आलोचनाले अक्सिजनको काम गरेको छ

- कृष्ण भट्टराई

वैशाख ४, २०७४-  

धुर्मस–सुन्तली फाउन्डेसनले मुसहर बस्तीमा ५३ वटा सुन्दर घर निर्माण गरेको छ । फाउन्डेसनले यसअघि काभ्रेको पहरी नमुना बस्ती तथा सिन्धुपाल्चोकको गिरानचौर नमुना बस्ती निर्माण गरेर हस्तान्तरण गरिसकेको छ । फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले नमुना बस्ती हस्तान्तरणको पूर्वसन्ध्यामा साप्ताहिकसँग लामै कुराकानी गरेका थिए ।

 

तेस्रो परियोजना पनि सफलतापूर्वक सम्पन्न भैसकेको अवस्थामा यतिबेला तपार्इंको दिमागमा के चलिरहेको छ ? 
यतिबेला मेरो दिमागमा सद्भावको खुसी आइरहेको छ । राष्ट्रिय एकताको खुसी आइरहेको छ । जुन सोचका साथ हामी हिमाल, पहाड र तराईलाई जोड्न अभियानमा जुटेका थियौं, सिंगो बर्दिबासवासी तथा महोत्तरी जिल्लाबाट त्यसको सन्देश प्रभाव भैरहेको छ । मनमा हिमाल, पहाड र तराईलाई जोड्ने एउटा कडीका रूपमा साँच्चिकै उदाहरणीय काम गरिएछ भन्ने खुसी आइरहेको छ । मन र दिमागमा खुसी नै खुसी, उमंग नै उमंग छाएको छ । 

 

अघिल्ला दुई परियोजनाभन्दा यो मुसहर बस्तीको परियोजना कत्तिको चुनौतीपूर्ण थियो ? 
अत्यन्तै चुनौतीपूर्ण थियो । यो अर्थमा पनि यो परियोजना चुनौतीपूर्ण थियो कि देशको पछिल्लो राजनैतिक परिस्थितीका कारण तराईमा पटक–पटक आन्दोलन हुने सम्भावना बढेर गएको थियो । आन्दोलनका कारण परियोजनालाई भन्दा पनि निर्माण सामग्री ल्याउन नपाइने हो कि भन्ने ठूलो डर थियो । छोटो समयमै यो परियोजना सम्पन्न गर्नुपर्ने अर्को चुनौती पनि थियो । 

 

त्यो चुनौतीलाई कसरी सामना गर्नुभयो ? 
तीन महिनाभित्र बस्ती हस्तान्तरण गर्नुपर्ने चुनौतीलाई चिर्न हामीलाई दह्रो व्यवस्थापनको आवश्यकता थियो । त्यो व्यवस्थापनमा कहीं न कहीं चुकिन्छ कि, भनेको समयमा काम सकिंदैन कि भन्ने डर पनि सँगसँगै थियो तर हाम्रो व्यवस्थापनले चुस्त र दुरुस्त रूपमा काम गरेर उक्त चुनौतीमाथि विजय प्राप्त गरेको छ । 

 

एउटा निकै पिछडिएको समुदायका लागि काम गर्नु पनि त चुनौती नै थियो नि होइन ? 
हो, एउटा अत्यन्तै अशिक्षित तथा चेतनाको अभाव भएको समुदायमा काम गर्दा वातावरण भड्किन्छ कि, बीचैमा परियोजना छाडेर हिंड्नुपर्ला कि भन्ने डर पनि थियो । 

 

पहिलो परियोजनाबाट तेस्रो परियोजनासम्म आइपुग्दा के–कस्ता समस्या भोग्नुपर्‍यो ? 
यहाँसम्म आइपुग्दा तराईमा विकासका लागि यस्तो काम गर्न गाह्रो होला भन्ने लागिरहेको थियो, तर त्यस्तो कुनै अप्ठ्यारो महसुस गर्नुपरेन । मुख्य समस्याचाहिं मुसहर समुदायमा सुरुदेखि नै समाज एकीकरण एवं एकीकृत बस्ती विकासको विषय नै कसरी बुझाउने भन्ने भयो । उनीहरूलाई यस विषयमा कुनै पनि जानकारी तथा ज्ञान थिएन । जग्गा एकीकरण गर्ने विषय सबैभन्दा जटिल थियो । उहाँहरूलाई कन्भिन्स गर्न हामीले निकै मेहनत तथा गृहकार्य गर्नुपरेको थियो । साँझ सबै कुरा मिल्थ्यो भने भोलिपल्ट बिहान उठ्दा उक्त सहमति बिग्रिसकेको हुन्थ्यो । 

