धेरैको रोजाइमा परेका महँगा मोबाइल

- युवराज गौतम

वैशाख ७, २०७४- 

नेपालमा करिब ५० ब्रान्डका विभिन्न मोडलका मोबाइल बिक्री हुन्छन् । नेपाली बजारमा ९ सयदेखि १ लाख ५० हजार रुपैयाँसम्मका सेट उपलब्ध छन् । धेरैजसो नेपाली प्रयोगकर्ताको रोजाइमा १० हजारदेखि ३० हजार रुपैयाँसम्मका स्मार्टफोन पर्ने गरेको पाइन्छ । धेरै फिचर भएको, फास्ट इन्टरनेट डाटा चल्ने, सफा र उत्कृष्ट तस्बिर खिच्न सक्ने, बढी क्षमताको र्‍याम भएको स्मार्टफोन खोजी गर्नेहरू धेरै हुन्छन् । ५० हजार रुपैयाँभन्दा माथिका स्मार्टफोन वा ग्याजेट खरिद गर्ने प्रयोगकर्ताहरूको भीड पनि उस्तै देखिन्छ । नेपाली प्रयोगकर्ताको रोजाइमा परेका केही महँगा स्मार्टफोन :

 

सामसङ ग्यालेक्सी एस सेभेन

यो स्मार्टफोनको मूल्य ७७ हजार ९ सय रुपैयाँ छ । यो सेट आकर्षक र हलुका छ । १२ मेगा पिक्सल रियर क्यामेरा, एलइडी फ्लास तथा ५ एमपी फ्रन्ट फेसिङ क्यामेरा युक्त यो फोनबाट फोरजी इन्टरनेट सुविधा प्राप्त गर्न सकिन्छ । यसमा ५ दशमलव १ इन्च स्क्रिन, ४ जीबी र्‍याम तथा ३२ जीबी इन्टरनल मेमोरी छ । फिंगर प्रिन्ट सेन्सर एवं वायरलेन्स चार्जिङ सुविधा सामसङ ग्यालेक्सी एस सेभेनको अर्को विशेषता हो ।

 

एस सेभन एज

सामसङ ब्रान्डको यो फोनको मूल्य ८८ हजार ९ सय रुपैयाँ छ । यसमा ५ दशमलव ५ इन्च स्क्रिन, ४ जीबी र्‍याम, ३२ जिबी इन्टरनल मेमोरी छ । फ्रिंगर प्रिन्ट सेन्सर एवं वायरलेस चार्जिङ यसको अर्को विशेषता हो । यो मोबाइलमा वाइफाइ, ब्लुटुथ तथा फोरजी सुविधासमेत उपलब्ध छ । १२ एमपी रियर क्यामेरा, एलइडी फ्लास तथा ५ एमपी फ्रन्ट फेसिङ क्यामेरा पनि यसका विशेषता हुन् ।

 

नोट फाइभ

१६ एमपी रियर क्यामेरा, एलइडी फ्लास तथा ५ एमपी फ्रन्ट फेसिङ क्यामेरा भएको ग्यालेक्सी नोट फाइभ धेरैको खोजीमा परेको सेट हो । फिंगर प्रिन्ट सेन्सर तथा वायरलेस चार्जिङ सुविधायुक्त यो सेटको मूल्य ७६ हजार ९ सय रुपैयाँ छ । यसमा ५ दशमलव ७ इन्च स्क्रिन, ४ जीबी र्‍याम तथा ३२ जिबी इन्टरनल मेमोरी छ । वाइफाइ, ब्लुटुथ तथा थ्रीजी चल्नुका साथै डबल सिम राख्न मिल्नु नोट फाइभका थप विशेषता हुन् ।

 

आईफोन सेभेन प्लस

नेपालमा आईफोन सेभेन प्लसका तीनवटा मोडल उपलब्ध छन् । वाइफाइ, ब्लुटुथ, थ्रीजी– फोरजी डाटा चलाउन मिल्ने, ५ दशमलव ५ इन्च स्क्रिनको यो फोनमा १२ मेगापिक्सल क्यामेरा तथा ७ मेगापिक्सल फ्रन्ट क्यामेरा छ । यो मोबाइलको मूल्य १ लाख ३६ हजार रुपैयाँ पर्छ । यसमा थ्री जीबी र्‍याम तथा २ सय ५६ जीबी इन्टरनल स्टोर छ । आईफोन सेभेनका अन्य मोडलको मूल्य १ लाख २२ हजार रुपैयाँ तथा १ लाख ८ हजार रुपैयाँ छ ।

 

सेभेन

आईफोन सेभेनका फरक–फरक मोडल उपलब्ध छन् । त्यसमध्ये ४ दशमलव ७ इन्च स्क्रिन, १२ मेगा पिक्सल रियर क्यामेरा, ७ मेगापिक्सल फ्रन्ट फेसिङ क्यामेरायुक्त आईफोन सेभनको मूल्य १ लाख १९ हजार ५ सय रुपैयाँ छ । वाइफाइ ब्लुटुथ, थ्रीजी तथा फोरजी डाटा चलाउन मिल्ने आईफोन सेभेनमा दुई जीबी र्‍यामका साथै २ सय ५६ जिबी इन्टरनल स्टोर क्षमता छ । ३२ जीबी तथा १ सय २८ जीबी इन्टरनल स्टोरेज क्षमता भएको यो मोबाइलको मूल्य क्रमश ९१ हजार तथा १ लाख ५ हजार ५ सय रुपैयाँ पर्छ ।

 

