अब्बल अभिनेता, अभिनेत्री तथा निर्देशक

- साप्ताहिक संवाददाता

वैशाख ११, २०७४

 

वर्षका अभिनेता 

१. दीपकराज गिरी

छक्कापञ्जा

हास्य अभिनेताका रूपमा ख्याति कमाएका दीपकराज गिरी ४० कटेपछि ‘हिरो’ को छविमा जमेका छन् । दुई वर्षअघि ६ एकान ६, एक वर्षअघि वडा नम्बर ६ पछि गत वर्ष छक्कापञ्जासम्म आइपुग्दा दीपकराज गिरीलाई ‘हिरो’का रूपमा स्वीकार गर्न दर्शकहरू पनि सहमत भए । गत वर्षको बम्पर हिट ‘छक्कापञ्जा’का यी अभिनेता सर्वाधिक सफल चलचित्रका अभिनेता भएकाले अभिनेताहरूमा नम्बर एकको स्थान ओगटन सफल भए । 

 

२. दयाहाङ राई

हाउ फन्नी, वीरविक्रम, झुम्की, पुरानो डुंगा, सेतो सूर्य, लुट–टु, लप्पन छप्पन

वर्ष ०७३ का सर्वाधिक व्यस्त अभिनेता हुन्— दयाहाङ राई । वर्षभरि उनका सबैभन्दा बढी चलचित्र आए र केही सफल अनि सबैभन्दा बढी असफल चलचित्र पनि उनकै नाममा रहे । त्यसो त दयाहाङको अभिनय शैली हरेक चलचित्रमा उस्तै देखियो भन्ने प्रतिक्रिया पनि सुनियो । जतिसुकै क्रिया–प्रतिक्रिया चले पनि दयाहाङ वर्ष ०७४ भरि पनि व्यस्त छन् र तत्काल उनको क्रेज घट्ने छाँट देखिंदैनन् । 

 

३. अनमोल केसी

गाजलु

वर्ष ०७३ मा अनमोल केसीको जम्मा एउटा चलचित्र प्रदर्शनमा आयो । निर्देशक हेमराज बिसीले मिस नेपाल–२०१२ सृष्टि श्रेष्ठसँग अनमोल केसीको केमेस्ट्री मिलाउने प्रयत्न गरे चलचित्र गाजलुमा । अनमोलले गाजलुमा आफ्ना अघिल्ला चलचित्रभन्दा केही राम्रो अभिनय गर्ने प्रयास गरे, जसमा उनी सफलसमेत भए । सार्वजनिक कार्यक्रमहरूमा त्यति नदेखिने अनमोलले वर्षैभरि कुनै पनि चलचित्रमा काम गरेनन् । बरु उनी यो वर्ष प्रदर्शनमा आउने चलचित्र कृका लागि तयार भैरहेका छन्, जसका लागि उनले अहिलेसम्मकै सर्वाधिक पारिश्रमिक लिएका छन् । 

 

४. विपिन कार्की

जात्रा, कालो पोथी, लुट–टु

हिन्दीमा एउटा उखान छ, ‘सौ चोट सोनारके, एक चोट लोहारके’ । यो उखान विपिन कार्कीमा ठ्याक्कै मिल्छ । चलचित्र पशुपतिप्रसादमा भष्मेको भूमिकाबाट दर्शकको मन जितेका विपिनले वर्ष ०७३ मा जात्रामा गरेको अभिनयमार्फत दर्शकहरूको मनमा राज गरे । हरेक चलचित्रमा फरक गेटअप र भूमिका रुचाउने भर्सटायल अभिनेता विपिन कार्कीले कालो पोथी र लुट–टुमा गरेको सहायक भूमिका दर्शकहरूको रोजाइमा पर्‍यो । 

 

