नेपालमा लोकप्रिय स्मार्टफोन

- युवराज गौतम

चैत्र २८, २०७३-  

नेपालमा मोबाइल फोनको माग बढ्दो छ । नेपाल दूरसञ्चार प्राधिकरणले उल्लेख गरेको तथ्यांकअनुसार नेपालमा हरेक महिना करिब २ अर्ब रुपैयाँ बराबरका मोबाइल सेट भित्रिने गरेका छन् । अहिले हरेक महिना औसतमा ५ लाख १६ हजार २ सय ८५ वटा मोबाइल सेट आयात भैरहेको बताइन्छ । चीन, भियतनाम, भारत, हङकङ, स्विट्जरल्यान्ड, ताइवान, अमेरिका, बेलायत आदि मुलुकबाट बढी मात्रामा आयात हुने नयाँ–नयाँ ब्रान्डका मोबाइल नेपालीहरूको रोजाइमा पर्छन् । तीमध्ये चीनबाट भित्रिने सेटले नेपालमा बजार पिटेका छन् भन्दा फरक पर्दैन । 

 

३० हजार रुपैयाँभन्दा तल तथा १५ हजार रुपैयाँभन्दा माथिका फोनले अहिले नेपालमा ठूलो बजार लिएका छन् । १० देखि १५ हजारबीचका सेट पनि अत्यधिक बिक्री हुन्छन् । सामसङ, एप्पलजस्ता ब्रान्डबाहेक कलर्स, कार्बन, माइक्रोम्याक्सजस्ता भारतीय तथा जियोनी, एमआई, ओप्पो आदि चिनियाँ ब्रान्डका सेट नेपालमा लोकप्रिय छन् । लियागो स्टाइलिस तथा जोप्पो ब्रान्डका स्मार्टफोन पनि यो वर्ष चर्चित रहे । नेपालमा यो वर्ष केही नयाँ तथा केही पुरानै ब्रान्डका मोबाइल धेरैको रोजाइमा परे ।
 
 

सामसङको क्रेज उस्तै
अघिल्ला वर्षहरूमा पनि विश्वभर वर्चस्व जमाउन सफल सामसङ ब्रान्डका स्मार्टफोन बितेका एक वर्षमा नेपालमा उत्तिकै लोकप्रिय रहे । नेपाली बजारमा ६० प्रतिशतभन्दा बढी सामसङकै प्रयोगकर्ता रहेको कम्पनीको दाबी छ । बितेको एक वर्षमा एक दर्जनभन्दा बढी मोडलका सेट नेपाली बजारमा भित्रिए पनि सामसङ ग्यालेक्सी सी ९ प्रो धेरै नेपालीको नजरमा पर्‍यो ।

 

ग्यालेक्सी जे ७ प्राइम
यो सेट नेपाली बजारमा निकै रुचाइयो । ५ दशमलव ५ इन्चको फूलएचडी डिस्प्लेयुक्त यो फोनमा ३ जीबीको र्‍याम तथा १६ जीबीको आन्तरिक स्टोरेज छ, जसलाई बढाएर २ सय ५६ जीबीसम्म पुर्‍याउन सकिन्छ । यसमा १३ मेगापिक्सेलको रियर क्यामेरा तथा ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ भने ३,३०० एमएएचको ब्याट्री छ ।

 

सामसङ ग्यालेक्सी जे टु
सन् २०१६ मा नेपाली बजारमा आएको यो सेट मूल्यको तुलनामा बढी सुविधा भएका कारण लोकप्रिय भयो । ५ इन्चको एचडी सुपर एमोलेड डिस्प्लेयुक्त यो सेटमा १ दशमलव ५ जीबी र्‍याम छ । यो सेटको रिअर क्यामेरा ८ मेगापिक्सेल तथा फ्रन्ट क्यामेरा ५ मेगापिक्सेलको छ । २ हजार ६ सय एमएएच ब्याट्री क्षमताको यो सेटमा स्मार्ट बाइक फिचरसमेत जडान गरिएको छ । यो सेटको मूल्य १५ हजार ९ सय रुपैयाँ पर्छ ।

 

ओप्पोको आक्रामक बजार
नेपालमा आक्रामक रूपमा बजार विस्तार गरेर चर्चित भएको ओप्पो नेपालमा सबैभन्दा बढी बिक्री हुने स्मार्टफोनको सूचीमा पर्न सफल रह्यो । स्मार्टफोनको बजारमा आफूलाई अब्बल सावित गरिसकेको ओप्पो विश्वकै चौथो बेस्ट सेलिङ स्मार्टफोन हो । विश्वका २८ देशमा आफ्नो उपस्थिति जनाएको ओप्पोले मुख्यत: एसियाली बजारमा प्रभुत्व जमाएको छ । क्यामेरा फोनका रूपमा आफूलाई बजारमा स्थापित गरेको ओप्पो विशेषत: युवा वर्गमा लोकप्रिय छ । ओप्पोले नेपालमा पहिलो चरणमा ३ किसिमका मोबाइल सेट सार्वजनिक गरेको थियो । ओप्पो एफ–१ एस, ए–३७ र नियो–७ को मूल्य क्रमश: मूल्य ३२ हजार ३ सय ९० रुपैयाँ, २१ हजार ५ सय ९० रुपैयाँ तथा मूल्य १४ हजार ९ सय ९० रुपैयाँ पर्छ ।

