एसईईपछिको समय

- भिषा काफ्ले

चैत्र २३, २०७३

 

राष्ट्रिय परीक्षा बोर्डले लिने माध्यमिक परीक्षा (एसईई) पछि अब विद्यार्थीहरूका लागि झन्डै अढाई महिना बिदा हुन्छ । नवीना, एलीना, राजजस्ता ठोस योजना बनाउनेदेखि रूपकजस्तो कुनै सोच नबनाएका विद्यार्थी पनि हाम्रै समाजमा छन् । अधिकांशमा यो समयमा के गर्ने, कसो गर्ने कौतूहलता छ । कतिपय विद्यार्थी यही समयलाई सही तरिकाले सदुपयोग गर्नतर्फ लाग्छन् भने कतिपय भने कामै नलाग्ने कुरामा समय बिताइरहेका हुन्छन् । टिनएजको मध्यअवस्थामा पुगेका कारण विद्यार्थीहरूले यो समयमा के गर्ने भनेर निक्र्योल गर्न सकेका हुँदैनन । रूपकले भनेझंै १० वर्षे स्कुल अध्ययनपछिको मोज गर्ने भावना सबैमा हुन्छ, तर कुन तरिकाले मोज गर्दा आफ्ना बालबालिका गलत बाटोमा जाँदैनन् भन्ने कुरामा अभिभावकहरूले पनि ध्यान पुर्‍याउनुपर्छ ।

 

फुर्सद भयो भन्दैमा विद्यार्थीहरूलाई खुला रूपमा छाडिदिने भन्दा पनि केही सिर्जनशील काममा अलमल्याउनु उपयुक्त हुने शिक्षाविद् विद्यानाथ कोइराला बताउँछन् । ‘बिनाप्रसंग र उपलब्धिविहीन रमाइलो मात्र गर्न दिनुभन्दा भविष्यका लागि पनि सहयोगी हुने कुनै सिर्जनशील कुरामा समय खर्चनुपर्छ ।’ कोइराला भन्छन्, ‘यस्ता कुरामा समय खर्चंदा विद्यार्थीहरू पट्यार पनि नलागोस् र खाली समयमा पनि पढिरहेको छु भन्ने कुरा नपरोस् ।’ यही समयमा विद्यार्थीमा गलत बाटोमा जाने सक्ने हुँदा त्यसबाट जोगाउनु प्रमुख चुनौती रहेको कोइरालाले बताए । यदि विद्यार्थीहरू यो उमेरमा गलत बाटोमा लागे भने भविष्यमा सही मार्गमा ल्याउन गाह्रो हुने कोइराला बताउँछन् । यो समयलाई सदुपयोग गर्ने विभिन्न उपाय हुन सक्छन् । पछिल्ला कक्षाहरूलाई सहज हुने गरी ब्रिजकोर्स अध्ययन गर्नु, अतिरिक्त पुस्तकहरू अध्ययन गर्नु, कम्प्युटर सिक्नु, विभिन्न किसिमका कला सिक्नु, घुमघाम गर्नु आदि उपयुक्त हुने कोइरालाको सुझाव छ ।

 

ब्रिजकोर्स

एसईई (यसअघिको एसएलसी) पछी ब्रिजकोर्स एउटा फेसन नै भैसकेको छ । अघिल्ला कक्षामा अध्ययन गरेका विषयवस्तु पछिल्ला कक्षाको विषयवस्तुसँग जोड्ने एउटा माध्यम हो— ब्रिजकोर्स । हुन त सबै विद्यार्थीले ब्रिजकोर्स गर्नैपर्छ भन्ने छैन तैपनि भविष्यमा राम्रो विषय लिएर ए लेभल वा राम्रा कलेजमा अध्ययन गर्ने हो भने ब्रिजकोर्स अनिवार्य नै हुन्छ । ती कलेजमा भर्नाका लागि लिइने परीक्षाको तयारी कसरी गर्ने, ती कलेजको कक्षा व्यवस्थापनको अवस्था के छ, फरक–फरक स्थानबाट आउने साथीहरूसँग कसरी घुलमिल हुने भन्ने कुराको सीप विकासका लागि ब्रिजकोर्स उपयोगी हुने अल्फाबिटा एजुकेसन, बानेश्वरका म्यानेजिङ डाइरेक्टर द्विराज शर्मा बताउँछन् । ‘यसले विद्यार्थीलाई माथिल्लो तहसँग सहज रूपमा जोड्ने वातावरण बनाउँछ ।’ शर्मा भन्छन्, ‘विशेष गरी एड्भान्स किसिमका कलेजको प्रवेश परीक्षालाई यो कोर्सले सहज बनाउँछ ।’

