यस्ता छन्, आईपीएल–२०१७ का टिम

- साप्ताहिक संवाददाता

वैशाख ५, २०७४- 

जस्तै विवादले घेरिए पनि इन्डियन प्रिमियर लिग (आईपीएल) ले विश्व क्रिकेटमा ल्याएको परिवर्तन कसैबाट लुकेको छैन । भारतीय क्रिकेटको यो घरेलु ट्वान्टी–२० प्रतियोगिता विश्वकै सर्वाधिक धनी प्रतियोगिता हो । खेलाडीले अविश्वसनीय रूपमा कमाउने हुनाले नै यसले विश्वका सबैभन्दा राम्रा प्रतिभाहरूलाई आकर्षित गर्छ । यसलाई भारतमा मात्र पछ्याइँदैन, क्रिकेट मन पराउने पूरा विश्वले यो प्रतियोगिता रुचाउँछ । संयोगले यो प्रतियोगिताले यसपल्टको संस्करणसँगै एक दशक पूरा गरेको छ । यसपल्टको आईपीएल–२०१७ यसको दसौं संस्करण हो । गत साता प्रारम्भ भएको आईपीएलमा सहभागी आठ टिम कस्ता छन् त ?

 

सनराइज हैदराबाद

पछिल्लो संस्करणको विजेता हो— सनराइज हैदराबाद । अस्ट्ेरलियाली आक्रामक प्रारम्भिक ब्याट्सम्यान डेविड वार्नरको नेतृत्वमा हैदरावादले धेरैलाई आश्चर्यमा पार्दै उपाधि जितेको थियो । यसपल्ट हैदराबादले उपाधिको रक्षा गर्न सक्ला त ? यसको उत्तर वार्नरसँगै उनका अर्का प्रारम्भिक ब्याट्सम्यान जोडी शिखर धवनमा निर्भर हुनेछ । धवन पनि भारतीय क्रिकेटका सर्वाधिक आक्रामक ब्याट्सम्यान हुन् । टिमको मध्यक्रमको ब्याटिङ भने कमजोर छ । त्यसलाई भरथेग गर्ने काम युवराव सिंहको काँधमा हुनेछ । टिमको बलियो पक्ष बलिङ हो । हैदरावाद नै त्यो टिम हो, जसले दुई अफगान खेलाडी मोहम्मद नाबी र रसिद खानलाई आफ्नो टिममा लिएको छ ।

दिल्ली डेयरडेभल्स

दिल्ली डेयरडेभल्सको टिम कति सन्तुलित छ, त्यो प्रतियोगिताकै क्रममा देखिनेछ । यसको कारण हो— दुई प्रमुख दक्षिण अफ्रिकी खेलाडी क्विन्टन डे कक र जेपी डुमेनी अहिलेको टिममा छैनन् । त्यसैले टिमको माथिल्लो क्रमको ब्याटिङ कमजोर छ र यो पूर्णत: भारतका युवा खेलाडीमा निर्भर छ । तीमध्ये अधिकांश खेलाडी भारतीय टिममा स्थान बनाउन संघर्षरत छन् । टिमको बलियो पक्ष बलिङ हुन सक्छ र बलिङ आक्रमणको जिम्मा हुनेछ— मोहम्मद सामी र अमित मिश्रमा । टिममा तीन राम्रा विदेशी बलर पनि छन्, क्रिस मोरिस, प्याट कमिन्स र कगिसो रबाडा । बलिङले नै यो टिमलाई माथि पुर्‍याउन सक्छ । 

 

गुजरात लायन्स

भारतीय टिमका स्टार खेलाडी हुन्— रवीन्द्र जडेजा । उनको प्रदर्शनमा धेरै हदसम्म गुजरात लायन्सको यात्रा पनि निर्भर हुनेछ, तर जडेजा चोटग्रस्त छन् र उनले केही सुरुवाती खेल खेल्नेछैनन् । जडेजालाई छाडेर टिममा राम्रा स्पिनरको कमी छ, तर टिमको ब्याटिङ क्रम भने गज्जब छ, विशेषत: मध्यक्रमको । यस क्रममा आउने खेलाडी हुन्— ब्रेन्डन म्याकलम, एरोन फिन्स, ड्वायन स्मिथ र जेसन रोयसँगै दुई भारतीय खेलाडी सुरेश रैना र दिनेश कार्तिक । टिमसँग ड्वायन ब्राभो र जेम्स फल्कनजस्ता दुई आक्रामक अलराउन्डरसमेत छन्, जसले कुनै पनि समय खेलको समीकरण फेर्न सक्छन् । 

 

