सुन्दर मानिस

- सुविन भट्टराई

चैत्र २४, २०७३- 

एक दिन एउटाले मलाई केही दियो, म खुसी भएँ । किनभने मलाई थाहा थियो त्यो मैले नै पाउनेवाला थिएँ । अर्को दिन अर्कैले मलाई अर्थोक केही दियो । म अझ खुसी भएँ । किनभने मलाई अनुमान थिएन, मैले जे पाएँ त्यो पाउँछु भन्ने । अप्रत्याशित लाभ भएको थियो मलाई । म उसलाई पनि खुसी देखिरहेको थिएँ । कुनै एउटा अर्कै दिन मैले कसैलाई केही दिएँ । न उसलाई थाहा थियो, उसले पाउँछ भनेर । न मलाई थाहा थियो, म आफैँले दिन्छु भनेर । ऊ खुसी भयो तर म ठोकुवा गरेर भन्न सक्छु— ऊ जति खुसी भयो, म ऊभन्दा दोब्बर खुसी भएँ ।

 

भयो के त भने ऊ जहाँ–जहाँ, जहिले–जहिले मलाई देख्थ्यो, उसको आँखामा म यस्तो भाव पाउँथेँ कि मलाई ती आँखासित लगाव भयो । यो यस्तो सत्य थियो कि म यसलाई हरसाँझ, हरबिहान, सिरानीजस्तै बडो आनन्दले, कालान्तरसम्म छातीमा टाँसिरहन सक्छु, गर्धन अड्याउन सक्छु । यो यस्तो सुख थियो कि म कस्तै दु:खमा पनि आफूले गरेको राम्रो काम मानेर स्मृतिमा ल्याएर दु:खी नहुने प्रयास गर्न सक्छु । हामीले वर्षौंदेखि सुन्दै आएका छौँ कि, दिनुमा जति सुख अर्थोक केहीमा छैन, तर पत्यार कतिलाई पो होला ? प्रयास कसले पो गरेको होला ? पाउनुभन्दा दिनुको सुख स्थायी छ । मैले जसलाई जे दिएँ, भोलि, पर्सि, निपर्सी उसलाई अरूले मैले भन्दा धेरै दिइरहे उसले मलाई बिर्सन सक्छ, तर मैले जसलाई जे दिएँ, त्यो म कहिल्यै बिर्सन्न ।

 

मानिसको स्वभाव नै हो— लिएको बिर्सन्छ र दिएको सधैँ सम्झन्छ । ठीक छ, अरूलाई दिएको खुसी नै सही, त्यो सम्झनाले जीवनपर्यन्त आफूलाई खुसी बनाउँछ भने यस किसिमको परिचय अँगाल्दा के हानि होला र ? पाउनु छ, लिनु छ, तिर्नु छ, यस्तो त जीवनमा सधैँ चलिरहन्थ्यो, चलिरहन्छ । कुनै असल कामका लागि कसैलाई केही दिनुको आनन्द सम्भवत: अरू कुनै कार्यमा होला । त्यो कोटीको सुखलाई कुनै परिभाषाले परिभाषित गर्न सक्दैन । दिँदा मुठ्ठी खुल्छ, हत्केला फिँजिन्छन्, छाती चौडा हुन्छन्, आँखामा बेग्लै चमक आउँछ, समग्र आत्मा नै पुलकित हुन्छ । दिएर कसैको गोजी कहिल्यै रित्तिँदैन । दिनु भनेको आफूबाट छुटेको रिङरोडको बसजस्तै हो, कुरिरहे, घुमिफिरी त्यही ठाउँमा पुन: हामीलाई खोज्दै–खोज्दै आइपुगिहाल्छ ।

 

मुठ्ठी कसेर बस्नेहरूको अँगालोमा अटाउन कोही आउँदैनन् । अँगालो तिनैको भरिन्छ जसले मुठ्ठी खोलेर हत्केला फिँजाउन जानेका हुन्छन् । छाती चौडा तिनैको हुन्छ जसले ठाउँअनुसार खुम्चिन पनि जानेका हुन्छन् । शिर ठाडो गरेर उही हिँड्न सक्छ, जसले आवश्यक ठाउँमा शिर झुकाउन पनि जानेको हुन्छ । अरूको ह्दयमा तिनैले घर बनाउन सक्छन् जसले कसैका अघि आफ्नो ह्दयबाट प्रेम तप्काउन जानेका हुन्छन् ।

 

तिनैको आँखामा चमक हुन्छ जसले अरूको आँखाको आँसु पुछेका हुन्छन् । पोल्टाभरि असीम खुसी तिनैले पाउँछन् जो खुसीलाई अरूको मुहारमा फलेको देख्न चाहन्छन् । तिनैको आत्मामा सन्तोषको वर्षा हुन्छ, जसले अरूको आत्मामा मडारिरहेको कालो बादललाई पन्छाउने साहस गर्छ । तिनैको जीवन सार्थक हुन्छ, जो यो चराचर जगत्मा भएका हरेक जीवनलाई निरर्थक मान्दैन । वास्तविक खुसी चाहने व्यक्तिले, आफूले व्यक्तिगत रूपमा पाएको खुसीभन्दा आफ्नो कारणले अरूको ओठमा छाएको खुसीलाई सर्वोपरि मान्छन् । समग्रमा तिनै मानिस सुन्दर देखिन्छन् जसले संसारको कुरूपता पखाल्न थोरै भए पनि केही न केही गर्छन् ।

प्रकाशित :चैत्र २४, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्