साहित्यमा देखियो नयाँ उत्साह

- नरेन्द्र रौले

वैशाख ५, २०७४-  

वर्ष २०७३ मा नेपाली साहित्यका थुप्रै कृति बजारमा आए । तीमध्ये उपन्यास बढी थिए । फाइन प्रिन्टले प्रकाशन गरेका छाउघर, मनसुन, जुइनो, सेयरबाट करोडपति, नेलकटर (अनुवाद), मेरो भूमि मेरो जनता (अनुवाद), आगो निभेको छैन (आत्मकथा) मध्ये तीनवटा उपन्यास थिए । फाइन प्रिन्टका अजित बरालका अनुसार अहिले नेपालमा सबैभन्दा बढी आत्मकथा र दोस्रोमा उपन्यास बिक्री हुन्छ । 

 

‘पुस्तक कसले लेखेको हो भन्नेमा पनि भर पर्छ ।’ बरालका अनुसार– हरिवंश आचार्यको आत्मकथापछि दोस्रो सबैभन्दा बढी बिक्री हुने कृति सुबिनको समर लभ हो । आत्मकथा प्रसिद्ध व्यक्तिको छापिने भएर बढी बिक्छ । यद्यपि आत्मकथा कमै छापिन्छन् । बरालका अनुसार सुबिन भट्टराईको मनसुन ३५ हजार प्रतिभन्दा बढी बिक्री भएको छ । तुलनात्मक रूपमा फाइन प्रिन्टबाट ०७३ मा कमै पुस्तक प्रकाशन भए । गत वर्ष प्रकाशनमा आउन नसकेका पुस्तकहरू ०७४ मा सार्वजनिक गर्ने योजनामा छ फाइन प्रिन्ट । कम्तीमा १५/१६ वटा पुस्तक प्रकाशन गर्ने तयारी भैरहेको बताउँदै त्यसमा उपन्यास नै बढी हुने बरालले जानकारी दिए । 

 

बुक हिल प्रकाशनले ०७३ मा आख्यान विधाका पुस्तक बढी प्रकाशन गर्‍यो । प्रकाशक भूपेन्द्र खड्काका अनुसार उपन्यास नै बढी बिक्री हुन्छ । यद्यपि बुक हिलबाट कथा–संग्रह बढी सार्वजनिक भए । मदन पुरस्कार प्राप्त रामलाल जोशीको कथा–संग्रह ऐना सबैभन्दा बढी बिक्री भएको पुस्तक हो । ‘हामीले नभ्याएर कथा नै छाप्नुपरेको हो,’ उनले भने, ‘०७४ मा उपन्यासलाई नै प्राथमिकता दिए पनि निबन्ध, संस्मरण, कविता, अनुवाद, आत्मकथा सबै विधाका पुस्तक सार्वजनिक हुनेछन् ।’

 

एउटा प्रकाशकका रूपमा भूपेन्द्रलाई लेखनको धार कता गैरहेजस्तो लाग्छ ? ‘ठूलो परिमार्जन वा परिष्कार आइसकेको छैन । सस्तो लेखन चलिरहेको छ,’ भूपेन्द्र सुनाउँछन्, ‘पत्रकारिताको लेखन बढी हावी भैरहेको छ । सरल लेखन मन पराइएको छ ।’ यद्यपि सरल लेखनमा गम्भीरता नभएको र नेपालमा यतिबेला साहित्यिक लेखन भने कम भएको उनले बताए । प्रकाशकका रूपमा आफूकहाँ उपन्यास र कथाका पाण्डुलिपि बढी आउने खड्काको अनुभव छ । 

 

मदन पुरस्कार विजेता अमर न्यौपानेले ०७३ मा संस्मरण र उपन्यास विधा बढी पढे । किन उपन्यास नै बढी पढिन्छ ? ‘कविता सुन्न सकिन्छ, तर उपन्यास पढ्ने कुरा हो । कविता वाचन हुन्छ, सुन्न सकिन्छ ।’ अमर भन्छन्, ‘तर उपन्यास वाचन हुँदैन, यो एकान्तमा पढिने कुरा हो । नाटक मञ्चन हुन्छ, हेरिन्छ । उपन्यास डुबेर पढिने विधा भएकाले बढी पढिन्छ ।’ नयाँ–नयाँ लेखकहरू पनि उपन्यास लेख्न तम्सिएका छन्, लेखिरहेका छन्, प्रकाशित पनि भैरहेका छन् । जीवनी छापिने क्रम पनि बढिरहेको छ । उपन्यास र जीवनी किन बढी लेखिन्छ त ? अमर न्यौपानेको विचारमा ‘सक्नेले आफैं, नसक्ने घोष्ट राइटर राखेर पनि लेखाइरहेका छन्, त्यसैले ।’

 

