चलचित्र २०७३ ८५ मा ६ हिट

- साप्ताहिक संवाददाता

वैशाख ५, २०७४

 

  • ‘गीत हिट, फिल्म हिट’ भन्ने चलचित्र चलाउने पुरानो फर्मुला यो वर्ष फेल खायो । केही चलचित्रका गीत सुपरहिट कहलिए पनि दर्शकले चलचित्र मन पराएनन् । 
  • नाम कहलिएका केही कलाकार असाध्यै व्यस्त भए, तर उनीहरूका चलचित्रले
  • अपेक्षाकृत सफलता प्राप्त गर्न सकेनन् । त्यसमा निखिल उप्रेती, सौगात मल्ल तथा दयाहाङ राईका चलचित्र पनि छन् । 
  • कुल प्रदर्शित चलचित्रमध्ये अनुमानित ५ प्रतिशत चलचित्रले मात्र नाफा कमाए, बाँकी ९५ प्रतिशत चलचित्र चलेनन् अथवा मुस्किलले लगानी उठाउन सक्षम भए । 
  •  चलचित्र प्रदर्शनका लागि विदेशको ढोका राम्रैसँग खुल्यो, व्यवसायिक रूपमा सफल चलचित्रले विश्व बजारमा आफ्नो पाइला बढाउने क्रममा पाइरेसीले दु:ख दियो । 
  •  सिक्वेल बनाउने लहर त आयो, तर कुनै पनि सिक्वेलले दर्शकलाई खुसी तुल्याउन सकेन।

 

यी हुन्, वर्ष ०७३ मा नेपाली चलचित्र क्षेत्रले भोगेको यथार्थ । वर्ष ०७३ मा ८५ वटा चलचित्र प्रदर्शनमा आए । विगतको तुलनामा दर्शकले नेपाली चलचित्रलाई बढी माया गरे, तर दर्शक बारम्बार निराश भैरहे । ट्रेलरले आशा जगाएपछि दर्शक हलमा पुग्ने, तर पूरै चलचित्र हेरिसकेपछि निराश हुने अवस्था सिर्जना भैरह्यो । छक्कापञ्जा, जात्राजस्ता चलचित्र दर्शकका लागि ‘पैसा असुल’ चलचित्र सावित हुँदा नेपाली चलचित्रले काँचुली फेर्न लागेको अवस्था पनि देखियो, तर त्यसको अनुपातमा निर्माणमा लापरवाही गर्दा आशा गरिएका केही चलचित्रले दर्शकलाई निराश बनाए । जस्तो कि सुपरहिट लुटको सिक्वेल लुट–टुप्रति दर्शकको आशा अलि बढी नै थियो । चलचित्र प्रदर्शन भएपछि उक्त मल्टिस्टारर चलचित्र दर्शकको चाहना पूरा गर्न सक्षम नभएको स्पष्ट देखियो । 

 

कम्पन, रिलेसन, लाले, सूर्या, ज्यानमारा, रेलिमाई, प्रतिविम्ब, एक पल, ड्राइभर दाइ, २१ वर्ष, मेन्टल, पार्सल, प्रेमी, यू टर्न, नेटवर्क, मंगोलियन हार्ट, थ्री मन्किज, निभ्न लागेको दियो— यी सबै वर्ष २०७३ भरि प्रदर्शन भएका केही चलचित्रका शीर्षक हुन् । यीमध्ये तपाईंले कुन चलचित्र हेर्नुभयो ? सम्भवत: कुनै पनि हेर्नुभएको छैन, किनभने यी यस्ता चलचित्र हुन्, जुन प्रदर्शन हुने दुई दिनअघि सहरका भित्तामा टाँसिएका पोस्टरहरूबाट ‘लौ यस्तो नाम गरेको नेपाली चलचित्र पनि रहेछ’ भनेर दर्शकले थाहा पाउँथे वा थाहा पाउँदा–नपाउँदै वा पोस्टर भित्ताबाट च्यातिनुअगावै सिनेमाहलबाट चलचित्र उत्रिसकेको हुन्थे । 

 

खर्च बढ्यो, बजार छैन 

वर्ष २०७३ मा कुल ८५ वटा चलचित्र प्रदर्शनमा आए । ती ८५ चलचित्रमध्ये ३० भन्दा बढी चलचित्र आए र गए । सहरका भित्तामा पोस्टर टाँसिएपछि मात्र थाहा लाग्ने त्यस्ता चलचित्रले नेपाली चलचित्रलाई के नै दिए र ? उल्टो निर्मातालाई घाटाको खाडलमा पुरे । सामान्यत: एउटा साधारण चलचित्र बन्न ६० देखि ८० लाख रुपैयाँ लाग्छ । अझ महँगा कलाकार र खर्चिलो कथा छ भने त एक–डेढ करोडसम्म पुग्छ बजेट । सामान्य रूपमा एउटा चलचित्रको खर्च ६० लाख नै राखियो भने पनि ८५ वटा चलचित्र निर्माण गर्दा नेपाली चलचित्रका विभिन्न निर्माताले ०७३ भरिमा लगभग एकाउन्न करोड रुपैयाँखर्च गरे, उपलब्धि शून्य बराबर । केहीले कमाए, धेरैले गुमाए । 

 

