर्नुहोस् । त्यहाँ ‘प्रोजेक्ट टु दिस पिसी’ अप्सनमा गै पहिलो ड्रप डाउनमा ‘एभाइलेबल एभ्रिवेयर’ छान्दा उक्त पिसी स्क्रिनकास्ट रिसिभर बन्छ ।दोस्रो खण्डमा स्क्रिन सेयर गर्ने स्मार्टफोन वा पिसीबाट वायरलेस डिस्प्ले अप्सनमा गै रिसिभ गर्ने डिभाइस छानेर यो फिचर प्रयोग गर्न सकिन्छ ।

प्रकाशित :वैशाख १६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्