प्रकाशकहरू धेरै आइरहेका छन् । यो लेखकहरूका लागि ठूलो अवसर हो । प्रकाशक धेरै आउँदा पुस्तक पनि धेरै छापिने वातावरण बन्छ । लेखक तथा प्रकाशकहरू व्यवसायिक हुनु जरुरी छ । लेखकहरू व्यवसायिक नहँुदा प्रकाशकहरू हराएर जान्छन् । लेखकहरू पनि ठूलो भीडबाट गुज्रिएपछि नै खारिन्छन् । यतिबेला लेखनको धार कता गैरहेको छ त ? ‘उत्कृष्ट साहित्य लेख्ने क्रममा छौं, नयाँ खालको लेखनमा गैसकेका छैनौं ।’ अमर भन्छन्, ‘बजारमा स्थापित पनि हुनु छ । केही लेखकले आफ्नै शैली भने बनाइसकेका छन् ।’ 

 

अहिले पुस्तक सार्वजनिक कार्यक्रमका पुराना शैलीहरू क्रमश: परिवर्तित हुँदैछन् । पुस्तक विमोचनमै कन्सर्टको आयोजना हुन थालेको छ । पछिल्लो समय बुकवर्म फाउन्डेसनले प्रकाशन गरेको फस्र्ट लभ तथा सायाको विमोचन होस् वा बुक हिलले सार्वजनिक गरेको पर्पला होस् सबैले फरक छाप छोडेका छन्। 

पाठकहरूले चाहेजस्तो पुस्तकको भने अझै अभाव छ । पुरानै धारमा लेखिएका पुस्तकको संख्या ठूलो भए पनि लेखकहरूले नयाँ स्वाद दिन सकेको पाइँदैन । स्थापित लेखकहरूले जे लेखे अझै त्यही पढ्नुपर्ने अवस्था छ । लेखनको दायरा अझै फराकिलो भैसकेको छैन । शरणार्थी, बसाइँ सराइ, मानब बेचबिखन, बालबालिका तथा द्वन्द्वका विषयमा गहिरो लेखन पढ्न पाइएको छैन । 

 

पोखरामा नेपाल लिटरेचर फेस्टिभल
वर्ष २०७३ मा अघिल्लो वर्षजस्तै थुपै्र साहित्यिक मेला एवं गतिविधिहरू सम्पन्न भए । पुस्तक पढ्ने संस्कृति बढेको बहस चुलिरहेकै बेला भएका यस्ता प्रदर्शनीले साहित्य अनुरागीहरूलाई एकै ठाउँमा जमघट हुने अवसर जुराए । राजधानीले मोफसललाई हेप्यो, ठाउँ दिएन भन्ने गुनासो धेरै सुनिन्थ्यो । अझै पनि सुनिन्छ । यसपालि देशमा तीनवटा साहित्य मेला सम्पन्न भए, सबै मोफसलमै । पोखरा, बनेपा र झापाका ती तीनवटै महोत्सवले स्थानीय पर्यटन, साहित्य तथा संगीतलाई महत्व दिएका थिए ।

 

साहित्यिक मेलाहरूले लेखक तथा पाठकहरूबीचको दूरी घटाउँछन् । पुस्तक पढिसकेपछि कतिपय पाठकमा लेखकहरूसँग भेट्ने हुटहुटी हुन्छ । नबुझेका कुरामा जिज्ञासा राख्ने, आफ्ना प्रिय लेखकसँग भेट्ने रहर पूरा गर्ने सबैभन्दा उपयुक्त थलो नै यस्तै साहित्यिक मेला हुन् । अर्कातिर लेखकहरूका लागि पाठकको मनोविज्ञान बुझ्ने अनि उनीहरूसँग अन्तक्र्रिया गर्ने राम्रो मौका पनि यही हो । नेपालको सबैभन्दा ठूलो साहित्य मेला हो– नेपाल लिटरेचर फेस्टिभल । बुकवर्म फाउन्डेसनले बर्सेनि आयोजना गर्दै आएको साहित्य मेलाको छैटौं संस्करण पोखरामा सम्पन्न भयो । फेस्टिभलका निर्देशक अजित बरालले प्रत्येक वर्षको यस्तो मेलालाई विशेष बनाउने योजना बनाएका छन् । ‘विदेशबाट नाम चलेका लेखकहरूलाई बोलाउने तथा सर्वसाधारणको उपस्थिति कसरी बढाउने भन्नेमा केन्द्रित छौं ।’ बरालले भने, ‘कसरी राम्रो गर्ने भन्ने कुरालाई लिएर आन्तरिक छलफलमा छौं ।’ 

 

