तमासा जारी रहनेछ

- किशोर नेपाल

वैशाख ७, २०७४- 

सबैमा शुभकामना विक्रम संवत् २०७४ सालको । समयले आफ्नो पन्ना पल्टायो । २०७३ साल सकियो । यो सालमा भएका घटनाक्रम इतिहासको भागमा पन्छियो । हिजो जे भयो भयो, राम्रो भएको थियो अथवा नराम्रो भएको थियो, त्यो अब फेरि दोहोरिँदैन । नयाँको मज्जा नै यही हो, पुरानोको विस्मात गरिरहनु पर्दैन । मानिस जब अतीतमा रुमल्लिइरहन्छ र वर्तमानमा रमाउन सक्दैन तब ऊ बूढो हुन्छ । बूढो हुनु उमेर होइन, भावना हो । वर्तमानसँग प्रवाहित भैरहने जोस जसमा कायम रहन्छ ऊ युवक वा युवती नै रहन्छ । उसको अनुहारलाई अस्वाभाविक रूपले उमेरले छोपेको हुँदैन । घण्टा–घण्टामा बज्ने घण्टाघरको घडीसँगै मानिसको मन र मुटु संगीतमय हुन्छ ।

 

मूल्यांकनमा २०७३ साल कतिपय क्षेत्रमा असफल समय रह्यो । असफलताको एउटा क्षेत्र थियो— राजनीति । राजनीतिले मानिसका मनहरू जोड्न सकेन । आर्थिक क्षेत्रमा पनि त्यति उल्लेखनीय उपलब्धि केही भएनन् । कागजमा छापिने तथ्यांकमा विकासका कुरा निकै अघि देखिए पनि जनताले खाना खाने थालमा धेरै कम विकास देखिए । कसैको भागमा दाल छैन । कसैको थालमा तरकारी छैन । कसैको थालमा पेट भरिने हिसाबले भात नै राखिएको छैन । रेडियोले भनेजस्तो वा टेलिभिजनले देखाएजस्तो फलफूल, दूध–दही र माछा–मासुसहितको सन्तुलित भोजन कति नेपालीले खान पाए होलान् ? यो अनुमान गर्न नसकिने विषय होइन ।

 

सफल पनि भएका छन् धेरै विषय, तर त्यो सफलता पर्याप्त छैन । कलाकारिताको क्षेत्रमा केही विकास भएका छन् । नाटक अगाडि बढेको छ । राम्रा चलचित्र बन्न थालेका छन् । पठनीय पुस्तकहरू लेखिँदै छन् । राम्रा रेस्टुराँहरू खुल्दैछन् । कफी संस्कृतिको निर्माण हुँदैछ, तर काठमाडौंमा रंगमन्चको संख्या आधा दर्जन नाघेको छैन । त्यतिमा कति विकास हुने ? मण्डला, शिल्पी, सर्वनाम र काठमाडौं मलमा कति अटाउँछन् दर्शक ? तैपनि हामी नाटकमा पुष्पित र पल्लवित छौं । वर्षमा दुई वा तीन राम्रा चलचित्र बन्छन् । तीमध्ये प्राय: सबै करोडको क्लबमा उक्लिन्छन् । पक्कै पनि खुसीको कुरा हो । थोरै गुनासो कि यति थोरै खुसी कति बाँढ्नु र कति साँच्नु ?

 

त्यस्तै पुस्तककै कुरा गरौं । एउटा सूचनाअनुसार दसौं हजार पुस्तक प्रकाशित भएका छन् गएको वर्ष । कुरा ठूलो हो । छापिएका १० हजारमध्ये २० वटा पढ्न लायक छन् । यो टिप्पणी ती दसौं हजार छापिएका पुस्तक पढेर गरिएको होइन । हाम्रो देशमा सामान्य लेखपढ गर्नेदेखि उच्च तहको शिक्षा आर्जन गर्नेसम्म सबैको हार्दिक इच्छा हुन्छ पुस्तक लेख्ने । भक्तिरचनादेखि गीत गंंगोत्रीसम्म देशभरिमा ५–७ सय पुस्तक त हरेक दिन छापिन्छन् । प्रत्येक घर काव्यालय र कथालयजस्ता छन् । फेसबुकमा साथीभाइले लेखेको स्टाटस पढेर तुरुक्क आँसु चुहाउने व्यक्तित्वहरूको उपस्थिति प्रत्येक घरमा छ । भावनाको मार्मिक अभिव्यक्तिमा जित्न हामीलाई कसैले सक्दैन ।

 

मानिसको चित्त हम्मेसि बुझाउन सकिँदैन । हरेक मानिसको चित्तको आकार फरक–फरक छ । कसैको चित्तको आकार ठूलो छ त कसैको सानो छ । हाम्रो समाजमा हरेक कुरामा चित्त दुखाएर बस्ने पितुर्केहरूको कमी कहिल्यै भएन । पितुर्केहरू जुनसुकै समाजमा पनि हुन्छन् । हाम्रो समाजमा अलि धेरै छन् । हरेक मानिसको हरेक मानिससँग गुनासो छ । हरेक मानिसको हरेक मानिससँग मत बाझिएको छ । कसैले राम्रो गरेको खबर पाउनासाथ त्यसको खण्डन गरिहाल्ने चलन छ हामीकहाँ । कोही पनि अरू कसैलाई आफूभन्दा जान्ने मान्न तयार हुँदैन । चेतनशील भनिने मानिसहरूमध्ये कोही पनि नायकको भूमिकामा सुहाउँदैनन् । सबै खलनायककै भूमिकामा सुहाउँछन् ।

 

अनेकन् घटनाक्रमसहित २०७३ साल सकियो । केही दिनभित्र बितेको सालका ह्यांगओभरहरू पनि सकिनेछन्, तर केही चोट यस्ता छन् जो छिटै र सजिलै निको हुँदैनन । भुइँचालोको सम्झना र पीडा एउटा त्यस्तै चोट हो, जसको निदान अहिलेसम्म हुन सकेको छैन । सरकारहरू आए, दलहरू मिले, संविधान बनाए तर भुइँचालोपीडितको घाउमा मल्हमपट्टी लगाउन सकेनन् । त्यसो त उनीहरू आफंैले बनाएको संविधानको कार्यान्वयन गर्नसमेत असफल भएका छन् ।

 

संविधानको कार्यान्वयन गर्ने सिलसिलामा ३० दिनपछि स्थानीय तहको निर्वाचन हुने घोषणा गरिएको छ । त्यो चुनाव हुन्छ कि हुँदैन ? अहिलेसम्म सरकारले इदमित्थ भन्न सकेको छैन । मधेसका समस्या समाधान भएका छैनन् । जताततै असन्तोष व्याप्त छ । तैपनि हामी भन्छौं— चुनावमा निर्धक्क भाग लिनुहोस् । आ–आफ्ना गाउँपालिका र नगरपालिकाका पदाधिकारीहरू चुन्नुहोस् । लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने र आफ्ना अधिकार प्राप्त गर्ने हो भने चुनावभन्दा ठूलो संघर्ष अर्को छैन । अरू तमासा त यो वर्ष पनि जारी रहनेछ ।

प्रकाशित :वैशाख ७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्