५. सौगात मल्ल

लुकामारी, शब्द, लुट–टु, लप्पन छप्पन

सौगात मल्ल त्यस्ता अभिनेता हुन्, जो न त फ्लप हुन्छन्, न त सुपरहिट । उनले निर्वाह गरेको सुपरहिट पात्र हाकुकालेलाई लुट–टु मार्फत फेरी ब्युँताउने प्रयास भयो । दर्शकहरू पनि उत्साहित थिए, तर निर्देशक चलचित्रमा उनलाई अपेक्षा अनुरूप प्रस्तुत गर्न असफल भए । यद्यपि सौगात मल्ल वर्ष ०७३ भरि नै व्यस्त रहे । गत वर्ष मल्लका चारवटा चलचित्र प्रदर्शनमा आए, जसमा उनले आफूलाई फरक ढंगबाट प्रस्तुत गर्ने प्रयास गरे । चर्चाका रहेर पनि गत वर्ष निखिल उप्रेती (निर्भय तथा किंग), राजेश हमाल (शकुन्तला), रमेश उप्रेती (ब्रासलेट), आर्यन सिग्देल (होमवर्क), जीवन लुइँटेल (बाजिगर, राधा तथा लेकसाइड) आदि उत्कृष्ट पाँचमा पर्न सकेनन् । 

 

वर्षका अभिनेत्री

१. प्रियंका कार्की

हाउ फन्नी, छक्कापञ्जा तथा पुरानो डुंगा

दशककै सर्वाधिक सफल चलचित्र छक्कापञ्जापछि अभिनेत्री प्रियंका कार्कीको करियरको गाडीले राम्रैसँग गति लिएको छ । उनी वर्ष ०७३ मा आफूलाई सर्वाधिक व्यस्त अभिनेत्रीका रूपमा प्रस्तुत गर्न सक्षम भइन् भने उनको अभिनयलाई दर्शकले पनि मन पराए । वर्षभरि उनका तीन चलचित्र प्रदर्शनमा आए, जसमा हाउ फन्नीलाई त्यति मन पराइएन, पुरानो डुंगाले मिश्रित व्यवसाय गर्‍यो भने छक्कापञ्जा सुपरहिटमा दरियो । 

 

२. वर्षा राउत

छक्कापञ्जा तथा जात्रा

नाइँ न भन्नु ल थ्रीबाट नेपाली चलचित्रमा पर्दापण भएकी वर्षा राउतका वर्ष ०७३ मा जम्मा तीन चलचित्र आएका छन् भने ती तीनवटै चलचित्र सुपरहिट सावित भएका छन् । वर्षाको अभिनय कलालाई दर्शकले निकै रुचाएको पाइन्छ । नायिकाभन्दा पनि अभिनेत्रीका रूपमा आफूलाई प्रस्तुत गर्न सक्ने उनको स्वभाविक अभिनयले दर्शकहरूको मात्र होइन, सम्पूर्ण चलचित्रकर्मीको मन जितेको छ । यो वर्ष उनका थप केही चलचित्र प्रदर्शनमा आउँदैछन् । 

 

३. सृष्टि श्रेष्ठ

गाजलु

सन् २०१२ मा मिस नेपालको उपाधि जितेदेखि नै सृष्टि श्रेष्ठलाई चलचित्रको प्रस्ताव आउन थालेको थियो । वरिष्ठ रंगकर्मी सुनिल पोखरेललाई गुरु थापेर उनले अभिनय प्रशिक्षण लिइन् भने चलचित्र ‘गाजलु’मा केन्द्रीय भूमिका निर्वाह गरिन् । सौन्दर्यसँगै स्वभाविक अभिनयका कारण एउटै चलचित्रबाट उनले आफ्नो अलग स्थान बनाइन् । 

 

४. मेनुका प्रधान

गाजलु तथा पुरानो डुंगा

प्राय: सहायक भूमिकामा सीमित मेनुका प्रधानले गत वर्ष आफ्नो स्वभाविक अभिनयले दर्शकहरूबीच विशिष्ट स्थान बनाइन् । चलचित्र गाजलुमा सहअभिनेत्रीकै भूमिका भए पनि उनले प्रशंसनीय अभिनय गरिन् । रंगकर्मीका रूपमा स्थान बनाइसकेकी प्रधानले पुरानो डुंगामा गरेको अभिनयका कारण उनका प्रशंसक थप बढेका छन् ।

 

५. केकी अधिकारी

हाउ फन्नी, लभ सासा

अभिनय तथा नृत्यमा अब्बल केकी अधिकारीका दुई चलचित्र वर्ष ०७३ मा प्रदर्शनमा आए, जसमा हाउफन्नीभन्दा लभसासामा उनको अभिनय रुचाइयो । प्रेमकथात्मक लभसासाले अपेक्षाअनुरूप व्यवसाय गर्न सकेन, तर स्वभाविक अभिनयका कारण केकी अधिकारीले नेपाली चलचित्र क्षेत्रमा अझै केही वर्ष आफ्नो स्थान बनाउने सम्भावना देखियो । 

