एसियाका उदीयमान युवामा पाँच नेपाली

- जनक तिमिल्सिना, भिषा काफ्ले

वैशाख १०, २०७४-  

प्रभावशाली र धनीका कुरा बेच्ने फोब्र्समा तेस्रो विश्वका युवाहरूका खबरले विरलै स्थान पाउँछन् । गत साता एसियाका केही उदीयमान कर्मठ युवा त्यही फोब्र्सको प्रभावशाली युवाको सूचीमा छाए । हेर्दै लोभलाग्दो उक्त सूचीमा समेटिएका एसियाका ३० वर्षमुनिका ३० प्रभावशाली युवाको बीचमा पाँच जना नेपाली अनुहार थिए । फोब्र्सको प्रभावशाली युवाको सूचीमा समेटिएका यी युवाहरू न त पैतृक विरासतमा हुर्किएका हुन्, न त कुनै राजनैतिक छत्रछायाँमा खेलेका हुन्, न त कसैको आशीर्वादले नै उनीहरू त्यहाँ पुगेका हुन् । शून्यबाट करिअर सुरु गरेर निरन्तरको मेहनतपछि ती आशालाग्दा युवा अनुहारहरू फोब्र्समा छाएका हुन् । उनीहरूको सफलताको रहस्य नवीन प्रविधिसँग उद्यम सोचलाई जोड्नु नै भएको बताइएको छ ।

 

“३० अन्डर ३०” छनौट विधि  
विश्व प्रसिद्ध म्यागजिन फोब्र्स भन्नेबित्तिकै धेरैको ध्यान धन सम्पत्ति, शक्ति एवं प्रभावमा जान्छ । यद्यपि यसले भौतिक धनीका मात्र कुरा गर्दैन, मानिसको बौद्धिक सम्पत्तिको पनि मूल्यांकन गर्छ । धनी महिला, धनी पुरुष, धनी देश, धनी कम्पनीहरूको सूची सार्वजनिक गर्ने फोब्र्सले गत साता एसियाका ३० वर्षमुनिका ३० जना युवाको नाम सार्वजनिक गर्‍यो, जसमा आफ्नै मेहनतले शून्यबाट सुरु गरेर समाजमा रोडमोडलका रूपमा स्थापित हुने क्रममा रहनेहरू समेटिएका छन् । फोब्र्सकै दाबीअनुसार अहिले छानिएका ३० जना युवा एसियाका प्रभावशाली उद्यमशील युवा हुन्, जो छोटो समयमा फरक काममा आफूले सुरु गरेको कार्यक्षेत्रमा स्थापित भएका छन् । ‘उनीहरू आफूमात्र स्थापित भएका छैनन् कि उनीहरूले नयाँ सोचका साथ जुनसुकै काम गरे सफलता टाढा छैन भन्ने पनि देखाएको छन्,’ फोब्र्सले भनेको छ, ‘छानिएका यी युवाहरू समाजको धार नै परिर्वतन गर्न सक्ने क्षमता राख्छन् ।’

 

फोब्र्सले विभिन्न १० वटा क्षेत्र छनौट गरी त्यसमा एसियाका सबै देशमा आफ्नै उद्यम गरिरहेका ३० वर्षमुनिका युवाहरूबाट उनीहरूको उद्यम यात्रासम्बन्धी जानकारी मागेको थियो । उनीहरूले दिएको जानकारीलाई फोब्र्सले विषयविज्ञमार्फत अध्ययन गराएको थियो, जसमा उत्कृष्ट ३० लाई विभिन्न क्याटागोरीमा राख्दै ‘३० अन्डर ३०’ छनौट गरिएको हो ।

 

फोब्र्सले त्यसका लागि कला, उद्योग, इन्टरटेन्मेन्ट/स्पोट्र्स, फाइनन्स एन्ड भेन्चर क्यापिटल, इन्डस्ट्री/ म्यानुफ्याक्चर/इनर्जी, मिडिया/मार्केटिङ/एड्भन्टिजमेन्ट, रिटेल/इकमर्स, हेल्थकेयर/साइन्स, सोसल इन्टरपेनर, इन्टरप्राइज टेक्नोलोजी तथा कन्जुमर टेक्नोलोजीजस्ता विधा छुट्याएको थियो ।
कला उद्योगमा आएका प्रतिस्पर्धीको मूल्यांकन गर्न फोब्र्सले चार जनाको विज्ञ समूह बनाएको थियो । फाइनान्स र भेन्चर क्यापिटल तथा कस्टमर टेक्नोलोजी समूहका आवेदनमाथि दुई जना विज्ञको समूहले काम गरेको थियो । अन्य सबै क्षेत्रका प्रतिस्पर्धीको मूल्यांकनका लागि समूहगत रूपमा तीन–तीन जना विज्ञको समूह बनाएर उनीहरूको सुझावअनुसार यो सूची तयार पारिएको फोब्र्सको अनलाइनमा उल्लेख छ ।

 

गजबको पार्टनरसिप

२.० हजार लगानीमा सुरु भएको एक कम्पनी । पाँच वर्षमै करोडको क्लबमा । कलेज अध्ययनरत २५ वर्षीय दुई जना तन्नेरीको नवीन सोचमा आधारित व्यवसायिक उडानको एउटा रोचक कथा । नवीतम आइडिया, गति एवं सामाजिक क्षेत्रमा स–साना पहलहरूले आशिष आचार्य र सविन भण्डारीलाई यो लोभलाग्दो उचाइ दिएको हो । फोब्र्सको सन् २०१७ को एसियाका ‘३० अन्डर ३०’ मा रिटेल र इकमर्स विधाका प्रभावशाली युवाको सूचीमा आशिष र सविन समेटिएका छन् । ‘यो हाम्रा लागि न्यू इयरको गिफ्टजस्तै भयो,’ आशिषले भने । ‘हो त है, ठ्याक्कै न्यू इयरमै । निरन्तर कस्सिएर काम गर्‍यो भने असम्भव केही पनि रहेनछ,’ सविनले भने ।

