नेपथ्यको रजत उत्सव

- साप्ताहिक संवाददाता

चैत्र २६, २०७३- 

हरेक पुस्ताका नेपाली तन्नेरीहरूलाई पप संगीतको स्वाद चखाउँदै आएको नेपथ्य अब वयस्क भएको छ । पोखराबाट काठमाडौं आई संघर्ष गरिरहेका तन्नेरीहरूको जमातले नेपाली संगीतमा योगदान दिने जमर्को प्रारम्भ गरेको २५ वर्ष पुगेको छ अर्थात् अबको एक वर्ष संगीतप्रेमीहरूका निम्ति ‘नेपथ्यको रजतवर्ष’ हुनेछ । यो अवसरलाई उत्सवका रूपमा मनाउन नेपथ्य ‘सेलिब्रेटिङ ट्वान्टी फाइभ इयर्स अफ नेपथ्य’ भन्ने ‘थिम’ बोकेर प्रस्तुत हुने भएको छ । यो वर्षभरि नेपथ्यले गर्ने सबै कामलाई यही थिमअन्तर्गत सम्पन्न गरिने बताइएको छ ।

 

ब्यान्डले आफ्नो पहिलो एल्बम ‘नेपथ्य’ रिलिज भएको दिनलाई नै आधिकारिक जन्ममिति मान्ने निधो गरेको छ । त्यसैले पहिलो एल्बम सार्वजनिक भएको दिन अर्थात् सन् १९९३ को अप्रिल एक तारिखका दिन नै नेपथ्य संस्थागत भएको मान्यता ब्यान्डमा स्थापित हुन पुगेको छ । त्यसैगरी उक्त एल्बमको पहिलो गीत ‘आँगनैभरि हिउँ नै झरे’ लाई ब्यान्डको पहिलो गीतको मान्यता प्रदान गरिएको छ । 

 

यो वर्षभरि नेपथ्यले घोषित थिममा हरेक महिना कुनै न कुनै कार्यक्रम गर्नेछ । नयाँ गीतहरू मात्र नभै ब्यान्डका नयाँ–पुराना गीतहरूका म्युजिक भिडियो यही अवसर पारेर हरेक महिना सार्वजनिक हुनेछन् ।

आफ्नो रजतवर्षका अवसरमा नेपथ्यले नेपाली संगीतका क्षेत्रमा योगदान दिने हस्तीहरूप्रति पनि आफूलाई समर्पित गर्ने निधो गरेको छ । आधुनिक संगीतको विधामा योगदान दिनेहरूप्रति सम्मानस्वरूप नेपथ्यले नेपालयलाई पलेँटी श्रृंखला पुन: ब्युँताउन सहयोग गर्ने बताएको हो । नेपथ्यले आफ्नो रजत महोत्सव मनाउने निधो गरेकै बेला संयोगले उत्सवको प्रारम्भ नेपथ्यको थलो पोखरामा पहिलो कन्सर्ट हुन लागेको छ । नेपथ्य यही चैत २६ गते (अप्रिल ८ तारिख) का दिन पोखरास्थित रंगशालामा प्रस्तुत हुँदैछ । 

‘तीन जना साथीबाट सुरु भएको यो समूह थप २० भन्दा बढी संगीतकर्मीको योगदानबाट यहाँसम्म आइपुगेको हो । रजतवर्षकै अवसरमा नेपथ्यको २५ वर्ष लामो यात्राको कथाव्यथा समेटिएको चिनारी पुस्तक पनि प्रकाशित गर्ने योजना छ ।’ गायक अमृत गुरुङ भन्छन् ।

 

‘नेपथ्यको जीवनी अमृत गुरुङले लेखिरहेका छन्,’ नेपालयका किरणकृष्ण श्रेष्ठले बताए । श्रेष्ठका अनुसार रजत वर्षको अवसर पारेर नेपथ्य आजसम्म नपुगेका स्वदेश तथा विदेशका स्थानहरूमा प्रस्तुत हुने कुरालाई प्राथमिकता दिइनेछ । ‘नेपथ्यको दसौं एल्बम लगभग तयारी अवस्थामा छ,’ श्रेष्ठ भन्छन्, ‘केही गीत सार्वजनिक भैसकेको यो एल्बम पनि यही वर्ष सार्वजनिक हुनेछ ।’ 

 

प्रकाशित :चैत्र २६, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्