पोखरामा कविता कन्सर्ट

- राजाराम पौडेल

वैशाख ९, २०७४-  

बिस्तारै कविता पनि व्यवसायिक धारमा अघि बढ्न खोज्दैछ । अब टिकट काटेर पनि कविता सुनाउन सकिन्छ । पैसा तिरेर पाण्डुलिपि किन्ने जमाना छ । सेलिब्रेटी बन्दै गएका कविहरूको कविता वाचन एवं कवितालाई गीतमार्फत गाउँदै यो साता पोखरामा नयाँ स्वाद चखाइयो । कवि र कवितालाई व्यवसायिकता दिने लक्ष्यका साथ आयोजित कन्सर्टमा दर्शकको राम्रो साथ रह्यो । कवि उपेन्द्र सुब्बाले सायद, ख्यालिमा हारेको धुव्र र मेरी आमा शीर्षकका कवितामार्फत कविताप्रेमीहरूको ध्यान खिचे भने कवि मोमिला जोशीले प्रेम पीडा प्यास पानी, तिमी र म तथा भीमसेन थापाको सुसाइड नोटमार्फत रौनक थपिन् । त्यसपछि विप्लव ढकालले दोभोनमा भेट भएपछि, भ्यागुताको बिहे, कोटको टाँक र सिलिकन सुन्दरी शीर्षकका कविता सुनाए ।

 

त्यसपछि सुरु भयो कविता कन्सर्टमा गायिका इतु जोजिजूले आदिकवि भानुभक्त आचार्यको घाँसी कवितालाई गीतमा ढालेर सुनाइन् । गायक कर्ण दासले लक्ष्मीप्रसाद देवकोटाको यात्री कविता सुनाए । उनी कवि तीर्थ श्रेष्ठको आमा कविता सुनाउँदा निकै भावुक भएका थिए । गायिक लोचन भट्टराइले कवि शिरोमणि लेखनाथ पौड्यालको कविता पिँजडाको सुगा गाउँदै पोखरेलीहरूको ध्यान आकर्षित गरिन् । लगत्तै उनले भीमनिधि तिवारीको दागबत्ती कविता सुनाइन्। पब्लिक इभेन्टको आयोजना तथा लायन्स क्लब अफ पोखरा टुरिज्म सिटीको सहकार्यमा उक्त कन्सर्टको आयोजना भएको हो । कविता सुन्न ५ सय तथा १ हजार रुपैयाँको टिकट काटेर कविताप्रेमीहरू बाजेको सेकुवा पार्टी प्यालेस पुगेका थिए ।

प्रकाशित :वैशाख ९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्