भारतले जे चाहन्छ, अब त्यो हुँदैन

- अश्विनी कोइराला

चैत्र २८, २०७३-  

पेसाले कम्प्युटर इन्जिनियर विवेक पौडेलको रुचि भने नेपालको राजनीति एवं सामाजिक परिवर्तनमा छ । १० वर्षअघि जतिबेला ब्लग लेख्ने चलन थिएन, त्यति बेलादेखि नै उनी इन्फर्मेसन टेक्नोलोजी, राजनीति एवं सामाजिक विषयमा ब्लग लेखिरहन्थे । विवेकका ब्लग लोकप्रिय हुन थालेपछि उनलाई पत्रपत्रिकामा पनि लेख्न अनुरोध आउन थाल्यो । आफूलाई नेपालको राजनैतिक संक्रमणकालको अन्तिम पुस्ताका रूपमा चिनाउन चाहने विवेकसँग साप्ताहिकले वर्ष २०७३ तथा आगामी वर्षको भविष्यका सम्बन्धमा छलफल गरेको थियो । कुराकानीका क्रममा क्रममा विवेक नेपाल र नेपालीहरूको भविष्यप्रति कतै शंकालु त कतै आश्वस्त देखिन्थे ।

 

तपाईं कम्प्युटर साइन्सको विद्यार्थी, राजनीतिमा यति धेरै रुचि किन ?
नेपालीलाई अरू विषयमा रुचि होस्–नहोस्, राजनीतिमा रुचि हुन्छ नै । किनभने हामी धेरै लामो राजनीतिक कोर्सबाट गुज्रियौं । पूरै पुस्ता राजनीतिक परिवर्तनका नाममा हुने आन्दोलन, हिंसा एवं व्यवहारबीच हुर्कियो, बढ्यो र बूढो भयो । म पनि त्यसबाट अछुतो रहन सकिनँ । म राजनीति मात्र होइन, सामाजिक विषयमा पनि लेख्छु । 

 

तपाईंका ब्लग निकै लोकप्रिय हुन्छन्, लेख्न कसरी थाल्नुभयो ?
आफ्ना कुरा भन्न ब्लग सजिलो माध्यम हो । ब्लगमा कुनै सम्पादककहाँ पुगेर आफ्ना रचना छापिदेऊ भनिरहनु पर्दैन । हुन त लोकप्रिय हुने लोभमा मैले ब्लग लेखेको होइन, तर मैले लेख्ने कुुरा समसामयिक भएकाले पाठकहरूले मन पराउनुभयो । खासमा भोलि टेक्नोलोजीको हो । टेक्नोलोजीलाई मौलिक हकमा राख्नुपर्छ भन्ने आवाज उठाउन मैले ब्लग लेख्न थालेको हुँ, तर मेरो आवाज सुनिएन । राजनीतिका कारण अरू विषय कसरी ओझेलमा परेका छन् भन्ने कुरा उजिल्याउने क्रममा मेरो लेखन सक्रियता बढेको हो ।

 

तपाईंका लेख विभिन्न पत्रपत्रिकाले साभार गरेको पाइन्छ, किन होला ?
म सधैं उग्र राजनीतिको विरोधी हुँ । राजनीति सभ्य हुनुपर्छ, त्यसको आफ्नो मर्यादा हुन्छ । अरूलाई तर्साएर, धम्क्याएर गलत कुरा स्थापित गर्न खोज्ने राजनीतिज्ञहरूप्रति मेरो ठूलो रोष छ । त्यही रोष मेरो ब्लगमा देखिएको हो । 

 

भविष्यप्रति कति आशावादी हुनुहुन्छ ?
अहिलेको नेपाल जग्गा व्यवसायी, म्यानपावर व्यवसायी तथा विदेशी नियोगमा काम गर्ने विदेशी विचार बोकेका मानिसहरूको बीचमा फसेको छ । जग्गा दलाल र म्यानपावर व्यवसायीको पैसाले राजनीति गर्ने र विदेशी नियोगमा काम गर्नेहरूले दिएको विचार लागू हुने अवस्थामा म त्यति धेरै आशावादी छैन । जब देशले आफ्नो मौलिक कुरा त्याग गर्छ तब त्यो देश, देश रहँदैन । देश भनेको जनता होइन, त्यसको मूल्य, मान्यता, संस्कार, संस्कृति चालचलन एवं भिन्न पहिचान भएको संस्था हो । त्यो हामीले गुमाइरहेका छौं । 

 