 

मुसहरहरूले कुन कुरामा चाहिं बढी चासो देखाएका थिए ? 
घर कस्तो बनाइदिने ? घर मात्र बनेर भएन, घर बनेपछि सुत्नका लागि खाट कसले दिने ? ओड्ने–ओछ्याउने कसरी जुटाउने, खाना पकाउनका लागि कस्तो व्यवस्था हुन्छ भन्ने कुरामा उहाँहरूको चासो थियो । कतिपय मानिसले मुसहरको नाममा धुर्मुस–सुन्तलीले सामान्य खालका घर बनाएर सबै पैसा खाइदिन्छन् भन्ने भ्रम पनि छरेका रहेछन् । ती सबै कुरा बुझाउन हामीले निकै मेहनत गर्नुपरेको थियो । घरहरू ठडिन थालेपछि ती सबै प्रश्न आउन छाडे, उहाँहरूमा पनि खुसी र उमंग छाउन थाल्यो । किनभने एउटा सानो कोठा वा छाप्रोमा सीमित उहाँहरूलाई अहिले बनेका सुन्दर घरले आफैं जवाफ दिइरहेका छन् । 

 

घर त बने, ओढ्ने–ओछ्याउने व्यवस्था कसरी गरिदिँदै हुनुहुन्छ ? 
ओढ्ने सिरक, ब्ल्याङ्केट, ओछ्याउने डसनाहरू त हामीले एक वर्षअघि नै ल्याइदिएको हो । त्यतिबेला उहाँहरू परालमा सुत्नुहुन्थ्यो, तन्ना ओढ्नुहुन्थ्यो । ओढ्ने–ओछ्याउनेको त उहाँहरूले कल्पनासमेत गर्नुभएको थिएन । अहिले हामीले हरेक घरमा खाटको व्यवस्था गरिदिएका छौं । एउटा घरमा तीन–तीनवटा खाट छन् । त्यति मात्र होइन, भान्सामा ग्यास सिलिन्डरसहित चुलोको समेत व्यवस्था गरिदिएका छौं । 

 

बस्ती वरपरका अन्य मुसहरहरूले आफूृ समुदायमा परिएन भनेर असन्तुष्टि जनाएका छन् कि ? 
यो बस्तीबाहिर वरपर नजिकमा मुसहरहरू छैनन् । जति छन्, उनीहरूका लागि नै यी घर हुन् । वरिपरि सम्पन्न मानिसहरूको बसोबास छ । यहाँ एउटै कम्पाउन्डभित्र ५० वटा मुसहरका घर छन् भने तीनवटा घर कम्पाउन्डबाहिर छन् । त्यसैले यहाँका मुसहरहरूमध्ये एक जना पनि असन्तुष्ट हुनुहुन्न । 

 

स्थानीय मुसहरहरूको मुख्य समस्याचाहिं के देख्नुभएको थियो ? 
बर्दिबास आफैंमा एउटा विकसित हुँदै गएको सहर हो । त्योभन्दा ठ्याक्कै डेढ किलोमिटर दक्षिणमा रहेको एउटा सुन्दर क्षेत्रभित्र पनि यति दयनीय बस्ती छ भन्ने कुरा यहाँ आउने कसैले अनुमान गर्न सक्नुहुन्नथ्यो । मुसहर बस्तीभित्र दु:खको पहाड नै थियो । बच्चा–बच्चीहरू विद्यालय नजाने, आमा–बुवाहरूले पढाउन नसक्ने । अहिले हामीले उनीहरूलाई विद्यालयमा भर्ना गरिदिएका छौं । त्यहाँ कसैको पनि जन्मदर्ता भएको थिएन, बालविवाहको समस्या पनि उस्तै भयावह थियो । हरेक बालबालिकामा कुपोषण थियो, सबै अन्डरवेट थिए । हामीले यहाँ आएको एक वर्षको अवधिमा बालबालिकाहरूलाई पोसिला खाने कुरा ख्वाएर स्वस्थ बनाएका छौं । अस्पताल जानु महापाप हो भन्ने भ्रम थियो, आज सबै जना आवश्यकता परेका बेला अस्पताल जान थालेका छन् । हामीले यो समाजलाई छोटो समयमै परिवर्तनउन्मुख बनाउन सफलता प्राप्त गरेका छौं । 