‘हाम्रो देखेर अन्य सहरमा पनि क्रमश: साहित्यिक गतिविधि भैरहेका छन् ।’ बरालले थपे, ‘यो राम्रो कुरा हो । यस्ता गतिविधिहरू फैलँदै जानुपर्छ ।’ बरालका अनुसार विभिन्न ठाउँमा कार्यक्रम हुँदा स्थानीय साहित्यक गतिविधिलाई ऊर्जा मिल्छ । साहित्य मेलाबाट लेखकलाई के फाइदा हुन्छ ? ‘धेरै दृष्टिकोणले फाइदा हुन्छ । लेख्ने ट्रेन्ड थाह हुन्छ ।’ पाँच वर्षदेखि साहित्य मेलामा सहभागी भैरहेका लेखक सुबिन भट्टराई भन्छन् । ‘पाठक एवं प्रशंसकहरूसँग अन्तक्र्रिया गर्न पाइन्छ । प्रत्यक्ष संवाद गर्न पाउँदा पाठक–लेखक दुवैलाई आनन्द आउँछ ।’ सुबिनका अनुसार सिकारु लेखकहरू पुरानाहरूको अनुभव सुन्न चाहन्छन् । लेखकहरूबीचको सम्बन्ध पनि सुदृढ हुन्छ । त्यस्तै विदेशी लेखकहरूको अनुभब फरक हुन्छ । उनीहरूबाट नयाँ कुरा सिक्न सकिन्छ । 

 

बनेपामा साहित्य–उत्सव
काभ्रेको बनेपामा पहिलो पटक बृहत् साहित्य सम्मेलन–२०७३ सम्पन्न भयो । दुईदिने उक्त सम्मेलनले नेपाली साहित्यका विविध विधा, साहित्यिक पत्रकारिता, कला संस्कृति, गीतसंगीत आदि सेसनमा बहस चलाएको थियो । यो महोत्सवले अन्य साहित्य महोत्सवले नसमेटेको बालसाहित्यलाई पनि समेट्यो । 
यसअघिका सम्मेलनमा बालसाहित्य खासै बहस र छलफलको विषय बनेको थिएन । बनेपामा आयोजित सम्मेलनमा ‘नेपाली बालसाहित्यको प्रवृत्ति’ शीर्षकमा लेखकहरूले जमेर बहस गरे । बनेपामा आयोजित बृहत् साहित्य सम्मेलन–२०७३ पाइला फाउन्डेसनले पहिलो पटक आयोजना गरेको हो । स्थानीय स्तरमा यस्तो कार्यक्रम आयोजना हुनु सकारात्मक पक्ष हो । कार्यक्रमबाट उत्साहित सम्मेलनका संयोजक नरेन्द्रकुमार नगरकोटीले अर्को वर्ष पनि यस्तै सम्मेलन आयोजित गरिने जानकारी दिए । 

 

झापामा कला–साहित्य उत्सव
यस्तै रिडर्स क्लब झापाले तेस्रो कला–साहित्य उत्सव सम्पन्न गर्‍यो । महोत्सवमा साहित्यिक, प्राज्ञिक, कला, नाटक एवं सांस्कृतिक विषयमा अन्तक्र्रियात्मक छलफल गरियो । यसैगरी काठमाडौंको भृकुटीमण्डपमा चलेको अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीमा फिनिक्स बुकले सञ्चालन गरेको बहसमा महिला वक्ताको संख्या कम भएको भन्दै विरोध भएपछि आयोजकले माफी माग्दै महिला प्यानलिस्ट थपेका थिए । विभिन्न साहित्यिक मेलाहरूले लेखक, पाठक एवं समीक्षकलाई एउटै मञ्च प्रदान गरेर पुस्तकको बजार प्रवद्र्धन गर्दै आएको छ भने लेखकहरूलाई समाज, राजनीति, धर्म, संस्कृति, संगीत आदि विषयमा छलफल गर्ने अवसर प्रदान गरेको छ ।

 

नेपालगन्जमा साहित्य उत्सव
सिनेमा, साहित्य संस्कृति, खेल पर्यटन एकै पटक, एकै थलोमा भन्ने नारा दिएर चैत २५ देखि ३१ गतेसम्म नेपालगन्ज महोत्सव सम्पन्न भयो । उक्त महोत्सवमा राजनीति, पत्रकारिता, पुरस्कार, खेलकुद, आर्थिक, पर्यटन, साहित्य, संस्कृति आदि विविध विषयमा बहस चलाइयो । लगभग सबैजसो क्षेत्रलाई महोत्सवले समेट्यो । अन्य महोत्सवहरू एउटै विषयमा केन्द्रित हुँदै आएको परिपेक्षमा नेपालगन्जमा आयोजित महोत्सवले सबै विषय र क्षेत्रलाई समेट्ने प्रयास गर्‍यो । विशेषगरी साहित्यमा केन्द्रित यो महोत्सवका अवसरमा साहित्यकार नयनराज पाण्डे, रामलाल जोशी, अमर न्यौपाने, महेशविक्रम शाह, ब्रजेश खनाल, लेखक तथा पत्रकार नारायण वाग्लेले आ–आफ्ना अनुभव बाँडे । त्यस्तै नायक राजेश हमाल, नवीन सुब्बा, अनुप सुवेदी आदिले चलचित्रसम्बन्धी अनुभव सुनाएका थिए ।

प्रकाशित :वैशाख ५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्