टिनएजमै टाप

- जनक तिमिल्सिना

चैत्र २०, २०७३- 

  • गत भदौको अन्तिम साता १४ वर्षीया सोनी खड्का काठमाडौंबाट हराइन् । घरपरिवारले खोजी गर्दा पनि उनी भेटिइनन् । छोरीलाई पाँच दिनसम्म पनि फेला पार्न नसकेपछि उनका बुवा छोरी खोजिदिन भन्दै उजुरी बोकेर नेपाल प्रहरीको महिला सेल कालिमाटी पुगे । प्रहरीले सोनीको खोजी अघि बढायो । ८ कक्षामा अध्ययनरत सोनीले अन्तत: धादिङका सन्दीप अधिकारीसँग भागेर विवाह गरेको रहस्य खुल्यो ।

 

  • २४ मंसिरमा जोरपाटी, गोकर्णेश्वरकी रश्मी भण्डारीको घरमा खैलाबैला मच्चियो । कारण थियो— १५ वर्षीया रश्मी अचानक गायब भएकी थिइन् । ११ कक्षामा पढ्ने किशोरी हराएपछि हैरान भएका आफन्तहरूले लामो समयसम्म उनको खोजी गरे, तर रश्मीको केही अत्तोपत्तो लागेन । एक महिनासम्म पनि छोरीको कुनै पत्तो लाग्न नसकेपछि हैरान भएका परिवारका सदस्यहरू त्यति बेला छाँगाबाट खसेजस्ता भए, जब २४ पुसमा उनले भागेर विवाह गरेको पत्ता लाग्यो ।

 

  • २५ माघमा काठमाडौंकी सृष्टि महर्जन एकाएक हराइन् । प्लस टु अध्ययनरत १७ वर्षीया सृष्टि हराएपछि परिवारमा चिन्ता छाउनु स्वाभाविक थियो । साथीभाइ एवं आफन्त सबैतिर खोजबिन गर्दा पनि उनको कुनै सुइँको पाइएन् । सृष्टि बेपत्ता भएपछि हैरान उनका बुवाले हराएकी छोरीको खोजी गरिदिन भन्दै प्रहरी गुहारे । त्यसको तीन दिनपछि उनी काभ्रेका २१ वर्षीय नरेश तामाङसँग भागेको खुल्न आयो

 

यी त टिनएजमै भागेर विवाह गरेका केही प्रतिनिधिमूलक घटना मात्र हुन् । विकसित र शिक्षित मानिने सहरी इलाकाहरूमै टिनएज किशोरी परिवारलाई थाहै नदिई प्रेमीसँग भाग्ने नयाँ ट्रेन्ड मौलाउन थालेको छ । प्रहरीमा परेका उजुरीहरूले काठमाडौं उपत्यकामा किशोरीहरू भागेर विवाह गर्ने घटनाको ग्राफ निरन्तर उकालो लागेको देखाउँछ ।

 

आर्थिक वर्ष २०७२/०७३ मा मात्र यस्ता घटनाको लामै फेरिहस्त नेपाल प्रहरीको महिला तथा बालबालिका सेल, कालिमाटीको उजुरी रेकर्डमा छ । यो आर्थिक वर्षमा १३ वर्षदेखि १९ वर्षसम्मका झन्डै दुई दर्जनभन्दा बढी किशोरीले परिवारलाई थाहै नदिई भागेर विवाह गरेका छन् । पछिल्लो तीन वर्षमा १७ वर्षभन्दा कम उमेरमा भागेर विवाह गरिएका झन्डै १ सय ३१ केस महिला सेलमा दर्ता छन्, जसमा १७ देखि १९ वर्षका युवतीहरूले भागेर विवाह गरेका घटना जोडिएका छैनन् । १७ देखि १९ वर्षमा प्रेमपछि भागेर विवाह गर्ने किशोरीहरूको संख्या पनि उल्लेख्य छ । अझ कतिपय खानदानी परिवारका टिनएजर्सहरू पिरती गाँसी भागेका घटना सामाजिक प्रतिष्ठाका कारण प्रहरीसम्मै पुग्दैनन्, भने कतिपय घटना गुपचुप रुपमा आपसी सहमतिमै टुंग्याइएको पाइन्छ । यसरी हेर्दा टिनएजमै भागेर विवाह गर्नेहरूको संख्या प्रहरी कहाँ पुगेको भन्दा बढी हुने देखिन्छ ।

 

