वर्ष २०७३ का नयाँ अनुहार

- साप्ताहिक संवाददाता

चैत्र ३०, २०७३- 

वर्ष २०७३ मा झन्डै ८६ वटा नेपाली चलचित्र प्रदर्शनमा आए । यसरी प्रदर्शन भएका चलचित्रबाट झन्डै एक दर्जन नयाँ अभिनेता–अभिनेत्रीले नेपाली चलचित्रमा पदार्पण गरे । तीमध्ये केही नयाँ अनुहारले प्रशस्त सम्भावना देखाएका छन् ।

 

सृष्टि श्रेष्ठ– गाजलु

गत जेठ २८ गते प्रदर्शनमा आएको चलचित्र ‘गाजलु’ बाट अभिनेत्रीका रूपमा पदार्पण गर्ने सृष्टि श्रेष्ठ मिस नेपाल–२०१२ पनि हुन् । मिस नेपालको उपाधि जितेको केही वर्षपछि उनी औपचारिक रूपमै चलचित्रमा आएकी हुन् । पहिलो चलचित्रबाटै स्थापित भएकी सृष्टिले अहिले नेपाली चलचित्रमै करियर बनाउने निर्णय गरिसकेकी छिन् ।

 

दिया पुन– वीरविक्रम

बेलायतमा बसोबास गर्ने दिया पुन यही वर्षको भदौ ५ गते प्रदर्शनमा आएको चलचित्र ‘वीरविक्रम’ बाट पदार्पण गर्ने अभिनेत्री हुन् । पहिलो चलचित्रबाटै सफलताको स्वाद चाखेकी दियाले दोस्रो चलचित्र ‘बम काजी’ मा समेत राम्रो काम गरेको बताइन्छ ।

 

पुष्प खड्का, श्रद्धा प्रसार्इं तथा साहारा कार्की– दर्पणछायाँ–२

फागुन २७ गतेदेखि प्रदर्शन भएको निर्देशक तुलसी घिमिरेको महत्वाकांक्षी भनिएको चलचित्र ‘दर्पणछायाँ–२’ व्यवसायिक रूपमा असफल भयो । यद्यपि यो चलचित्रबाट एकसाथ तीन नयाँ अनुहारले नेपाली चलचित्रमा पदार्पण गरे । अमेरिकामा बसोबास गर्ने साहारा कार्की, म्युजिक भिडियोमा सक्रिय पुष्पल खड्का तथा अभिनयमा अनुभव नै नभएकी श्रद्धा प्रसाईं यही चलचित्रमार्फत दर्शकमाझ आए । चलचित्रको प्रदर्शनपछि श्रद्धा तथा साहाराभन्दा बढी फाइदा पुष्पललाई भएको छ । उनलाई केही चलचित्रबाट अभिनयको प्रस्ताव आइसकेको छ ।

 

आर्यन अधिकारी तथा मरिष्का पोखरेल– के म तिम्रो साथी बन्न सक्छु ?

आकाश अधिकारीद्वारा निर्देशित चलचित्र ‘के म तिम्रो साथी बन्न सक्छु’ बाट एक जोडी अभिनेता–अभिनेत्री रजतपटमा देखा परे । निर्देशक अधिकारीका भतिजा हुन्— आर्यन अधिकारी । चलचित्रमा उनको भूमिका दर्शकले मन पराए । यही वर्ष आर्यनले दोस्रो चलचित्र ‘बटरफ्लाइ’ मा प्रियंका कार्कीसँग अनस्क्रिन रोमान्स गरिसकेका छन् । आर्यनझैं मरिष्काले पनि दर्शकलाई प्रभावित तुल्याएकी छिन् । मरिष्काले यही वर्ष प्रदर्शन भएको चलचित्र ‘चपली हाइट–२’ मा अभिनय गरिन्, जुन चलचित्र भदौमा प्रदर्शनमा आयो । वर्षको अन्त्यमा आएर मरिष्का निर्देशक गोपालचन्द्र लामिछानेको चलचित्र ‘लम्फू’ मा व्यस्त छिन् भने वर्ष २०७४ का लागि उनी थप केही चलचित्रमा अनुबन्धित भैसकेकी छिन् ।

 

आयुष्मान देशराज जोशी–चपली हाइट–२

बैंकर रविना देशराज जोशीका मोडल छोरा आयुष्मान देशराज जोशी यो वर्ष अभिनेताका रूपमा दर्शकमाझ आए । दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्र ‘चपली हाइट–२’ मार्फत आयुष्मानले युवतीहरूको मन जिते । उक्त चलचित्रले औसत व्यवसाय गरे पनि आयुष्मान यतिबेला आफ्नो दोस्रो चलचित्र ‘कथा काठमाडौं’ मा व्यस्त छन् । आकर्षक व्यक्तित्वका धनी आयुष्मानले नेपाली चलचित्रमा राम्रो सम्भावना देखाएका छन् ।

 