किङ्ग्स इलेभेन पञ्जाव

६ जना नाम चलेका खेलाडीले भरिएको छ, किङ्ग्स इलेभेन पञ्जाबको टिम । ती हुन्— सन मार्स, मार्टिन गुपटिल, हसिम अमला, इयोन मोर्गन, डेविड मिल्नर र ग्लेन म्याक्सवेल । म्याक्सवेल कप्तान पनि हुन् र यसपल्टको प्रतियोगितामा अस्ट्ेरलियाली खेलाडीको नेतृत्वमा रहेको यो अर्को टिम हो । टिममा अर्का विदेशी अलराउन्ड डरेन सामी पनि छन् । उनकै नेतृत्वमा वेस्ट इन्डिजले पछिल्लो वल्र्ड ट्वान्टी–२० जितेको थियो । किङ्ग्स इलेभेन पञ्जावमा नाम चलेका भारतीय खेलाडीको भने कमी छ, रिद्दीमान साहलाई अपवाद मान्ने हो भने । त्यसैले टिमको प्रदर्शन पूर्णत: विदेशी खेलाडीमा निर्भर हुनेछ । 

 

कोलकाता नाइटराइडर्स

प्रतियोगिताको उपाधिको अर्को बलियो दावेदार हो— कोलकाता नाइटराइडर्स । शाहरूख खानको यो टिमले अहिलेसम्मका सबै संस्करणमा राम्रो खेलेको छ । त्यसैले यो आईपीएलको पूर्व विजेता पनि हो । टिमका कप्तान हुन्— गौतम गम्भीर । गौतम भारतीय टिममा स्थान बनाउन संघर्षरत छन् । यद्यपि उनी कोलकाता नाइटराइडर्सका लागि भने अब्बल दर्जाको खेल प्रदर्शन गर्छन् । त्यसैले यो टिमको प्रदर्शन यिनै प्रारम्भिक ब्याट्सम्यानको खेलमा भर पर्नेछ । क्रिस लायन टिमका विदेशी खेलाडी हुन् र उनले प्रतियोगितामा गम्भीरलाई बलियो साथ दिनुपर्नेछ । टिमले कति सन्तुलित खेल खेल्ने हो, त्यसैले उसको यात्रा तय गर्नेछ । 

 

मुम्बई इन्डियन्स

यसपल्टको प्रतियोगितामा सबैभन्दा बलियो ब्याटिङ क्रम भएको टिम हो— मुम्बई इन्डियन्स । भारतीय टिममा पर्न छाडेका रोहित शर्मा यो टिमका कप्तान हुन् । उनलाई ट्वान्टी–२० क्रिकेटका विशेषज्ञ ब्याट्सम्यान पनि मानिन्छ । शर्मासँग टिममा रहेका प्रमुख ब्याट्सम्यान हुन्— किरोन पोलार्ड, जस बटलर, क्रुनाल पान्ड्या, लेन्डल सिमोन्स, निकोलस पुरन तथा एसेला गुनरत्ने । टिमसँग अनुभवी भारतीय स्पिनर हरभजन सिंह पनि छन्, तर टिमको बलिङको जिम्मा श्रीलंकाली बलर लसिथ मलिङ्गामा निर्भर हुनेछ । मलिङ्गाको चोट टिमका लागि समस्या हुन सक्छ । टिमले नयाँ खेलाडी नकिनेको कुरा पनि उसको टाउको दुखाइ हुन सक्छ । 

 

राइजिङ पुने सुपरजायन्ट्स

महेन्द्रसिंह धोनीले भारतीय टिमबाट खेल्न छाडिसकेका छन्, तर धोनी राइजिङ पुने सुपरजायन्ट्सका प्रमुख खेलाडी हुनेछन् । यद्यपि धोनीले टिमको नेतृत्व भने गर्नेछैनन् । उनको स्थानमा कप्तान छन्— अस्ट्ेरलियाका स्टिभ स्मिथ । उनलाई अहिलेको पुस्ताका सबैभन्दा राम्रा ब्याट्सम्यान मानिन्छ । स्मिथकै नेतृत्वमा अस्ट्ेरलियाले भारतविरुद्धको तनावग्रस्त टेस्ट सिरिज खेलेको थियो । टिममा अजिन्के रहाने र फाफ डे फ्लेसिसजस्ता खेलाडी पनि छन् । राइजिङ पुने सुपरजायन्ट्सको सबैभन्दा ठूलो कमजोरी बलिङ हुनेछ, जसमा कुनै पनि नाम चलेका खेलाडी छैनन् । टिमले चोटका कारण आर आश्विनलाई गुमाइसकेको छ । 

 

रोयल च्यालेन्जर्स बेंगलोर

गत सिजनको उप विजेता हो— रोयल च्यालेञ्जर्स बेंगलोर र टिममा रहेका सबैभन्दा ठूला नाम हुन्— भारतीय टिमका पनि कप्तान विराट कोहली । विराटलाई विश्व क्रिकेटमै आक्रामक खेलाडी मानिन्छ । चोटका कारण उनले पनि सुरुवाती चरणका केही खेल खेल्नेछैनन् । विराटको अनुपस्थितिमा पनि टिमको ब्याटिङ उत्तिकै बलियो छ । यसको कारण हो, टिमका दुई ठूला नाम, क्रिस गायल र एबी डे भिल्लियर्स । यी दुवै खेलाडी कुनै पनि समय खेल आफ्नो पक्षमा पार्न सक्षम छन् । रोयल च्यालेञ्जर्स बेंगलोरसँग अस्ट्ेरलियन अलराउन्डर सेन वाट्सन पनि छन् । 

प्रकाशित :वैशाख ५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्