रोचक र अनौठा लाग्ने माथिका प्रतिनिधि घटनाले सन् २०३० भित्र बालविवाह अन्त्य गर्ने सरकारको अन्तर्राष्ट्रिय सम्झौता कार्यान्वयन गर्न गार्‍हो पर्ने देखिन्छ । इन्टरनेट र प्रविधिको सहजता, खुलापन, आधुनिकता एवं सहरीकरणजस्ता कारणले उपत्यकामा मात्र होइन, देशका विभिन्न ठाउँमा टिनएजमै भागेर विवाह गर्ने घटनामा उल्लेख्य देखिन्छ । किशोरीहरूसँग सम्बन्धित गल्र्स नट ब्राइड नामक सञ्जालका लागि कृपाले २ वर्षअघि १८ वर्षभन्दा कम उमेरका किशोरीमा गरेको एक अध्ययनले ३० प्रतिशत किशोरीले टिनएजमै भागेर विवाह गरेको देखाएको थियो । ह्युम्यान राइटस वाचको सन् २०१६ को एक प्रतिवेदनले नेपालमा ३७ प्रतिशत किशोरीको विवाह १८ वर्ष नपुग्दै भएको देखाएको थियो ।

 

विश्व स्वास्थ्य संगठनको एक अर्को तथ्यांकले नेपालमा बर्सेनि १३ हजार बालविवाह हुने तथ्य सार्वजनिक गरेको छ । स्वास्थ्य मन्त्रालयको गत आर्थिक वर्षको गर्भपतन तथ्यांकले पनि टिनएजमा विवाह गर्नेहरूको संख्या उल्लेख्य रहेको तथ्यलाई बलियो बनाएको छ । उक्त तथ्यांकअनुसार देशभरमा २० वर्षमुनिका १ लाख ३४ हजार ९ सय १० टिएनजर्सले पहिलो पटक गर्भ परीक्षण गराएका थिए । त्यसमध्ये ६३ प्रतिशतले बच्चा जन्माएका थिए । काठमाडौंका टिएनजर्स सबैभन्दा बढी गर्भवती हुने गरेका छन् । काठमाडौंमा १६ हजार ८ सय ५ जनाले पहिलो गर्भ परीक्षण गराएको उक्त अनुसन्धान–प्रतिवेदनमा उल्लेख छ । जुन कुल गर्भ परीक्षण गराउनेहरूको ३७ प्रतिशत हो, तर शिशु जन्माउने युवती भने २५ प्रतिशत मात्र थिए ।

परम्परागत नेपाली समाजमा धार्मिक मूल्य–मान्यता एवं रीतिरिवाज कम उमेरमा विवाहका प्रमुख कारण थिए । अहिले पनि केही ग्रामीण समाजमा विद्यमान त्यस्ता विवाहमा विवाह गर्ने टिनएजर्सहरूको ब्यक्तिगत मत समेत जाहेर गर्न दिइँदैन । अझ केही वर्षअघिसम्म युवतीहरूका लागि भागेर विवाह, प्रेम र शारीरिक सम्बन्धजस्ता कुराहरू कल्पना गर्नै नहुने विषय थिए । घटनाक्रमहरूले अहिले त्यस्ता परिपाटीमा ठूलै क्रान्ति ल्याएको देखिन्छ । रमाइलो त के भने त्यो समाजमा टिनएजमै भागेर विवाह गर्ने कल्पना बाहिरको कुरा अहिले किशोरीहरूका लागि चलन बन्न पुगेको छ । त्यतिबेला पारिवारिक दबाबमा कम उमेरमा बालविवाह हुन्थे भने अहिले परिवारलाई नै गुमराहमा राखेर टिनएजर्सहरू प्रेमीसँग भाग्न थालेका छन् ।

 