चर्चामा रहे पनि गत वर्ष रेखा थापा (पलाँस), नीता ढुंगाना (लेकसाइड तथा निर्भय), नम्रता सापकोटा (छक्कापञ्जा), बेनिशा हमाल (कालो पोथी तथा किङ), वर्षा शिवाकोटी (लप्पन छप्पन), निशा अधिकारी (हाउ फन्नी तथा जय पर्शुराम), सञ्चिता लुइँटेल (राधा) आदि उत्कृष्ट पाँचमा पर्न सकेनन् । 

 

वर्षका निर्देशक

१. दीपाश्री निरौला

छक्कापञ्जा

हास्य अभिनयबाट दर्शकको मन जित्दै आएकी दीपाश्री निरौलाले निर्देशकका रूपमा पनि आफूलाई अब्बल सावित गरिन् । उनको पहिलो निर्देशकीय चलचित्र छक्कापञ्जाले दर्शकहरूको मन जित्यो, फलस्वरूप वर्ष ०७३ का निर्देशकहरूमा उनलाई अब्बल मानिएको छ । 

 

२. प्रदीप भट्टराई

जात्रा

महजोडीसँग सहायक निर्देशक भै काम गरेको अनुभव प्रदीप भट्टराईलाई काम लाग्यो । स्वभाविक घटनामा कलाकारहरूबाट स्वभाविक अभिनय गराएर निर्देशक भट्टराईले स्तरिय हास्यप्रधान चलचित्र तयार पारे । पहिलो चलचित्र जात्राबाटै उनले आफुलाई अब्बल निर्देशक साबित गरे । 

 

३. मीन भाम

कालो पोथी

भेनिस अन्तराष्ट्रिय चलचित्र महोत्सवमा क्रिटिक्स विकतर्फ सर्वोत्कृष्ट चलचित्र घोषणा भएको चलचित्र कालो पोथीले नेपाल प्रदर्शनपछि दर्शकहरूको माया पायो । उक्त चलचित्रले स्क्रिष्टकै कारण छायांकन र पोस्टप्रोडक्सनका लागि विदेशी आर्थिक सहयोग प्राप्त गरेको थियो । मुगुको सेरोफेरोमा त्यहीका खसभाषीलाई मुख्य पात्रका रुपमा अभिनय गराउन सक्नु नै निर्देशक मीन भामको सबल पक्ष रह्यो । 

 

४. हेमराज बीसी

गाजलु

सामान्य विषयमा गहन व्यवसायिक चलचित्र बनाउन खप्पिस हेमराज बीसीले वर्ष ०७३ मा तयार पारेको चलचित्र अनमोल केसीको क्रेजका कारण दर्शक जुटाउन त सफल भयो नै, जीवित देवी कुमारीसँग सम्बन्धित विषयमा प्रेम चलचित्र बनाएर उनले प्रशंसासमेत बटुले । 

 

५.रामबाबु गुरुङ

पुरानो डुंगा

त्यसो त विगत तीन वर्षमा दुई सुपरहिट सिक्वेल दिएका रामबाबु गुरुङको तेस्रो निर्देशकीय चलचित्र पुरानो डुंगाले कथावस्तु र प्रस्तुति कारण मिश्रित प्रतिक्रिया पायो । एउटा पुरानो डुंगाका कारण दाजुभाइबीच भएको झगडामा आधारित साढे दुई घण्टा लामो चलचित्र बनाएर गुरुङले एकातर्फ प्रशंसा त पाए, तर अमूर्त चलचित्र बन्ने विषयमा केही व्यवसायिक मसला हालेको आरोप पनि उनीमाथि लाग्यो । जे भए पनि अन्य निर्देशकको तुलनामा रामबाबुले आफ्नो निर्देशकीय क्षमतालाई अब्बल साबित गरेका छन् ।  चर्चामा रहेर पनि गत वर्ष निश्चल बस्नेत (लुट–टु), तुलसी घिमिरे (दर्पणछायाँ टु), सुवर्ण थापा (बाटोमुनिको फूल–टु), आकाश अधिकारी (के म तिम्रो होइन र ?), मिलन चाम्स (वीरविक्रम), दीपेन्द्र के खनाल (चपली हाइट–टु) आदि निर्देशक उत्कृष्ट पाँचमा पर्न सकेनन् । 

प्रकाशित :वैशाख ११, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्