राजन कार्की– छेस्को

जेठ २१ गते प्रदर्शन भएको चलचित्र ‘छेस्को’ बाट रजतपटमा आएका अभिनेता राजन कार्की पुराना मोडल हुन् । म्युजिक भिडियो हुँदै चलचित्रमा पदार्पण गर्ने पोखराका यी अभिनेताले उक्त चलचित्रमा राम्रो अभिनय गरेका छन् ।

 

अर्चना पनेरु– जिस्म तथा छेस्को

पोर्न स्टार बन्न चाहेको अभिव्यक्ति दिँदै विवादमा आएकी अर्चना पनेरुले नेपाली चलचित्रमा खासै प्रभाव देखाउन सकिनन् । उनले अभिनय गरेको पहिलो चलचित्र ‘जिस्म’ असार ३१ गते प्रदर्शन त भयो, तर कहिले सिनेमा हलबाट उत्रियो कसैले पत्तो पाएनन् । त्यसअघि अर्चनाले अभिनय गरेको चलचित्र छेस्कोले पनि खासै सफलता प्राप्त गर्न सकेन ।

 

ज्योति काफ्ले– लालजोडी

सञ्चारकर्मी लक्ष्मण सुवेदीको निर्देशनको चलचित्र ‘लालजोडी’ भदौ १७ गते प्रदर्शनमा आएको हो । उक्त चलचित्रमार्फत नक्कली बाबुराम भट्टराईका रूपमा लोकप्रिय हास्य अभिनेता ज्योति काफ्ले अभिनेताका रूपमा दर्शकमाझ त आए तर उनलाई दर्शकले खासै रुचाएनन् ।

 

जुनिम गहतराज, सविना मगर तथा मेरिना सैंजु– २१ वर्ष

कात्तिक ५ गते प्रदर्शनमा आएको नयाँ निर्देशक जनक खड्काको चलचित्र ‘२१ वर्ष’ मार्फत तीन जना कलाकार चलचित्र क्षेत्रमा आए । अभिनेता जुनिम गहतराजसँगै अभिनेत्रीद्वय सविना मगर तथा मेरिना सैंजुको उमेरसमेत २१ वर्ष नै थियो ।

 

कुमार बिसी– परदेशीको उमंग

कात्तिक १२ गते प्रदर्शन भएको चलचित्र ‘परदेशीको उमंग’ मा कुमार बिसी अभिनेताका रूपमा प्रस्तुत भए । अभिनेत्री बिनिता बरालसँग जोडी बाँधेका कुमारले अभिनयमा सम्भावना देखाएका छन् ।

 

महेश श्रेष्ठ तथा मञ्चिन शाक्य–द विनर

कात्तिक १९ गते प्रदर्शनमा आएको चलचित्र ‘द विनर’ मार्फत पुराना मोडलद्वय महेश श्रेष्ठ तथा मञ्चिन शाक्य अभिनेताका रूपमा प्रस्तुत भए । विदेशमा छायांकन गरिएको यो चलचित्रमा आकर्षक व्यक्तित्वका धनी यी दुई युवाले प्रशस्त संभावना देखाएका छन् ।

 

अभिषेक सुवेदी तथा रेलिजा श्रेष्ठ– बिजुली मेसिन

मंसिर १८ गते प्रदर्शन भएको चलचित्र ‘बिजुली मेसिन’ का निर्देशक नवीन अवालसहित अधिकांश कलाकार नयाँ थिए । नेपाली वैज्ञानिकहरूको विषयमा आधारित यो चलचित्रमार्फत अभिषेक सुवेदी तथा रेलिजा श्रेष्ठ अभिनेता  अभिनेत्रीका रूपमा पदार्पण गरे ।

 

जतिन ताम्राकार तथा रेश्मा घिमिरे– यो साइनो मायाको

फागुन ११ गते प्रदर्शनमा आएको चलचित्र ‘यो साइनो मायाको’ मार्फत जतिन ताम्राकार तथा रेश्मा घिमिरे अभिनेता–अभिनेत्रीका रूपमा दर्शकमाझ आए । जतिन मोडलिङमा सक्रिय छन् भने रेश्मा पहिलो पटक यही चलचित्रमार्फत उदाएकी हुन् ।

 

सुरज पाण्डे– लभ लभ लभ

नयाँ वर्षको दिन प्रदर्शन हुने चलचित्र ‘लभ लभ लभ’ मार्फत दर्शकमाझ आउने अभिनेता हुन्— सुरज पाण्डे । बालकलाकारका रूपमा आधा दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका सुरजले यो चलचित्रमा अभिनेत्री स्वस्तिमा खड्कासँग अनस्क्रिन रोमान्स गरेका छन् । चलचित्रका गीत तथा ट्ेरलरमार्फत दर्शकको मन जितिसकेका ५ फिट साढे ८ इन्च अग्ला सुरज अभिनेताका रूपमा स्थापित हुन सक्ने अनुमान गरिन्छ ।

 

प्रकाशित :चैत्र ३०, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्