 

उनीहरूलाई यो उचाइमा पुर्‍याउने प्रमुख कारण हो पाँच वर्षअघि सुरु गरेको अनलाइन स्टोर थ्रेडपेन्ट्सले हात पारेको सफलता । जतिबेला यी दुवै तन्नेरी केवल २१ वर्षका थिए । पुल्चोक इन्जिनियरिङ कलेजमा कम्प्युटर इन्जिनियरिङको ब्याचलर अन्तिम वर्षमा अध्ययनरत छँदा यी क्लासमेट तन्नेरीले नजिकैको एक चियापसलमा अनलाइन स्टोर थ्रेडपेन्ट्सको कल्पना गरेका थिए, जसले सुरुमा टिसर्ट प्रिन्ट गरेर बेच्ने काम गर्‍यो । अहिले भने उनीहरूको कम्पनीले महिला तथा पुरुषका पहिरनसहित झोला, घडी, जुत्ता, पफ्र्युम आदि सबै सामान बेच्छ ।

 

उनीहरूले पुल्चोक इन्जिनियरिङ क्याम्पस नजिकैको एउटा चिया पसलबाट सन् २०१२ मा यो कामको सुरुवात गरेका थिए । ‘हामी एउटै बेन्चमा बस्ने साथी थियौ,’ आशिष भन्छन्, ‘निकै नजिक पनि होइन्, निकै टाढाको पनि होइन, तर थ्रेडपेन्ट्सले हामीलाई एउटै बाटो तय गरायो ।’ उनीहरूको अनलाइन स्टोर थ्रेडपेन्ट्सले टिसर्ट प्रिन्टिङबाट आफ्नो व्यवसायिक यात्रा सुरु गरेको थियो, त्यो पनि केवल २० हजार रुपैयाँमा । त्यतिबेला आशिष र सविन कलेज विद्यार्थीहरूबाट टिसर्ट प्रिन्टिङको अर्डर लिन्थे र कलेजमै बेच्थे । न त कुनै अफिस थियो न त कुनै व्यवस्थित कार्य सम्पादन विधि अनि न मार्केटिङ प्लान नै । यद्यपि उनीहरू जति पनि पैसा टिसर्ट अर्डरबाट संकलन गर्थे, त्यो सबै जम्मा गर्थे।

 

‘सुरुमा त हामीले विभिन्न क्लास र ब्याचका टिसर्ट बनायौं,’ सविनले भने, ‘हामी विभिन्न डिजाइनका टिसर्टको अर्डर लिने, त्यसलाई छाप्न दिने भूमिकामै सीमित थियौं ।’ त्यस क्रममा उनीहरूले आफ्नै वेबसाइट निर्माण गरी अनलाइन वेयर स्टोरका रूपमा काम गर्न थाले । ६ महिनापछि उनीहरूलाई पढाउने शिक्षक मनोज घिमिरेले आफ्नो सफ्टवेयर कम्पनीको एउटा कोठा उनीहरूको थ्रेडपेन्ट्स अफिस राख्न उपलब्ध गराए । सडकछेउको अरूकै चियापसलको टेबुलबाट चलिरहेको थ्रेडपेन्ट्स मासिक ५ हजार भाडाको उक्त कोठामा सर्‍यो ।

 

एक झोला सामान लिएर चियापसलको अफिस सुविधासम्पन्न कोठामा पुग्यो । यसले उनीहरूलाई काम गर्न उत्साह थप्यो । विभिन्न स्टाइलका टिसर्टहरू अर्डर लिने, डिजाइन गर्ने, त्यसलाई प्रिन्टिङ गर्ने र बेच्ने काम हुन थाल्यो । ‘अफिस भाडामा लिएपछि कमाउनुपर्छ, गर्नैपर्छ भन्ने भयो,’ आशिषले थपे, ‘प्रोडक्ट सेल भएपछि हामीले उक्त पैसा अर्को प्रोडक्टमा खर्च गर्न थाल्यौ ।’ कतिसम्म भने उनीहरूले घरबाट बाइकमा तेल भर्न र खाजाका लागि प्राप्त गर्ने खर्च पनि कम्पनीको काममा खर्च गर्न थाले । उनीहरूले वेबसाइट, फेसबुक ग्रुप तथा कलेजहरूमा टार्गेट गरेर काम गर्न थाले । रोचक त के भने एकपटक एउटा अन्तर्राष्ट्रिय इभेन्टमा टिसर्ट र टिकटको ठेक्का लिएपछि अन्तमा उक्त इभेन्ट आयोजक नै भागेपछि उनीहरूलाई ठूलो आर्थिक संकट पर्‍यो । त्यतिबेला उनीहरू कम्पनी लगभग बन्द गर्ने अवस्थामा पुगिसकेका थिए, तर उनीहरूको मेहनत देखेर शिक्षक मनोजले कम्पनीको केही सेयर किनेर उनीहरूलाई टिकाए ।

 

