नेपाली फेसन र मोडलिङमा वर्ष–२०७३

- साप्ताहिक संवाददाता

चैत्र २८, २०७३-  

अन्तर्राष्ट्रिय रनवेमा नेपाली मोडल
अन्तर्राष्ट्रिय मञ्चमा नेपाली फेसन मोडलिङको प्रतिनिधित्व गर्नेमध्ये सबैभन्दा अग्रपंक्तिमा रहिन्— अन्जली लामा । डिसेम्बर १४ मा सम्पन्न अडिसनबाट चयन भएसँगै अन्जली लामाले गत फेब्रुअरी १ देखि ५ सम्म मुम्बईमा आयोजित लेक्मे फेसन सप्ताहको समर रिसोर्ट कलेक्सन–२०१७ मा डेब्यु गरिन् । यो नेपाली मोडलिङको सबैभन्दा महत्वपूर्ण उपलब्धि थियो नै, अन्जलीले नेपाली समाचारमा मात्र नभई प्राय: सबै भारतीय सञ्चारमाध्यमका साथै बीबीसी र सीएनएनजस्ता सञ्चारमाध्यममा समेत स्थान पाइन् । 

 

अन्जलीसँगै यस पटकको ल्याक्मे फेसन सप्ताहमा क्याटवाक गरेकी अर्की नेपाली मोडल वर्षा थापाको पनि उत्तिकै चर्चा भयो । थापा भोग इन्डियाको अक्टोबर महिनाको अंकमा अन्य मोडलहरूसँगै आवरण पृष्ठमा देखा परिन् । थापा सम्भवत: भोग इन्डियाको कभरमा छापिने पहिलो नेपाली मोडल हुन् ।
गत फेब्रुअरीमा न्युयोर्कमा सञ्चालित एसएम ग्लोबल क्याटवाकमा नेपाली फेसन डिजाइनर पूनम गौतम क्षेत्रीको सिर्जनालाई ग्लोबल रनवेमा प्रस्तुत गर्ने मोडलहरूमध्ये लाक्पा जाङ्बु शेर्पा पनि रहे । सगरमाथा आरोही लाक्पा उक्त फेसन शोमा फ्युजन गरिएको परम्परागत शेर्पा पहिरनमा प्रस्तुत भएका थिए । अन्तर्राष्ट्रिय फेसन रनवेमा हिंड्ने मोडलहरूमा अल्का राई, पारमिता राणा, भाष्कर बानियाँ र रितेश गुरुङ पनि रहे । उनीहरू चारै जनाले दक्षिण कोरियाको सुवनमा सम्पन्न एसिया न्यू स्टार मोडल कन्टेस्टअन्तर्गतको एसिया फेस्टिभल मोडलमा विभिन्न डिजाइनरका पहिरनलाई र्‍याम्पमा प्रस्तुत गरेका थिए ।

 

गत डिसेम्बर ३० मा चीनको चोङक्विङमा सञ्चालित फेसन एसिया एवार्ड–२०१६ मा नेपालले अभूतपूर्व सफलता प्राप्त गर्‍यो । उक्त एवार्डको २०१६ को संस्करणमा नेपालको आईसी कलेज अफ आर्ट एन्ड फेसनले एसियन टप फेसन अर्गनाइजेसन अफ द इयरको एवार्ड प्राप्त गर्‍यो । एवार्ड समारोहमा पूर्व म्यानहन्ट विजेता सनिश शाक्य एसिया टप फेसन मेल मोडल अफ द इयर तथा खुश्बु गौचन लामा एसियन टप फेसन स्टाइलिस्टको विधामा टप फाइभमा परे । 

 

अन्तर्राष्ट्रिय पाइला
वर्ष २०७३ मा केही नेपाली फेसन डिजाइनरले आफ्ना सिर्जनालाई अन्तर्राष्ट्रिय फेसन क्षेत्रमा विस्तारित गरे । फेब्रुअरीमा न्युयोर्कमा वल्र्ड फेसन परेडद्वारा आयोजित न्युयोर्क फेसन विक–३ एसएम ग्लोबल क्याटवाकमा नेपाली फेसन डिजाइनर पूनम क्षेत्री गौतमले तयार गरेका विभिन्न जातीय पहिरन अन्तर्राष्ट्रिय मोडलहरूले प्रस्तुत गरे । 