 

ब्रिजकोर्समा कलेजहरूको प्रवेश परीक्षाका लागि मात्र नभएर विद्यार्थीको भविष्य निर्धारणका लागि पनि करियर काउन्सिलिङ गरिन्छ, जसले गर्दा आफ्नो भविष्यको बाटो रोज्न विद्यार्थीलाई मद्दत मिल्छ । ब्रिजकोर्स अध्ययन गराउने संस्थाहरूले विद्यार्थीले पढ्न चाहेको कलेजको वातावरणका सम्बन्धमा पनि जानकारी गराउँछन्, जसले गर्दा विद्यार्थीलाई पछि गएर सीधै कलेजमा घुलमिल हुन सहज हुन्छ । सबैभन्दा महत्वपूर्ण कुरा विद्यार्थीले भविष्यमा अध्ययन गर्न चाहेको विषयलाई माथिल्लो कक्षा र आफूले अध्ययन गरिसकेको विषयसँग सम्बन्धित बनाएर अध्यापन गराइन्छ ब्रिजकोर्समा । ‘सबैभन्दा महत्वपूर्ण कुरा विद्यार्थीलाई पछिल्लो कक्षामा गएर के अध्ययन गर्ने भन्ने कुरा छुट्याउन सहज हुन्छ ।’ शर्मा भन्छन्, ‘त्यसका साथै व्यक्तित्व एवं बौद्धिकताको पनि विकास हुन्छ । उपत्यकामा ब्रिजकोर्सको शुल्क १० देखि १२ हजार रुपैयाँसम्म लिइएको पाइन्छ ।

 

कम्प्युटर ट्रेनिङ

फुर्सद सदुपयोगको अर्को राम्रो विकल्प कम्प्युटर प्रशिक्षण पनि हो । अझ भविष्यमा कम्प्युटर टेक्निसियन वा इन्जिनियर हुने चाहना भएकाहरूलाई अहिले सिकेको कम्प्युटर शिक्षा राम्रो आधार बन्न सक्छ । त्यति मात्र नभएर कुनै पनि सरकारी वा निजी अफिसमा काम गर्नेहरूका लागि पनि आधारभूत कम्प्युटर शिक्षा अनिवार्य भैसकेको छ । त्यही भएर पनि पछिका लागि अहिलेदेखि नै यो सीपको विकास गर्न सक्नु उपयुक्त हुन्छ । अहिले धेरै विद्यार्थीको घरमै कम्प्युटर वा ल्यापटप भएका कारण इन्स्टिच्युटमै गएर सिक्नुपर्ने थोरै मात्र हुन्छन्, तर सामान्यदेखि विशेष किसिमका सफ्टवेयर प्रोग्राम, हाडवेयर ट्रेनिङ, एप्स बनाउने तालिम सिक्न भने इन्स्टिच्युटको सहायता लिनुपर्ने हुन्छ । सफ्टवेयर प्रोग्रामहरू सिकेको आधारभूतको २ हजारदेखि प्रोग्राम हेरेर १० हजार रुपैयाँसम्म लाग्ने पशुपति कम्प्युटर चाबहिलका सञ्चालक रुद्र श्रेष्ठ बताउँछन् । हार्डवेयर तथा एप्स तालिमका लागि भने त्योभन्दा बढी तिर्नुपर्छ ।

 