 

यो अवधिमा मुसहर बस्तीमा के–कस्ता परिवर्तन पाउनुभएको छ ? 
प्रारम्भिक दिनहरूमा एकदमै गाह्रो थियो । स्थानीय बासिन्दाहरू खुसी थिए, किनभने उनीहरूले घर पाउँदै थिए, तर खुसीसँगै अनेक प्रकारका कुरा पनि उठेका थिए । म उनीहरूलाई कन्भिन्स गराउँदै जान्थें । यो बस्तीका शतप्रतिशत वयष्क मदिरा सेवन गर्थे । घर बनाउने कुरा उनीहरूले कहिल्यै सोचेका थिएनन्, त्यसैले दिनभरि कमायो, राति रक्सी खाएर उडायो जस्तो दैनिकी थियो । हामी यहाँ आएपछि ७५ प्रतिशतभन्दा बढीले मदिरापान त्यागिसक्नुभएको छ । कसैले केही सोध्दा उहाँहरू घरभित्र लुक्नुहुन्थ्यो, अहिले बाहिर आएर राम्रोसँग कुरा गर्न सक्ने हुनुभएको छ । उहाँहरूले राम्रो संस्कार पनि सिकिरहनुभएको छ । 

 

हस्तान्तरण कार्यक्रम कसरी सम्पन्न भयो ? 
नयाँ वर्षको पहिलो दिन आज वैशाख १ गते शुक्रवार बिहान ठिक ८ बजे हामीले स्वतन्त्र नागरिकबाटै बस्ती हस्तान्तरण गर्‍यौ  । श्रद्धेय मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य (मह जोडी) को प्रमुख आतिथ्यमा हामीलाई जन्म दिने बुवा–आमासहित जनकपुरधाम सफाइ अभियान तथा गंगासागर आरतीका प्रणेता रामआशिष यादवबाट सद्भावको सन्देशसहित यो बस्ती हस्तान्तरण भयो। 

 

आफ्नै कलाकारिता क्षेत्रबाट कत्तिको साथ, सहयोग र समर्थन पाउनुभएको छ ? 

असाध्यै समर्थन छ । मह जोडी, दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, जितु नेपाल, शिवहरि पौडेल, किरण केसीसहित सम्पूर्ण कलाकारिता क्षेत्रले हाम्रो कामको प्रशंसा गर्नुभएको छ । सहयोग भन्नेबित्तिकै आर्थिक सहयोग नै भन्ने हुँदैन, फिल्डमै खट्नुपर्छ भन्ने पनि होइन, मनैदेखिको सदीक्षा एवं राम्रो काम गरिस् भन्ने स्याबासीले पनि ठूलो भूमिका निर्वाह गर्छ । 

 

तपाईंहरू सक्रिय अभिनयमा फर्कन अब कति समय लाग्ला ? 
यो परियोजना पूरा भएपछि अब म र कुञ्जना अभिनयमै सक्रिय हुने हो । कहिलेकाहीं टेलिभिजन हेर्ने क्रममा म पनि कुनै बेला कलाकार थिएँ, म पनि फलानो कलाकारजस्तो अभिनय गर्न सक्थें भन्ने भाव पनि मनमा आइरहन्छ । दुई वर्षदेखि समाजका लागि काम गर्दा कलाकारिताबाट केही टाढा भएको पक्कै हो तर अब हामी दुवै जना दर्शकमाझ आउने तयारीमा छौं । आफ्नो पेसा वा कर्मलाई छाड्ने कुरा त आउँदैन नि ।