 

ओप्पो एफ–१ एस
सेल्फीमा मानिसहरूको बढ्दो आकषर्णलाई ध्यानमा राखेर ओप्पो एफवानएसलाई सेल्फी स्मार्टफोनका रूपमा बजारमा उतारेपछि चर्चामा आएको हो— ओप्पो । १६ मेगापिक्सेल फ्रन्ट क्यामेरायुक्त एफ–१एस स्मार्टफोनमा १३ मेगा पिक्सेलको रियर क्यामेरा छ । मेटल बडीको यो फोनले यो वर्ष निकै राम्रो चर्चा कमाइरहेको छ । गोरिल्ला ग्लास ४ को प्रोटेक्सन फिचर्स युक्त एफ वान एसमा ३ जिबीको र्‍याम छ । यो फोनमा १३ मेगा पिक्सेलको रियर क्यामेरा तथा ३२ जिबीको इन्टरनल मेमोरी छ । यसमा ३०७५ एमएएचको ब्याट्री जडान गरिएको छ । नेपाली बजारमा यो सेटको मूल्य ३२ हजार ३ सय ९० रुपैयाँ पर्छ।
 

सदाबहार एप्पल 
चिनियाँ ब्रान्डका नयाँ–नयाँ उत्पादन भित्रिए पनि नेपालमा एप्पलको हिस्सा कायमै छ । यो वर्ष पनि एप्पलले नेपाली बजारमा घाटाको व्यापार गरेन् । विश्वबजारमा आइफोन सेभेन तथा आइफोन सेभेन प्लसले बजार लिइरहेका बेला नेपालमा सिक्स एस नै रोजाइमा रह्यो ।
 

आईफोन सिक्स एस
आईफोन ७ भन्दा पुरानो संस्करण आईफोन सिक्स एस नेपालमा लोकप्रिय छ । ४ दशमलव ७ इन्चको डिस्प्ले युक्त यो सेटमा २ जीबी र्‍याम तथा १६ जीबीको स्टोरेज क्षमता छ । यो सेटको रिअर क्यामेरा १२ मेगापिक्सेल तथा फ्रन्ट क्यामेरा ५ मेगापिक्सेलको छ । फिंगरप्रिन्ट सेन्सर भएको यो सेटको ब्याट्री क्षमता १ हजार ७ सय १५ एमएएच छ । यो सेटको मूल्य ९२ हजार छ ।

 

टक्कर दिँदै हुवावे 
नेपालमा अत्यधिक ब्यापार गरिरहेको सामसुङलाई पछ्याइरहेको हुवावे पनि नेपाली ग्राहक तान्न सफल रह्यो । चीनमा पहिलो नम्बरमा रहेको हुवावे युरोपेली बजारमा समेत रुचाइन्छ । हुवावेले प्रिमियम लेभलका स्मार्टफोनमा राम्रै प्रतिस्पर्धा गरिरहेको छ । त्यसमध्ये यो वर्ष नेपाली बजारमा हुवावे मेट एट, हुवावे पी–९ तथा हुवावे वाई सिक्स टु बढी लोकप्रिय रहे ।
 

हुवावे मेट एट
हुवावे मेट एट उत्कृष्ट पावर र ब्याट्री क्षमता भएको प्रभावकारी एवं शक्तिशाली स्मार्टफोन हो । चार जीबी र्‍याम युक्त हुवावे मेट एटमा इमेज सेन्सर प्रोसेसरका साथै अत्याधुनिक सुरक्षा प्रविधि जडान गरिएको छ । यो मोबाइलमा १६ मेगापिक्सेलको रियर क्यामेरा तथा ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ । हुवावे मेट एटको स्थानीय मूल्य ८० हजार रुपैयाँ पर्छ ।

 

हुवावे वाई सिक्स टु
हुवावेको वाई सिक्स टु स्मार्टफोन खास गरी युवावर्गलाई लक्षित गरेर तयार पारिएको देखिन्छ । १३ मेगापिक्सेलको रियर तथा ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा युक्त यो सेटको डिस्प्ले ५ दशमलव ५ इन्चको छ । २ जीबी र्‍याम तथा १६ जीबी स्टोरेज युक्त यो सेटको ब्याट्री क्षमता ३ हजार १ सय एमएएच छ । फोरजी सपोर्ट गर्ने यो सेटको मूल्य १९ हजार ९ सय ९९ रुपैयाँ पर्छ ।

प्रकाशित :चैत्र २८, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्