गत वर्षको तुलनामा यो वर्ष चलचित्र निर्माणको खर्च पनि बढेको छ । प्राविधिक खर्च त बढेको छँदैछ । कलाकारहरूले पनि डिमान्ड गर्न थालेपछि खर्च दोब्बरभन्दा बढी भएको छ । त्यसको अनुपातमा बजार बिस्तार भएको छैन । विदेशमा नेपाली चलचित्रको माग छ भनिएपनि विदेशका प्रदर्शक एवं दर्शक जुटाउन गाह्रो छ । स्वदेशमै पनि राम्रा सिनेमाहलको कमी छ । मल्टिप्लेक्सको अवधारणा विस्तार हुँदैछ । देशका विभिन्न प्रमुख सहरहरूमा मल्टिप्लेक्स खुले, तैपनि नेपाली चलचित्रको कमाइ स्वदेशमै कम छ । दर्शक चलचित्रमा मनोरञ्जक विषयवस्तु खोजिरहेका छन् भने निर्माताहरू आफ्नो रहरका चलचित्र बनाएर दर्शकलाई भिडाइरहेका छन् ।

 

अझै नक्कल प्रवृत्ति

विगतका वर्षहरूमा झैं वर्ष ०७३ मा पनि केही अपवादलाई छाडेर अधिकांश चलचित्र हिन्दी, कोरियन तथा अंग्रेजी चलचित्रको दुरुस्त नक्कल देखिए । गत साता प्रदर्शित चलचित्र पलाँसलाई नै हेरौं । उक्त चलचित्रमा देखाइएझैं नेपाल–भारत सीमाको कुन क्षेत्रमा त्यस्तो किसिमको कथा देह व्यवसाय हुन्छ ? मुम्बईको रेडलाइट एरियाजस्तो अवस्था बलिउडका बागी, सडकजस्ता चलचित्रमा सुहायो भन्दैमा नेपालको परिवेशमा कसरी सुहाउँछ ? यो चलचित्रमा भर्खरै राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य निर्वाचित नायिका रेखा थापा मुख्य भूमिकामा छिन् । डेढ दशकअघिसम्म एकपछि अर्को सुपरहिट चलचित्र दिने निर्देशक तुलसी घिमिरेले आफ्नै सुपरडुपर हिट दर्पणछायाँको सिक्वेल दर्पणछायाँ–टु सार्वजनिक गरे, जसको प्रस्तुतिमा पुरानै शैली थियो भने विषयवस्तु ठ्याक्कै बलिउडको चलचित्र आशिकी–टुसँग मिल्दो थियो । अझ ८० को दशकमा प्रदर्शित हिन्दी चलचित्र कलाकारसँग ठ्याक्कै मिल्थ्यो । वर्ष ०७३ मा यसरी दुरुस्तै नक्कल गरिएका चलचित्र निकै बने । यो क्रम नेपाली चलचित्रमा संभवत: कहिल्यै रोकिँदैन ।

 

केही सकारात्मक लक्षण 

ऐतिहासिक कीर्तिमान

नेपाली चलचित्रमा अहिलेसम्मकै सर्वाधिक कमाइ गरेर दीपाश्री निरौला निर्देशित चलचित्र छक्कापञ्जाले कीर्तिमान नै राख्यो । चलचित्र छक्कापञ्जाले केही चलचित्र भवनमा प्रदर्शनको सय दिन मनाउँदै १८ करोड रुपैयाँ कलेक्सन गर्‍यो, जुन आफंैमा एउटा कीर्तिमान हो । यसैगरी दर्शकले खासै नरुचाउँदा पनि लुटको सिक्वेल लुट–टुले ८ करोड रुपैयाँ कलेक्सन गर्‍यो । छक्कापञ्जा, जात्राजस्ता हास्य विषयलाई प्राथमिकता दिइएका चलचित्रले व्यवसायिक सफलता प्राप्त गरेपछि हास्यप्रधान चलचित्र बनाउन निर्माता तथा निर्देशकहरू तम्सिने वातावरण बनेको छ । 

 

विदेशमा पुरस्कृत 

भेनिस चलचित्र महोत्सवमा क्रिटिक्सतर्फ मीनबहादुर भाम निर्देशित चलचित्र कालो पोथीले उत्कृष्टताको पुरस्कार प्राप्त गरेपछि यसले नेपाली दर्शकको पनि मन जित्यो । चलचित्र कालो पोथी हेर्नेजति सबैलाई मन पर्‍यो । दिपक रौनियारको निर्देशनमा दयाहाङ अभिनीत चलचित्र द ह्वाइट सन अर्थात् सेतो सूर्यले सिंगापुरमा सम्पन्न चलचित्र महोत्सवमा एसियाकै उत्कृष्ट चलचित्रको पुरस्कार जित्यो ।

 

 

अश्लीलता माइनस

स्वघोषित पोर्नस्टार अर्चना पनेरुद्वारा अभिनीत दुई एडल्ट चलचित्र छेस्को र जिस्म वर्ष ०७३ मा प्रदर्शनमा आए, तर दर्शकले ती चलचित्रलाई पूर्ण रूपमा नकारिदिए । एक शो पनि चल्न नपाई सिनेमाहलबाट उत्रिएका ती चलचित्रलाई लगत्तै युट्युबमा रिलिज गरियो । सिनेमाहलमा दर्शक नपाएका ती चलचित्रले युट्युबमा भने कम समयमै अत्यधिक दर्शक पाए । भनेपछि दर्शक पनि एडल्ट चलचित्र हलमा गएर खुलेआम होइन कि घरमा खुसुक्क हेर्न चाहन्छन् । वर्ष ०७३ मा अश्लीलताका कारण सेन्सरले एडल्ट सर्टिफिकेट दिएका चलचित्र खासै प्रदर्शनमा आएनन् । 

प्रकाशित :वैशाख ५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्