विज्ञहरूका अनुसार टिनएजर्सहरूमा मौलाउने ‘सेक्सुअल रिलेसन’को आकांक्षा सहज ढंगले पूर्ति गर्न उमेर र भविष्यको समेत ख्याल नगरी भागेर विवाह गर्ने क्रम ट्रेण्डकै रूपमा देखिन थालेको हो । टिनएजर्सहरूलाई कुन कारणले भागेर विवाह गर्न प्रेरित गरिरहेको छ ? गल्र्स नट ब्राइड नेटवर्कका संस्थापक सचिव डा. खेम कार्की विवाहपछि मात्र सेक्स गर्न पाइने धारणा जब्बर रूपमा रहनुलाई यसको प्रमुख कारण मान्छन् । ‘गरिबी, धर्म तथा संस्कृतिका कारण टिनएजमा विवाह गर्ने क्रम अहिले हाम्रो समाजमा उति देखिँदैन । सेल्फ इनिसियटिभ म्यारिज बढी भएको देखिन्छ,’ डा. कार्की भन्छन्, ‘मोबाइल, इन्टरनेट तथा अन्य टेक्नोलोजीको स्वच्छन्द उपभोग गर्ने तथा प्रेमका लागि उदार बन्दै गएको समाजका कारण पनि भाग्ने क्रम बढेको हो । प्रेम र आकर्षण यौनसम्पर्कका लागि हो भन्ने बुझ्ने र सम्बन्ध कायम गर्न हतारमा भागेर विवाह गरेको देखिन्छ ।’

 

डा. कार्कीका अनुसार नेपाली टिनएजर्सहरूमा रहेको सेक्सुअल सम्बन्ध राख्न विवाह अनिवार्य छ भन्ने धारणाले भागेर विवाह गर्ने क्रमलाई प्रोत्साहित गरिरहेको छ । उनका अनुसार टिनएजर्सलाई चेतना दिने तथा सशक्तीकरण गर्ने कुरामा पर्याप्त ध्यान नदिँदा र सानै उमेरमा प्रेम गर्ने वातावरण खुकुलो पारिदिदाँ पनि यस प्रकारका घटनाहरू बढिरहेका छन् । ‘प्रेम गर्ने वातावरण खुकुलो गर्ने तर विवाह नगरी सेक्सुअल रिलेसन राख्नु हुँदैन भन्ने चेतना नै यसको प्रमुख कारण हो,’ डा. कार्की भन्छन् ।

समाजशास्त्री मृगेन्द्रबहादुर कार्की नेपाल तेस्रो विश्वको देश भए पनि पहिलो विश्वकै जति मोडनिस्ट मार्केट हुनुलाई यसको कारण मान्छन् । ‘मोडनिस्ट मार्केटको चेतना निर्माण गर्ने माध्यमहरू फस्ट वल्र्डकै हाराहारीमै छ, मोबाइल र इन्टरनेट जनसंख्याकै हाराहारीको पहुँचमा छ,’ समाजशास्त्री कार्की भन्छन्, ‘अमेरिका र बेलायतमा भैरहेको कुरा केही सेकेन्डमै नेपाल आइपुग्छ । राजनीतिमा जतिसुकै जाति धर्मका कुरा गरिए पनि युवा जेनरेसनमा जाति–धर्म भन्ने कुरा छैन । जसका कारण विजातीय एवं टिएनएजमा भागेर विवाह गर्ने क्रम बढेको हो ।

 

समस्याको कारक

स्कुल, कलेजमै प्रेम गर्ने त्यहीबाट क्षणिक भावनामा बगेर सुइँकुच्चा ठोक्नेहरूले आफ्नो भविष्यको ख्याल त गर्दैनन् नै, त्यसबाहेक विवाहपछि आइपर्न सक्ने कानुनी झन्झटका सम्बन्धमा पनि अनभिज्ञ देखिन्छन् । लमजुङकी १५ वर्षीया किशोरी आयशा गुरुङ ९ कक्षामा पढ्दापढ्दै काठमाडौंबाट भागिन् । गत भदौ २३ गते भागेकी गुरुङलाई खोजी दिन भन्दै २५ भदौमा परिवारले प्रहरीमा उजुरी हाल्यो । त्यसको केही दिनपछि प्रहरीले केटासँग भागेकी गुरुङलाई फेला पारी कम उमेरलगायतका कारण विवाह हुन नसक्ने देखेर बुवाआमाको जिम्मा लगायो ।

 

प्रेममा अन्धो भएकी आयशाले प्रेमीसँग भाग्दा न भविष्यको ख्याल गरिन्, न त कानुनी रुपमा आइपर्ने झन्झटको नै । जसका कारण उनी भागेको केही दिनमै पुन: प्रेमीलाई छाडेर घरमै फर्किनुपर्‍यो । ‘कतिपय घटनामा विवाह गर्ने उमेर नपुगेका केटाकेटी भाग्छन्, अभिभावकहरू त्यसलाई विवाहमा परिणत गर्न लागि पर्छन्,’ महिला तथा बालबालिका सेवा केन्द्रकी प्रहरी निरीक्षक सुभद्रा लामा भन्छिन्, ‘उहाँहरू हामी विवाह गरिदिन्छौं मिलाइदिनुपर्‍यो भन्नुहुन्छ, तर प्रहरीले कानुनले वर्जित गरेको विषयलाई बैधानिकता दिएर प्रोत्साहन गर्ने कुरा आउँदैन ।’