 

यसैगरी माघमा दुबईमा नेपाली कल्चरल पहिरनसँग सम्बन्धित फेसन शो फेसन फ्युजन–२०१७ सम्पन्न भयो । एनआरएन युएईको सहयोगमा सञ्चालित उक्त शो दुबईमा आयोजित पहिलो नेपाली फेसन शो थियो । सावित्री केसीको कोरियोग्राफी एवं डिजाइनर तृष्णा गुरुङको सोलो डिजाइनमा आधारित उक्त

 

फेसन शोका शो स्टपर मिस नेपाल–२०१४ 
सुविन लिम्बु, नायिका पूजना प्रधान, रजनी केसी तथा वर्षा राउत थिए । नेपाली फेसन डिजाइनर शुभेच्छा भँडेलले पनि यही वर्ष आफ्नो फल–२०१६ कलेक्सनलाई एउटा अन्तर्राष्ट्रिय कार्यक्रममा प्रदर्शन गरिन् । उनका सिर्जनालाई प्रस्तुत गर्नेहरूमा अभिनेत्री निशा अधिकारीदेखि अमेरिकी अभिनेत्री एवं मोडल टाटियाना डेख्त्यार, अमेरिकाज नेक्स्ट टप मोडल कायरा बलेन सम्म थिए । 

 

वर्ष २०७३ मा नेपाली फेसन शैलीलाई अन्तर्राष्ट्रिय र्‍याम्पमा विस्तारित गर्ने कार्यमा डिजाइनहरू युवी थापा, रसना श्रेष्ठ तथा शिवांगी प्रधान पनि देखिए । यी डिजाइनरका पहिरनलाई सेप्टेम्बर २५ मा न्युयोर्क स्थित गोथाम हलमा सञ्चालित फेसन शोमा प्रस्तुत गरियो । विशेषत: ब्राइडल वेयरका लागि चर्चा कमाएकी लन्डनमा कार्यरत नेपाली फेसन डिजाइनर संयुक्ता श्रेष्ठ फेसन डिजाइनिङसम्बन्धी अन्तर्राष्ट्रिय एवार्डका लागि मनोनयनमा परिन् । वर्ष २०१७ को प्रारम्भमै द युके वेडिङ एवार्ड्स–२०१७ अन्तर्गतको वेष्ट ब्राइडल डिजाइनर विधामा मनोनयनमा परेकी संयुक्ता मार्च ६ मा लन्डनस्थित मेरियोट होटलमा सञ्चालित ब्रिटिस एसियन वेडिङ् एवार्ड्स–२०१७ अन्तर्गत वेस्ट वेडिङ डिजाइनर विधामा समेत मनोनीत भइन् । 

 

कोरियोग्राफरहरू पनि अघि बढ्दै 
यो वर्ष केही नेपाली फेसन कोरियोग्राफरहरू पनि अन्तर्राष्ट्रिय रुपमा विस्तारित भए । कोरियोग्राफर प्रशान्त ताम्राकारले अमेरिकाको एन्ट्लान्टामा सञ्चालित एएनए एक्स्ट्राभगेन्जाको आठौं संस्करणको कोरियोग्राफी गरे भने अभिनेत्री प्रियंका कार्की मिस भुटान युएस तथा मिस युके नेपालमा कोरियोग्राफरको भूमिकामा देखा परिन् । कोरियोग्राफर कला सुब्बा मिस हङकङ नेपाल–२०१६ मा कोरियोग्राफरको भूमिकामा थिइन् भने रोजिन शाक्य श्रीलंकामा सम्पन्न हेरिटेज पेजेन्ट्स–२०१६ का साथै सिंगापुर सञ्चालित पहिलो मिस मर्मेड सिंगापुरमा कोरियोग्राफरका रूपमा देखा परे । मिस मर्मेड सिंगापुरका सहभागीहरूको अन्डरवाटर फोटोग्राफी साप्ताहिकर्मी एवं ग्ल्यामर फोटोग्राफर महेश प्रधानले गरेका थिए ।

प्रकाशित :चैत्र २८, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्