वर्ष २०७३ मा सौन्दर्य प्रतियोगिता

- रोजिन शाक्य

वैशाख ३, २०७४

 

नेपालको परिप्रेक्ष्यमा ब्युटी विथ ब्रेन चयन गर्ने सौन्दर्य प्रतियोगिताको थालनी मिस नेपालबाट भएको हो । सन् १९९४ देखि आमनेपालीबीच परिचय बनाउँदै अघि बढेको नेपालको जेठो सौन्दर्य प्रतियोगिताले आफ्नो २२ औं संस्करणको प्रतिस्पर्धा घोषणा गरिसकेको अवस्थामा वर्ष २०७३ ले बिदा लिँदैछ । 

अघिल्ला वर्षहरूमा जस्तै वर्ष २०७३ को पानामा पनि थुप्रै सौन्दर्य प्रतियोगिताहरू दर्ता भएका छन् । विभिन्न उमेर समूहका स्कुले बालबालिकाहरू, किशोर–किशोरी, वयस्क युवा–युवती, विवाहित महिलादेखि तेस्रोलिङ्गी एवं समलिङ्गीहरूसँग सम्बन्धित सबै खालका प्रतियोगिता सञ्चालन भए यो वर्ष । सांस्कृतिक एवं जातिय प्रतियोगितादेखि कुनै एक शैक्षिक योग्यतामा लक्षित तथा मोडलिङ विधामा केन्द्रित प्रतियोगिताहरू पनि उत्तिकै सञ्चालित भए ।  

 

राजधानी काठमाडौंलगायत मोफसलका पोखरा, चितवन, काभ्रे, धरान, विराटनगर, बुटवल, हेटौंडा, भैरहवा, रुपन्देही, वीरगन्ज, झापा, नेपालगन्ज, धादिङ, लमजुङ, दाङ आदि क्षेत्रहरू पनि सौन्दर्य प्रतियोगितामय भए । विगतका वर्षहरूको तुलनामा यो वर्ष प्रतियोगिताहरूको संख्या ह्वातै बढेको पाइयो, तर संख्या बढेसँगै प्रस्तुतिको स्तरीयता एवं लोकप्रियतामा भने र्‍हास आएको महसुस भयो । प्रतियोगिताको अन्तिम परिणाम अर्थात् विजेता चयनमै पनि प्रश्नचिह्न खडा भए । आयोजकले आर्थिक लाभका लागि प्रतियोगिताको एवार्डमा बार्गेनिङ गरेको, निर्णायकलाई प्रलोभनमा पारिएको, बेचिएको टिकट संख्याका आधारमा टाइटल निक्र्योल गरिएको, आयोजकको आफ्नो मान्छे वा आयोजकसँग नजिकएकालाई उपाधि प्रदान गरिएको जस्ता प्रसंगले सौन्दर्य प्रतियोगिताको उद्देश्य, महत्त्व एवं गरिमामै सीधा औंला तेस्र्याए ।

 

जसले गर्दा राम्रा र प्रतिष्ठित मानिएका आयोजनाहरूलाई समेत असर पर्‍यो । यो वर्ष मोडलिङसँग सम्बन्धित कार्यक्रमहरूको संख्या वृद्धि भए । फेसन–मोडलिङ क्षेत्रमा युवा–युवतीको क्रेजले यससम्बन्धी कार्यक्रमको संख्या बढाउनुमा अग्रणी भूमिका निर्वाह गरेको थियो । अघिल्ला वर्षहरूमा देखिएका जातीय सौन्दर्य प्रतियोगिताको संख्या भने केही घटेको पाइयो । यसैगरी यो वर्ष मिस ग्रान्ड नेपाल, फेस अफ द वल्र्ड इन्टरनेसनल नेपाल, मिस एन्ड मिसेज धादिङ आइडल, मिस एन्ड मिसेज काभ्रे आइडल, मिस्टर एन्ड मिस धरान आदि नयाँ आयोजनाहरू थपिए ।

 

यो वर्ष विभिन्न खालका सौन्दर्य प्रतियोगिता आयोजनाको संख्या बढेसँगै प्रतियोगितामा सहभागीहरूको संख्याले केही आयोजकलाई पिरोल्यो । केही आयोजना १० देखि १५ जना सहभागीबीच फाइनल सञ्चालन गर्न बाध्य भए भने केही आयोजना सीमित सहभागीकै कारण सञ्चालनमै आउन सकेनन् । यस पटक केही आयोजनाले फरक प्रयोगसमेत गरेको पाइयो । सौन्दर्य प्रतियोगिताको संख्या बढेसँगै आयोजनाको शीर्षक मिल्दोजुल्दो हुने स्थिति पनि उत्तिकै देखियो । मूलत: एसएलसी तथा टिन सौन्दर्य प्रतियोगितामा त्यस्तो स्थिति उत्पन्न भयो । 

 

आयोजना बढेसँगै आयोजकहरूबीचको प्रतिस्पर्धा पनि उत्तिकै बढेको पाइयो । आयोजनाको मार्केटिङमा फेसबुक, युट्युब, ट्विटरको प्रयोग पनि बढ्यो । यद्यपि मार्केटिङका लागि प्रयोग भएका सामग्रीमा भने खासै भिन्नता नहुँदा आयोजना बीचको भिन्नता, आकर्षण र प्रभावकारिता छुट्याउन उत्तिकै गार्‍हो हुने स्थिति उत्पन्न भयो ।

प्रकाशित :वैशाख ३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्