 

उमेर नै नपुगी भाग्ने किशोरीहरू जति स्वयं समस्यामा पर्छन्, त्यति नै मानसिक तनाव परिवारलाई समेत दिन्छन् । गत ६ असोजमा सिन्धुपाल्चोक ठोकर्पाकी विमला सेन्चुरी रामचन्द्र खत्रीसँग भागिन् । १७ वर्षीया विमला प्रेमीसँग भागेको कुरा न परिवारले थाहा पायो न त छिमेकीले नै । प्रेमीसँग भागेको सुइको नपाएको उनको परिवार ठूलै मानसिक तनावमा पर्‍यो । विमला तीन दिनसम्म पनि नफर्किएपछि प्रहरीमा उजुरी गरेपछि खोज्दै जाँदा उनी भागेको रहस्य खुल्यो ।

 

मानसिक तनाव त एकातिर छँदै छ, टिनएजमै हुने शारीरिक सम्बन्धले किशोरीहरूमा ठूलै शारीरिक समस्यासमेत निम्त्याउने गरेको छ । क्षणिक भावनामा डुबेर शारिरीक सम्पर्क राख्दा १४ वर्षकै उमेरमा गर्भवती भएकी एउटी किशोरीको स्वास्थ्य अहिले त्यस्तै जोखिममा परेको छ । (हेर्नुहोस् बक्स) । टिनएजर्स विवाहले सामाजिक रूपमा पनि उतिकै समस्या निम्त्याइरहेको देखिन्छ । गत माघमा अभिभावकको मञ्जुरीबेगर एक किशोरीले भागेर आफ्नो प्रेमीसँग विवाह गरेपछि पर्सामा ठूलै तरंग सिर्जना भयो ।

 

वीरगन्जको द्वारदेवी माविमा ९ कक्षामा अध्ययनरत किशोरी प्रेमीसँग भागेपछि त्यहाँका अभिभावकले छोरीहरूलाई स्कुल जानै बन्द गराएका थिए । पछि किशोरीहरूलाई स्कुल पठाउन गाउँका अगुवाहरूले स्थानीय अभिभावकहरूलाई प्रशिक्षण नै दिनुपरेको थियो । बालविवाहको विकराल अवस्था नेपालको मात्र समस्या होइन्, यो विश्वव्यापी समस्या नै मानिन्छ । सन् २०१६ मा युनिसेफले गरेको एक अध्यययनअनुसार संसारमा १ करोड ४० लाखले १८ वर्षभन्दा कम उमेरमा विवाह गरेको देखिएको थियो । टिएनजरहरूमा देखिएको कम उमेरमै भाग्ने यो क्रम रोक्न नैतिक एवं व्यवहारिक शिक्षासँगै अभिभावक तथा शिक्षकहरूको निगरानीको पनि टड्कारो आवश्यकता छ ।

 

नाइट हान्छन् किशोरी

१६ माघमा प्रहरीको महिला तथा बालबालिका सेल, कालिमाटीमा चार जना किशोरीका अभिभावक छोरीहरू हराएको उजुरी लिएर पुगे । काठमाडौंको बाफलस्थित एक स्कुलमा ८ कक्षामा पढ्ने तीन जना किशोरी गायब भएको उजुरी परेपछि प्रहरीले पनि जोडतोडका साथ अनुसन्धान अघि बढायो ।

धादिङ घर भएर बाफल बस्ने १४ वर्षीया सानु भुजेल, धादिङ घर भएकी १४ वर्षीया पवि गहतराज, कालिमाटीकै सुशीला तामाङ तथा रन्जु पाँचकोटटी हराएका थिए । रातभर अभिभावक तथा प्रहरीको खोजबिनमा नभेटिएका उनीहरू भोलिपल्टै घर फर्किए ।

 

घर फर्किएपछि सोधपुछ गर्दा उनीहरू आवारा केटाहरूसँग नाइट हान्न गएको खुलासा भयो । प्रहरीका अनुसार उनीहरू रातभर स्युचाटारस्थित भर्खरै निर्माण भैरहेको घरमा केटाहरूसँगै बसेका थिए । घरबाट भागेर केटाहरूसँग रात बिताउने र मोजमस्ती गर्ने यो शैलीलाई किशोरीहरूले ‘नाइट हान्ने’ भन्ने गरेका छन् । यसरी घरबाट भागेर रातभर बाहिर मोजमस्ती गर्दै रात बिताउनेमा बढीजसो टिनएजर्स छन् ।