सामाजिक काममा सहभागिता

प्राय: सहरमा हुर्किएका केटाकेटीहरू सामाजिक जीवनसँग त्यति नजिक हुँदैनन् । उनीहरू बिहानदेखि बेलुकीसम्म विद्यालय, त्यसपछि गृहकार्य अनि बचेको समय टिभी, मोबाइल तथा इन्टरनेटमा व्यस्त हुन्छन् । त्यही भएर उनीहरू समाज एवं सामाजिक काममा प्रत्यक्ष सरोकार राख्दैनन् । अभिभावकले उनीहरूलाई समाजमा घुलमिल गराउने उपयुक्त समय हुन सक्छ यो । त्यसका लागि समाजमा भैरहेका सामाजिक काममा उनीहरूलाई पनि सहभागी गराउनुपर्छ । जस्तै— टोलको छलफलमा सहभागी गराउने, सामूहिक निर्माणको काममा भोलेन्टियरका रुपमा उपस्थित गराउने, समाजमा भएका सांस्कृतिक कार्यक्रमहरूमा सामेल गराउने आदि ।

 

भ्रमण

एसईईपछिको केही समय नयाँ स्थान घुम्न सकिन्छ । यो समयमा रमणीय स्थानहरू घुमफिर गर्ने, धार्मिक एवं ऐतिहासिक स्थानहरूको अवलोकन गर्ने जस्ता काम गर्दा त्यसले प्रकृतिका बारेमा शिक्षा प्राप्त हुनुका साथै मानसिक स्फूर्ति समेत प्राप्त हुन्छ । साथीभाइसँगको ट्रेकिङ तथा अनौपचारिक शैक्षिक भ्रमण पनि फलदायी हुन्छ, तर ट्रेकिङ जाँदा गाइड तथा पूर्वतयारी भने गर्नुपर्ने हुन्छ । कुन स्थानमा जाने, कति समय लाग्छ, मौसम कस्तो हुन्छ, खाने–बस्ने अवस्था के हुन्छ जस्ता कुराको जानकारी हुनुपर्छ ।

 

खेलकुद

१५–१६ वर्षका विद्यार्थीले खेल्न मन पराउनु स्वभाविक हो । कतिपय बालबालिकाले भविष्यमा खेलाडी बन्न लक्ष्य राखेका हुन्छन् । यदि आफ्नो लक्ष्य खेलाडी बन्ने छ भने यो समयमा आफूलाई मन पर्ने खेलको विशेष प्रशिक्षण लिन सकिन्छ । अहिले उपत्यकालगायतका देशका प्रमुख सहरहरूमा खेल प्रशिक्षण गराउने केन्द्रहरू पनि खुलेका छन् । खेलाडी हुने लक्ष्य नलिएकाहरूले पनि आफूलाई मन पर्ने खेल सिक्न वा शारीरिक स्वास्थ्यका लागि तालिम तथा प्रशिक्षण लिन सक्छन् ।

 

कला प्रशिक्षण

धेरै विद्यार्थीका धेरै चाहनाहरू हुन्छन् । कसैमा गायक बन्ने, कसैमा कलाकार बन्ने, कसैमा चित्रकार बन्ने त कसैमा नाटककार बन्ने इच्छा हुन्छ । कसैलाई संगीत सिक्ने रहर हुन्छ । यो दुई महिना आफ्नो चाहनालाई मूर्तरूप दिने कार्य प्रारम्भ गर्ने सही समय पनि हो । त्यही भएर गायक/गायिका बन्ने रहर भएकाहरूका लागि थुप्रै संगीत प्रशिक्षालय खुलेका छन् । राम्रो प्रशिक्षकसँग प्रशिक्षण लिए भविष्यका लागि राम्रो बाटो तयार हुन्छ । त्यसैगरी चित्रकला सिक्नेहरूका लागि पनि कला स्कुलहरू खुलेका छन् भने अभिनय प्रशिक्षण गराउने प्रशिक्षण केन्द्रहरू पनि प्रशस्तै छन् ।

 

अतिरिक्त अध्ययन

खाली समयमा अन्य कामसँगै अतिरिक्त पुस्तकको अध्ययनलाई पनि अघि बढाउनु उपयुक्त हुन्छ । यस्तो समयमा विभिन्न साहित्यकार, कवि, कथाकारका पुस्तकहरूको अध्ययनले रचनात्मक सोचको विकास गर्छ । विशेष गरी उपन्यास, कविता, कथा, आत्मकथा प्रशिद्ध व्यक्तिका जीवनी अध्ययन गर्नु उपयुक्त हुन्छ । कतिपय विद्यार्थीमा त आफंै यस्ता कुरा लेख्ने बानी हुन्छ । अझ प्रशिद्ध व्यक्तिका यस्ता पुस्तक अध्ययनले पनि आफ्नो लेखनलाई तीक्ष्ण बनाउन सहयोग गर्छ ।