कसरी ?
कुल जनसंख्याको ३० प्रतिशत मानिस देशमा छैनन् । त्यसमा पनि युवाहरूको आधा जनसंख्या या त विदेशमा छ, या त विदेश जाने तयारी गरिरहेको छ । २५ वर्षयता नेपाली जनताको नेपाली माटोसँगको सम्बन्ध पूर्ण रूपमा टुटेको छ । हिजोको कुरा हामीलाई पाखे लाग्छ । हिजो चौतारामा बसेर मादल बजाउँदै नाचगान गर्ने, सत्यनारायणको कथा भन्ने, जाग्राम बस्ने चलन आज हराउँदै गएको छ । त्यसको सट्टा चर्चमा भेला हुने र प्रार्थना गर्ने चलन बढेको छ । हिजो चौतारामा भजन–कीर्तन गर्दा असभ्य र आज प्रार्थना गर्दा सभ्य देखिने जुन संस्कार हामीले विकसित गरिरहेका छौं, त्यसबाट हामी कता गैरहेका छौं भन्ने आँकलन गर्न सकिन्छ । हिजो मेरा हजुरबुवा आफ्नो बारीको जडीबुटी सजिलै चिन्नुहुन्थ्यो, त्यो ज्ञान छोरा–नातिमा सर्न सकेन । 

 

युवाहरूको रुचि यसरी परिवर्तन हुनुको कुनै कारण त होला नि ?
नेपालको परम्परा, संस्कृति, खानपान एवं जीवनशैली गौरव गर्न लायक छ भन्ने कुरा हामीलाई सिकाइएन । बरु त्यसका नकारात्मक कुरा मात्र हेर्ने चलन हामीले बढायौं । यही माटोमा बसेर दूरदर्शी कुरा गर्ने र सपना देखाउन सक्ने मान्छे हामीले फेला पारेनौं । पुरानासँग सम्बन्ध टुट्दै गयो, हामीसँग आफ्नो केही छैन भन्ने भाव विकसित हुँदै गयो । यसले युवा पुस्तामा निराशा पलायो । राम्रो भनेको विदेशी कुरा मात्र हुन्छ भन्नेमा हामी विश्वस्त हुन थाल्यौं । त्यही विश्वासले नै नेपाली युवामा यतिसारो विदेश मोह पलाएको हो । विदेश जानु नराम्रो होइन । भारत र चीनका १० प्रतिशतभन्दा बढी मानिस विदेशमा छन्, तर माटोसँग उनीहरूको सम्बन्ध टुटेको छैन । हाम्रो सानो देशको ठूलो युवा–जनसंख्या विदेशमा बसेका कारण उनीहरूको सम्बन्ध आफ्नो माटोसँग टुटेको हो । 

 

भनेपछि देश ठीक ठाउँमा छैन होइन ?
जुन किसिमको लोकतन्त्र नेपालमा स्थापित छ, त्यसमा मलाई विश्वास छैन । युरोप–अमेरिकामा जसरी लोकतन्त्रको बीउ रोपियो, त्यो बिस्तारै बढ्दै हुर्कंदै गयो । नेपालमा लोकतन्त्र–गणतन्त्र जस्ता खालका परिवर्तन तपाईं–हामीले देखिरहेका छौं, त्यसलाई गम्भीर रूपमा विचार गर्दा जरो नभएको रूखजस्तो देखिन्छ । चीनले गरेको प्रगति हेर्नुस्, उनीहरूको राजनीतिक प्रणाली हामीलाई गलत लाग्न सक्छ तर विकासको मोडल, त्यहाँका जनताले पाएको सुविधा एवं दूरदर्शी सोच हेर्दा उनीहरू सही छन् । यहाँ पनि सबै राजनीतिक दलले विकासका मुद्दामा ५० वर्षसम्म हामी सम्झतौं गर्दैनौं भन्ने हो भने नेपालको अनुहार नै अर्कै हुन्छ । यद्यपि हाम्रो सत्ताउन्मुख राजनीति हेर्दा हामीले निराश हुनुपर्ने अवस्था छ । 

 

यो वर्ष पनि निराशामै बित्यो ?
जात–जातलाई छुट्टै राज्य दिन्छु भन्नेहरूले फ्री वाइफाइ दिन्छु भन्न थालेका छन् । फ्री वाइफाइ जुनसुकै जातका लागि पनि उत्तिकै प्रभावकारी हुन्छ । यस्तो कुरा सुन्दा हाम्रा नेताहरूले बल्ल कुरा बुझ्न थालेका हुन् कि भन्न मन लाग्छ । विद्युत् प्राधिकरणमा कुलमान घिसिङ, ऊर्जा मन्त्रालयमा जनार्दन शर्मा र स्वास्थ्य मन्त्रालयमा गगन थापाहरूले जसरी समस्याको जरो समाइरहेका छन्, त्यसलाई हेर्दा–२०७३ साल त्यसै खेर गएन जस्तो लाग्छ । सरकारी उद्योग चलाउन मन्त्री नवीनराज जोशी जसरी लागेको देखिएको छ, त्यसले पनि नेतृत्वमा विगतमा गरेको गल्तीप्रति पछुतो देखिन्छ । 