यस्तै प्रकृतिको एक अर्को घटना १५ भदौमा पनि घटेको थियो । त्यतिबेला त प्रहरीले किशोरीलाई सुन्धारास्थित एक गेस्टहाउसबाट उद्धार गर्नुपरेको थियो । सिराहा घर भएर काठमाडौंको एक स्कुलमा ८ कक्षा अध्ययनरत १८ वर्षकी सञ्जु चौधरी हराएपछि उनका भिनाजु उजुरी लिएर प्रहरीमा पुगे । प्रहरीले उनलाई सुन्धारास्थित एक होटलबाट उद्धार गरी उनको भिनाजुको जिम्मा लगायो ।

 

प्रहरीका अनुसार माध्यमिक शिक्षा लिइरहेका केटाकेटीहरू प्राय: यस्तो गतिविधिमा संलग्न हुने गरेका छन् । उनीहरू भागेर आमाबुवा तथा अभिभावकले थाहा पाउनेभन्दा टाढाको ठाउँमा पुग्छन्, त्यहाँको कुनै पूरानो वा बनिरहेको घरमा रात बिताउँछन् र रमाइलो गर्छन् । ‘पैसा नभएपछि उनीहरू यस्ता घरमा बास बस्ने गरेको देखिन्छ,’ अनुसन्धानमा संलग्न एक महिला प्रहरी अधिकारीले साप्ताहिकसँग भनिन्, ‘नाइट हान्ने यो शैली पछिल्लो समयमा निकै मौलाउँदै गएको पाइन्छ ।’

गोपनियताका कारण घटनासँग जोडिएका नामहरू परिवर्तन गरिएका छन् ।

 

१४ वर्षमै गर्भ

धादिङका २१ वर्षीय युवा रोशन आफ्नी दिदीलाई भेट्न फर्पिङ पुगे । फर्पिङमा उनी दिदीको छिमेककी १४ वर्षीया किशोरीप्रति आकर्षित भए । किशोरी पनि रोशनप्रति आकर्षित थिइन् । त्यो आकर्षण त्यतिमै सीमित रहेन । उनीहरूबीच पटक–पटक शारीरिक सम्पर्क भयो । अनियमित मासिक श्रावको समस्या झेलिरहेकी ती किशोरीले आफू गर्भवती भएको थाहै पाइनन् । पेट बढ्दै गएपछि उनी डाक्टरकहाँ पुगिन् । डाक्टर कहाँ पुग्दा उनी गर्भवती भएको ३६ हप्ता पुगिसकेको थियो ।

 

गर्भपतन गर्ने सम्भावना नै नरहेपछि उनको परिवार क्षतिपूर्तिको माग गर्दै प्रहरीमा पुग्यो । गर्भ बोकेको ६ महिनाभन्दा बढी समय भए बलात्कारको मुद्दा हाल्न नपाइने कानुनी प्रावधान छ । जसका कारण बलात्कारसम्बन्धी मुद्दा दायर गर्ने उनको परिवारको प्रयास सफल भएन् । क्षणिक आकर्षक, शारीरिक सम्बन्ध हुँदै प्रेगनेन्सीसम्म पुगेको यो घटनामा अन्तत: दुवै परिवार किशोरीलाई सुरक्षित डेलिभरी गराउने र उमेर पुगेपछि विवाह गर्ने विन्दुमा पुगेर सहमत भएका छन् । किशोरी सानै भएकाले उनलाई कसरी सुरक्षित सुत्केरी गराउने भन्ने चिन्ता दुवै परिवारमा छ ।

 

