नयाँ वर्षको गन्तव्य चितवन

- विमल खतिवडा

चैत्र २०, २०७३- 

चितवन आन्तरिक पर्यटकका लागि पहिलो रोजाइ बन्दै गएको छ । त्यसमा पनि अधिकांशको रोजाइ सौराहा बन्ने गरेको छ जहाँ बिहानीपख देखिने सनराइज र साँझ देखिने सनसेटले सबैको मन लोभ्याउँछ । त्यति मात्र होइन, राप्ती किनारमा देखिने गैंडा र गोहीले सबैलाई तस्बिर खिच्न बाध्य तुल्याउँछन् । नयाँ वर्षमा धेरैले चितवनलाई गन्तव्य बनाउने गरेका छन् । 

 

सौराहाका पर्यटन व्यवसायी शंकर सैंजूका अनुसार पहिलेभन्दा अहिले घुम्न आउने नेपालीहरू बढेका छन् । सैंजूको होटल वाइल्ड लाइफ क्याम्पमा ३६ वटा कोठा छन् । नयाँ वर्षमै सञ्चालनमा ल्याउने गरी त्यहाँ स्वीमिङ पुल तयार हुँदैछ । नयाँ वर्षमा रुममा २० प्रतिशत छुटको व्यवस्था छ, सैंजूले भने, धेरैलाई सौराहा महँगो छ भन्ने भ्रम छ, तर यथार्थ त्यस्तो छैन, सस्तोमा सेवा दिने गरेका छौं । 

 

सैंजुको अनुभवमा तीन–चार वर्षयता सौराहामा नेपाली तथा विदेशी पर्यटकको अनुपात ५०/५० को हाराहारीमा छ । नयाँ वर्ष तथा भ्यालेन्टाइन डेमा आउनेहरू बढी मात्रामा जंगल सफारी गर्न रुचाउँछन् । त्यस्तै हात्ती सफारी, डुंगा र बर्ड वाचिङ पनि धेरैलाई मन पर्छ । हात्ती प्रजनन केन्द्र, थारु संग्रहालय तथा अनुसन्धान केन्द्र एवं चेपाङ संग्रहालय उनीहरूको रोजाइमा पर्छन् । नयाँ वर्षका बेला राप्ती किनारमा हात्तीमा चढेर स्नान गर्नेहरूको भीड लाग्छ । 

सौराहामा करिब १ सय १५ वटाजति होटल छन् जहाँ १० हजार रुपैयाँसम्म पर्ने कोठा उपलब्ध हुन्छन् । प्याकेजमा आउने पर्यटकसँग होटलहरूले एक रातको ३ हजारदेखि १० हजार रुपैयाँसम्म लिने गरेका छन् ।  होटलहरूले पनि पाहुनाको चाहनाअनुसार सुविधा थप्दै गएका छन् । घुम्न आउनेहरूका लागि सौराहा पहिलो र अन्तिम गन्तव्य होइन ।

 

चितवन राष्ट्रिय निकुञ्ज नजिक पर्ने पटिहानी र मेघौली क्षेत्रमा पनि ठूलो लगानी होटल तथा रिसोर्टहरू खुलिरहेका छन् । पटिहानीस्थित जंगल भिल्ला रिसोर्टबाट गैंडा चरेको दृश्य सहज रूपमा देखिन्छ । राप्ती किनारमा रहेको यो रिसोर्टबाट चित्तल, गोही, बँदेल तथा बाघसमेत देखिन्छ । पाँच वर्ष भयो, हाम्रो रिसोर्ट सञ्चालनमा आएको, रिसोर्टका सञ्चालक गणेश पौडेल भन्छन्– यहाँ २५ वटा वातानुकुलित कोठा छन् । नेपालीका लागि २ रात ३ दिनको प्याकेजमा प्रतिव्यक्ति ९ हजार रुपैयाँसम्म पर्छ । उक्त प्याकेजमा डुंगा तथा हात्ती सफारी, वर्ड वाचिङ एवं कल्चरल कार्यक्रमहरू समावेश हुन्छन् । पौडेलले भन्छन्– यसपटकको नयाँ वर्षमा प्याकेज कार्यक्रममा २० प्रतिशतसम्म छुटको व्यवस्था गरेका छौं । उता पुराना काठलाई सजाएर कलात्मक रूपमा निर्माण गरिएको मेघौलीको साराङ वाइल्ड लाइफ स्याङचुरीले नयाँ वर्षमा विशेष छुटको व्यवस्था गर्ने भएको छ ।

 

जंगल सफारी बाहेक चितवनमा घुम्ने ठाउँका रूपमा नारायणगढ–मुग्लिन सडक खण्डमा पर्ने लामो झरना, फिस्लिङबाट जान सकिने इच्छाकामना, धादिङ जोगिमारा हुँदै पुगिने सिराईचुली, चितवनको पुरानो सदरमुकाम उपरदाङगढी, मौलाकालिका मन्दिर, नारायणी किनार, देवघाट, माडी पनि घुम्न लायक गन्तव्यमा पर्छन् । चितवनका लागि काठमाडौंदेखि भरतपुरसम्म हवाईजहाजको सुविधा छ । नारायणगढ–मुग्लिन सडक हुँदै आउन भने सडक निर्माणको काम जारी रहेकाले बिहान साढे १० बजेअघि नै यो सडक पार गर्नुपर्ने हुन्छ । विहान साढे १० देखि ३ बजेसम्म सडक बन्द हुने भएकाले उक्त समयलाई मध्यनजर गर्दै चितवन यात्रा तय गर्नुपर्ने हुन्छ । 

 

चितवन आउन काठमाडौंबाट पर्यटक बस तथा माइक्रो बसहरू सहज रूपमा उपलब्ध हुन्छन् । नयाँ वर्षकै अवसरमा मित्सुबिसी मोटर्सको आयोजनामा चैत ३१ गते नारायणगढको होटल सेन्ट्रल पाम्पमा विशेष कार्यक्रम हुने भएको छ । उक्त कार्यक्रममा गायक दीपक बज्रचार्य ब्यान्डसहित उपस्थित हुनेछन्, जसमा गायिका मीना निरौला, गायक धमेन्द्र सेवान तथा प्रकाश तिमल्सिनाले पनि प्रस्तुति  दिने बताइन्छ ।

 

प्रकाशित :चैत्र २०, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्