त्यसपछि उनीहरूले काममा दोब्बर एफोर्ट लगाउन थाले, जसले उनीहरूले कल्पना गरेको भन्दा राम्रो रिजल्ट दिन थाल्यो । झन्डै २० घण्टा काम गर्ने, अफिसमै सुत्ने, प्रोग्रामिङ र डिजाइनिङमा बढी समय बिताउने उनीहरूले घरमा फाइदाको कुरा मात्र सुनाउँथे । ‘नत्र त बिई गरेको मान्छेलाई घरबाट जागिरका लागि दबाब आइहाल्थ्यो नि,’ सविनले भने, ‘त्यसैले हामी घरमा कम्पनीका बारेमा राम्रा–राम्रा कुरा मात्र सुनाउथ्यौं ।’

 

सन् २०१२ मा थ्रेडपेन्ट्स सुरु भएको थियो । यसलाई उनीहरूले सन् २०१३ को मेमा कम्पनीको रूप दिए । नाम राखे— ह्वाइटस्पेस प्रालि । अनलाइन स्टोर थ्रेडपेन्ट्स ब्रान्डका रूपमा स्थापित भैसकेको छ भने गत वर्षमात्र उनीहरूले अर्को ब्रान्ड बुट्टा अस सञ्चालनमा ल्याएका छन्, ह्वाइटस्पेसकै छातामुनि । बुट्टा असले स्थानीय डिजाइनरहरूका डिजाइन लिएर त्यसलाई टिसर्टलगायतका विभिन्न सामग्रीमा छाप्छ । उक्त सामग्रीको बिक्रीबाट आएको आधा रकम डिजाइनरले प्राप्त गर्छन् । आशिषले थ्रेडपेन्ट्सको सिइओको भूमिका निर्वाह गरिरहेका छन् भने सविन बुट्टा असको सिइओ हुन् ।
उनीहरूको कम्पनीको वार्षिक ट्रान्जेक्सन डेढ करोड नाघेको छ ।

 

कम्पनीको चुक्ता पुँजी ६२ लाख छ भने त्यहाँ अहिले ३५ जनाले काम गर्छन् । ‘चार वर्ष लागेर पाँचौं वर्ष नपुग्दै हामी आफैंले हासिल गरेको प्रगति देखेर आश्चर्यचकित छौं,’ दुवै जनाले एकै श्वरमा भने, ‘हामीजस्तो सानो लगानीमा आएकाहरूले पनि राम्रो मुनाफा हासिल गर्न सक्दा रहेछौं ।’ उनीहरूसँग २५ लाखको आधुनिक प्रिन्टिङ मेसिन छ, जसले ए वान क्वालिटीको सामान केही घण्टामै उपलब्ध गराउन सक्छ । आशिष र सविन इकमर्समा आफूले हासिल गरेको सफलताका पछाडि पछिल्लो समयमा बजारमा ठूलो लगानीमा आएका इकमर्स साइटहरू केम्यु, सस्तो डिलजस्ताको प्रचार संयन्त्रलाई आफूहरूले क्यास गर्न सक्नुलाई पनि मान्छन् ।

 

ह्वाइटस्पेसले अहिले ठूला कम्पनीहरूका कामसमेत पाउन थालेको छ । उनीहरूले एनसेलको एउटा प्रोजेक्ट, हुवावे, मर्कन्टायलजस्ता कम्पनीका काम गरिसकेका छन् भने विभिन्न इन्जिनियरिङ तथा मेडिकल कलेजको टिसर्ट प्रिन्टिङको काम ह्वाइटस्पेसले नै गरिरहेको छ । ‘एक लेभलमा ठूलो लगानी लिएर आर्ट्स एन्ड डिजाइन र लत्ताकपडामा नेसनल ब्रान्डका रूपमा स्थापित हुने योजना छ,’ आशिष आफ्नो योजना सुनाउँछन्, ‘त्यसका लागि हामी लगानी पनि खोजिरहेका छौं । चाँडै यसतर्फ पाइला अघि बढाउँछौं ।’

 

काठमाडौं, जुडीबुटीका सविन र खोटाङका आशिष दुई फरक भूगोलका युवा हुन् । के सधैं उनीहरूको ट्युनिङ मिल्दो हो त ? उनीहरूबीच कहिलेकाहीं सानोतिनो ठाकठुक पनि परिरहन्छ । यद्यपि उनीहरूको ठाकठुक कम्पनीलाई कसरी राम्रो बनाउने भन्नेमै केन्द्रित हुन्छ । ‘त्यसैले हामी ठाकठुक परेपछि बन्द कोठामा बस्छौं र बाझाबाझ गर्छौं, बाहिर निस्कँदा सोलुसन निकालेर मात्र निस्कन्छौं,’ दुवैले एकसाथ भने । नेपालमा धेरै कम्पनी साझेदारी विवादपछि फुटेका थुप्रै उदाहरणका बीच उनीहरूको कुरा सुनेपछि भन्न मन लाग्यो— क्या गजबको पार्टनरसिप !

 

शिक्षाको ज्योति छर्ने सूर्य

खुकुरीको चोट अचानोलाई मात्र थाहा हुन्छ’ भन्ने बूढापाकाहरूको भनाइसँग २६ वर्षीय सूर्य कार्की पूर्ण सहमत छन् । उनी यसमा सहमत हुनुको पनि कारण छ, जब उनकी आमाले उनलाई पटुकाले ढाडमा बाँधेर आफैं कोदालो खन्दै आलु रोप्ने क्रममा भन्थिन्, ‘पढिनस् भने तेरो पनि यस्तै हालत हुन्छ ।’ कार्की सम्झन्छन्– ‘आमा आफूले पढ्न नपाएकै कारण दु:ख पाएको गुनासो गर्नुहुन्थ्यो भने हामीले पनि अशिक्षाकै कारण दु:ख नपाउन भन्ने उहाँको चाहना थियो ।’

 