 

चौथो परियोजनाका बारेमा कुनै योजना बनाउनुभएको छ कि ? 
चौथो परियोजनाको विषयमा अहिले नै केही सोचेको छैन, किनभने त्यसका लागि पनि गहिरो अध्ययन हुनुपर्छ । हामीले अहिलेसम्मका परियोजना पर्याप्त अध्ययन गरेर तयार पारेका हौं । काभ्रेको पहरी बस्ती, गिरान्चौरको बस्ती अध्ययन गरेरै बनाइएका हुन् । नयाँ परियोजनाको खाका तयार पार्नुुअघि वास्तविक पीडित पहिचान गर्नु सबैभन्दा महत्वपूर्ण कुरा हो । समाज एकीकरण त्योभन्दा चुनौतीको विषय हो । त्यसकारण सबैभन्दा पहिले त पीडित नै पहिचान गर्नुपर्‍यो । समाज एकीकरणको कुरा दोस्रो नम्बरमा आउँछ । त्यसैले चौथो परियोजनाका बारेमा अहिले नै सोच्न सकिएको छैन । 

 

देशमा तपाईंहरू जस्तै थुप्रै धुर्मुस–सुन्तली जन्माउन के गर्नुपर्ला ? 
त्यसका लागि सामाजिक अभियन्ताहरूको छनोट गर्नुपर्छ । हामीले त्यसका लागि केही योजना पनि बनाएका छौं । हाम्रो फाउन्डेसनले हरेक जिल्लामा समाजसेवी जन्माउन पहल गर्ने भएको छ । त्यसका लागि हामीले सामाजिक अभियन्ताको सदस्यता वितरण गर्ने विचार गरेका छौं । 

 

के गर्‍यो भनेचाहिं नेपाल विकसित मुलुक बन्ला ? 
सबै नागरिकले आफू यो देशको नागरिक हुँ भन्ने सोचेर आ–आफ्नो ठाउँबाट जिम्मेवारीपूर्वक अघि बढ्न सकेको खण्डमा अनि विभिन्न पदमा आसीन व्यक्तित्वहरूले पदिय जिम्मेवारी वहन गरे भने यो देश अवश्य बन्छ । 

 

भविष्यमा राजनीतिमा आउने सम्भावनाको पनि चर्चा चल्दैछ, के भन्नुहुन्छ ? 
मैले पनि यो चर्चा सुनेको छु । यी सबै काम राजनीतिमा आउन  गरिएका होइनन् ।  हामी त केवल हाम्रो देश बन्नुपर्छ भन्ने अभियानमा अघि बढेका हौं । भोलि देश बनाउने क्रममा सबैतिरबाट धुर्मुस–सुन्तली नै चाहिन्छ भन्ने कुरा आयो भने हामी नेतृत्व लिन तयार छौं । यसको अर्थ हामी अहिले नै कुनै पार्टीको झन्डा बोक्छौं भन्ने होइन, हामी देशकै राष्ट्रिय झन्डा बोकेर अघि बढ्ने छौं ।

 

धुर्मुस–सुन्तली फाउन्डेसनका आगामी कार्यक्रम के–के हुनेछन् ? 
पूर्ण सरसफाइयुक्त देश बनाउन अघि बढ्नेछौं । त्यसबाहेक विभिन्न जिल्लामा धुर्मुस–सुन्तली जन्माउने अभियानमा पनि सक्रिय हुनेछौं । यसबाहेक बालमैत्रीपूर्ण देश नेपाल बनाउन पनि यो फाउन्डेसन सक्रिय रूपले अघि बढ्नेछ । 

 

नेपालीहरूलाई नयाँ वर्षको शुभकामना कसरी दिन चाहनुहुन्छ ? 
नयाँ वर्ष डर, त्रास र भयरहित होस् । तोकिएको मितिमै स्थानीय निर्वाचन सम्पन्न होस् । सबैमा सकारात्मक सोचको विकास होस् । हामी सबै राष्ट्र निर्माणको अभियानमा जुटौं भन्ने शुभकामना दिन चाहन्छु ।

प्रकाशित :वैशाख ४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्