 

विजय स्मारक स्कुल डिल्लीबजारबाट यसै साता एसईई परीक्षा दिएकी नवीना घलेको इच्छा स्टाफ नर्स बन्ने छ, तर स्टाफ नर्स अध्ययनका लागि के–कस्तो तयारी गर्नुपर्छ भन्ने जानकारी उनलाई छैन, त्यही भएर उनी अब राम्रो ब्रिजकोर्स गराउने इन्स्टिच्युटको खोजीमा छन् । घलेको अबको दुई महिनाको पहिलो सेड्युल ब्रिजकोर्ससम्बन्धी इन्स्टिच्युट पत्ता लगाएर त्यहाँ भर्ना हुनु हो । त्यसपछि उनी घुमफिरको योजनामा पनि छिन् । त्यसो त नवीनाकी साथी एलिना महर्जनको योजना भने फरक छ । उनी म्यानेजमेन्ट अध्ययन गरेर राम्रो व्यवस्थापक हुने सुरमा छिन् । तत्कालै आफूलाई ब्रिजकोर्सको आवश्यकता नपर्ने बताउने महर्जनले कम्प्युटर ट्रेनिङलाई यो बिदा सदुपयोग गर्ने प्रमुख कार्यतालिका बनाएकी छिन् ।

 

खेलकुदमा रुचि राख्ने राज कार्कीले बिदाको सदुपयोग गर्न टेबलटेनिस कोर्स ज्वाइन गर्ने भएका छन् । उनको अबको पहिलो काम भनेकै टेबलटेनिससम्बन्धी राम्रो प्रशिक्षणस्थलको खोजी हुनेछ । खेलाडी बन्नु उनको लक्ष्य होइन, सौख मात्र हो । उनको लक्ष्य भविष्यमा राम्रो मनोपरामर्शदाता बन्ने हो । त्यही भएर सम्बन्धित पुस्तकको खोजी पनि कार्कीको प्राथमिकतामा रहनेछ ।

 

मोरङ बेलवारी घर भएकी मुना मगरको भने केही फरक योजना छ । उनमा राम्रो ब्युटिसियन बन्ने धोको छ । त्यही भएर मुना काठमाडौंबाट मोरङ नै गएर पार्लर सिक्ने सोचमा छिन् । एसईईपछि आफूलाई फुर्सदिलो भएको महसुस गरेका छन् काभ्रेका रूपक पराजुलीले । उनकै भाषामा अबको दुई महिना भनेको मोज गर्ने समय हो ? ‘कस्तो मोज गर्ने नि ?’ भुइँमा प्रश्न खस्न नपाउँदै पराजुलीले भने, ‘मोज भनेको मोज नै हो नि ?’ एकछिन सोचेर अथ्र्याउन थाले— घुम्न जाने, ब्रिजकोर्स लिने, रमाइलो गर्ने, साथीभाइ भेट्ने त हो नि ।

 

भविष्यमा चिकित्सक हुने सोच बनाएका विष्णु खड्काको भने तत्काल केही गरिहाल्ने योजना छैन । पछिल्लो समय बजारमा के नयाँ आएको छ भन्ने कुराको खोजीमा लाग्ने खड्का बताउँछन् । त्यसका लागि उनी सहरका इन्स्टि्रच्युट डुल्नेदेखि इन्टरनेटमा बसेर खोज्नेसम्मको काममा लाग्नेछन् । ‘सबैभन्दा लेटेस्ट जे भेटिन्छ, त्यही कुरा सिक्ने हो ।’ खड्का भन्छन्— ‘कम्प्युटर सिक्ने, ब्रिजकोर्स गर्ने त पुरानै काम भए नि ।’

प्रकाशित :चैत्र २३, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्