कार्कीकी आमाले दु:ख गरेरै उनी र उनकी बहिनीका लागि उच्च शिक्षासम्मको बाटो सहज बनाइदिइन् । त्यतिबेला आमाले गरेको दु:ख देखेका कार्कीले चार वर्षअघि संकल्प गरे, ‘हामीलाई पढाउन आमाले जति दु:ख गर्नुपर्‍यो अबका आमाहरूले छोराछोरीका लागि त्यति दु:ख गर्नु नपरोस् ।’ त्यहीँबाट उनले गाउँका बालबालिकालाई नि:शुल्क गुणस्तरीय शिक्षा कसरी दिन सकिन्छ भनेर विचार विमर्श गर्न थाले र केही गर्ने अठोट समेत गरे । अहिले त्यही अठोटका कारण संखुवासभामा व्यवहारिक तरिकाले अध्यापन हुने १० वटा अंग्रेजी माध्यमका सामुदायिक विद्यालय स्थापना भैसकेका छन् भने गुल्मीमा असारसम्ममा ३ वटा विद्यालय स्थापना हुनेछन् । अबको तीन वर्षपछि देशभर यस्ता ५० वटा विद्यालय हुनेछन्, जहाँ सयौं विद्यार्थीले बालमैत्री वातावरणमा कक्षा ८ सम्म व्यवहारिक तरिकाले नि:शुल्क शिक्षा लिन पाइरहेका छन् र भविष्यमा पनि पाउनेछन् ।

 

कार्कीको दिमागमा यो योजना त्यति बेला फुर्‍यो जति बेला उनी अमेरिकामा सस्टेनेवल बिजनेस तथा इकोनोमिक्समा ब्याचलर गर्दै थिए । त्यही बेला दियालो फाउन्डेसनको परिकल्पना भयो र प्रक्रिया अघि बढ्यो । सुरुमा अमेरिकामा स्थापना गरिएको उक्त संस्थाले २०७१ मा नेपालमा विधिवत दर्ता भएर काम गर्न थाल्यो । यसलाई साथ दिने  अन्य ७ जना साथी अहिले पनि अमेरिकामै छन्, जसमा एडम रौहाना, जनवाल सरिफ श्रेष्ठ, जोय डाब्स, स्टेफिन कोल्टियर, कोरी केनी तथा सिलाइ किनकाडे छन् । उनीहरूले अहिले पनि त्यहीँबाट सहयोग गरिरहेका छन् ।

 

नेपालमा खेमराज खडका, रत्नमाया कार्की, गोपाल खडका, सुरेन्द्र बुढाथोकी, मन्जितराज पाण्डे, अदित अधिकारी, गिम्मा बार्केर, अविनाश झा तथा डा. गुप्तबहादुर श्रेष्ठले यो अभियानमा साथ दिइरहेका छन् । स्वयं सूर्य कार्की भने अहिले छात्रवृत्ति  चिरैतेमा २७ वर्ष पहिले जन्मिएका कार्की अहिले दुर्गमका बालबालिकाहरूलाई नि:शुल्क गुणस्तरीय शिक्षा दिने अभियन्ता बनेका छन् । ८ वर्षको उ मेरमा पहिलो पटक गाडी देखेका कार्की त्यसको १९ वर्षको अवधिमा फोब्र्स म्यागजिनको सोसल इन्टरपेनर युवाहरूमध्ये एसियाका उत्कृष्ट ३० मा परेका छन् ।

 

फोब्र्सको सूची नाम आउनुभन्दा केही दिनअघि एसिया फाउन्डेसनले चार वर्षदेखि एसियाभर विकासको क्षेत्रमा उत्कृष्ट काम गर्ने १२ जना युवालाई प्रदान गर्दै आएको एसिया फाउन्डेसन एवार्ड पनि उनकै पोल्टोमा परेको थियो । एवार्ड अन्तरगतकै एक साता लामो कोरियाको कार्यक्रम सकेर सोमबार राति भियतनाम पुगेका कार्कीले भाइवरमा साप्ताहिकसँग कुरा गर्दै भने, ‘आमाले पढाइको महत्वका बारेमा दिएको उपदेश नै मलाई अहिलेको अवस्थामा ल्याइ पुर्‍याउने प्रेरणा बन्यो ।’ आफू उक्त एवार्डमा छानिनुभन्दा पनि सोही संस्थाले आफ्ना स्कुलहरूमा पुस्तकालय स्थापना गर्न ठूलो मात्रामा पुस्तक उपलब्ध गराउने भएकोमा अझ बढी खुसी छन् सूर्य कार्की ।

 

कार्कीलाई यो उचाइमा पुर्‍याउने फाउन्डेसन स्थापना गर्नुको अर्को पनि कारण छ । १७ वर्षको उमेरमा बूढानीलकण्ठबाट प्लस टु गरेका कार्कीलाई हिमालयशमशेर राणाले भेनेजुएलामा कृषि पढ्नका लागि छात्रवृत्ति दिने प्रस्ताव गरेका थिए । उनले उक्त प्रस्ताव सहर्ष स्वीकार गरे । त्यहाँबाट एग्रिकल्चरमा एसोसियट डिग्री हासिल गरी कार्की नेपाल फर्किए । नेपाल आएर साथीहरूसँग मिली २०६६ मा माया युनिर्भसेज एकेडेमी खोले तर त्यसको एक वर्ष पनि नबित्दै पुन: छात्रवृत्तिमा अमेरिका पढ्न जाने अवसर पाए । अमेरिकाबाट सस्टेनेबल बिजनेस र इकोनोमिक्समा ब्याचलर्स गरिरहेका बेला उनको साथीहरूसँग कुरा मिलेन र छुट्टिए । त्यहाँ छुट्टिए पनि देशका लागि केही गर्नुपर्छ भन्ने लागिरहेको थियो । उनले भने– ‘विदेशबाट यति धेरै आर्थिक सहयोग नेपालमा जान्छ तर त्यो तल्लो स्तरसम्म पुग्दैन, कसरी सीधै गाउँमा पुर्‍याएर जनतालाई प्रत्यक्ष फाइदा दिलाउने भन्ने कुरा सोच्न थाले, अनि संस्था निर्माणको प्रक्रिया सुरु भयो ।’