विशेष कार्यक्रम सञ्चालन गर्नुपर्छ

सुभद्रा लामा, प्रहरी निरीक्षक

टिनएजर्स केटाकेटीहरूमा एक–अर्काप्रति आकर्षण बढ्ने, दुई जनाबीच माया प्रीति हुने, लभ अफेयर्समा रहने र त्यसपछि भाग्ने चलन बढेर गएको छ । यो उमेर नै धेरै एट्याक्सन हुने अनि कल्पनाको संसारमा हराउने खालको हो । माया गर्ने केटा वा केटी पाएपछि सधैभरि यसैगरी चल्छ भन्ने मानेर भावनामा बग्ने र भाग्ने गरेको देखिन्छ । मायामा पर्नेहरूले अरू केही देख्दैनन्, यो नै मेरो संसार हो भन्ने लाग्छ । यसलाई रोक्न काउन्सिलिङ आवश्यक छ । हेरविचार पुगेन भने पनि यस्तो हुन्छ । त्यसका लागि स्कुल–कलेजमै नैतिक एवं व्यवहारिक शिक्षामा जोड दिनुपर्छ । कतिपय केसमा अभिभावकले चार–पाँच पटकसम्म आफ्नी नानीलाई फिर्ता लग्दा पनि पुन: भागेर त्यही केटासँग गएको अवस्था पनि छ ।

 

अभिभावक तथा स्कुलका शिक्षकले उचित ध्यान नदिँदा पनि यो क्रम बढेको हो । स्कुलमा एकेडेमिक नलेजमा मात्र ध्यान दिइन्छ, व्यवहारिक एवं नैतिक पक्षमा ध्यान पुर्‍याइँदैन भने नैतिकतासम्बन्धी एकेडेमिक कोर्सको अभाव समेत छ । अर्कातर्फ अहिले एकल परिवारको परिपाटी बढिरहेको छ, घरमा छोराछोरीहरू मात्र हुन्छन् । आमाबुवाहरू सधैं काममा हुने भएकाले आफ्ना केटाकेटीहरूलाई टाइम दिन पाउँदैनन् । उनीहरू कुन बाटोमा गैरहेका छन् भनेर न वाच गर्ने समय हुन्छ, न त उनीहरूलाई कसैले गाइड गरेको देखिन्छ । यसले अभिभावक र सन्तानबीच ग्याप निर्माण भएको छ, जसका कारण बालबालिकाहरूले धेरै समय आफ्ना साथीहरूसँग बिताइरहेका हुन्छन्, धेरै समय साथीहरूसँग नै बित्ने भएकाले उनीहरूबीच निकटता हुने, अफेयर्स चल्ने र भाग्ने गरेको देखिन्छ ।

 

यसैगरी, प्रविधि पनि यसको कारक बनेको देखिन्छ । अहिलेको पुस्तामा सानैदेखि प्रविधिमा पहुँच हुन्छ । हात–हातमा मोबाइल, ल्यापटप आदि ग्याजेटको उपलब्धताका साथै इन्टरनेटको सहज पहुँच छ, तर त्यसबाट हामीले के फाइदा लिन सक्छौं भन्ने कुराको सचेतता भएन । बालबालिकाहरू अनलाइनमा धेरै बस्ने, चाहिनेभन्दा अन्य सूचना लिने खालका हुन्छन् भने उनीहरूमा नयाँ कुरामा कौतुहलता हुन्छ । देखासिकीको भरमा उनीहरू प्रेम गर्ने, भाग्ने एवं शारीरिक सम्बन्ध राख्ने कार्यमा उत्प्रेरित हुन्छन् ।

 

टिनएजरहरूमा देखिएको भाग्ने क्रम रोक्न घरपरिवार एवं स्कुलदेखि नै विशेष कार्यक्रमहरू सञ्चालन गर्ने कामलाई योजनाबद्ध रूपमा अघि बढाउनुपर्छ । स्कुल तथा कलेजमा नैतिक शिक्षाका कोर्सहरू राख्नु आवश्यक भैसकेको छ । यसबाहेक ओरिएन्टेसन तथा चेतनामूलक कार्यक्रमहरू पनि चलाउनुपर्ने आवश्यकता छ । आमाबुवाले छोराछोरीहरू स्कुल, कलेज गएका छन् भनेर ढुक्कसँग बस्ने बेला अब रहेन । केटाकेटीहरूको संगत कस्तो छ, साथीहरू कस्ता छन्, स्कुल जान्छ कि जाँदैनन्, बाँकी समय कहाँ जान्छन्, के गर्छन्, कस्ता मान्छेसँग भेटघाट गर्छन् वाच गर्नुपर्छ । यसै क्रममा कानुनले कतै सम्बोधन नगरेको लिभिङ टुगेदरमा बस्ने क्रम पनि बढ्दै गएको छ ।

(नेपाल प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्र, कालिमाटी काठमाडौंकी प्रमुख लामासँगको कुराकानीमा आधारित)

प्रकाशित :चैत्र २०, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्