 

नेतृत्वमा मात्र परिवर्तन पाउनुभयो कि जनतामा पनि केही परिवर्तन आयो ?
नेतृत्व आफैं जन्मिएको होइन, हामीले जन्माएका हौं । हामी परिवर्तन हुने हो भने नेतृत्व परिवर्तन हुन बाध्य हुन्छ । हिजो हामीलाई लाग्थ्यो, नेपालमा भारतले जे चाहन्छ, त्यही हुन्छ । आज हामी निर्धक्क भन्न सक्छौं, भारतले जे चाहन्छ, त्यो सबै सम्भव छैन । हामी दरो हुने हो भने उसले चाहेको गलत कुरा हामी हुन दिने रहेनछौं । यो नेतृत्वमा मात्र होइन, जनतामा पनि आएको परिवर्तन हो । हिजो हामीले कति कुरा नबुझेरै विरोध गरेका थियौं, आज हामी बुझ्न सक्ने भएका छौं । काठमाडौंमा भन्दा उपत्यकाबाहिर राम्रो चेतनाको विकास भएको छ । यो राम्रो परिवर्तन हो । 

 

हाम्रा बौद्धिक वर्गले जस्ता विचार सञ्चारमाध्यममा प्रस्तुत गरिरहेका छन्, त्यसलाई कसरी हेर्नु हुन्छ ?
हाम्रा विचार अन्त कतैबाट निर्देशित छन् । त्यस्ता विचारले हामीलाई उद्योग–धन्दा, कलकारखाना खोल्न वा खेती गर्न प्रेरित गर्दैन, बरु गफ गर्न मात्र सिकाउँछ । हामीले गफ धेरै गर्‍यौं, अब काम गर्ने बेला आएको छ । यस्तै विचारकै कारण हुन सक्छ, हामी भोलिको नहेर्ने, अहिले नै परिणाम खोज्ने प्रवृत्तिका भएका छौं । हाम्रा विचार आफ्नो कर प्रणालीसँग होइन, नियोगको तलबसँग जोडिएर आएको छ । यस्ता विचारले हामी नेपाली भूमिबाट उखेलियौं । 

 

स्थानीय निकायको निर्वाचन हुँदैछ, समस्या सामाधान होला नि ?
अहिलेको संविधानले स्थानीय निकायलाई निकै बलियो बनाएको छ । यत्रो वर्षसम्म निर्वाचन हुन नदिएर नेपालीसँग नेपालीको सम्बन्ध टुटाउन धेरै खेल भएका थिए । यसबीच हाम्रो परम्परागत कृषि प्रणाली बिग्रियो । परम्परागत खानपान हरायो । जडीबुटी, संस्कृति सबै नासिएर गए । कुनै पनि संस्कृति एउटा जेनरेसनबाट अर्को जेनरेसनसम्म सर्दै आउँछ । युवाहरू गाउँबाट पलायत हुँदा ती ज्ञान छोरा–नातिमा सर्न पाएन । स्थानीय निर्वाचनपछि गाउँमा फर्किए काम गर्ने वातावरण भयो भने अझै पनि हामी आफ्ना केही पुराना कुरा जोगाउन सक्छौं । 

 

भनेपछि २०७५ साल आशावादी भएर आउँदैछ हो ?
म पनि तीनवटै निर्वाचन भैदियोस् भन्ने चाहन्छु । आजभन्दा २ सय वर्षअघि नेपाल विश्वको सबैभन्दा धनी मुलुक थियो । पत्याउनु भएन ? यसअघि मैले यो कुरा लेख्दा अरूले पनि पत्याएका थिएनन्, तर तथ्यहरूले यही भन्छन् । नेपालमा जडीबुटी, हावापानी, वातावरण सबै कुरा छ । सबैभन्दा ठूलो कुरा चीन र भारतको ठूलो बजारबीचमा छौं हामी । हामी धेरै कुरा अरुलाई दिने क्षमता राख्छौं । २०७४ साल आशा लिएर आउँछ कि आउँदैन भन्ने कुराको निक्र्यौल हाम्रा नेताहरू सत्तामुखी हुन्छन् कि जनतामुखी हुन्छन् भन्ने कुरामा निर्भर गर्नेछ । 

प्रकाशित :चैत्र २८, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्