 

हुन त नेपालमा नि:शुल्क शिक्षा दिने उद्देश्यले धेरै सरकारी तथा गैरसरकारी विद्यालयहरू खोलिएका छन् तर कार्की संस्थापक भएकै स्कुल किन फरक भए त ? ‘किनभने हामी निजी विद्यालय होइन सामुदायिक विद्यालय बनाउँछौ ।’ उनीसँग सहज उत्तर छ– ‘विद्यालय सुरु गर्नुअघि नै हाम्रो संस्था, समुदाय र सरकारबीच समझदारी बनाएर त्यसमा सबैको प्रतिबद्धता सुनिश्चित गर्छौं ।’ फाउन्डेसनले स्थापना गर्ने विद्यालय क्षेत्रका अभिभावकले छोरीलाई अनिवार्य विद्यालय पठाउँछौं भन्ने पहिलो सर्त पालना गर्नुपर्छ । दोस्रो स्थानीय सामग्रीमा स्थानीय बासिन्दाहरूकै लगानी हुनुपर्छ, शिक्षकको सुनिश्चितता सरकारका तर्फबाट जिल्ला शिक्षा कार्यालयले गर्नुपर्छ र संस्थाले त्यसलाई प्राविधिक एवं आर्थिक सहयोग गर्ने कार्की बताउँछन् । पाँच वर्षपछि भने उक्त विद्यालय पूर्ण रूपमा समुदायलाई हस्तान्तरण गरिन्छ । समुदायलाई विद्यालय हस्तान्तरण गरे पनि त्यसको शिक्षक व्यवस्थापन एवं सञ्चालन खर्च भने सरकारले बेहोर्नुपर्ने हुन्छ ।

 

फाउन्डेसनको पहलमा स्थापना गरिएका विद्यालयमा अनिवार्य ठूलो गार्डेन हुन्छ, जसले गर्दा प्रयोगात्मक अध्ययन गराउन सहज हुन्छ । बिस्तारै त्यसलाई एजुकेसन फर्मका रूपमा विकास गर्ने लक्ष्य रहेको कार्कीले बताए । विद्यार्थीलाई पढ्न सहयोग हुने र कृषक अभिभावकहरूलाई पनि नयाँ तरिकाले खेती गर्न तालिम केन्द्र हुन सक्ने फाउन्डेसनको परिकल्पना छ, जसको सुरुवातस्वरूप संखुवासभाकै चिरैतेमा चिराइतो फार्म सुरु भएको छ भने माधी मूलखर्कमा अलैंची फार्मसहितको विद्यालय छ । यस्तो फार्म स्थानीय स्तरको सम्भाव्यता हेरेर स्थापना गरिएको उनी बताउँछन् । फाउन्डेसनको अर्को कार्यक्रम अनिवार्य उज्यालो पनि हो । उज्यालोको अभावका कारण बालबालिकाहरू अध्ययनबाट वञ्चित हुनु नपरोस् भन्ने हो । राष्ट्रिय ग्रिडको लाइन नभएको ठाउँमा सोलर बत्ती अनिवार्य जडान गर्न प्रोत्साहित गरिरहेका छौं कार्कीले भने– ‘उज्यालो र शिक्षा जहिले पनि इन्टर कनेक्टेड इलिमेन्ट हुन् ।’

 

युट्युबमा प्रभातको उदय

प्रभात यादव, वर्ष २३, सन् २०१२ मा लिटिल एन्जल स्कुलबाट म्यानेजमेन्टमा प्लस टु सकेपछि फुर्सदमा थिए । उनका केही साथी विदेशका लागि आईएल्स, टोफल आदिको क्लास लिन थाले भने केही जागिरको ब्याकग्राउन्ड बनाउन विभिन्न कम्पनीमा इन्टर्न । प्रभात भने फुर्सदको समय हल्लिएरै बिताइरहेका थिए ।

 

जनकपुरमा जन्मिए पनि काठमाडौंको सातदोबाटोमा हुर्किएका प्रभातका बुवा तेजनारायणप्रसाद यादवको हार्डवेयरको आफ्नै बिजनेस थियो । प्रभातमा भने बुवाको उक्त व्यापारप्रति त्यति आकर्षण थिएन् । प्लस टु सकेर फुर्सदिलो बनेको केही समयसम्म उनका बुवाआमाले केही भनेनन्, तर लामो समय छोरो हल्लिएको देखेपछि अभिभावकले काम गर्न प्रेसर दिन थाले । ‘विदेश जाने उति रुचि थिएन,’ साप्ताहिकसँगको कुराकानीमा फोब्र्सको एसियाको प्रभावशाली युवाहरूको ३० अन्डर ३० मा समावेश भएका यादवले सुनाए, ‘प्रेसर बढ्न थालेपछि केही नयाँ गर्न सकिन्छ कि भनेर इन्टरनेटमा सर्च गर्न थाले ।’

 