सिक्स ए प्लस

धेरै सौखिन प्रयोगकर्ताले यो मोबाइल रुचाउने गरेका छन् । क्षमता अनुसार मूल्य निर्धारण गरिएका यो मोडलका सेट ५ दशमलव ५ इन्च स्क्रिन, १२ मेगापिक्सलको रियर क्यामेरा तथा ५ मेगापिक्सलको फ्रन्ट फेसिङ क्यामेराका साथै वाइफाइ ब्लुटुथ, थ्रीजी, फोरजी डाटा चलाउन मिल्ने सुविधायुक्त छन् । यसका मोडलहरूअनुसार मूल्य पनि फरक–फरक छ, जसमध्ये इन्टरनल स्टोर क्षमता १६ जीबी तथा ६४ जीबी भएका मोबाइलको मूल्य क्रमश ९२ हजार रुपैयाँ तथा १ लाख १८ हजार रुपैयाँ छ ।

 

सिक्स

४ दशमलव ७ इन्च स्क्रिन साइजको आईफोन सिक्सको मूल्य ८२ हजार रुपैयाँ छ । यो सेटमा ८ मेगापिक्सल रियर क्यामेरा तथा १ दशमलव २ मेगापिक्सेल फ्रन्ट फेसिङ क्यामेरा जडान गरिएको छ । वाइफाइ र ब्लुटुथका साथ थ्रीजी, फोरजी चलाउन मिल्ने यो सेटमा १६ जीबी र्‍याम तथा १ सय २८ जीबी इन्टनल स्टोर क्षमता छ भने ६४ जीबी इन्टरनल स्टोर क्षमता भएको यही मोडलको मूल्य ७२ हजार रुपैयाँ छ ।

 

शाओमी एमआई मिक्स

शाओमी एमआई मिक्स नेपालीमा बजारमा महँगो स्मार्टफोनका रूपमा परिचित छ । यसमा फ्रन्ट क्यामेरा ५ मेगापिक्सल, मेन क्यामेरा १६ मेगापिक्सलका साथै र्‍याम ६ जीबीको छ । ६ दशमलव ४ इन्च स्क्रिन साइजको यो सेटमा ४४ मिलिएम्पियरको ब्याट्री जडान गरिएको छ । २ सय ५६ जीबी स्टोरेज क्षमताको यो सेटको मूल्य ९४ हजार ९ सय ९९ रुपैयाँ पर्छ ।

 

हुवावे पी–९

र्‍याम तीन जीबी, स्टोरेज ३२ जीबी तथा स्क्रिन ५ दशमलव २ इन्चको यो सेटमा कर्प स्क्रिन सुविधा छ । ३ हजार मिलिएम्पियरको ब्याट्री जडान गरिएको यो फोनमा फ्रन्ट क्यामेरा ८ मेगापीक्सल तथा मेन क्यामेरा १२ मेगापिक्सलका साथ डुएल टोन एलइडी फ्ल्यासको सुविधा छ । नेपाली बजारमा यसको मूल्य ५९ हजार ९ सय ९९ पर्छ ।

 

मेट एट

६ इन्च स्क्रिनको यो मोबाइलमा ४ जिबी र्‍याम, १६ जिबी इन्टरनल स्टोरेज, १६ मेगापिक्सल रियर क्यामेरा तथा ८ मेगापिक्सल फ्रन्ट क्यामेराको सुविधा छ । वाइफाइ, ब्लुटुथ, थ्रीजी तथा फोर जी डाटा चलाउन मिल्ने फिङ्गर प्रिन्ट सेन्सर भएको यो मोबाइलको मूल्य ७१ हजार रुपैयाँ छ । यसको ब्याट्री ४ हजार मिलिएम्पियरको हुन्छ ।

 

सोनी एक्सपेरिया जेड फाइभ प्रिमियम

एक्सपेरिया जेड फाइभ डुअल तथा एक्सपेरिया जेड फाइभ प्रिमियम नेपाली बजारमा पाइने सोनी ब्रान्डका सबैभन्दा महँगा मोबाइल हुन् । यसमध्ये ५ दशमलव ५ इन्च स्क्रिन साइजको प्रिमियममा ३ जीबी र्‍याम तथा ३२ जिबी इन्टरनल स्टोरेज क्षमता छ । यसमा २३ मेगा पिक्सल क्यामेरा तथा ५ दशमलव १ मेगा पिक्सल फ्रन्ट फेसिङ क्यामेरा जडान गरिएको छ । यो मोबाइलको मूल्य ८७ हजार ५ सय रुपैयाँ पर्छ ।

 

नोकिया लुमिया १५२०

नोकियाको लुमिया १५२० मा १२ घण्टा ३१ मिनेटको भिडियो स्टोर गर्न सकिने सुविधा छ । २ जीबी र्‍याम, १६ जिबी इन्टरनल स्टोरेज, २० मेगापिक्सल रिअर क्यामेरा तथा एचडी १ दशमलव २ मेगापिक्सलको फ्रन्ट फेसिङ क्यामेरा यसका विशेषता हुन् । ६ इन्च स्क्रिन साइजको यो मोबाइलको मूल्य ७३ हजार ६ सय ३० रुपैयाँ छ ।

 

वानप्लस ३ टी

आई हब नामक कम्पनीले एक महिना अघिदेखि मात्र आफ्ना नयाँ मोडलका स्मार्टफोन नेपाली बजारमा उपलब्ध गराउन थालेको हो । आई हबको वानप्लस–३ टीमा ३ हजार ४ सय मिलिएम्पियरको ब्याट्री जडान गरिएको छ । ८ एमपीको फ्रन्ट क्यामेरा युक्त यो सेटमा सेल्फी खिच्नेहरूका निम्ति १६ मेगापिक्सलको फ्रन्ट क्यामेरा छ । यसको मूल्य ५४ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ जसमा एक वर्षको वारेन्टी पाइन्छ ।

प्रकाशित :वैशाख ७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्