यत्तिकैमा उनको दिमागमा गुगलको एडसेन्स मोनिटाइजेसन क्लिक भयो । त्यही क्लिक ‘एक्स्पोलर ग्याजेट’ नामक युट्युब च्यानल जन्माउने कारण बन्यो । युट्युबमा टेक्नोलोजी, एक्सेसरिज तथा गेमका आधारित भिडियो अपलोड गरेर पैसा कमाउने आइडिया स्वरूप उनले उक्त च्यानल खोलेका हुन् । ‘सन् २०१२ को २६ जुलाईदेखि युट्युब च्यानल सुरु गरे,’ यादवले भने, ‘युट्युब च्यानल, फेसबुक, ट्विटर एकाउन्टदेखि बैंक एकाउन्टसम्म भेरिफिकेसन गर्न दुई महिना लाग्यो ।’ सबै तयारी पूरा भएपछि सन् २०१२ को जुलाईमा पहिलो पटक उनले आमा रञ्जना यादवले बोकिरहेको सामसुङ ग्यालेक्सी एस मोबाइलसम्बन्धी भिडियो ‘हाउ टु रुट ग्यालेक्सी एस’ तयार पारेर अपलोड गरे ।

 

घरमा रहेको सानो डिजिटल क्यामेराको सहायताले तयार पारिएको उक्त भिडियोमा १० हजार भ्युअर्स आएपछि उनको उत्साह थपियो । त्यही भिडियोबाट सुरु भएको उनको युट्युब च्यानल ‘एक्सपोलर ग्याजेट’ चार वर्षको अवधिमा टेक्नोलोजी, गेम तथा एक्सेसरिजमाथि बनाइएका झन्डै ६ सय भिडियो अपलोड भैसकेका छन् । लोभलाग्दो गरी भ्युअर्स बटुलिरहेको यो च्यानललाई ४ लाख २२ हजारभन्दा बढीले सब्स्क्राइब गरेका छन् । ‘मासिक डेढ लाखको हाराहारीमा पैसा पनि आउन थालेको छ,’ प्रभात भन्छन्, ‘आफ्नै कोठाबाट काम थालिएको हो अहिले छुट्टै अफिस सञ्चालनमा छ ।’ यतिमात्र होइन, फोब्र्सले त नेपालमा युट्युबले ‘सिल्भर प्ले बट्न’ दिएको एक मात्र नेपाली युट्युब च्यानलका रूपमा ‘एक्स्पोलर ग्याजेट’ नाम उल्लेख गरेको छ । युट्युबले यो बट्न जेन्युइन कन्टेन्ट अपलोड गर्ने १ लाखभन्दा बढी सब्स्क्राइब भएका युट्युब च्यानललाई मात्र प्रदान गर्छ ।

 

चार वर्षमा भिडियोहरूका भ्युअर्स, लोकप्रियता र आम्दानीबाट पुलकित छन् प्रभात । सबैभन्दा महत्वपूर्ण पक्ष त के भने प्रभात एक्लैले कोठाबाट सुरु गरेको यो यात्रा क्रमश: व्यवसायिक बन्दै गएको छ । उनी अहिले एक्लै छैनन्, उनको ६ जनाको टिम पनि छ जसले गर्दा भिडियो कन्टेन्टको गुणस्तरीयतामा सुधार आइरहेको छ । उनको टिममा रहेकामध्ये सोहिल श्रेष्ठ (उनका क्लासमेट) दुई महिनापछि जोडिएका हुन्, जसले आईओएससम्बन्धी भिडियो कन्टेन्ट निर्माण गर्छन् । ‘उसलाई आईफोनको आइओएसका बारेमा बढी जानकारी थियो,’ प्रभात सम्झन्छन्, ‘मलाई एन्ड्रोएडका बारेमा, उसलाई टिममा ल्याएपछि हाम्रो गति अझ तीव्र भयो ।’ डेढ वर्षपछि उनको टिममा जोडिन आइपुगे सफल अधिकारी । एप्ससम्बन्धी राम्रो जानकारी राख्ने अधिकारी एप्सकै एनालाइसिस गर्छन् र भिडियो म्यागजिनहरू तयार पार्छन् । युट्युबमा भिडियो म्यागजिनका लागि चाहिने बोल्ड भ्वाइस दिने काम भने आयुषध्वज विष्टले गरिरहेका छन्, जो तीन वर्षअघि एक्स्पोलर ग्याजेटको टिममा प्रवेश भएका हुन् ।

 

गेमको लोकप्रियताले पनि प्रभातलाई तानिरहेको थियो । आफ्नो च्यानलमा गेमिङ भिडियोहरू अपलोड गर्न सके राम्रो भ्युअर्स प्राप्त गर्न सकिने देखेपछि उनले राम्रो अंग्रेजी तथा इनरजेटिक भ्वाइस भएको अनि गेमसम्बन्धी जानकार व्यक्ति खोज्दै थिए, त्यत्तिकैमा एक वर्षअघि भेटिए समानध्वज विष्ट । उनले नै एक्स्पोलर ग्याजेट च्यानलका लागि पहिलो गेमिङ भिडियो बनाएका थिए । एक वर्षअघि नै प्रभातको टिममा क्यामेरा र कन्टेन्ट क्रिएटरको भूमिकामा विनोद गौतम प्रवेश गरे ।

 

अहिले प्रभातको कप्तानीमा सोहिल, सफल, आयुषध्वज, समानध्वज र विनोद गरी ६ जनाको टिम भिडियो मेकिङमा व्यस्त छ । युट्युबबाट मात्र मासिक डेढ लाखसम्म आम्दानी गर्ने उनीहरूले स्पोन्सरबाट पनि आम्दानी गरिरहेका छन् । उनीहरू महिनामा १५ देखि २० वटा भिडियो आफ्नो च्यानलमा अपलोड गर्छन् । सन् २०१५ मा इन्क म्यागजिनले टेक्नोलोजीसँग सम्बन्धित विश्वभरका ३० वटा युट्युब च्यानलको सूची प्रकाशित गरेको थियो, जसमा ‘एक्स्पोलर ग्याजेट’ १५ औं स्थानमा पर्न सफल भयो । त्यही ग्लोबल म्यागजिनको सूचीका आधारमा फोब्र्सले प्रभातलाई आफ्नो च्यानलका विषयमा लेखेर पठाउन इमेल गर्‍यो । आफ्नो च्यानलका बारेमा जानकारी उपलब्ध गराएपछि उनलाई फोब्र्सले मिडिया मार्केटिङ एन्ड एड्भरटाइजिङ क्याटोगरीअन्तर्गत ३० वर्षमुनिका ३० प्रभावशाली युवाको सूचीमा समावेश गरेको हो ।

 

नवीन प्रविधिमा ढिलो पहुँच, विरलै हुने टेक्नोइभेन्टजस्ता समस्याका बाबजुद प्रभातले टेक्नोलोजीसँग सम्बन्धित इन्टरनेटको दुनियाँमा न्युमरस अपरच्युनिटी देखेका छन् । यादव भन्छन्– ‘अनलाइनमा धेरै पोसिबिलिटिज छन् । टिभीको भन्दा युट्युब विज्ञापनको प्रभावकारिकता बढी भएकाले मार्केट विल्ट हुनेमा आशावादी छु ।’ प्रभात अहिले नेपालबाट ग्लोबल कन्टेन्ट उत्पादन गर्न सके विदेशका ठूला ब्रान्डको विज्ञापन तानेर निकै राम्रो आम्दानी गर्न सकिने सम्भावनामा कार्यरत छन् ।

 

डिजिटलका दुरदर्शी 

अमेरिकाको वासिङ्गटन डिसी १८१८ स्ट्रिटस्थित वल्र्ड बैंकको आलिसान भवन, जहाँ विश्वमा व्याप्त गरिबी निवारण एवं साझा समृद्धिको योजना बनाइन्छ । त्यही ठाउँमा तेस्रो विश्वको नेपालजस्तो मुलुकका एक तन्नेरी काम गर्छन् । त्यो पनि प्रमुख डिजिटल स्ट्राटेजिस्टजस्तो महत्वपूर्ण पदमा । ती नेपाली युवा हुन्— महोत्तरीका २९ वर्षीय रविकुमार नेपाल ।

 

उनले वल्र्ड बैंकमा जागिर गर्न थालेको ६ वर्ष भैसकेको छ । अघिल्लो साता फोब्र्सद्वारा जारीे एसियाका प्रभावशाली युवाहरूको सोसल इन्टरप्रेनर क्याटागोरीअन्तर्गत ३० वर्षमुनिका ३० जनाको सूचीमा परेपछि रवि चर्चामा छन् । उनी फोब्र्समा एसियाका प्रभावशाली युवाको सूचीमा समावेश हुनु र चर्चामा आउनुको कारण वल्र्ड बैंकको आकर्षक जागिर मात्र होइन । त्यसको कारण त उनले अमेरिकामा रहेर पनि नेपालमा डिजिटल साक्षरता बढाउन गरेको अनुकरणीय प्रयास एवं भूकम्पपछि २५ वटा विद्यालयको पुन: निर्माणमा खेलेको भूमिका हो । रवि संलग्न संस्था कोड फर नेपालले डिजिटल साक्षरता बढाउने काममा सहयोग पुर्‍याउँदै आएको छ । त्यसका साथै रविले नेपाल म्याप डट्ओआरजी नामको छुट्टै वेबसाइट पनि सञ्चालनमा ल्याएका छन्, जसले नेपालका सबै ठाउँको तथ्यपरक जानकारी दिन्छ ।

 

रविलाई फोब्र्सको एसियाका प्रभावशाली युवाको सूचीमा सामेल गर्ने सहयोगी बनेको संस्था ‘कोड फर नेपाल’ स्थापना भएको धेरै भएको छैन् । रवि र उनकी श्रीमती मिया मेच्योल सन् २०१४ मा अमेरिकाबाट नेपाल घुम्न आएका थिए । डिजिटल टेक्नोलोजीकै क्षेत्रमा काम गर्ने रवि र उनका काठमाडौंका केही साथीले टेक्नोलोजीलाई जोडेर समाजमा चेतनामूलक शिक्षाका कार्यक्रम सञ्चालन गर्ने विषयमा छलफल चलाए । उक्त छलफलले नै कोड फर नेपालको जन्म गराएको हो । ‘सोही योजनाअनुसार हामीले त्यहाँ इभेन्ट गर्‍यौं र राम्रो उपलब्धि हुने देखेपछि संस्थागत रूपमा अघि बढेका हौं,’ साप्ताहिकसँगको अनलाइन कुराकानीमा नेपालले भने, ‘हाम्रो उद्देश्य डिजिटल साक्षरता बढाउनु हो।’

 

रवि डिजिटल साक्षरताबिना अब संसारलाई बुझ्न कठिन हुने दाबी गर्छन् । उनी भन्छन्, ‘जसरी पहिले नेपालीहरू अंग्रेजी भाषा नजानी विश्व बुझ्न सकिँदैन भन्थे, अहिले त्यसको ठीक उल्टो भएको छ । अब डिजिटल साक्षरताबिना संसार बुझ्न असम्भव छ ।’ कोड फर नेपालको कोर समूहमा रहेर नेपालमा डिजिटल साक्षरता बढाउने अभियानमा उनलाई श्रीमती मिया मेच्योल, रोशन घिमिरे, अस्मिता गौचन, निकेस बलामी, अमृत चौधरी तथा प्रसिसराज भण्डारीले सघाइरहेका छन् ।

 

यसबाहेक यो अभियानमा संसारभरबाट थुप्रैले स्वयंसेवकका रूपमा काम गर्दै आएका छन् । ‘यो टोटल्ली भोलेन्टियर्स काम हो । हामी जसले सक्छांै ५०/१०० डलर इन्भेस्ट गर्छौं,’ रवि भन्छन्, ‘हाम्रा मेम्बरहरू विभिन्न देशमा हुनुहुन्छ, अमेरिकाकै विभिन्न स्टेटमा हुनुहुन्छ । हामी प्रत्येक दिनजसो इमेल, इन्टरनेट तथा सामाजिक सञ्जालको माध्यमबाट छलफल गरिरहेका हुन्छौं ।’ रविका अनुसार उनीहरूको एउटै उद्देश्य छ— डिजिटल एजुकेसनमा नेपालीको सहज पहुँच स्थापित गर्ने । त्यसो त रविले सामाजिक कार्यमा हात हालेको यो पहिलो अवसर होइन । यसअघि उनले साथीहरूसँग मिलेर सन् २००८ मै ग्रिन विभर नामको संस्था स्थापना गरेका थिए, जुन संस्थाले कलेजमा फेला पर्ने कोकाकोला तथा बियरका बोतलहरू रि–साइकल गरी बेचेर ‘ग्रास रुट मुभमेन्ट इन नेपाल’ अभियान चलायो ।

 

महोत्तरीको सामान्य किसान परिवारमा जन्मिएका २९ वर्षीय रविको नेपालदेखि अमेरिका हुँदै वल्र्ड बैंक र फोब्र्ससम्मको यात्रा त्यति सहज छैन । रविकी आमाको सपना उनलाई डाक्टर बनाउने थियो । त्यही सपना साकार गर्न रवि एसएलसी सकेपछि सिद्धार्थ सदन शिशु स्कुल जनकपुरबाट काठमाडौं आए । काठमाडौंको राई स्कुलबाट प्लस टु सके । त्यसपछि सुरु भयो उनको डाक्टरी पढ्ने चक्कर । डाक्टर बन्न उनी काठमाडौंका विभिन्न कन्सल्टेन्सी धाए । ‘नेपालमा नभए बाहिर गएर भए पनि डाक्टर पढ्न दबाब थियो,’ उनले भने । यतिकैमा सन् २००६ मा एक व्यक्ति उनको सम्पर्कमा आए । सबै कागजात र पैसा लिएपछि टुरिस्ट भिसामा उनलाई ती ठगले एमबीबीएस पढ्न फिलिपिन्स पठाइदिए । एमबीबीएस पढ्ने सपना बोकेर फिलिपिन्स हान्निएका रवि त्यहाँ टुरिस्ट भिसामा पढ्न नपाइने जानकारी पाएपछि छाँगाबाट खसेजस्तै भए ।

 

ठगीमा परी फिलिपिन्सबाट फर्किएपछि त्रिचन्द्रमा साइन्स पढ्न जाँदा उनी अर्को पटक ठगिए । भर्नाको समय सकिइसकेको थियो । म भर्ना गराइदिन्छु भन्दै अर्को एक ठगले उनको पैसा झ्वाम पार्‍यो । ती दुई घटनाबाट विरक्तिएका रविले अन्तत: पढ्नका लागि जसरी पनि विदेश जाने मुड बनाए । ‘युरोपियन कन्ट्रीहरूमा एप्लाइ गर्न खोजें, तर भएन,’ उनले भने, ‘सन् २००७ को जनवरीमा अमेरिकामा पोलिटिकल साइन्स एन्ड मिडिया स्टडिज पढ्ने अवसर प्राप्त भयो ।’

 

नेपालबाट अमेरिका पुगेपछि उनका संघर्षका दिनहरू सुरु भए । सन् २०१० मा उनले बुयना भिस्टा युनिभर्सिटीबाट साढे तीन वर्षमा ब्याचलर सके । ‘सुरुमा कलेजमै भाँडा माझ्ने काम गरें । पछि मेरो काम देखेर क्यासियरमा बढुवा गरियो,’ उनले भने, ‘बिस्तारै एकेडेमिक एसिस्टेन्ट बनाए । त्यसपछि होस्टल मास्टर भएपछि जीवन सहज हुन थाल्यो ।’ रविले २००९ मा वासिङ्टनमा बसेर थप अध्ययन गर्ने स्कलरसिप प्राप्त गरे । त्यसपछि भने बल्ल उनलाई अमेरिका पुगेजस्तो लाग्यो । रविले सन् २०१५ मा आनेवर्ग–अक्सफोर्ड समर इन्स्टि्च्युटबाट ‘इन्टरनेट गभर्नेन्स एन्ड मिडिया पोलिसी’ विषयको अध्ययन पूरा गरे । त्यस्तै सन् २०१२ मा कोलबिया युनिभर्सिटीबाट एमएस सके ।
सन् २०१३ मा रविले अझ राम्रो अवसरका रूपमा वल्र्ड बंैकमा जागिर पाए । अहिले उनी वल्र्ड बैंकको प्रमुख डिजिटल स्ट्राटेजिस्टका रूपमा कार्यरत छन् । भुइँचालोपछि उनले टाइम म्यागजिनका लागि नेपालको पर्यटन प्रवद्र्धन हुने लेख लेखेका थिए ।

प्रकाशित :वैशाख १०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्